annapurna add

बाँकेको डुडुवा गाउँपालिकाको कार्यालय भवन निर्माण कार्य तीब्र रूपमा अघि बढेको छ ।

गाउँपालिका केन्द्र रहेको वडा नम्बर ३ बनकट्टीस्थित २० कठ्ठा जग्गामा १० करोड २२ लाख १६ हजार रुपैयाँको लागतमा अत्याधुनिक कार्यालय भवन निर्माण भइरहेको छ ।

४ तल्ले भवनमा ४०० जना क्षमता भएको बहुउद्देश्यीय सभाहल, सानो सभाकक्ष, ३२ वटा कोठा, स्टोर कोठा, शौचालय, ठूला तथा साना सवारीका लागि पार्किङ, खेल मैदान, सेवाग्राहीका लागि प्रतिक्षालय र लिफ्ट सहितको भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।

उनका अनुसार, भवन निमार्णको ठेक्का सम्झौता भएको ३ महिनाको अवधिमा २५ प्रतिशत निर्माण कार्य पूरा भएको छ । कोरोना महामारी संक्रमण र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निर्माण सामग्री अभावका बेला पनि निर्माण कार्य चलिरहेको छ ।

गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले आफ्नै अत्याधुनिक भवनबाट कार्यालयको कामकाज तथा सेवा प्रवाहमा निकै सहयोग तथा गुणस्तरीयता बढने विश्वास व्यक्त गरे ।

भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनी रोयल कन्सट्रक्सनका प्रोजेक्ट इन्जिनियर दिनेशबहादुर शाहीले अहिलेको प्रगति अनुसार सम्झौताको ६ महिना अगावै निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गर्न सकिने जानकारी दिए ।

२ वर्षभित्र भवन बनाउने गरी रोयल कन्सट्रक्सन कैलालीले भवन निमार्णको ठेक्का सम्झौता गरेको हो ।

भवन निर्माणका लागि संघीय सरकार र जिल्ला समन्वय समिति बाँकेको अनुदान र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने छ । गाउँपालिकाले अहिले वडा नम्बर ४ स्थित भवनबाट सेवा प्रवाह गरिरहेको छ ।

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाहेक अन्य ६ गाउँपालिकाले अहिलेसम्म पनि अस्थायी भवनबाट कार्यालय सञ्चालन गरी जनतालाई सेवा प्रवाह गर्दै आएका छन् ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...