annapurna add

flyover bridge

काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ ।

परामर्शदाता कम्पनीले फ्लाइओभर निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेस गरेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार यसका लागि अहिले विस्तृत डिजाइन गर्ने काम अघि बढिरहेको छ ।

यस वर्ष निर्माणका लागि ठेक्कामा जान सकिने उनको भनाइ छ । उनले भने, ‘‘कम्तीमा एउटा ठाउँमा भए पनि ठेक्का प्रक्रियामा जान सकिनेछ ।’’

यस वर्ष ग्वार्कोमा निर्माणका लागि प्रक्रियामा जाने र आगामी आवमा सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण अघि बढाइने योजना रहेको छ । चीन सरकारले दुई वर्षपहिले निर्माण सम्पन्न गरेको चक्रपथको चोकहरुमा फ्लाइओभर निर्माणको योजना बनाइएको छ ।

सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै आकाशेपुल निर्माण सम्पन्न गरेको छ । ती स्थानमा फ्लाइओभर बनाउन आकाशेपुल भत्काउन नपर्ने उनले बताए । उनले भने, ‘‘आकाशेपुल नभत्काएर पनि त्यही ठाउँमा बनाउन सकिने विकल्प छ ।’’

सरकारले चालु आर्थिक वर्षमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्ट्याएको छ । उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत् फ्लाइओभर बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । सरकारको लगानीमा निर्माण हुन लागेका यी नै पहिलो फ्लाइओभर हुनेछन् । ती फ्लाइओभर चार लेनको हुने विभागले जनाएको छ ।

निर्माण सुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने बताइएको छ । नेपाली निर्माण व्यवसायीलाई नै निर्माणको जिम्मेवारी दिन सकिने महानिर्देशक शर्माले बताए ।

विगतमा जटिल प्रकतिका पुल निर्माण गरेका व्यवसायीलाई नै यसको जिम्मेवारी दिइनेछ । उपत्यकामा अबको केही वर्षमा विभिन्न स्थानमा फ्लाइओभरको निर्माण हुने भएको छ ।

संघीय राजधानीमा अहिलेसम्म एउटा पनि फ्लाइओभर नभएकामा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेको हो । सरकारको लगानीमा यी तीन स्थानमा निर्माण गर्ने योजना बनाइरहँदा चक्रपथमा चीन सरकारले, कोटेश्वर, बानेश्वर र थानकोटमा जापान सरकारको सहयोगमा निर्माण गर्ने गरी छलफल भइरहेको छ । यी सबै फ्लाइओभर निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौं उपत्यकामा फ्लाइओभरको सङ्ख्या झन्डै आठ पुग्नेछ ।

काठमाडौं उपत्यकामा सवारी–साधनको चाप सबैभन्दा बढी हुने स्थान बानेश्वर र जडीबुटी चोक रहेका छन् । यी दुवै स्थानमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले फ्लाइओभर वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ । जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक–पटक छलफल गरिरहेको छ । बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो ।

केही वर्षपहिले जाइकाकै सहुलियत ऋण सहयोगमा तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ ।

त्यस्तै, नेपालको सडक यातायातको इतिहासमा नेपालकै पहिलो आधुनिक सुरुङमार्ग निर्माण हुँदा त्यससँगै फ्लाइओभर र ‘अन्डरपास’ निर्माण हुँदै छ । नागढुङ्गा–सिस्नेखोला सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा फ्लाइओभर बन्नेछ ।

सो सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्ने बताइएको छ । जाइकाले आर्थिक र प्राविधिक सहयोग गर्ने गरी सरकारसँग सम्झौता भएको थियो । गत वर्ष असोजमा सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबीच सम्झौता गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गरेको सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो ।

वि.सं. २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खन्डका रूपमा कलङ्की–चाबहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु, महाराजगन्जलगायतका चोकमा फ्लाइओभर र अन्डरपास निर्माण गरिने भएको छ । चीन सरकारले पहिलो खन्डको विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म अन्डरपास निर्माण गरेको थियो ।

उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकमा जाम हुने भन्दै फ्लाइओभर र सुरुङको विकल्प खोज्न थालिएको हो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...