काठमाडौं। चक्रपथ दोस्रो खण्ड कलंकी-महाराजगंज सडक विस्तारको काम सुरु हुने भएको छ।

chakrapath model kantipath

एक साताभित्रै नेपाली र चिनियाँ अधिकारीबीच काम सुरु गर्ने विषयमा सहमति हुन लागेको सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार ५/७ दिनभित्रै चिनियाँ टोली नेपालमा आउनेछन्। अर्थ मन्त्रालयको समन्वयमा द्धिपक्षीय छलफल र सहमति गर्न लागिएको छ।

आइतबार प्रधानमन्त्री कार्यालयमा कलंकी- महाराजगंज सडक बारे सबै निकाय राखेर छलफल समेत भएको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,वन विभागका महानिर्देशक,खानेपानी तथा ढल निकास विभाग लगायतका सम्वन्धी सबै निकाय राखेर साईट क्लियरको विषयमा छलफल गरिएको हो।

‘चिनियाँहरुले तत्कालै विजुलीका पोलहरु हटाएर साईट क्लियर भए तत्कालै काम अघि बढाउने भनेका छन्,‘ महाशाखा प्रमुख थापाले भने ‘हामीले अलिकति चाँडैनै साइट क्लियर गर्नुपर्ने अवस्था आएको छ।‘ महाशाखाका अनुसार केहि ठाउँमा भने काम सुरु नगरि विद्युतका पोलहरु हटाउन नमिल्ने अवस्था छ। नेपाल विद्युत प्राधिकरण महानिर्देशक घिसिङले बसुन्धरा- महारागंज होचोस्थानमा रहेको ठाउँमा पोल राख्न नसकिने बताए। यो सडकको पोल हटाउनका लागि अर्थमन्त्रालयले बजेट समेत दिइसकेको छ।

यो खण्डका लागि पौने ११ करोड रुपैयाँ दिएको हो। प्राधिकरणले पोल हटाउनका लागि ठेक्का मूल्याङकन अन्तिम चरणमा पुर्याएको छ।महाशाखाका अनुसार साइट क्लियर भए तीन वर्षभित्र यो सडक तयार हुनेछ। स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले सडक निर्माणलाई तीब्रता दिन आफैले समन्वय समेत गर्दैछ।

महाशाखाका अनुसार सडक विस्तारको क्रममा केही प्रहरी चौकी र पेट्रोल पम्प हटाउनुपर्छ। सामाखुशीमा रहेको प्रहरी र हलचोकमा रहेको सशस्त्र प्रहरीको पेट्रोल पम्प हटाउनुपर्छ भने सितापाईलामा रहेको नेपाली सेनाको ब्यारेक पनि केही पर्छ। यो वाहेक सडकमा करिब १८ सय वटा रुख काट्नुपर्नेछ। वन विभागले रुख कटानका लागि प्रकृया अघि बढाइसकेको छ। थापाले महाराजगंज क्षेत्रमा सडक विस्तारका लागि सबैभन्दा ठूलो समस्या रहेको बताउँदै तीन सय मिटर खण्डमा सडकको केन्द्रबाट १५/१५ मिटर मात्रै रहेको जानकारी दिए।

‘चक्रपथ निर्माणकै क्रममा स्थानीयले तत्कालीन राजालाई विन्तीपत्र हालेर ३ सय मिटरमा १५ मिटर पाएका रहेछन्,’उनले भने ‘चक्रपथको सडक सीमा सेन्ट्रल लाईनबाट २५/२५ मिटर कायम गरिएको छ। त्यहाँ अण्डरपास भएपनि नपुग्ने भएकाले १० मिटर थपमा लिनुपर्छ।‘ महाशाखा प्रमुख थापा ‘चिनियाँ टोलीले डिपिआर बनाएपछि महाराजगंजको समस्या समाधान हुने विश्वास व्यक्त गर्छन्।

डिपिआरको ड्राफ्ट अनुसार गोगबु र महाराजगंजमा कलंकीको जस्तै अण्डरपास वे निर्माण गरिनेछ। सडक पहिलो फेजमा जस्तै ८ लेनको  हुनेछ। तर डिजाईन भने नयाँ हुनेछ। सडकको बीच भागमा ग्रीनरी मेडियन हुनेछ। सोलार बत्ती,पर्याप्त जेब्रा क्रसिङ,ओभरहेड ब्रिज निर्माण हुनेछ। पहिलो खण्डमा डिजाईनमै त्रुटी भएको पाईएपछि  दोस्रो खण्डमा त्यसलाई सुधार गर्न लागिएको छ। यो खण्ड विस्तारका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ। यो सडक चिनियाँ अनुदानमा निर्माण गर्ने गरि द्धिपक्षिय सम्झौता भएको छ।

त्यसै गरि कोटेश्वरदेखि तिलगंगा नेपाल सरकार आफैले बनाउने उनले बताए। अहिले तत्काल कलंकी - महाराजगंज खण्डमा चिनियाँहरुले काम गर्नेछन् ।अनि त्यसपछि महाराजगंज- तिलगंगा तेस्रो फेजमा काम हुनेछ। यो खण्ड विस्तार गर्नका लागि चिनियाँसँग आग्रह गरिने छ। यही वीचमा नेपाल सरकारले पनि तिलगंगा-कोटेश्वरको काम अघि बढाउनेछ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...