Hidden
साप्सु खोला मोटरेबल पुलको टसल बाढीले बगायो
खोटाङ । खोटाङको राजापानी र बतासे जोड्ने साप्सु खोला पुलको टसल बाढीले बगाएको छ । ठेकेदारको लापर्बाहीका कारण छ महिनाअघि दोस्रोपल्ट म्याद थपिएको पुल ढलानका लागि उभ्याइएको टसल बुधबार आएको बाढीले बगाएको हो ।
यही वैशाख मसान्तसम्म सम्पन्न गर्ने म्याद रहेको पुलको टसल बगाएपछि बाँकी समयमा पुल निर्माणको काम नहुने देखिएको छ । पुल ढलानका लागि तयार पारिएको फलामका फर्मा बङ्ग्याउनुका साथै केही फर्मा बगाएको ठेकेदार कम्पनी देवसायर एन्ड कान्छाराम जेभीका ठेकेदार कर्ण खत्रीले बताए ।
रु छ करोडमा दुई वर्षमा पूरा गर्ने गरी २०७१ सालमा सम्झौता भएको पुलको काम अझै पनि पूरा हुन सकेको छैन । ठेकेदारले हरेक वर्ष बर्षा सुरु भएपछि मात्र काम सुरु गर्ने गरेकाले बेलामा पुल नबनेको राजापानीका स्थानीयवासी पुण्य रेग्मीले बताए ।
निर्माण गर्ने समय गुजारेकोमा साप्सु पुलका ठेकेदारले जरिवाना तिर्दै आएको स्रोतले जनाएको छ । दोस्रो पटक थपिएको म्यादभित्र पनि पुल निर्माणको काम नहुने भएपछि स्थानीयवासी असन्तुष्ट बनेका छन् ।
प्रकासित मिति