1478958692 banner ad format

 
 

htsospitalnews


हेटौंडा - सरकारले हेटौंडा अस्पतालमा आठ वर्षअघि सञ्चालनमा ल्याएको एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) पीडित महिलाका लागि सहयोगी हात बन्दै गइरहेको छ ।

केही समयअघि १४ वर्षकी एक किशोरी बलात्कारपछि गर्भवती भएकी थिइन् । १२ साता नाघिसकेको अवस्थामा ओसीएमसीको पहलमा हेटौंडा अस्पतालका चिकित्सकले उनको अनिच्छामा भएको गर्भ फालिदिएका थिए ।

यति मात्रै हैन, बलात्कार गर्ने पुरुषलाई प्रहरीमार्फत पक्राउ गर्न लगाई कानुनी कारबाहीको दायरामा ल्याउन समेत ओसीएमसीले सहयोग गरेको थियो । ती किशोरीलाई तीन दिनसम्म ओसीएमसीको शय्यामा राखेर उपचार गरी घरसमेत पठाएको थियो ।

यसैगरी, ११ वर्षीया अर्की बलात्कृत बालिकालाई ओसीएमसीमै सात दिनसम्म राखेर उपचार गर्नुका साथै मनोपरामर्श दिएर पठाएको थियो । त्यस्तै, हेटौंडा उपमहानगरपालिकास्थित बसामाडीकी २८ वर्षीया महिलालाई पति र सासूबाट निर्घात कुटिएर उपचारका निम्ति शुक्रबार हेटौंडा अस्पतालमा ल्याइएको थियो । अस्पतालका चिकित्सकले ओसीएमसीकी प्रमुख बालकुमारी ढकाललाई खबर गरिदिए ।


उनले ओसीएमसीमा ल्याएर ती महिलाको उपचार गरिन् । महिला प्रहरी सेलमा खबर गरेर महिलालाई निर्घात कुटपिट गर्ने पति र सासूलाई प्रहरी कार्यालयमा झिकाउने कामसमेत उनले गरिन् । त्यति मात्र होइन, साढे तीन वर्षकी बालिका आफ्नै शिक्षकबाट बलात्कृत भएकी थिइन् ।

उनलाई ओसीएमसीमा ल्याएर उपचार गर्नुका साथै काउन्सिलिङ पनि गरिएको थियो । ‘पीडित महिलाहरूका निम्ति ओसीएमसी भरपर्दो सहारा बनेको छ,’ प्रहरी कार्यालयका प्रमुख उपरीक्षक मुकेशकुमार सिंहले भने, ‘यौनजन्य र घरेलु हिंसामा परेकाहरूले औषधि र कानुनी उपचार पाउँदै आएका छन् ।’ हेटौंडा अस्पताल परिसरमा सञ्चालित संकट व्यवस्थापन एकद्वार प्रणालीका सेवा लिनेहरू बढ्दै गएका छन् ।

यहाँको ओसीएमसीका सेवाहरू मुलुकभरमै उत्कृष्ट भएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी अवलोकन गर्न समेत आउने गरेका छन् । गत आवमा भरतपुर, सिन्धुली अस्पताललगायत स्वास्थ्यकर्मीको टिम अवोलकनका लागि आएका थिए । यो चालु आवमा काठमाडौं, ललितपुर र काभ्रेबाट अवलोकन गरिसकेका छन् ।

२०६८ मा हेटौंडासहित मुलुकका ५ वटा अस्पतालमा ओसीएमसी सेवा सञ्चालन गरिएको थियो । ‘यहाँको सेवा प्रभावकारी भएकाले अन्य अस्पतालका स्वास्थ्यकर्मीहरू यहा अवलोकन गर्न आउने गरेका छन्,’ अस्पतालका प्रमुख डा. प्रवीण श्रेष्ठले भने, ‘ विभाग र मन्त्रालयले पनि हेटौंडाकै ओसीएमसीलाई अवलोकनका लागि सिफारिस गर्ने गरेको छ ।’

स्थापना भएको वर्ष ६८ जनाले सेवा लिएका थिए । आव ०७३ र ७४ मा ३ सय २१ जना पीडित महिलाले सेवा लिएका थिए । गत आवमा ४ सय ११ जना पीडितले ओसीएमसीबाट सेवा लिए भने चालु आवको ९ महिनामा ३ सय ७७ जनाले सेवा लिइसकेका छन् ।

प्रकासित मिति

Loading...

 

ताजा खबर