annapurna add

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पाँच लाख ५६ हजार ४८७ निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माणका लागि सात लाख ९६ हजार २४५ लाभग्राहीसँग सम्झौता गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । एक लाख ६८ हजार ८३ अर्थात् २१ प्रतिशत लाभग्राही घर पुनःनिर्माणको अन्तिम चरणमा रहेको प्राधिकरणले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

लाभग्राही सूचीमा रहेका भूकम्प पीडितले चालु आर्थिक वर्षमा निजी आवास पुनःनिर्माण सम्पन्न गर्नुपर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । प्राधिकरण स्थापनाको पाँच वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गर्दा छ लाख ३४ हजार ९७३ गुनासो सम्बोधन गरिएको छ । गुनासो सम्बोधनबाट एक लाख छ हजार ४६५ पुनःनिर्माण लाभग्राही कायम भएका छन् ।

गुनासो सम्बोधनबाट प्रबलीकरण लाभग्राही सूचीमा समावेश हुनेको सङ्ख्या ६७ हजार ६८१ रहेको छ । प्राधिकरणले गरेको गुनासो सुनुवाइमा चित्त नबुझ्नेले सम्बन्धित जिल्ला तहमै उजुरी दर्ता गर्न सक्ने व्यवस्था छ । यसरी दर्ता गरिएका गुनासो उच्च अदालतका न्यायधीशको अध्यक्षतामा रहेको पुनरावेदन समितिले निर्णय गर्ने व्यवस्था भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी ऐन २०७२ मा छ ।

जोखिम वर्गका २४२ घर पुनःनिर्माण
जोखिम एवं विपन्न वर्गका लाभग्राहीको घर तोकिएको समयमा पुनःनिर्माण गर्न ९०० घुम्ती डकर्मी र २५४ सामाजिक परिचालक अति प्रभावित १४ जिल्लामा खटाइएको छ । यसरी खटाइएका जनशक्तिको सहयोगमा जोखिम वर्गका २४२ घर पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पपछि असुरक्षित स्थानमा रहेका चार हजार २५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । ११ हजार ४३७ भूमिहीन तथा सुकुम्वासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिइएको छ । एक हजार ३५१ लाभग्राहीलाई जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय भएको जनाइएको छ ।

५० एकीकृत बस्ती पुनःनिर्माण
निर्माणधीन १३० एकीकृत बस्तीमध्ये ५० वटाको पुनःनिर्माण सम्पन्न भएको छ । अरु एकीकृत बस्ती पुनःनिर्माण भइरहेको जनाइएको छ । हालसम्म कायम भएका पुनःनिर्माण लाभग्राहीले मङ्सिर मसान्तसम्म अनुदान सम्झौता गरी पुस १५ सम्म पहिलो किस्ता लिइसक्नुपर्ने समयसीमा प्राधिकरणले तोकेको छ । पहिलो किस्ता लिएका लाभग्राहीले जग निर्माण सम्पन्न गरी माघ मसान्तसम्म दोस्रो किस्ताका लागि सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्ने समयसीमा छ । पुनःनिर्माण र प्रबलीकरण लाभग्राहीले सम्पूर्ण पुनःनिर्माण सम्पन्न गरी २०७८ वैशाख मसान्तसम्म निवेदन पेश गरिसक्नुपर्ने छ ।

भूकम्प प्रभावित ४६५ सम्पदा पुनःनिर्माण
भूकम्पले क्षतिग्रस्त ९२० सम्पदामध्ये ४६५ को पुनःनिर्माण सम्पन्न भएको छ । भत्किएका सात हजार ५५३ विद्यालयमध्ये छ हजार ८५ अर्थात् ८१ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४६८ विद्यालय पुनःनिर्माणको क्रममा रहेको छ । बनाउनुपर्ने एक हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनःनिर्माण सम्पन्न भएको छ । बाँकी स्वास्थ्य संस्था चालु आवमै सम्पन्न गर्ने प्राधिकरणको लक्ष्य छ । भत्किएका ४१५ सरकारी भवनमध्ये ३७४ अर्थात् ९० प्रतिशतको काम सम्पन्न भएको छ । ३८ सरकारी भवन पुनःनिर्माणको चरणमा रहेको जनाइएको छ । प्राधिकरण अन्तर्गत पुनःनिर्माण भइरहेका सुरक्षा निकायका २१६ संरचनामध्ये २१४ को पुनःनिर्माण सम्पन्न भएको छ । दुई वटा सुरक्षा निकायका भवन पुनःनिर्माणको चरणमा रहेको छ ।

भूकम्प प्रभावित २९४ गुम्बा मर्मत
क्षति भएको एक हजार ३२० गुम्बामध्ये ८९५ को पुनःनिर्माण गर्नुपर्नेछ । ४०२ गुम्बा मर्मत गर्नुपर्ने जनाइएको छ । २९४ को मर्मत सम्पन्न भएको छ । हाल १०८ को मर्मत भइरहेको छ । सय वर्षभन्दा पुराना र दुई हजार वर्ग फिटभन्दा बढी ‘प्लिन्थ एरिया’ भएका २६४ गुम्बामध्ये ३६ वटाको पुनःनिर्माण अघि बढेको छ । त्योभन्दा सानो आकारका ६२१ गुम्बामध्ये १०१ को पुनःनिर्माण अघि बढेको छ ।

प्रभावित जिल्लाका ४४३ किमी सडक पुनःनिर्माण
भूकम्प प्रभावित जिल्लामा बनाउनुपर्ने ७६२ किमी सडकमध्ये ४४३ किमीको काम सम्पन्न भएको छ । ३१९ किमी सडकको पुनःनिर्माण अन्तिम चरणमा रहेको प्राधिकरणले जनाएको छ । खानेपानी विभाग मार्फत् हजार वटा खानेपानी योजना सम्पन्न भएका छन् । कार्यक्रममा प्राधिकरणका सचिव सुरेश आचार्यले माघ महिनामै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनमा सर्ने गरी पूर्वी भागको प्रबलीकरण भइरहेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री गुरुङद्वारा क्रिसमसको शुभकामना
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले इसाईको महान् पर्व क्रिसमसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ । येशु ख्रीष्टको जन्मोत्सव अर्थात् ‘क्रिशमस डे’का अवसरमा उहाँले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

गणन्तत्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको बताउनुभएको छ ।

सन्देशमा यस्ता विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको र यस पर्वले पनि विविध धर्मसंस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा गरिएको छ ।

‘भूपि पुरस्कार’ डा शर्मालाई
धवलागिरि साहित्य प्रतिष्ठानमा स्थापित ‘भूपि पुरस्कार’ यस वर्ष लेखक एवं समालोचक डा सुकुम शर्मालाई प्रदान गरिएको छ । छयालीसौँ भूपि जयन्तीका अवसरमा आज यहाँ आयोजित समारोहमा उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्यन्यायाधीश मोहनबहादुर कार्कीले शर्मालाई रु २५ हजार राशीसहित पुरस्कृत गर्नुभएको हो ।

‘सिर्जनाका परिधिमा भूपि शेरचन’ नामक समालोचनात्मक कृतिका लागि शर्मालाई पुरस्कृत गरिएको हो । समारोहमा शर्माले भूपिको व्यक्तित्व र सिर्जन परम्पराबारे थप खोज गर्न पुरस्कारले प्रेरित गरेको प्रतिक्रिया दिनुभयो ।.उहाँले कवि भूपिलाई उच्च विचार र दार्शनिक चेत भएको सर्वकालिक कविका रुपमा स्मरण गर्नुभयो । मुख्यन्यायाधीश कार्कीले भूपि नेपाली साहित्यका प्रखर कवि भएको टिप्पणी गर्नुभयो ।

पुरस्कृत लेखक शर्माका नेपाली व्याकरणको ऐतिहासिक सर्वेक्षण (२०५६), कवि इच्छुक ः कविता सन्दर्भमा (२०६०), पारिजातका कविताको अध्ययन (२०६२) लगायत समालोचनात्मक कृति प्रकाशित छन् । उहाँ कथा, कविता र गीत सङ्ग्रह पनि प्रकाशित छन् । स्याङ्जाको पुतली बजार नगरपालिकामा जन्मनुभएका शर्मा त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका सहप्राध्यापकसमेत रहनुभएको छ ।

प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ । मुख्यन्यायाधीश कार्कीले भूपि नेपाली साहित्यकका प्रखर कवि भएको टिप्पणी गर्नुभयो ।

प्रतिष्ठानले साहित्यिक संस्था र स्रष्टालाई गरी आलोपालो गरी वर्षेनी पुरस्कार प्रदान गर्दै आएको छ । गत वर्ष संस्थागततर्फको पुरस्कार थकाली सेवा समिति, बुटवलले पाएको थियो । त्यसअघि ‘भूपिका कवितामा व्यङ्ग्यालङ्कार चेतना’ समालोचनात्मक कृतिका लागि साहित्यकार सुधा त्रिपाठी पुरस्कृत हुनुभएको थियो । विसं २०७३ मा कोष स्थापना गरी २०७५ बाट पुरस्कार प्रदान गर्न शुरु गरिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो ।

जीप दुर्घटनामा नौ घाइते
हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने नेवारपानीबाट जिल्लाकै उत्तरीभेगमा पर्ने राक्सिराङ गाउँपालिका–१ ठूलो भावरतर्फ जाँदै गर्दा ग १ ज ७२८९ नम्बरको जिप आज अनियन्त्रित भई दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन् ।

घाइते यात्रुलाई स्थानीय प्रहरी र गाउँलेले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते यात्रुको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते भएकामध्ये दुई जना सामान्य र सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमरप्रसाद गजमेहरले जानकारी दिनुभयो । प्रहरीले बोलेरो जीपका चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...