रुपन्देही - रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ५४ करोड ३९ लाखको बजेट प्रस्तुत गरेको छ । पाँचौँ नगरसभाको आज बसेको दोस्रो बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक जागेश्वरी चौधरीले उक्त बजेट प्रस्तुत गएका हुन् ।

आगामी आवका लागि प्रस्तुत गरिएको बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै रु १९ करोड बढी छ । आव २०७५÷७६ मा तिलोत्तमाले रु एक अर्ब ३५ करोडको बजेट ल्याएको थियो । उप–प्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ रु ५३ करोड ३९ लाख तथा पूँजीगत खर्चतर्फ रु एक अर्ब ९९ लाख ४० हजार विनियोजन गरिएको छ ।

बजेट प्रस्तुत गर्दै उप–प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बजेटको मुख्य उद्देश्य ‘समृद्ध नगर ः खुसी नगरवासी’ रहेको बताए। बजेटमा आम्दानीको स्रोतको रुपमा आन्तरिक राजश्वबाट रु ५० करोड १२ लाख ७० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ७६ लाख, निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् रु दुई करोड ५० लाख र गत आवको मौज्दात रु एक करोड रहेको छ ।

शिक्षातर्फ शिक्षक, कर्मचारीको तलबका अतिरिक्त सामुदायिक विद्यालयको भवन तथा पूर्वाधार निर्माणमा रु ६ करोड, दिवा खाजा, यातायातलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ । नगर क्षेत्रभित्रका जीर्ण सडकको मर्मतसम्भार तथा स्तरोन्नति, गत वर्ष पूरा हुन नसकेका अधुरा सडक निर्माण, नाली तथा ढल निर्माणलगायत पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ । तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा कोशेली घर, सीपमूलक तालीम सञ्चालनसमेतका कार्यक्रम कार्यान्वयन गर्न रु एक करोड १२ लाख विनियोजन गरिएको छ ।

यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा रु चार करोेड १५ लाख, खेलकूद र युवातर्फ रु एक करोड ९७ लाख ३० हजार विनियोजन गरिएको छ ।

सैनामैनाको बजेट सार्वजनिक

सैनामैना नगरपालिकाले रु ९० करोड ८५ लाख ५१ हजारको बजेट आज सार्वजनिक गरेको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि सो बजेट प्रस्तुत गरेका हुन्  । विनियोजित बजेटमध्ये चालू खर्चमा रु ४४ करोड ११ लाख १० हजार र पूँजीगत खर्चका लागि रु ४६ करोड ७४ लाख ४१ हजार रहेको सैनामैना नगरपालिकाले जनाएको छ ।

बजेटमा सङ्घीय सरकारबाट प्राप्त अनुदान रु ६६ करोड दुई लाख, प्रदेश सरकारबाट प्राप्त अनुदान रु चार करोड ८६ लाख ५५ हजार, जिल्ला समन्वय समितिबाट रु तीन करोड १८ लाख ८२ हजार, आन्तरिक स्रोतबाट रु १३ करोड १५ लाख ५५ हजार र रु तीन करोड ६२ लाख ५८ हजार बचत तथा न्यूनबाट पूर्ति हुनेगरी आयको अनुमान गरिएको उल्लेख छ । नगर प्रमुख कार्कीले प्रस्तुत गरेको बजेटमा सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सरलीकृत र प्रभावकारी बनाइने उल्लेख छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...