Hidden
बीमा कम्पनीहरुको निर्णयले शेयर बजारमा ठूलो उछाल
काठमाडौं । बीमा कम्पनीहरुको पूँजी बृद्धि निर्णयले शेयर बजारमा ठूलो उछाल आएको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पाँच प्रतिशतले बढेपछि साढे एक बजे भित्र नै कारोबार स्थगित हुन पुग्यो।
बजार खुले देखिनै बीमा कम्पनीको शेयरको माग उच्च दरले बढेको थियो। २२ मध्ये २० बीमा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। बाँकी दुई कम्पनीको मूल्य समेत झन्डै नौ प्रतिशतले बढेको छ।
बीमा समितिले शुक्रबार जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब र निर्जीवन बीमा कम्पनीको पूँजी एक अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो। बीमा कम्पनीको पूँजी वृद्धि स्वाभाविक रहेको र त्यसबाट बजारमा प्रभाव पर्नुलाई सकारात्मक रुपमा लिनु पर्ने सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत केबी बस्नेतले बताए।
पूँजी वृद्धिले अहिले शेयर बजारमा उछाल आए पनि यसको नतिजा आउने दुई बर्ष लाग्ने उनको भनाइ भनाइ छ। त्यसैले पूँजी वृद्धिकै हल्लामा जस्तो पायो उस्तै कम्पनीमा लगानी गर्नु चाहिँ जोखिम हुने बस्नेतले बताए।
ढिलो भएपनि पूँजी वृद्धिको योजना आउनु सकारात्मक मान्नु पर्ने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष डा. आत्माराम घिमिरेको भनाइ छ। ‘पूँजी बृद्धिको निर्णय पहिला नै आउनु पर्ने थियो, उनले भने- यसले शेयर बजार र समग्र बिमा बजारलाई सघाउ पुर्याउँछ।’ अब नेपाली बीमा कम्पनीले ठूल्ठूला योजनाको बीमा गर्न क्षमता राख्ने उनको भनाइ छ।
आइतबार कारोबार सुरु भएको दोस्रो घण्टामा चार प्रतिशतले बजार बढ्दा नेपाल नेप्सेमा आधा घण्टाका सर्किट ब्रेक लागेको थियो। त्यस पछि बजार खुलेको पाँच मिनेटमा नै थप पाँच प्रतिशतले बजार बढेपछि कारोबार ओरालो लाग्यो।
आइतबार नेप्से परिसूचक ७९.४७ अंकले बढेर १६६७.११ अंकले उक्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.३८ अंकले बढेर ३६२.२० अंकमा पुगेको छ।
आइतबार करिब दुई घण्टाको कारोबारमा ९४ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो। आज सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भयो। यो कम्पनीको १४ करोड २६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको हो । कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी दोस्रो स्थानमा रह्यो।
आइतबार बीमासँगै उपसूचक उकालो लगेको छन्। बैंकिङ ७०.६, होटल ८७.१३, बिकास बैंक ८८.२९, जलबिद्युत ६८.९१, फाइनान्स १६.७५, इन्स्योरेन्स ७३३.३७, उत्पादनमुलक ३१.०९ र अन्यमा ७.८१ अंकको वृद्धि भएको छ।
प्रकासित मिति