ढाड दुख्नुका धेरै कारण हुन्छन्। ती मध्ये मेरुदण्डको नशा च्याप्पिएर हुने दुखाइ प्रमुख कारणमा पर्छ। ढाड दुख्ने समस्या लिएर उपचारका लागि आउने अधिकांशमा नशा च्याप्पिएर ढाड दुख्ने गरेको पाइन्छ। मेरुदण्डको नशा च्याप्पिएर हुने दुखाइलाई ‘न्युरोजेनिक पेन’ भनिन्छ।

Pain relief

मेरुदण्डको नशा च्याप्पिएको छ भने दुखाइ ढाडबाट सुरु भएर खुट्टासम्म पुग्छ। ढाड र खुट्टा दुख्ने मात्र होइन हिँडन पनि गाह्रो हुन थाल्छ। नशा च्याप्पिएको छ वा छैन भनेर एमआरआई नै गरेर हेर्नुपर्ने हुन्छ। यस्तो समस्या हुनेहरुलाई खुट्टाले शरीरको भार थेग्न गाह्रो भएको महसुस हुन्छ।

थोरै हिँड्दा पनि खुट्टा गल्ने र दुख्ने गर्छ। ढाडको नशा च्यापिएको छ भने सिधा भएर सुत्न पनि गाह्रो हुन्छ। यो समस्याको उपचारमा जति ढिलाइ गरियो त्यति नै जटिल हुँदै जान्छ।

धेरै दुखाइ भयो र समयमै उपचार भएन भने विस्तारै ढाडभन्दा मुनिको भाग चलाउन गाह्रो हुने र खुट्टा नचल्ने समस्या थपिन्छ। केहीलाई दिसा-पिसाब पनि अकस्मात रोकिने हुन सक्छ। यस्तो अवस्थामा ६ घण्टाभित्र उपचार भएन भने बिरामीलाई सधैँका लागि प्यारालाइसिस हुने सम्भावना रहन्छ। न्युरोजेनिक पेन प्रायः ४० वर्षपछि मात्र देखिने समस्या भए पनि अहिले सबै उमेर समूहका मानिस यसबाट पीडित हुने गरेका छन्।

मेरुदण्डको नशा च्यापिने कारण
१. उमेरः उमेर जति बढ्दै गयो त्यति नशा च्यापिने सम्भावना बढ्दै जान्छ। उमेर बढ्दै जाँदा मेरुदण्डको ‘डिस्क’ खिइँदै जान्छ। डिस्क सुक्दै गएपछि नशा च्यापिने सम्भावना बढ्छ।

२. चोटपटकः लडेर वा खेलकुदका क्रममा शरीरको सन्तुलन बिग्रिई ढाडमा चोटपटक लाग्दा वा सड्किँदा पनि नशा च्यापिन सक्छ। केटाकाटी वा खेलाडीलाई यो समस्या बढी आउँछ। चोटपटकका कारणले ‘डिस्क प्रोल्याप्स’ हुँदा ढाड अत्याधिक दुख्छ। फुटबल, क्रिकेट खेलाडीहरु घाइते भएर बस्ने गरेका अधिकांश घटनामा मेरुदण्डको नशा च्यापिएको हुने गर्छ।

३. इडियोप्याथिकः कहिले काहीँ कुनै कारण बिना नै ढाडको नशा च्यापिने गर्छ। कारण पत्ता नलाग्ने तर नशा च्यापिने समस्यालाई इडियोप्याथिक भन्ने गरिन्छ।

४. पोजिसनः एउटै पोजिसनमा घण्टौँ बसेर काम गर्नेहरुको मेरुदण्डको नशा च्यापिन सक्छ। लामो समय एकै आशनमा बसेर कम्प्युटरमा काम गरिरहनुपर्दा पनि ढाड दुख्ने समस्या आउँछ। एकोहोरो बसेर काम गर्नेहरुले ढाडको नशा च्यापिनबाट जोगिनका लागि बसाइको पोजिसन फेरिरहनु राम्रो।

अर्थात् अढेस लाउन मिल्ने कुर्सीको प्रयोग गर्नुपर्छ। कुनै भारी सामान उठाउनु पर्दा खुट्टालाई अगाडि पछाडि पारेर उठाउनु राम्रो, सिधा पोजिसनमा भारि उठाउँदा ढाडको नशा च्यापिन सक्छ।

५. रोगः विभिन्न रोगका कारण पनि मेरुदण्डको नशा च्याप्पिन सक्छ। जस्तैः हड्डीरनशारस्पाइनल कर्ड आदिको ट्युमरका कारण नशा च्यापिएको हुन् सक्छ। क्षयरोगका कारण हड्डी मक्किएर नशा च्याप्पिन्छ। जन्मजात ढाड बाङ्गो भएकाहरुलाई पनि नशा च्याप्पिने सम्भावना बढी हुन्छ।

किन हुन्छ ढाड दुख्ने समस्या ? 

मेरुदण्डको हड्डीभित्र मुख्य नशा, त्यसवरपर हुने लिगामेन्ट तथा दुई हड्डीबीचमा नरम मासु हुन्छ जसलाई डिक्स भनिछ । मांसपेशी र अन्य तन्तुमा जहाँ चोट लागेपनि ढाड दुख्ने समस्या हुन सक्छ ।
आजकाल एक्स रे तथा, एमआरआई सिटीस्क्यान गरेर ढाड दुखेको कारण पत्ता लगाउने गरिन्छ । तर कहिलेकाहीँ औषधी खाँदा, विभिन्न टेष्ट गरेर हेर्दासमेत रोग पत्ता लगाउन सकिदैंन । हामीले यसलाई ‘म्याजिक बक्स’ भनेर पनि पढ्छौँ । रोगै पत्ता लगाउन नसकिने अवस्थाचाहिँे कहिलेकाहीँ मात्र हुन्छ । 

खासगरी ८० देखि ९० प्रतिशत मांसपेशी र लिगामेन्ट तन्किने, खुम्चिने कारणले गर्दा ढाड दुख्छ । सुताई नमिल्दा, पल्टिएर लामो समय कम्प्युटर मोबाइल चलाउने, गह्रौँ सामान उठाउने, निहुरिएर काम गर्नेमा यस्तो समस्या बढी हुन्छ । नेपाली समाजमा यसलाई ‘चस्को पसेको’ पनि भनिन्छ । 

प्रायः ३५ देखि ५५ उमेर समूहका मानिसमा बढी देखिन्छ । तर अरु उमेर समूहका जोकसैलाई पनि ढाड दुख्ने समस्या हुनसक्छ । यो सामान्यतया मौसम परिवर्तन हुदाँ बढी देखिन्छ । किनकि जाडोबाट गर्मी हुदाँ हामी कम कपडा ओडेर वा नओडी सुत्छाँै । बिहान हुदैँ जाँदा जाडोले हामी कुक्रुक्क परेर सुत्दा मांसपेशी तन्किएर वा खुम्चिएर दुख्ने समस्या बढी हुन्छ ।

साधारण कुरामा ध्यान दिन सकेमा ढाड दुखेर अफिस नै छुट्टी लिनुपर्ने अवस्था आउँदैन । 

अन्य कारणले पनि दुख्छ

यसबाहेक अन्य कारणले पनि ढाड दुख्ने समस्या हुनसक्छ । कहिलेकाहीँ डिक्स फुट्दा नशा च्यापिएर पनि दुखाई हुन्छ । मेडिकलको भाषामा यसलाई साइटिका भनिन्छ । यस्तोमा हातखुट्टा झमझम हुने, दुख्ने हुन्छ । यस्तो अवस्थामा भने हामीले  चिन्ता लिनुपर्ने हुन्छ ।

यस्तो समस्या भएमा दुखाई घुडाँतिर या कम्मर मुन्तिर खुट्टातिर सर्ने हुन्छ । पाठेघरको समस्या, मिर्गौलामा पत्थरी भएको छ भने पनि ब्याक पेन हुन्छ । दिसा गर्ने अंग लाटो हुने, दिसापिसाब नियन्त्रण नहुने जस्ता समस्या पनि हुन्छ । यस्तो बेलामा तुरुन्त चिकित्सककहाँ गएर उपचार गराइहाल्नुपर्छ ।

त्यसबाहेक मेरुदण्ड संक्रमण, साधारण कब्जियतको समस्या, खानपानले ठूलो आन्द्रामा असर पर्दा पनि ढाड दुख्ने समस्या हुन्छ ।

अझै काठमाडौँको सडकमा बाइक चलाउने हरुमा पनि सबैभन्दा धेरै ढाड दुख्ने समस्या बढी छ । किनकि यहाँको बाटोमा खाल्डाखुल्डी बढी छ । बाइक चलाउँदा खाल्डामा घचक्क हुँदा ढाड दुख्ने तथा डिक्स फुट्ने समस्या बढी हुन्छ । एउटा खाल्डामा एकपटक झट्का पर्दा ६ गुणासम्मको लोड लिनुपर्छ भनिन्छ । हाम्रा सडकमा गुड्दा कतिपल्ट झड्का लिनुपर्छ, गणना नै छैन ।

समस्याबाट बच्न के गर्ने/नगर्ने

– सुत्दा धेरै लचकदार तथा फोम भएको भन्दा कडा बेडमा सुत्ने ।
–    धेरै समय सुतेर टिभी हेर्न, मोबाइल, ल्यापटप चलाउन कम गर्ने
–     बाइक चलाउने क्रममा खाल्डो आउँदा अलिकता उठेर चलाउने । 
–    ढाड दुखाईसँगै ज्वरो आउने, हातखुट्टा झमझमाउने, दुख्ने हुन्छ भने चिकित्सककहाँ जानुपर्छ ।
–    तनाव नलिइकन काम गर्नुपर्छ,  ढाड दुख्ने, तनाव र डिप्रेसनबीच आपसमा अन्तरसम्बन्ध छ । 
–    अन्य जोखिमहरु मोटोपन, मधुमेहलगायतका रोग पनि ढाड दुखाईका कारण हुन् ।
– दुई वर्षभन्दा कम उमेर बालबालिकालाई मोनिटर भएका कुनै पनि साधन चलाउन नदिने । त्यसले ढाड दुख्ने समस्या त हुन्छ नै , उनीहरुको सिर्जनात्मक सोच्ने शक्ति कमजोर हुन्छ । 
–    धेरै निहुरिएर काम नगर्ने, भुई पुछ्दा उभिएर पुछ्ने, एकैपटक धेरै कपडा नधुने, सामान पनि धेरै तौल भएको नठाउने गर्नुपर्छ ।
–    बच्चामा ढाड दुख्ने समस्या भयो भने अलि राम्ररी जाँच गर्नु आवश्यक छ । उनीहरु खेल्दा लड्ने र रुघाखोकी लाग्दा ढाड दुख्ने हुन्छ । २५ वर्षभन्दा मुनिका मानिसलाई लगातार ढाड दुख्यो भने खतराको लक्षण हो ।
–    दिसापिसाव भएको छैन वा रोकिदैन, ज्वरो आयो, तौल घटिरहेको छ, दुखाई तिघ्राभन्दा तल सर्दै गएको छ भने पनि अस्पताल गई विशेषज्ञलाई देखाइहाल्नुपर्छ ।
– त्यसबाहेक सुुत्दा पोजिसन मिलाएर सुत्ने, महिलाले महिनावारी हुँदा अलि कम काम गर्ने गर्नुपर्छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...