adis sarneइटलीको रोमस्थित एउटा अदालतले ३० जना महिलामा जानाजान एचआइभी सारेको अभियोगमा एक पुरुषलाई २४ वर्ष जेल सजाय सुनाएको छ।

सन् २००६ मा एचआइभी भएको पत्ता लागेपश्चात पेशाले लेखापाल रहेका भ्यालेन्टिनो टालुटोले कम्तीमा ५३ जना महिलासँग असुरक्षित ढंगले शारीरिक सम्बन्ध राखेको बताइएको छ।
तीमध्ये एकजना १४ वर्षकी मात्र थिइन् जतिबेला टालुटोसँग उनको शारीरिक सम्बन्ध भएको थियो।

सामाजिक सञ्जाल र 'डेडिङ' वेबसाइटमा 'हार्टली स्टाइल' भन्ने नाम राखेर उनले मानिसहरुसँग सम्पर्क बनाउने गरेको बताइएको छ।टालुटोका वकिलले उनको क्रियाकलाप 'मूर्खतापूर्ण भएपनि जानाजान नभएको' दाबी गरेका छन्।

समाचार संस्था एएफपीका अनुसार कण्डम लगाएर शारीरिक सम्बन्ध राख्न आग्रह गरेका महिलाहरुलाई टालुटोले त्यसबाट आफूलाई एलर्जी हुने र हालसालै एचआइभीको परीक्षण गराएको बताउने गरेका थिए।केही महिलाहरु एचआइभीबाट संक्रमित भएपछि उनको विरोध गर्न पुग्दा टालुटोले आफूमा एड्स निम्त्याउने प्राणघातक एचआइभीको जीवाणु नभएको बताएका थिए।

टालुटोको क्रियाकलापले गर्दा उनले प्रत्यक्ष रुपमा एचआइभी सारेका एक महिलाबाट अर्का चारजना (तीनजना पुरुष र एक बच्चा) संक्रमित हुन पुगे।

गत महिना अभियोजनाकर्ता एलिना नेरीले भनेकी थिइन्, उनका क्रियाकलापको उद्देश्य मृत्यु फैलाउनु रहेको थियो।

तर टालुटोले उक्त आरोप अस्वीकार गर्दै भनेका छन्, एचआइभीबाट संक्रमित भएको थाहा भएको भए वास्‍तविक सम्बन्धहरु बनाउनका निम्ति मैले प्रयास गर्ने थिइनँ।टालुटोकी आमा एचआइभी संक्रमित लागुऔषध दुर्व्यसनी थिइन् र टालुटो चार वर्षको हुँदा उनकी आमाको मृत्यु भएको थियो।

निर्णय सुनाउनुअघि न्यायाधीशहरुले फैसलाबारे १० घण्टाभन्दा बढी समय छलफल गरेका थिए।स्थानीय सञ्चारमाध्यमका अनुसार अदालतको फैसला सुनाइंदा पीडितहरु रोएका थिए। बिबिसी

आज विश्व एड्स दिवस

hiv
टिभी या रेडियोमा एचआईभी एड्सकाबारेमा निक्कै सन्देशमूलक विज्ञापन आउने गर्दछन्, ति विज्ञापन आउँदा हामीमध्ये कत्तिले नाक खुम्च्याएर च्यानल चेञ्ज पनि गर्यौं होला, अफ्ठेरो महसुस पनि गर्यौं होला या विस्तारै सहजता महसुस गर्दै पनि गयौं होला । वास्तवमा यौन, यौनिकता अनि प्रजजन स्वास्थ्यसंग सम्बन्धित कुराहरु हामी खुलेर गर्न चाँहदैनौ र त्यसै कारणले पनि धेरै प्रकारका यौन अनि प्रजजन स्वास्थ्यका आयामहरुबाट हामी अनभिज्ञ नै छौं । मह सञ्चारका विभिन्न टेलिसिरियलमा हामीले एचआईभी सम्बन्धि धेरै सिरियलहरु अनि अभिब्यक्तिहरु देखेका हुनसक्छौं चाहे त्यो सुपारी चपाएर बिजुलीको तेल लगाउने ससुरा हुन या टुल्केका चार मन्त्र होस्, कण्डमको विज्ञापन होस् या पाठ्यक्रममै किन नहोस्, हामीले एचआईभी र एड्ससंग सम्बन्धित ज्ञानमूलक, जानकारीमूलक सामाग्रीहरू सुन्दै, देख्दै र पढदै आएका छौ ।

विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरु खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरु, चिह्नहरु अनि प्रवर्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्‍याली, भेला, गोष्ठीहरु आयोजना गर्दै एचआईभी एड्सकाबारेमा जनचेतना फैलाईन्छ । एचआईभी र एड्स दुईटा भिन्न कुराहरु हुन्, एचआईभी एउटा भाईरस हो जसको कारणले एड्सको अवस्थामा पुर्याउँदछ । एचआईभीलाई अहिले संसारभरिनै एउटा रोग भन्दापनि संक्रमणका रुपमा हेरिन्छ । हरेक एचआईभी संक्रमितहरु एड्स लागेका होइनन् । आजभोली विभिन्न सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाईने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआईभी संक्रमितहरु अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।

एचआईभी संक्रमितसंग हाँस्दा, बोल्दा, जूठो खाँदा र एउटै चर्पी प्रयोग गर्दा एचआईभी सर्छ भन्ने गफ केवल भ्रम हो । संक्रमित रक्त दान अथवा ग्रहण गरिएमा, संक्रमितले प्रयोग गरेको सुइजन्य छाला छेड्ने औजार प्रयोग गरेमा र संक्रमित आमाबाट जन्मने बच्चाहरुमा मात्र यसको संक्रमण सम्भावना रहन्छ ।

नेपालमा एचआईभी को प्रथम संक्रमण सन् १९८८ मा देखिएको हो । एक त यौनजन्य क्रियाकलापकालागि अत्यन्त संकुचितत समाज अनि असुरक्षीत यौनजन्य क्रियाललापहरुका कारणले हुने संक्रमण भएकाले नेपालमा एचआईभी संक्रमितहरु धेरै समयसम्म लुकेर बस्थे तर उपचारात्मक अनि परामर्शात्मक सुबिधातर्फ जाने गर्दैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितहरुले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका कैयन उदाहरणहरु अझै पनि समाजमा सुन्न सकिन्छ ।

आज विश्व एड्स दिवसका दिन एचआईभी संक्रमणले गर्दा मृत्यूभएका ति सम्पूर्ण संक्रमितहरुको आत्माको चिर शान्तिकालागि दिप पनि प्रज्वलन गरिन्छ ।

नेपाल र भारतको खुल्ला सिमा अनि मौसमी कामकालागी भारत तथा वैदेशिक रोजगारीकालागि जाने नेपाली यूवाहरुको लश्कर लामै हुने भएकाले अनि ति यूवाहहरुलाई यौनजन्य संक्रमण लगायत एचआईभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनिहरु यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कदा रगतमा एचआईभी संक्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरुमा यो संक्रमण जानअञ्जानमा सार्न पुग्दथे । त्यसपश्चात जन्मेका धेरै एचआईभी संक्रमित बालबालिकाहरु आज पनि हामीमाझ समाजभित्रै छन् । उनिहरुमध्ये अधिकांश अनाथ छन् र उनिहरुको उचित शिक्षा अनि सहज जीवनयापन अझैपनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको एक्यवद्धता जरुरी छ ।

एचआईभीका कुरा गर्दा संसारभरिनै तिनवटा शुन्य अर्थात थ्रि जिरोको अवधारणा अत्यन्त चर्चित छः
प्रथम शुन्यले एचआईभी संक्रमितको मृत्यूदर शुन्यमा पूर्याउने
दोश्रो शुन्यले नयाँ एचआईभी संक्रमण दर शुन्यमा पूर्याउने
तेश्रोले एचआईभी संक्रमितप्रतिको भेदभाव दर शुन्यमा पूर्याउने कटिवद्धता जनाँउदछ ।

नेपालमा एकदशक अगाडी सम्म एचआईभी एउटा महामारीका रुपमा थियो, महामारी अर्थात् एपिडेमिक भनेको यस्तो संक्रमण जुन जो कोहीलाई पनि हुन सक्दछ । विस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरुको सहयोग अनि लगानीका कारणले नेपालीहरुमा एचआईभीको ज्ञान र जनचेतनामा अभिवृद्धी हुँदै गएर आजका मितीमा एचआईभी एउटा केन्द्रित महामारी अर्थात कन्सन्ट्रेड एपिडेमिक भएको छ । यो भन्नाले केही निश्चित समूहमा मात्र यो संक्रमणको सम्भावना रहने र कूल जनसंख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ, नेपालमा यसरी एचआईभीको जोखिममा धेरै भएका समुहहरुमा मूख्यतः
१. वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरु
२. पुरुषसंग शारीरीक सम्पर्क गर्ने पुरुषहरु
३. सुइद्वारा नशा सेवनगर्ने ब्यक्तिहरु
४. असुरक्षित याैनकर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरु रहेका छन् ।

एचआईभीसंग नजिकका मुद्दाहरू अनि यसका बहुआयामिक प्रभावलाई कमगर्न नेपाल सरकारले टेकुमा विशेष रुपमा एचआईभी र यौन रोगका मुद्दाहरूमा काम गर्न राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र स्थापना गरेको छ । एचआईभी संक्रमितहरुलाई निःशुल्क रुपमा एआरभी भाईरस ओखती खानपाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्यकेन्द्रहरुमा गरेको छ ।

सुरक्षित यौन जीवनकालागि हरेक स्वास्थ्यचौकी र ओखती पसलमा कण्डम पाईन्छ भने विस्तारै यौन, प्रजजन स्वास्थ्य, अधिकार तथा यौनजन्य संक्रमणहरुमा खुल्लारुपमा कुरा हुन थालेको छ । स्कूलका पाठ्यक्रममा पनि यौनजन्य संक्रमण र एचआईभीका कुराहरु पढाइनाले आँउदा पुस्ताहरु यस्ता जोखिमपूर्ण क्रियाकलापविरूद्ध समयमै सचेत गराउँदछ । आजको दिन विशेषतः एचआईभीकाबारेमा धेरै जानकारी फैलाउने दिन भएकाले हाम्रो पात्रोमार्फत हामीले यी महत्वपूर्ण जानकारी प्रस्तुत गर्यौं, यौनजन्य संक्रमणबाट सबै सुरक्षित रहौं ।

नेपालमा सङ्क्रमण दर घट्दो क्रममा
आज ३२ औँ विश्व एड्स दिवस। हरेक वर्ष डिसेम्बर १ तारिखका दिन विश्व एड्स दिवस मनाइन्छ। सन् १९८८ देखि हरेक वर्ष यो मनाइँदै आएको छ।

एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण होस् भन्ने उद्धेश्यले यो दिवस मनाइन्छ।

यस वर्षको दिवसको नारा रहेको छ 'एचआइभीको नियन्त्रणमा समुदायको प्रभावकारी भुमिका'। समुदाय भन्नाले साथी शिक्षक,संक्रमितहरुको सञ्जाल, एचआइभीको उच्च जोखिम रहेका जस्तै पुरुष समलिंगी, सुईद्धारा लागुऔषध प्रयोगकर्ता र यौनकर्मी, महिला तथा वयस्कहरु, परामर्शकता, समुदाय स्वास्थ्य कार्यकता महिला स्वयंसेविका नागरिक समाज र सामाजिक परिचालकहरु भन्ने बुझिन्छ।

उक्त नाराले सन् २०२० सम्मको लागि ९०ः९०ः९०ः अर्थात ९० प्रतिशत एचआइभी संक्रमितहरुले आफ्नो संक्रमण अवस्थाबारे थाहा पाउने, ती मध्ये ९० प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेहरु मध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्युन भएको हुने लक्षयहलाई प्राप्त गर्ने टेवा मिल्ने बताइएको छ।

विश्वमा सन् २०१८ को अन्त्यसम्म संसारभर ३ करोड ७९ लाख व्यक्तिहरुमा एचआईभी संक्रमण भएको अनुमान गरिएको छ।

नेपालको तथ्यांक हेर्ने हो भने २९ हजार ९४४ जनामा एचआईभी संक्रमण भएको अुनमान छ। ती मध्ये पुरुषको संख्या १७ हजार ७३२ र महिलाको संख्या १२ हजार २१२ रहेको छ।
नेपालका वयस्क १५ देखि ४९ वर्षको उमेर समूह जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१४ प्रतिशत रहेको छ। नेपालमा करिब ७६ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्ककको माध्यमबाट सरेको पाइएको छ।

सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी ,पुरुष समलिंगी तथा तेस्रोलिंगीहरु, रोजगारीका लागि विदेशीनेहरु र जेलका कैदीहरु नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समुहहरुमा पर्छन्। जसमध्ये सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा एचआइभी संक्रमणको दर अरु जोखिममा रहेका समूह भन्दा उच्च छ।

सन् २०१० देखि सन् २०१८ सम्ममा विश्वव्यापी १६ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४१ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको छ।

यसैगरी, सन् २००४ (सबैभन्दा धेरै एड्स सम्बन्धी मृत्यु भएको वर्ष) देखि सन् २०१८ सम्ममा एड्सको कारणले मृत्यु ५६ प्रतिशले घटेको छ।

सन् २०१८ सम्मा कुल एचआइभी संक्रमित मध्ये ६२ प्रतिशत २ करोड ३३ लाख मात्र एआरभी उपचारमा छन्। यसै गरी सन् २०१० को तुलनामा स्न २०१८ सम्मा नेपालमा ५८ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ७१ प्रतिशतले बच्चाहरुमा हुने नयाँ संक्रमणमा कमी आएकोे छ।

यसैगरी एड्सको कारणले मृत्यु हुने संख्या ३८ प्रतिशतले घटेको छ। सन् २०१९ जुलाई सम्ममा नेपालको कुल एचआइभी संक्रमित मध्ये ६० प्रतिशत (१७ हजार ९८७) मात्र एआरभी उपचारमा छन्। सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्य लिइएको छ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्टचन भन्छन् 'यो खुसीको कुरा हो, नेपाल लगायत विश्वव्यापी रुपमा नै एचआइभीको नयाँ संक्रमण घट्दै छ।' उनले एआरभी औषधि उपचारमा समेत पहुँच बढ्दै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी आएका बताउँछन्।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग नियन्त्रण अस्तपालका एड्स तथा यौनरोग विशेषज्ञ डा अनुप बास्तोलाले समाजमा एचआइभी संक्रमितलाई घुलमिल गराउन सके, विभेद नगरे उनीहरुले पनि नयाँ प्रगतिहरु गर्न सक्ने बताए। उनी भन्छन् 'मैले जाँचेक बिरामीहरु अहिले इन्जिनियर तथा डाक्टर बनेका छन् त्यसैले स्याहार र हौसला आवश्यक छ।'

एचआइभी र एड्स सम्बन्धी लाञ्छना तथा भेदभावमा अझै कमी ल्याउन सके मात्र्र सन् २०३० को अन्त्य सम्मा एड्सको महामारीलाई अन्त्य गर्न सकिन्छ ।साथ साथै एचआइभीको बेलैमा उपचार हेरचाह र स्याहकार सेवा आवश्यक छ ।

एचआइभी लाग्नबाट कसरी बच्ने?
- हरेक पटककको यौनसम्पर्कमा कण्डमको सही तरिकाले प्रयोग गर्नुहोस्।
- सूई तथा सिरिञ्ज प्रयोग गर्दा सधैँ नयाँ वा निर्मलीकरण गरेको मात्र प्रयोग गर्नुहोस्।
- रगत लिँदा एचआइभी संक्रमण नभएको सुनिश्चिता गर्नुहोस्।
- हरेक गर्भवती महिलाले एचआइभी जाँच गराइ आफ्नो नवजात शिशुलाई एचआइभी सर्नबाट जोगाउनुहोस्।
- एचाआइभी भएका व्यक्तिहरुले नियमित रुपमा एआरभी औषधि खाएमा आफ्नो यौन साथीलाई एचआइभी सर्नबाट बचाउन सकिन्छ।

एचआइभीको परिक्षण र उपचार सबै एचआइभी परिक्षण तथा परामर्श सेवा र ए आरटि केन्द्रबाट नेपाल सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँछ।
सरकारले ६० जिल्लामा कर्णाली जिल्ला बाहेकमा एआरटी सेन्टर रहेका छन् भने औषधीमा वार्षिक २४ करोड ५० लाख खर्चिने गरेको छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...