tealaya add

काठमाडौँ - यतिबेला अस्ट्रेलियामा उच्च अध्ययनका लागि आएका करिब एक हजार नेपाली विद्यार्थी कलेजको खारेजीसँगै अलमलमा परेका छन् । के गर्ने–कसो गर्ने, अब भविष्य के होला ? भन्ने चिन्ताले उनीहरूलाई पिरोल्न थालेको छ । 

australia

उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका हजारौं नेपाली विद्यार्थी गलत सल्लाह र सुझावका कारण शैक्षिक अन्यौलमा पर्ने गरेको घटना सेलाउन नपाउँदै फेरि करिब एक हजार नेपाली विद्यार्थी समस्यामा परेका छन्।

इन्टरनेशनल इन्सिच्युट अफ विजनेश एन्ड टेक्नोलोजी इन्टरनेशनल प्रालि (एआइबिटी इन्टरनेशनल) कलेजलाई अस्ट्रेलियन स्कील क्वालिटी एथोरोटी(आस्क्वा)ले  मंगलबार कलेजको दर्ता खारेजी गर्ने निर्णयगरेसँगै विद्यार्थी अन्यौलमा परेका हुन्।

अस्ट्रेलियन सरकारको शैक्षिक निकायले यो निर्णय गरेता पनि सम्बन्धित निकायले माथिल्लो निकायमा पुनरावलोकन गर्ने अधिकार भने रहन्छ।

तीन महिनाअघि एकै नामको एआइबिटी कलेजको नर्सिङ निकायको दर्ता हुन नसक्दा र खारेजीमा पर्दा हजारौं नेपाली विद्यार्थी अलपत्र परेका थिए। दुवै कलेज एकै व्यक्ति  र संस्थाबाट सञ्चालित रहेको तथ्य सार्वजनिक भएको छ।

यसरी पटकपटक नेपाली विद्यार्थीहरूको संख्या अधिक भएका यस्ता कलेजहरूको दर्ता खारेजीले उनीहरूको भविष्यमाथिनै खेलवाड गरेको देखिन्छ।

एआइबिटी र एआइबिटी इन्टरनेशनल एकै स्वामित्वमा रहेका दुई भिन्दाभिन्दै कलेज हुन्।

यस अघि डिप्लोमा अफ नर्सिङ पढ्ने नाममा सम्बन्धित निकायको सम्बन्धन नै प्राप्त गर्न नसकेको कलेजमा पढेका हजारौं नेपाली विद्यार्थी अहिले पनि खारेजी र त्यसको असरमा झुलिरहेको परिस्थितिमा पुन: सोही नामको इन्टरनेशनल कलेज बन्द भएपछि हजारौं विद्यार्थीको भविष्य अन्यौलमा परेको छ ।

यतिखेर झन्डै पचास हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत छन्। एआइबिटी इन्टरनेशनल कलेजको खारेजीपछि त्यहाँ अध्ययनरत हजारौं विद्यार्थीको भविष्य के हुने भन्ने विषय पुन: सोचनिय बनेको छ।

यसअघि कलेजको खारेजी र स्टे अर्डरको चक्करमा विद्यार्थीहरू रुमल्लिरहेका छन्।

पुन: एआइबिटीको खारेजीको असरमा अरु हजारौं नेपाली विद्यार्थीहरू पर्ने देखिएका छन्।

‘हामीले यतिबेला  विद्यार्थीहरूलाई संयमित भएर कलेज जान र अर्को निर्णय नआउञ्जेल कलेजको नियम कानुनभित्र बस्न विद्यार्थीलाई अनुरोध गरेका छौं, तर हामीले यी सबै विद्यार्थीको हक र हितका लागि केही दिनभित्रै योजनावद्ध तरिकाले अगाडि बढ्ने निर्णय भने गरेका छौं,’ काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अस्ट्रेलियाका अध्यक्ष विजय सापकोटाले भने।

उनले अस्ट्रेलियाको शैक्षिक प्रणालीविरूद्धको शुद्धीकरणको सरकारी प्रयास भए पनि यसले विद्यार्थीको जीवनमा पार्ने भयावह अवस्थाका बारेमा सरकार सजग हुनुपर्ने बताए।

विजय अगाडि भन्छन्,‘आउने विद्यार्थी र ल्याउने निकाय सचेत र सजग नहुँदाको परिणाम अहिले देखिएको हो। सत्य तथ्य बुझेर आउने र विद्यार्थीलाई यहाँको वास्तविक अवस्थाको चित्रण गरिदिने हो भने यतिधेरै समस्या आउँदैन।’

विदेश जाने रहर,हतारमा निर्णय र गलत सूचना प्रवाह र नैतिक जिम्मेवारिताको कमी अनि अस्ट्रेलियन शैक्षिक नीतिका कमजोरीका कारण अस्ट्रेलियामा सुन्दर भविष्यको खोजीमा उच्च अध्ययनका लागि आएका हजारौं नेपाली विद्यार्थी अन्यौलमा परेको स्पष्ट देखिन्छ।

पछिल्लो पटक सरकारले एन्म्याकको सम्बन्धन बिनाडिप्लोमा अफ नर्सिङ पढाउन नपाउने निर्णय गरेपछि भने नयाँ आउने विद्यार्थी एनआइबिटीजस्ता समस्याबाट मुक्त भएका थिए।

अब फेरि  एआइबिटी इन्टरनेशनल जस्तो कलेज खारेजीको चपेटामा पर्न थालेपछि अबका दिनमा कस्ता शैक्षिक संस्थाहरूमा पढ्न आउने भन्ने विषय निकै महत्वपूर्ण बनेको छ।

यसैबीच, सिड्नीमा रहेको अस्ट्रेलियन हार्वर इन्टरनेशनल कलेजको नर्सिङ निकायलाई मात्रै आस्क्वाले खण्डित खारेज गर्ने निर्णय गरेको छ।

कलेजका अन्य संकायहरूमा भने यस निर्णयले कुनै असर पार्ने छैन। यस निर्णयविरूद्ध पनि कलेजले उच्च निकायमा अपिल गर्न भने पाउने छ।

भर्खरै गरिएका लेखा सर्वेक्षणमा निकै राम्रो मानिएका कलेज डिप्लोमा अफ नर्सिङ पढाइ प्रारम्भ गरेलगत्तै यसरी खण्डित खारेजीमा पर्नु अचम्मित भएको कलेजले जनाएको छ।

आफूहरूलाई यस विषयमा कुनै जानकारी नआएको र एक्कासी आस्क्वाको वेबसाइटमा यस्तो निर्णय देख्दा अचम्मित भएको कलेजका निर्देशकले बताएका छन्।

उनले सम्बन्धित निकायलाई जानकारी नदिइ यसरी निर्णय सार्वजनिक गरिनु उचित नरहेको र भर्खरै गरिएको लेखा सर्वेक्षणमा समेत कलेज अब्बल ठहरिएको दाबी गरे।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...