विश्व अर्थतन्त्र (Project Syndicate 2019)

thusidids trap kantipath

केही वर्षअघि चीनका पश्चिमी प्रतिनिधिमण्डलको हिस्साका रूपमा मैले बेइजिङको ग्रेट हल अफ दी पिपलमा चिनियाँ राष्ट्रपति सी जिनिपिङलाई भेटेको थिएँ । हामीलाई सम्बोधन गर्ने क्रममा सीले चीनको उदय शान्तिपूर्ण हुन सक्ने र अन्य राष्ट्र विशेष गरी अमेरिकाले ‘थुसाइडिड्स ट्रयाप’ (स्थापित शक्ति र उदीयमान शक्तिबीचको टकराबले सधैँ युद्धलाई नै निम्त्याउँछ भन्ने बुझाउन हार्बर्ड युनिभर्सिटीका प्राध्यापक ग्राहम एलिसनले प्रयोगमा ल्याएका शब्द) का बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताए । 

एलिसनले सन् २०१७ मा लेखेको पुस्तक ‘डिस्टाइन्ड फर वारः क्यान अमेरिका एन्ड चाइना एस्केप थुसाइडिड्स ट्रयाप’मा उदीयमान र स्थापित शक्तिबीचका १६ वटा अघिल्ला टकराबको अध्ययन गरेका थिए । त्यसमध्ये १२ वटाको अन्त्य युद्धमा परिणत भएको थियो । सीले हामी बाँकी रहेको चार वटामा केन्द्रित होऔँ भन्ने चाहेका थिए । यसमा कुनै शंका थिएन । थुसाइडिड्स ट्र्यापका बारे आपसी जागरुकता र इतिहास नियतात्मक हुँदैन भन्ने पहिचान हुँदाहुँदै पनि चीन र अमेरिका यसमा नजानिँदो तरिकाले पर्दै छन् । यी दुई विश्वका प्रमुख शक्तिबीचको ‘हट वार’ (सैन्य परिचालित युद्ध) को सम्भावना निकै पर देखिए पनि शीतयुद्धको सम्भावना भने बलियो छ ।

अमेरिकाले हालको तनाव चीनकै कारण भएको भन्ने आरोप लगाउँदै आएको छ । सन् २००१ मा विश्व व्यापार संगठनमा आबद्ध भएयता चीनले विश्व व्यापार र लगानी प्रणालीको लाभ उठाएको छ । अमेरिकाका अनुसार चीनले, बौद्धिक सम्पत्ति चोरी, बाध्यात्मक प्रविधि ट्रान्सफर, आन्तरिक कम्पनीलाई सहुलियत र राज्य पुँजीवादका अन्य उपकरणका माध्यमबाट अनुचित लाभ उठाइरहेको छ । सोही क्रममा चिनियाँ सरकार सत्तावादी बन्ने क्रम बढ्दो छ, जसले चीनलाई अर्बेलियन (जर्ज अर्बेलले स्वतन्त्र व्यापारको अवस्था नराम्रो हुने स्थितिलाई बुझाउन प्रयोग गरेको शब्द) निगरानी राज्यमा परिवर्तन गर्दै छ । 

चीनलाई अगाडि बढ्नबाट रोक्ने वा विदेशमा कानुनी शक्ति प्रदर्शन गर्नबाट रोक्नु नै अमेरिकाको प्रमुख लक्ष्य रहेको चीनले अनुमान लगाएको छ । विद्वान्हरूका विचारमा विश्वको दोस्रो ठूलो अर्थतन्त्रले विश्वमञ्चमा आफ्नो उपस्थिति विस्तार गर्न खोज्नु उचित हो । र, चिनियाँ नेताहरूले पनि के तर्क प्रस्तुत गर्छन् भने चिनियाँ सरकारले १ अर्ब ४० करोड चिनियाँको भौतिक अवस्थामा सुधार ल्याउन सफल भएको छ, जुन पश्चिमी गतिरोधात्मक राजनीतिक प्रणालीले कहिल्यै गर्न सक्दैनथ्यो । जुनसुकै पक्षको तर्क बलियो भए पनि आर्थिक, व्यापार, प्राविधिक र भूराजनीतिक तनाव भने पक्कै पनि बढ्ने अनुमान गर्न सकिन्छ । जुन कुरा व्यापार युद्धका नामले सुरुवात भएको थियो, त्यही नै आज स्थायी आपसी दुस्मनीका रूपमा परिणत हुन सक्ने खतरा देखिएको छ । यो ट्रम्प प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिमा झल्किन्छ, जसले चीनलाई एक रणनीतिक प्रतिस्पर्धीका रूपमा लिन्छ । 

यसै क्रममा अमेरिकाले संवेदनशील क्षेत्रमा चिनियाँ प्रत्यक्ष विदेशी लगानीलाई कडा प्रतिबन्ध लगाइरहेको छ र कृत्रिम बौद्धिकता र ५जीजस्ता रणनीतिक उद्योगमा पश्चिमी वर्चस्व सुनिश्चित गर्न आवश्यक कदम पनि चालिरहेको छ । अमेरिकाले आफ्ना पार्टनर तथा मित्र राष्ट्रलाई युरोसियन क्षेत्रमा पूर्वाधार परियोजना निर्माण गर्ने चीनको बृहत् कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभमा सहभागी नहुनसमेत दबाब दिइरहेको छ । र, चीनले आफ्नो क्षेत्र भनेर दाबी गरिरहेको इस्ट र साउथ चाइना सीमा अमेरिकी नेभी प्याट्रोललाई बढाइरहेको छ । 

चिनियाँ राष्ट्रपति सीले चीनको उदय शान्तिपूर्ण हुने र अन्य राष्ट्र विशेष गरी अमेरिकाले ‘थुसाइडिड्स ट्र्याप’ (स्थापित शक्ति र उदीयमान शक्तिबीचको टकराबले सधैँ युद्धलाई नै निम्त्याउँछ भन्ने बुझाउन हार्बर्ड युनिभर्सिटीका प्राध्यापक ग्राहम एलिसनले प्रयोगमा ल्याएका शब्द) का बारेमा चिन्ता गर्न आवश्यक नरहेको बताउँदै आएका थिए । तर, अहिले यिनै दुई राष्ट्र व्यापार युद्धको चरम उत्कर्षमा छन् ।

अमेरिका र चीनबीचको शीतयुद्धले विश्वमा ल्याउने परिणाम अमेरिका र सोभियत संघबीचको शीतयुद्धभन्दा पनि चरम हुन सक्ने खतरा बढेको छ । उता सोभियत संघको त पहिल्यै आर्थिक मोडल असफल भइसकेको हो । विश्वको शक्तिशाली राष्ट्र भए पनि यसले १९९० को दशकमा सम्पूर्ण शक्ति गुमायो । यसका अतिरिक्त चीन छिट्टै नै विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने र त्यहीँबाट ऊ अगाडि बढ्न सुरु गरेको देखिन्छ । पहिले अमेरिका र सोभियत संघबीच एकदमै थोरै व्यापार हुन्थ्यो । तर, अहिले चीन पूर्णतया विश्व व्यापार र लगानी प्रणालीमा विशेष गरी अमेरिकासँग गहिरो आर्थिक सम्बन्धमा छ । 

पूर्णस्तरको शीतयुद्धले डी ग्लोबलाइजेसनको नयाँ चरण निम्त्याउन सक्छ वा विश्व अर्थतन्त्रलाई दुईवटा असमान आर्थिक ब्लकमा विभाजन गर्न सक्छ । जुनसुकै परिस्थितिमा पनि वस्तु, सेवा, पुँजी, श्रम, प्रविधि र तथ्यांकको व्यापारमा तीव्र रोक लगाइन्छ र डिजिटल क्षेत्र टुक्रिन्छ, जहाँ पश्चिमी र चिनियाँ नोड एक–अर्कासँग जोडिन सक्दैनन् । अब जब अमेरिकाले जेडटिई र हुवावेजस्ता प्राविधिक कम्पनीमथि प्रतिबन्ध लगाएको छ, चीनले आवश्यक कच्चा सामग्री आन्तरिक रूपमा वा अमेरिकासँग निर्भर नभएका आफ्ना मैत्री व्यापार साझेदारबाट ल्याउने सुनिश्चित गर्न सक्छ । 

अहिलेको परिस्थितिमा सबै राष्ट्रले चीन र अमेरिका एक–एक पक्ष समातून् भन्ने अपेक्षा गरेका छन् । अधिकांश राष्ट्रले चाहिँ दुवै राष्ट्रबीच राम्रो आर्थिक सम्बन्ध कायम राख्ने योजना बुनेका छन् । जे भए पनि आज अमेरिकाका अधिकांश मित्रराष्ट्रले चीनसँग धेरै व्यापार गर्ने गरेका छन् । तैपनि, कृत्रिम बौद्धिकता र ५जीजस्ता महत्वपूर्ण प्रविधिमाथिको पहुँचलाई चीन र अमेरिकाले छुट्टाछुट्टै नियन्त्रण गर्ने भविष्यको अर्थतन्त्रमा मध्यम क्षेत्र भने अन्धकार हुने सम्भावना अधिक देखिन्छ । सबैजनाले छनोट गर्नुपर्छ र विश्व डी ग्लोबलाइजेसनको लामो प्रक्रियामा प्रवेश गर्न सक्छ ।

जे भए पनि चीन–अमेरिका सम्बन्ध यो शताब्दीको प्रमुख भूराजनीतिक मुद्दा बनेको छ । केही हदसम्म प्रतिस्पर्धा अपरिहार्य हुन्छ । तर, दुवै पक्षले यसलाई उपयोगी तरिकाले व्यवस्थापन गर्न सक्नुपर्छ । यसमा केही मामिलामा सहकार्य पनि गर्न आवश्यक हुन्छ । केहीमा चाहिँ स्वस्थ्य प्रतिस्पर्धी बन्नु आवश्यक हुन सक्छ । साथै विश्वव्यापी नियम र संस्थालाई आकार प्रदान गर्न नयाँ उदाउँदो शक्तिलाई भूमिका प्रदान गर्नुपर्छ भन्नेमा आधारित रहेर चीन र अमेरिकाले नयाँ अन्तर्राष्ट्रिय नियमको निर्माण गर्नु पनि जरुरी देखिन्छ । अमेरिकाले चीनको विकास र उसको उदयलाई रोक्ने प्रयास गरेमा चीनले पनि एसिया र विश्वमा आफ्नो शक्ति आक्रामक रूपले प्रदर्शन गर्न थालेमा सम्बन्ध झन् बिग्रिँदै जानेछ । र, यसले पूर्णस्तरको शीतयुद्ध निम्त्याउँछ । त्यसपछि ‘हट वार’ नहोला भन्न सकिन्न । २१औँ शताब्दीमा थुसाइडिड्स ट्र्यापले अमेरिकालाई मात्रै नभई पूरै विश्वलाई नै निलिदिन पनि सक्छ । यो कुरा दुवै देशले राम्ररी बुझ्नु जरुरी भइसकेको छ । 


(नयाँ पत्रिका - नुरियल रुबिनी न्युयोर्क युनिभर्सिटीको स्टर्न स्कुल अफ बिजनेसमा अर्थशास्त्रका प्राध्यापक हुन् भने रोउबिनी म्याक्रो एसोसिएट्सका प्रमुख कार्यकारी अधिकारी पनि हुन् ।)

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...