annapurna add

president donald trump 2020 campaign 01

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहराज्य फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् । फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । ‘पूर्वराष्ट्रपतिको कार्यालयबाट उनले पूर्वराष्ट्रपतिको रूपमा गर्ने सार्वजनिक भूमिका र गतिविधि सञ्चालन गर्नेछन्,’ उनका सहयोगीहरूले भनेका छन् । सो कार्यालयबाट पत्र तथा वक्तव्यहरू आदानप्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्य हुने उनीहरूको भनाइ छ ।

यसैगरी, ट्रम्पको कार्यकालमा भएगरेका कामहरूको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत पनि यस कार्यालयबाट हुने जनाइएको छ । नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरूप्रति टिप्पणी गर्ने र त्यसका विरुद्ध जनमत बनाउने रणनीति पनि यसै कार्यालयबाट हुन सक्ने अनुमान गरिएको छ । ‘राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उनलाई आफ्नो अभिभावक मानेका छन्,’ उनको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । उनको कार्यालयको नामलाई आधार मान्दा सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्ने छैनन् भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर, उनी र उनका सल्लाहकार तथा सहयोगीहरूले भने यसबारेमा स्पष्ट पारेका छैनन् ।

यही २० जनवरीमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्वराष्ट्रपति ट्रम्प सोमबारसम्म मौन थिए। सामाजिक सञ्जाल ट्विटरले समेत उनको ट्विटर खाता खारेज गरिदिएकाले उनलाई सार्वजनिक रूपमा टीकाटिप्पणी गर्ने माध्यमको अभाव भएको थियो । अमेरिकी संसदमा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि ट्विटरले उनको खाता खारेज गरिदिएको हो । अनेक विवादका बीच प्रतिस्पर्धी बाइडेनको जितलाई समेत अस्वीकार गर्दै उनलाई बधाई नदिई ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट बाहिरिएका थिए ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि लागेको महाअभियोग तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले माथिल्लो सदन सिनेटलाई बुझाएको छ । तल्लो सदनले जनवरी १३ मा ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेको थियो । सभामुख न्यान्सी पेलोसीले नियुक्त गरेको तल्लो सदनका महाअभियोग व्यवस्थापकहरुले सोमबार माथिल्लो सदनलाई ट्रम्ममाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् ।

यो सँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाई प्रक्रियाका लागि मार्ग प्रसस्त भएको छ । जनवरी ६ मा राष्ट्रपतिमा जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त शत्र जारी रहेका बेला नतिजा उल्ट्याउने मनसायसहित ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।

एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको सो आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको बिद्रोह रहेको र त्यसका लागि उक्साएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो । जनवरीमा २० मा उनी आफ्नो पहिलो कार्यकाल पूरा गरेर सत्ताबाट बिदा भएका छन् । सोही दिन शपथ लिएका बाइडेनले अहिले तीव्र रुपमा कार्यकारी आदेशहरु जारी गरेर आफ्नो प्रशासनको रणनीतिक मार्ग तय गर्ने प्रयास गरिरहेका छन् ।

अमेरिकी इतिहासमा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका ट्रम्प सत्ताबाट बाहिरिए पनि सिनेटमा सुनुवाई हुनेछ । ट्रम्पले सुनुवाईका लागि आफ्ना वकिलहरुको टिम बनाउने प्रक्रिया थालेका छन् । सिनेटमा आउँदो फेब्रुअरी ९ देखि महाभियोगमाथि सुनुवाई सुरु हुने सम्भावना छ ।

यसैबिच राष्ट्रपति बाइडेनले महाअभियोग प्रस्तावमाथि सुनुवाई चाँडो हुनु पर्ने पक्षमा आफू रहेको बताएका छन् । सिएनएनकी चिफ ह्वाइट हाउस करेसपोन्डेन्ट केट्लन कोलिन्ससँगको संक्षिप्त वार्तामा बाइडेनले सिनेटमा सुनुवाई हुनु पर्ने बताएका हुन् । त्यसको प्रभाव आफ्ना मन्त्रीहरुको सुनुवाई तथा रणनीतिहरुमा पर्ने भए पनि महाअभियोग प्रस्ताव अति महत्वपूर्ण रहेको बाइडेनले बताएका हुन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...