Sonia Gandhi11

भारतको महाराष्ट्रमा सरकार गठनका लागि शिवसेना र एनसीपी मिल्ने भएपछि कांग्रेस किङमेकरको भूमिकामा आएको छ । तर, शिवसेना र कांग्रेसबीच विचारधारामा आकाश–जमिनको अन्तर छ ।

वैचारिक मतभेद भएका कारण कांग्रेसका लागि यो निर्णय लिन सजिलो पनि छैन । यसरी भन्दा यतिबेला कांग्रेस आफैं शिवसेनासँग दोस्ती गर्ने र दुश्मनीको पुरानो सम्बन्धमै रहने भन्ने दुविधा पैदा भएको छ ।

यसै पृष्ठभूमिमा सोमबार ११ नोभेम्बरमा कांग्रेसकी कार्यकारी अध्यक्ष सोनिया गान्धीले पूरै दिनभरी छलफल गरिन् । तर कुनै निर्णय लिन सकिनन् । बिहान १० बजे नै महाराष्ट्र कांग्रेसका नेता मल्लिकार्जुन खड्गे, अहमद पटेल र वेणुगोपाल सोनिया गान्धीको घरमा बैठकका लागि पुगे ।

बैठकमा आएका मल्लिकार्जुन खड्गेको हातमा एउटा कागज थियो, जसमा कांग्रेसका ४४ मध्ये ३८ विधायकले सरकार गठन गर्न शिवसेनालाई समर्थन गर्नेमात्र नभएर सामेल नै हुने इच्छा जनाएका थिए । मल्लिकार्जुन खड्गेले एक रात अघि अर्थान १० नोभेम्बरमा जयपुरमा विधायकसँग अलग अलग छलफल गरेर उनीहरुको राय लिएका थिए ।

महाराष्ट्रमा नयाँ सरकार गठनलाई लिएर सोनिया गान्धीको घरमा सोमबार ११ बजेदेखि साढे १२ बजेसम्म बैठक चलेको थियो । जसमा महाराष्ट्र कांग्रेसका सबै वरिष्ठ नेताहरुलाई दिल्ली बोलाउने र सरकारका विषयमा अन्तिम निर्णय लिनेबारे छलफल भएको थियो । तर अर्को बैठक ४ बजेका लागि बोलाइयो ।

यसबीचमा वेणुगोपालले महाराष्ट्रका पूर्व मुख्यमन्त्री सुशील कुमार सिन्दे, अशोक चौहान, पृथ्वीराज चौहान, बालासाहेब थोराट, विजय रजनी पाटिल र पूर्व सांसद राजीव सातवसँग कुराकानी भएको थियो । उनीहरुलाई ४ बजे सोनिया गान्धीको घर बोलाइएको थियो ।

सबै नेता ४ बजे सोनिया गान्धीको घर पुगेका थिए । जहाँ त्यसअघि नै अहमद पटेल, के वेणुगोपाल, मल्लिकार्जुन खड्गे र एके एन्टोनी उपस्थित थिए । यसपछि महाराष्ट्रका नेताहरुसँग सरकार गठनका विषयमा माथापच्चिसी सुरु भयो । स्रोतका अनुसार बैठकमा सोनिया गान्धीले शिवसेना–एनसीपीको सरकारलाई कांग्रेसले बाहिर रहेर समर्थन गरेपनि सरकारमा सामेल हुन नहुने बताएकी थिइन् ।

मल्लिकार्जुनले विधायकको राय बैठकमा सुनाए । त्यसपछि वेणुगोपालले सोनिया गान्धीलाई साँझ ६ बजे जयपुरमा रहेका १३ विधायकसँग फोनमा कुराकानी गराए । स्रोतका अनुसार धेरै विधायकले सरकारमा सामेल हुन सुझाव दिए । यो बैठक चलेको दुई घन्टा भइसकेको थियो ।

यसैबीच सोनिया गान्धीलाई शिवसेनाका नेता उद्धव ठाकरेको फोन अचानक आयो । फोनमा उनले कांग्रेसको समर्थन माग्दै सरकारमा सामेल हुनका लागि निम्ता पनि दिए ।

दुई घन्टा १५ मिनेट यो बैठक चल्दा बाहिर सञ्चारकर्मीको भीड लागिसकेको थियो । तर बैठकमा कुनै निर्णय गरेको थिएन । शिवसेनाको विषयमा महाराष्ट्रका वरिष्ट कांग्रेस नेताहरुले पनि अलग अलग राय दिएका थिए ।

शीर्ष नेतृत्वमा समेत के गर्ने भन्ने दोधार रहेका बेला सोनिया गान्धीले शरद पवारसँग फोनमा कुराकानी गरिन् र माहोल पुनः परिवर्तन भयो । जुन फोनमा शरद पवारले आफूहरुले शिवसेनालाई समर्थन गर्ने मौखिक बचन दिएपनि समर्थनपत्र नबुझाएको बताए । सञ्चारमाध्यममा समर्थन पत्र दिएको भन्ने खबरको पनि पवारले खण्डन गरे ।

बैठक चलेको साढे २ घन्टा भइसक्दा पनि कुनै निष्कर्ष निस्केको थिएन भने शिवसेना बेचैनीसाथ कांग्रेसको पत्र पर्खिरहेको थियो । किनकि राज्यपालले सरकार गठनका लागि शिवसेनालाई दिएको समय घर्किदै थियो । सोही क्रममा पूर्व मुख्यमन्त्री पृथ्वीराज चौहानले महाराष्ट्र कांग्रेस कमजोर हुने गरी कुनै निर्णय हतारमा नलिन सुझाव दिए ।

यसले अर्को राज्यमा पनि प्रभाव पर्ने समेत बताए । किनकि कांग्रेस भाजपा र शिवसेनाको अति हिन्दूवादी विचारधाराको विरोधमा रहँदै आएको छ । महाराष्ट्र सत्तामा आएमा जवाफ दिन कठिन हुने भन्दै सोचेर मात्रै निर्णय लिनुपर्ने उनको सुझाव थियो ।

गान्धी निवासमा भएको बैठकको तीन घन्टापछि सोनियाले शरद पवारसँग भेटेरै छलफल गर्ने निर्णय गरिन् । उनले बैठकमा उपस्थितमध्ये कुनै नेतालाई सिधा मुम्बई गएर शरद पवारसँग वार्ता गर्न प्रस्ताव गरिन् ।

करिब ७ः१५ बजे वेणुगोपाल बैठकस्थलभन्दा बाहिर निस्किए र बाहिर रहेका मिडियालाई केही समयमा प्रेस विज्ञप्ति आउने र त्यसबाहेक कुनै कुरा भन्न उनले अस्वीकार गरे । त्यसपछि ७ बजेर २४ मिनेटमा आधिकारिक विज्ञप्ति आयो । जसमा समर्थनबारे एक शब्द पनि उल्लेख गरिएको थिएन । जसमा शरद पवारसँग छलफल गरेर निर्णय लिने उल्लेख गरिएको थियो ।

यो विज्ञप्तिले शिवसेनाको आशा निराशामा परिणत भयो । ठीक ८ बजे सोनिया गान्धीको घरबाट बाहिर निस्किएका नेताले सञ्चारमाध्यमसँग कुरा गर्दै एनसीपीले आफ्नो समर्थन पत्र शिवसेनालाई नदिएको र एनसीपीसँग छलफल गरेर मात्र निर्णय लिने बताए ।

त्यसपछि शिवसेनाले सरकार गठनका लागि राज्यपालबाट पाएको समय सकियो र राज्यपालले एनसीपीलाई सरकार बनाउने दाबी पेश गर्ने समय दिए ।

अब अहमद पटेल, के वेणुगोपाल र मल्लिकार्जुन खड्गे मंगलबार मुम्बई गएर शरद पवारलाई भेटेर अन्तिम निर्णय लिने बताएपछि महाराष्ट्रमा सरकार गठनको राजनीतिक अनिश्चितता बढेको छ ! एजेन्सी !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...