Hidden
आजबाट ट्रम्प युगको अन्त्य !
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अन्तिम अर्थात बिदाई सम्बोधनमा आफूले वाचा अनुसार वा त्यो भन्दा बढि काम गरेको बताएका छन् । ह्वाइट हाउस छोड्नु पूर्वको सम्बोधनमा ट्रम्पले भनेका छन्, ‘हामी जे गर्नका लागि आएका थियौँ त्यो गर्यौँ, र त्यो भन्दा धेरै गर्यौँ ।’
ट्रम्पले केहीदिन अघि नै रेकर्ड गरेको भिडियो सम्बोधन मंगलबार युट्युबमा पोस्ट गरिएको हो । उनले भनेका छन्, ‘मैले अति कठीन युद्ध लडेँ, गाह्रो संघर्ष गरेँ… किनकी तपाईँहरुले मलाई त्यसकै लागि निर्वाचित गर्नु भएको थियो ।’
राष्ट्रपतिका रुपमा ट्रम्पको अन्तिम दुई हप्ता निन्दा र आलोचनाको घेरामा रह्यो अरु समयको भन्दा । उनको उक्साहटमा समर्थकहरुले नतिजा उल्ट्याउने प्रयास स्वरुप जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गरे ।
सो आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो । हिंसात्मक बिद्रोहका लागि उक्साएको आरोपमा ट्रम्पमाथि दोस्रोपटक महाअभियोग लागेको छ । ट्रम्पले भिडियो सम्बोधनमा भनेका छन्, ‘हामीले अमेरिकीका रुपमा गर्व गर्ने सबै कुरामाथिको आक्रमण हो राजनीतिक हिंसा ।’
सम्बोधनमा ट्रम्पले आफूपछि सत्ता सम्हाल्न आउँदै गरेको जो बाइडेनको नाम लिएका छैनन् । आफ्नो प्रशासनले विश्वकै इतिहासमा बलियो अर्थतन्त्र निर्माण गर्न सफल भएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘हाम्रा एजेण्डाहरु वामपन्थ वा दक्षिण पन्थ, रिपब्लिकन वा डेमोक्र्याटका लागि थिएनन्, देशको हितका लागि थिए । पूरै देशका लागि ।’
रिपब्लिकन पार्टी भित्रको विवाद तथा मदभेदका कारण ट्रम्पले ह्वाइट हाउसबाट बिदा भएपछि नयाँ राजनीतिक दल खोल्ने सम्भावनाबारे छलफल गरेका हुन्। राष्ट्रपतिका रुपमा अन्तिम सम्बोधनमा पनि उनले आफूले सुरु गरेको ‘अमेरिका फस्ट’ आन्दोलनको अन्त्य नभइ सुरुवात मात्रै भएको बताएर नयाँ राजनीतिक पार्टीको सम्भावनालाई बल प्रदान गरेको विश्लेषण गरिएको छ।
हिंसात्मक बिद्रोहका लागि उक्साएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको छ। त्यसमाथि सिनेटमा आउँदा हप्तामा छलफल सुरु हुनेछ। त्यसअघि लिडर मिचको सम्बोधनलाई अर्थपूर्ण मानिएको छ।
पूर्णरुपमा अझै पनि ट्रम्पले नोभेम्बर ३ मा भएको चुनावको नतिजा स्वीकार गरेका छैनन्। सो चुनावमा विजयी भएका जो बाइडेनले बुधबार अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन्। पार्टी भित्र एक्लिँदै गएका तथा समर्थकहरुको आधार बलियो देखेका ट्रम्पले नयाँ पार्टी खोल्नेबारे विचार गरे पनि सो छलफल कति गम्भीर हो भन्ने स्पष्ट नभएको वाल स्ट्रिट जर्नलको खबरमा उल्लेख छ।
प्रकासित मिति