दुई दशकअघि नेपालमा डिजिटल फिल्म सम्पादनको क्रम शुरु हुँदै गर्दा नेपालको पहिलो महिला फिल्म सम्पादकको श्रेय पाएकी रक्षा सिंह राणा अहिले फिल्म निर्देशक समाजको अध्यक्ष छिन्। हालै भएको निर्वाचनमा एक मतले विजयी भएकी उनको खातामा कम उमेरमै सम्पादक हुने कीर्तिमान पनि छ। साढे तीन दर्जन फिल्मको सम्पादनसँगै ‘द गेम’ निर्देशन गरेकी उनीसँग नेपालमा फिल्म निर्माण–निर्देशनका अप्ठेरा, फिल्म उद्योगको राजनीति र निर्देशकहरुको दयनीय अवस्थामा केन्द्रित छ ।

Racha singhउदेक भयो ! तपाईं एक मतले निर्देशक समाजको अध्यक्षका रुपमा निर्वाचित हुनुभयो है ?

हजुर। पहिलो पटक एक भोटको महत्व के हो भन्ने थाहा पाएँ। यसअघि चुनावमा भोट हाल्नु एउटा सामान्य प्रक्रियाका रुपमा लिन्थेँ तर एक भोटको महत्व यत्ति हुन्छ भन्ने थाहा थिएन।

तपाईं अध्यक्षमा उठ्ने कुनै हल्ला नै थिएन। बरु अरुलाई नै पैरवी गरिरहनु भएको थियो। आफैं कसरी उम्मेदवार बन्नुभयो ?
खासमा निर्देशक समाजको काम फिल्म निर्देशकका समस्या, तिनको हकहितमा आवाज उठाउने, निर्देशकहरुको वृत्ति विकासमा भूमिका खेल्ने हो तर यी तीन वर्षमा त्यसमा थोरै पनि काम भएन। उपाध्यक्षका रुपमा बैठकमा ती कुरा उठाएकी पनि थिएँ तर त्यसबारे अध्यक्षज्यूले ‘हुन्छ/हुन्छ’ भन्ने तर काम अघि नबढाउने गर्नुभयो। त्यो देखेपछि मलाई ‘इट्स नट माई कप अफ टी’ भन्ने लागेकै हो। त्यसपछि म चुप बसेँ। तर अन्तिम अवस्थामा निर्णय फेर्न बाध्य भएँ।

के हो त्यो बाध्यता ?
छोरीको कसम खाएँ रे ! म यो चुनावमा उठ्दिनँ भनेँ रे ! अनेक हल्ला बजारमा आउन थाल्यो। त्यसपछि यस्तो संघसंस्थाको कुरामा घरेलु कुरा वा सन्तानको कस्सम पनि जोड्ने ? यो कस्तो घटिया तरिका हो भन्ने मनमा लाग्यो। अनि जोरी खोज्नै प-यो जस्तो लाग्यो।

तपाईं यसअघिकै अध्यक्ष सुचित्रा श्रेष्ठ अध्यक्ष भए पनि फरक पर्दैन भन्नेमा हुनुहुन्थ्यो होइन ?
संघसंस्थामा हुने राजनीति देखेर दिक्क लागेकाले जोसुकै भए पनि फरक पर्दैन भन्ने सोचेकी थिएँ। तर जब छोरीको कुरा आयो, मलाई पनि जोरी खोज्नुपर्ने अवस्था आयो।

उठ्दिनँ भनेर उम्मेदवार बन्दा असर गरेन ?
हेर्नुस्, मेरालागि चुनाव ठूलो कुरा थिएन। चुनाव जिते पनि र हारे पनि यसको गरिमा गिरेको छ, उठाउनुपर्छ भन्ने लाग्यो। यो काम अरु कसले गर्छ भन्ने सोचेँ, जस्ता मानिसहरु चुनावमा अध्यक्ष वा महासचिव हुन उठिरहेका थिए, तिनीहरु कसैले गर्नसक्ने देखिनँ। म एक कार्यकाल उपाध्यक्षसमेत भइसकाले संस्था कसरी चल्दोरहेछ भन्ने बुझ्ने मौका पाएँ। त्यसपछि अध्यक्षमा उठेँ भने के होला भनेर केहीसँग सल्लाह गर्दा सहयोग गर्छु भन्ने आयो। अनि उठेँ।

तर एक भोट ! यो एउटा भोटले सबैथोक फरक पारिदियो है ?
हो त ! एक भोटले मात्र मैले जित्ने इतिहास थिएन मेरो। धेरै भोटले जित्नुपर्ने हो। कतिपय आदरणीय दाइहरुले मुखेञ्जी राजनीतिक कारणले तिमीलाई भोट हाल्न सकिनँ भन्नुभयो, कतिले अगाडि ठीक पार्नुभयो र पछाडि हराउन अनेक चाल चल्नुभयो। यस्तो राजनीति हुन्छ भन्ने कल्पना गरेकी थिइनँ। तर हुँदो रहेछ। जसबाट सहयोगको अपेक्षा गरेकी थिएँ, उहाँहरुबाट पाइनँ अनि जसबाट अपेक्षा गरेकी थिइनँ, उहाँहरुबाट सपोर्ट पाएँ। एउटा सानो समाजमा त यत्तिको राजनीति हुँदोरहेछ भने देश र पार्टीको राजनीति झन् कस्तो हुन्छ होला ? सम्झेर पनि उदेक लाग्छ।

तपाईंले जीवनमा जे सोच्नु भएको त्यो भएन, बरु नसोचेका धेरै कुरा भए। जस्तो कि, तपाईं फिल्म उद्योगमा आउने कल्पना थिएन तर आउनु भयो...।
हो नि ! मेरो बाबा फिल्म र मनोरञ्जनका क्षेत्रलाई त्यत्ति राम्रो मान्नुहुन्नथ्यो। म १२ वर्षकी छँदा उहाँको देहान्त भयो। त्यसपछि मात्र हामीले फिल्म हेर्ने र मनोरञ्जन गर्ने कुरामा अलि खुकुलो भएको हो तर मेरो मामुले चाहिँ आफूले चाहेको काम गर्नुपर्छ, छोरा र छोरी उस्तै हुन्, संघर्ष गर्नुपर्छ र मनैदेखि गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो। तै पनि म फिल्म क्षेत्रमा आउँला भनेर कल्पना गरेकी थिइनँ। म त कम्प्युटरको क्षेत्रमा केही गरौँँ भन्ने थियो। तर भयो अर्कै।

तपाईंको कजन ब्रदरका कारण यस क्षेत्रमा आएँ भन्नु भएको थियो, कुनै दिन !
हो, जुन बेला म आइए पढ्दै थिएँ, मेरो कजन ब्रदर मुम्बईमा फिल्म एडिटिङ सिकेर भर्खर नेपाल आउनुभएको थियो। उहाँले बहिनीले काममा सघाउँछे भन्ने ठानेर मलाई कम्प्युटर चलाउन पाइन्छ आइज भनेर बोलाउनु भयो। मैले पनि उहाँलाई सघाउने मनसायले त्यो बेला प्राइम ब्रोडकास्टिङ सिस्टममा जान थालेँ। अलिअलि गर्दागर्दै कम्प्युटर चलाउन, कम्प्युटरमार्फत सम्पादन गर्न, साउन्ड सिङ्क गर्न सिकेँ। पछि त फिल्म सम्पादनै गर्न थालेँ।

यही बेला तपाईंले कम उमेरमै फिल्म सम्पादक बन्ने कीर्तिमान बनाउनु भयो, हैन ?
खै ! के कीर्तिमान भनौँ ? मैले त्यसका लागि काम गरेकी थिइनँ। बस्, म त कम्प्युटरमा छुरा हुन्छु भन्ने मनशायका साथ काम गरेँ।

त्यो बेला तपाईंको उमेर कति थियो ?
त्यस्तै अठार/बीस वर्षकी थिएँ।

एक त फिल्म उद्योग, त्यसमाथि महिला ! तपाईंलाई काम गर्न त पक्कै गाह्रो हुन्थ्यो होला ?
धेरैले त्यस्तो सोच्छन् तर म अलि लडाकु किसिमकी परेँ। (हाँस्दै) फेरि म काम भनेपछि यत्ति मरिहत्ते गर्थें कि दिनको १८ घण्टासम्म काम गरेँ। ६ जनाले गर्नुपर्ने काम एक्लैले गरेँ। त्यसको फाइदा के भयो भने सबै काम मैले सिक्ने अवसर पाएँ।

हैन, मैले त महिला भएका कारण अप्ठेरोको कुरा सोध्दैथिएँ...।
खासमा महिला भएकै कारणले अप्ठेरो त भएन तर त्यस बेला फिल्म निर्देशक महिला थिएनन्। सबै पुरुष नै थिए। उनीहरुको धारणामा महिलाले गरेको काम क्वालिटीको हुँदैन भन्ने मनशाय रहेछ। यस्तो प्राविधिक काम, केटी मान्छेले कसरी गर्न सक्छन् भन्ने सोच नभएको होइन।

मैले कतै पढेकी थिएँ, शुरुमा महिला पाइलट भएको प्लेनमा चढ्न कोही पनि तयार थिएनन्। चढ्न डराउँथे। तर पछि पाइलट पुरुष वा महिला भएर फरक नपर्ने रहेछ भन्ने सबैलाई पर्न थाल्यो। ठीक त्यस्तै कुरा मेरो जीवनमा पनि लागू भयो। मेरो खटान, मिहिनेत र कामको क्वालिटी देखेपछि पहिला जसले मलाई सम्पादनमा नराखिदेऊ भनेर रिक्वेस्ट गरेका थिए, उनीहरु नै यो केटी त गज्जबको काम गर्छे भनेर बाहिर कुरा गर्दै हिँड्न थाल्नु भएछ।

तपाईंले त कतिपय फिल्म सम्पादन गरे पनि क्रेडिट पाउन पनि झगडा नै गर्नुप-यो नि हैन ?
अँ, एक पटक त्यस्तो भयो तर म पनि परेँ लडाकु स्वाभावकी ! आफ्नो अधिकारमा रत्तिभर सम्झौता नगर्ने ! एक पटक ‘इज्जत’ फिल्ममा सबै काम गरेँ। हुन त त्यसअघि पनि गरेकी थिएँ तर खासै क्रेडिटको आशा गरेकी थिइनँ किनभने पूरै काम मैले गरेकी थिइनँ र नामको अपेक्षा गर्ने कुरा पनि थिएन। तर यस फिल्ममा भने आफूलाई प्रमाणित गर्नुथियो, गरेँ तर पोस्टरमा चाहिँ करुण दाइ (वरिष्ठ फिल्म सम्पादक करुण थापा)को नाम छापिएर आएछ। शुरुमा नृत्य निर्देशक वसन्त श्रेष्ठ दाइले सबै गीतको सम्पादन मलाई गराउनु भएको थियो। अरुलाई हप्तौँ लाग्ने काम मैले दुई दिनमा सिध्याएकी थिएँ। त्यसपछि फाइट डाइरेक्टर एनबी महर्जनको पालो थियो। उहाँको काम पनि मैले गरेँ। यी सब देखेपछि निर्देशक दयाराम दाहालले भन्नुभयो, अप्ठेरो काम जति तिमीले गरिहाल्यौ, बाँकी पनि तिमी नै गर। तर पछि सम्पादकको नाममा मैले मेरो नाम नदेखेपछि झगडा नै गरेँ। दयाराम सरले पनि यो पहिल्यै छापेको पोस्टर हो, तिमीले गरेको कामको क्रेडिट नदिने मनशाय होइन भन्नुभयो र पछि फिल्ममा मेरै नाममा क्रेडिट पाएँ।

फिल्म सम्पादनमा तपाईंपछि अरु कोही महिला देखिएनन्। किन होला ?
त्यै त ! अहिलेसम्म यो क्षेत्रमा महिला नआउनु दुःखको कुरा हो। फिमेल एडिटरका लागि यहाँ मैदानै खाली छ। म पछि सबिना बस्नेत आउनु भएको थियो। उहाँले ‘उमा’ फिल्म सम्पादन गर्नुभयो तर त्यसपछि हराउनुभयो।

सम्पादन छाडेर फिल्म निर्देशनतिर कसरी लाग्नुभयो ?
मानिसको जीवनमा सधैँ एक स्टेप माथि सोच्ने अवसर आउँछ नै। जब मैले दर्जनौँ फिल्म सम्पादन गरेँ, मेरो कन्फिडेन्स बढ्दै गयो। सम्पादनका क्रममा मैले कयौँ गल्तीहरु गरेँ तर दयाराम दाहाल, नवीन सुब्बा, तुलसी घिमिरे दाइहरुले आफ्नै तरिकाले सिकाउनुभयो। उहाँहरुबाट मैले धेरै कुरा सिकेँ। एक दिन जब मैले ‘मुक्ति’ टेलिशृंखलाको सम्पादन गर्दै थिएँ, निर्देशक तुलसी घिमिरेले मलाई फिल्म निर्देशनबारे सोच्नुपर्छ भन्नुभयो। कतिपय सफल फिल्म निर्देशकहरु सम्पादनबाटै आउनुभएको थियो, तुलसी घिमिरे, शम्भु प्रधान र अरु पनि। यो देखेर मेरो पनि महŒवाकांक्षा नजागेको होइन।

त्यसपछि तपाईंले ‘द गेम’ भन्ने फिल्म निर्माण–निर्देशन दुवै गर्नुभयो। कस्तो अनुभव भयो त ?
सोचेजस्तो नहुँदो रहेछ भन्ने लाग्यो। (हाँस्दै) फिल्म सम्पादन एउटा कुरा भयो, फिल्म निर्देशन बिल्कुलै भिन्दै विधा भयो।

अनि, फिल्ममा आफ्नै पति बालनर्सिंह राणालाई हिरो बनाउनुभयो नि ?
उहाँ फिल्म उद्योगका लागि नयाँ कलाकार हुनुहुन्थेन। कतिपय राम्रो प्रोडक्सनमा नेगेटिभ रोलमा अभिनय गर्दै आउनुभएकै थियो। मैले उहाँको अभिनय क्षमता हेरेर फिल्ममा पोजिटिभ रोलका लागि लिएँ।

फिल्म त सोचेजस्तो चलेन नि ?
फिल्मले सोचेजस्तो बम्पर व्यापार गरेन तर घाटा चाहिँ भएन। डिभिडी र अन्य राइट बेच्दा घाटा रिकभर भयो।

फेरि तपाईंले अफसिजनमा फिल्म रिलिज गर्नुभयो नि त ?
अँ, मैले राम्रो डेटमा रिलिज गर्न पाइनँ। फिल्म रिलिज गर्ने बेलामा पनि अनेक किसिमका झमेला आइपरे। खासगरी पुसमा फिल्म रिलिज गर्दा सोचेजस्तो व्यापार गर्न सकिएन।

फिल्म रिलिजमा डेटको महत्व त थाहा थियो तर महिनाले पनि फरक पार्छ र ?
ज्यादै जाडो वा बिदा कम भएको बेला फिल्म चलाउन नहुने पछि मात्र थाहा पाएँ।

फेरि फिल्म चल्ने डेट भन्दा पनि कन्टेन्टका कारणले होला नि ?
हेर्नुस्, मैले त्यति नराम्रो फिल्म बनाएकी थिइनँ। अहिले हेर्दा पनि त्यत्ति नराम्रो छ जस्तो लाग्दैन। केही कमीकमजोरी त समयक्रममा देखिन्छ नै। अहिले भए म यो दृश्यलाई यसरी खिच्थेँ, यस्तो बनाउँथेँ भन्ने त लागिहाल्छ तर पनि फिल्मको वितरण र हलका कारणले सोचेजस्तो व्यापार नभएको हो जस्तो लाग्छ।

समग्र फिल्म उद्योगमै फिल्म चलिरहेका छैनन् यतिबेला पनि ! निर्देशकहरुको कमजोरी कहाँनेर देख्नुहुन्छ ?
संसारभरि नै सीमित फिल्म चल्ने हुन्। नेपालमा पनि फ्रेन्चाइजी फिल्म मात्र चलिरहेका छन्। अरु फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेका छैनन्। अब फिल्म बनाउने सन्दर्भमा चाहिँ नेपालमा समस्या छ। एक त दर्शक थोरै छन्, त्यसमाथि यति डाइभर्स रुचि राख्ने दर्शक छन् कि सबैलाई हलसम्म तान्नै गाह्रो। यहाँ सिंगल थिएटरलाई टार्गेट गरेर फिल्म बनाउँदा मल्टिप्लेक्सका दर्शक जाँदैनन्, मल्टिप्लेक्सका दर्शकलाई टार्गेट गर्दा सिंगल थिएटर खाली हुन्छन्। त्यसमाथि वेबसिरिज, नेटफ्लिक्स र नयाँनयाँ प्रविधि आइरहेका छन्। वास्तवमै फिल्म उद्योग सङ्कटमा छ।

उसो भए अब अर्को फिल्म नबनाउने त ?
नेपालमा फिल्म बनाउन बहुत सजिलो छ हेर्नुस्, चलाउन निकै गाह्रो। तापनि एउटा फिल्म निर्देशन गरिसकेपछि अर्को बनाउने खसखस त भइहाल्छ। त्यसको लागि म तयार पनि थिएँ। खासमा २०७२ मा म फिल्म खिच्न तयार भएर बसेकी थिएँ। सबथोक रेडी थियो। जेठमा फ्लोरमा जाने कुरा थियो, वैशाखमा भूकम्प गयो। त्यसपछि त सबकुरा चौपट भयो। अब तीन वर्ष त निर्देशक समाजलाई नै दिन्छु।

के–के गर्नुहुन्छ ? योजना बनाइसक्नुभयो ?
यसअघिको कार्यकालमा निर्देशकहरुका लागि गर्नुपर्ने अनेकन् काम हुन पाएनन्। मैले चाहिँ शून्यबाट पचास प्रतिशतसम्म काम सफल पार्ने योजना बनाइरहेकी छु। चलचित्र विकास बोर्ड, निर्माता संघ, चलचित्र संघ तथा अन्य संघसंस्थासँग मिलेर निर्देशकहरुको हकहितमा गर्न सकिने काम केही सोचिरहेकी छु। खासगरी केही फिल्म निर्देशकहरुले यसलाई समाजका रुपमा चिन्नुहुन्न, यो संस्थालाई आफ्नो ठान्न सकिरहनु भएको छैन। सबैलाई यसको छातामा ल्याएर विश्वासको वातावरण बनाउनु नै मेरो पहिलो उद्देश्य हुनेछ। त्यसपछि फिल्म निर्देशकको सबैभन्दा ठूलो समस्या शक्ति छउञ्जेल योगदान दिने तर शक्ति सकिएपछि गुमनाम र गरिबीमा जीवन बिताउने समय आउँछ। तिनको इन्स्योरेन्स, औषधोपचारजस्ता कुरामा हामीले गम्भीर भएर सोच्ने बेला भइसकेको छ। अन्य काम पनि बिस्तारै हुनेछन्। शुक्रवार

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर