tealaya add

hadim kantipathnews

मकवानपुर जिल्लामा अवस्थित भीमफेदी गाउँपालिका आफैमा ऐतिहासिक महत्व बोकेको गाउँपालिका हो । जंगबहादुर राणादेखि बेलायती महरानी एलिजाबेथले सिकार खेल्दा प्रयोग गरेका हौदाहरू, हात्तीसार, चिसापानी गढी, झिरघारीको मैत्री बगैंचा, ईपाको प्राकृतिक पौडी पोखरी, त्रिखण्डी, भीमसेन मन्दिर, गुप्तेश्वर मन्दिरजस्ता पर्यटक प्रवद्र्धनका प्रचुर स्रोत रहेका छन् ।

गाउँपालिकाको विकासका लागि पालिका अध्यक्ष हिदम लामा अहोरात्र खटिरहेका छन् । उनै अध्यक्ष लामासँग पालिकाको विकासमा आइपरेका चुनौती र सम्भावनामा केन्द्रित रही भीमफेदी गाउँपालिका, मकवानपुरका अध्यक्ष हिदम लामासँग कुराकानीको सम्पादित अंश : भीमफेदी, मकवानपुरको पुरानो सदरमुकामको विकासका लागि के कस्ता योजना बनाउनुभएको छ ?

जिल्लाको पुरानो सदरमुकाम भए पनि यो विकासमा धेरै पछाडि छ । हुन त यो धेरै पहिलेको सदरमुकाम हो । तत्कालीन सदरमुकाम हुँदाका भौतिक संरचना अहिले ऐतिहासिक धरोहरका रूपमा मात्र रहेका छन् । कुरा रह्यो, विकास निर्माणका योजनाको । विकास निर्माणका लागि हामीले भौतिक तथा सामाजिक विकासको लागि छुट्टाछुट्टै गरी प्राथमिकीकरण गरेका छौं ।

भौतिक विकास मात्रै विकासको पूर्णरूप हैन, तर यो पनि अपरिहार्य छ । हामीले यसअन्तर्गत शिक्षा, स्वास्थ्य, विजुली बत्ती, सडक सञ्जाललाई विशेष प्राथमिकता दिएका छौं । साथै पर्यटन, कृषि, सञ्चारजस्ता क्षेत्रलाई पनि समेटेर विकासमा फड्को मार्ने योजना बनाएका छौं ।

आर्थिक विकासका लागि ‘एक घर एक टनेल’ अभियान अघि सारेका छौं । सबै कृषकलाई केही न केही व्यवसायमा लाग्नका लागि यो अभियानले प्रेरित गर्नेछ । कृषिलाई व्यवसायीकरण, यान्त्रीकरण, आधुनिकीकरण गर्दै अघि बढ्ने योजना छन् । माटो हावापानी हेरेर युवालाई कृषि, पशुपालन, सीप विकास, व्यावसायीकरण गर्दै आत्मनिर्भर बनाउने योजना छन् ।

भीमफेदी गाउँपालिकाको अघोर, नामटार, सुपिडजस्ता क्षेत्र तरकारी तथा फलफूलका लागि अति राम्रो सम्भाव्यता भएको क्षेत्र हुन् । कृषिमा पनि व्यावसायिक तरकारी खेतीसँगै पशुपालन र त्यसमा पनि विशेषगरी बाख्रापालनका लागि अत्यन्त उपयुक्त ठाउँ भएका कारणले यो वर्ष प्रदेश सरकार र हाम्रो संयुक्त लगानीमा धेरै मानिसलाई रोजगारीको अवसर सिर्जना गर्ने र व्यावसायिक बाख्रापालनको माध्यमबाट मासुमा कमसेकम आत्मनिर्भर गाउँपालिका र निर्यात गर्न सक्ने गाउँपालिकाका रूपमा विकास गर्नका लागि मासु उत्पादन गर्नेहरूलाई हामीले प्रोत्साहन गरेका छौं ।

उत्पादित मासुलाई बेच्दा पनि किलोको १० रुपैयाका दरले मासुमा इन्सेन्टिभ दिने योजना बनाएका छौं । सरकारले दूधमा अहिले एक रुपैयाँ दिइरहेको छ । त्यस्तैगरी हामीले मासुमा १० रुपियाँ दिने योना बनाएका छौं । कार्यविधिअनुसार सञ्चालन हुने फर्म, व्यावसायिक संस्थाले मासुमा प्रतिकेजी १० रुपैयाँ इन्सेन्टिभ दिएर मासुमा आत्मनिर्भर मात्र होइन, देशलाई नै मासु निर्यात गर्न सक्ने बनाउने योजना छ । १५ अर्बको मासु भारत र चीनबाट आयात गरिरहेको सन्दर्भमा यसले सघाउ पुर्याउँछ भन्ने मान्यतामा हामी अघि बढिरहेका छौं । यिनै सम्भावनाका आधारमा लगानी गर्ने र आर्थिक विकासमा अघि बढ्ने योजना छन् ।

स्वास्थ्य र शिक्षाका कस्ता कार्यक्रम बनाउनुभएको छ ?

स्वस्थ कार्यक्रमअन्तर्गत चेपाङलाई स्वास्थ बिमा कार्यक्रम राखिएको छ । यो वर्षबाट हामीले प्यालिटिभ केयर कार्यक्रम ल्याएका छौं । यसअन्तर्गत वृद्धावस्थाका नागरिकलाई मासिक रूपमा घरमै पुगेर स्वास्थ परीक्षण गर्ने कार्यक्रम छ । हामीले घरघरमै पुगेर स्वास्थ परीक्षण मात्रै गर्दैनौ , उहाँहरूको स्वास्थमा दीर्घरोग भएको पत्ता लागेमा पाटन स्वास्थ विज्ञान प्रतिस्ठानसँगको सहकार्यमा निगरानी र उपचार सेवा पनि दिन्छौ । सन्दर्भमा कुरा गर्ने हो भने हामीले सुत्केरी महिला र गर्भवती महिलाका लागि सुरक्षा गर्ने, उहाँहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि छन् ।

यसैगरी शिक्षा कार्यक्रमअन्तर्गत पनि योजना छन् । सबै सामुदायिक विद्यालयमा नयाँ विधिको पढाइ सुरु गरेका छाै । यसलाई हामीले ‘स्मार्ट विधि भनेका छौं । निजी स्कुलमा हुने गुणस्तरभन्दा कुनै पनि हालतमा सामुदायिक स्कुलको गुणस्तर कम नहोस् भनेर हामीले ‘टिचिङ मास्टर मेथर्ड लागू गरेका छौं । नियमित अनुगमन, शिक्षकको कमी भएमा त्यसको पदपूर्तिजस्ता काम नियमित गर्दै आएका छौं । शिक्षाको पाटोमा अनुगमनलाई व्यवस्थित गर्ने सँगसँगै अन्तर्राष्ट्रियस्तरको पढाइ जापानदेखि चाइनामा हेर्ने हो भने शिक्षा धेरै अघि छ ।

यसका लागि हामीले पनि नेपाल सरकारले स्वीकृति दिएको पाठ्यक्रम स्मार्ट एजुकेसन सिस्टम र टिचिङ मास्टर कार्यक्रम हामीले सबै सामुदायिक विद्यालयमा यो वर्ष सुरु गर्दै छौं । यो हाम्रो लागि चुनौतीपूर्ण छ, विल्कुल नयाँ अभ्यास गरेका हौं हामीले । किनभने सामुदायिक विद्यालयमै त्यो स्तरको पढाइ गर्नुपर्छ भनेर हामी सरकारले स्वीकृति दिएको नयाँ पाठ्यक्रम लागू गराउनका लागि हामी लागिरहेका छौं । सामुदायिक स्कुलमा सीसी क्यामरा राखेर हामीले त्यहाँ (स्कुलस्कुलको कक्षा) को शिक्षण गतिविधि पालिकामै बसेर निगरानी गर्ने गरेका छौ । यीमध्ये केही कार्यक्रम लागू भइसकेका छन् केही भावी दिनमा लाग्नु हुने चरणमा छन् ।

गाउँपालिका पर्यटनका लागि पनि राम्रै सम्भावना भएको गाउँपालिका हो, पर्यटन प्रवद्र्धनका केही योजना छन् ?

 भीमफेदी गाउँपालिका ऐतिहासिक धरोहरले सम्पन्न छ । नेपालमा राणाकालका जंगबहादुर राणादेखि बेलायती महारानी एलिजाबेथले सिकार खेल्दा प्रयोग गरेका हौदाहरू यही छन् । यहाँको हात्तीसार हैदा संग्रहालय सबैभन्दा महत्वपूर्ण एतिहासिक सम्पदा हो । यसको संरक्षण र प्रवद्र्धनका लागि ९० लाख बजेट छुट्याएका छौं । यसैगरी यहाँको चिसापानी गढी अर्को ऐतिहासिक किल्ला छ । झिरघारीको मैत्री बगैंचा, इपाको प्राकृतिक पौडी पोखरी हाम्रा पर्यटकीय क्षेत्र छन् । त्यस्तै मैत्री बगैंचा, त्रिखण्डी, भीमफेदीको भीमसेन मन्दिर, गुप्तेश्वर मन्दिर यी सबैलाई प्रवद्र्घन गर्न हामी सक्छौं । यसबाट हामी आयआर्जन गर्न सक्छौं । स्थानीय तहले एउटा खोलालाई व्यवस्थापन गरेर भीमफेदी गाउँपालिकाको कोगटे र इपाको सिमामा रहेको एउटा पौडी पोखरीबाट हामीले वार्षिक साँढे ४ लाख रुपैयाँ आम्दानी गरिरहेका छौं । यिनीहरूको व्यवस्थापन र प्रचारप्रसारका लागि हामीले केही साना ठूला योजना बनाएका छौं ।

बिजुली तथा सडक सञ्जालका कस्ता योजना छन् ?

बिजुलीको कुरो बडो बिडम्बनापूर्ण छ । हाम्रै गाउँपालिकाभित्र तीनवटा राष्ट्रिय स्तरका जलविद्युत् आयोजना छन् । देशको कैयौ कुना काप्चामा यहाँबाट बिजुली पुगेको छ तर यही पालिकाको केही यस्ता क्षेत्र छन् जहाँ टुकी बत्तीकै साहरा छ । 

कुलेखानी जलविद्युत् आयोजनाको तीनवटै पावर हाउस यही पालिकाभित्र छ । तर, यही पालिकाको धार्के, बर्देउ, महावीरजस्ता क्षेत्रमा बिजुली नै पुगेको छैन । कतिपय स्थानमा बिजुली पुगेको भए पनि एकदमै जीर्ण काठेपोल छन् । जुनसुकै समयमा दुर्घटना हुने सम्भावना छ । बर्सेनि यस्ता दुर्घटनामा मृत्युसमेत हुने गरेको छ । हामीले यो आर्थिक वर्षभित्र गाउँपालिकालाई काठेपोल मुक्त बनाउने योजना लिएका छौं । झन्डै ३ हजारवटा काठेपोल विस्थापन गर्नुपर्नेछ ।
२ सयभन्दा बढी घरमा बिजुली पुर्याउनुपर्ने । यी योजनाका लागि पालिकाले १ करोड बजेट छुट्याइएको छ । हामीलाई विद्युत् प्राधिकरणको पनि सहयोग आवश्यक छ । यसैगरी खानेपानीको व्यवस्थापन गर्ने, नयाँ बन्ने सरकारी भौतिक संरचनालाई अपांगमैत्री बनाउने, अपांगता भएकालाई सीप र व्यवसायमार्फत् आत्मनिर्भर बनाउने, वडावडा र गाउँगाउँसम्म सडक सञ्जाल पुर्याउनेजस्ता कार्यक्रम छन् ।

चुनावताका गर्नुभएको बाचा पूरा गर्नुभयो त?

धेरै बाचा पूरा भएका छन् । केही पूरा हुने क्रममा छन् । विकासको क्रम त राणाकाल, पञ्चायत, बहुदलीय व्यवस्थामा पनि भएको हो । विकास निरन्तर प्रक्रिया हो । सकिने भन्ने हुँदैन । मान्छेको आवश्यकताअनुसार विकास चलिरहन्छ । हाम्रो आधारभूत आवश्यकता के हो त्यसलाई सम्बोधन गर्दै लैजानुपर्छ, हामीे गरिरहेका छौं ।

अन्तिममा हामीले गर्ने भनेको जनताको प्रतिव्यक्ति आय बढाउने, जनताको आयु बढाउने, शिक्षा विकास गर्ने तथा व्यावसायिक शिक्षालाई प्रवद्र्धन गर्ने, व्यावसायिक शिक्षालाई बढी जोड दिनका लागि हामीले अहिले दुईवटा प्राविधिक शिक्षालय सञ्चालन गरिरहेका छौं ।

कृषि र इलेक्ट्रिक सब इन्जिनियरको काम पनि हामीले सञ्चालन गरिरहेका छौं । व्यावसायिक ढंगले शिक्षामा जोड दिने साथसाथै स्वास्थ्यका लागि प्रत्येक वडामा आधारभूत सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्ने योजना छ । यी यस्तै बाचा थिए, लगभग पूरा हुँदै छन् यसो भन्दैमा मेरो जिम्मेवारी सकियो भन्न खोजेको हैन । झनै धेरै गर्न बाँकी छ जनताका लागि, भीमफेदी गाउँपालिकाका लागि ।


स्रोतः राजधानी दैनिकको लागि मकवानपुरबाट सरिता दहालले लिएको अन्तर्वाता

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर