1478958692 banner ad format

 
 

सरोज कटुवाल ‘उद्दीप्त’

युवा परिवर्तन र क्रान्तिका कहानीहरुसंगै उपस्थित हुने मिथक हो । युवा रगत र पसिनाको सहि सदुपयोगले नै विश्वका थप्रै देशहरु समृद्ध र शक्तिशाली बनेका छन् । अर्कातिर त्यसको महत्त्व आत्मसात् गर्न र सहि व्यवस्थापन गर्न नसक्दा कयौ देश दरिद्र बनेका इतिहास पनि छन् । हाम्रो देश पनि युवाको प्रत्यक्ष लगाव र त्यागको कारण संघिय गणतन्त्रात्मक मुलुक बनेको छ । कुनै पनि देशको भविष्यको सबैभन्दा ठूलो पुँजी युवा शक्ति हो । युवा शक्तिकै बलमा मात्र देश, दुनियाँ र समाज अगाडि बढ्छ भन्ने जालमा पारेर परिवर्तनकालागी राजनीतिक नेतृत्वले आफूअनुकुल कुमालेको माटो जस्तै गोटी, मट्याङ्ग्रा र छारोजस्तै अनेक रुपको बनाएर उपयोग गरेपनि त्यसपछी अनुत्पादक बस्तु सम्झने प्रवृति छ । 

       नेपालको संविधानले राष्ट्र निर्माणमा युवा जनशक्तिलाई परिचालन गर्न सरकारले विशेष नीति अवलम्बन गर्नुपर्ने कुराको दिशाबोध गरेको छ । नेपाल सरकारले राष्ट्रिय युवा नीति २०७२ ले निर्दिष्ट गरे बमोजिम राष्ट्रको जनसंख्याको ठूलो हिस्सा ओगट्ने युवा जनशक्तिलाई प्रभावकारी रुपले परिचालन गर्न सकेमात्र राष्ट्रलाई विकसित मुलुकको दर्जामा पुर्याउन सकिन्छ । सरकारले विभिन्न वर्षका वजेटहरुमा युवा स्वरोजगार तथा वेरोजगारलाई निर्वाह भत्ताको कार्यक्रम घोषणा समेत गर्दै आइरहेको छ । आर्थिक बर्ष २०७५।७६ को बजेट भाषणमा उद्यमशिलतामा लाग्ने युवालाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखि सहुलियत दरमा ऋण दिने लोकप्रिय कार्यक्रम समेत सरकारले घोषणा गरेको छ । सस्तो लोकप्रियता र आफुले जस लिने होडबाजीमा यसभन्दा पहिले पनि यस्ता गुलिया कार्यक्रमहरु नआएका होइनन् तर युवाहरुलाई फगत निराशाबाहेक केहि दिन सकेनन् ।  

     युवा देशका कर्णधार हुन् । राज्यका मेरुदण्ड युवावर्ग सचेत भएर मात्र देशमा ठुलाठुला परिवर्तन र जनक्रान्तिहरू सम्भव भएका छन् । यस्ता विचार र भाषणहरु युवा मन्त्रालयले तारे होटलमा गर्ने सेमिनार र निबन्ध प्रतियोगितामा प्रस्तुत हुने बिषयमात्र बनेका छन् ।

नेपालमा प्रत्येक वर्ष ५ लाख युवाहरु रोजगारीका लागि श्रम वजारमा प्रवेश गर्छन् । जसमा ३ लाखभन्दा बढि बिदेश जान्छन् । स्वदेशमा रहेकामध्ये १० प्रतिशतले मात्र रोजगारी पाउँछन् । अरु ९० प्रतिशत कामका लागि वर्ष भरि भौतारिन्छन् । श्रम मन्त्रालयको तथ्याङ्कका अनुसार दैनिक १५ सय बढि युवाहरू कामका लागि विदेश जान्छन् र ५ सयको हाराहारीमा फर्किन्छन् । यसरी दैनिक १ हजार बढि युवापलायनको अवस्था रहेको छ । पछिल्लो तथ्याङ्कअनुसार ६० लाखभन्दा बढी नेपाली विदेशमा रोजगारीका लागि गएका छन् । अरब बनाउन छाती, पाखुरा नापेर, रगत, मुटु, कलेजो जचाएर पठाएका युवाहरु जसरि गएका हुन् त्यस्तै आएका छन् सरकार ? के स्वस्थ जनशक्ति डेन्जर,डर्टी र डिफिकल्ट काममा जान नरोकेर युवा उर्जा उपयोग हुन सक्ला ? देशमै परिवारसंग बसेर काम गरेके युवा उमेरले चालिस टेक्ने लाग्दा दलालहरु सामु पुग्ने अवस्था छ, ता कि उमेर हदले पनि खाडीमा जान नरोकोस् । के यस्तो अवस्थाको मनोबैज्ञानिक निराकरण नगरेसम्म देश बनाउने कुराले अभावको आहालमा भएकाहरुको मन जित्ला ?

         रोजगारी र मासिक तलब ३० हजारको मागलाई जोड दिएर आन्दोलन र गतिबिधि नभएका होइनन् । बेरोजगार युवा संघ र राष्ट्रवादी केन्द्र नेपालले रोजगारीकै मुद्दा केन्द्रित गतिबिधी गरिरहेपनि अन्य संस्था र संगठनहरुले औपचारिकताको मात्र प्रदर्शन गरेको देखिन्छ । त्यस्ता माग र सचेतनालाई राज्य खुरले कुल्चिन चाहन्छ किनकि राज्यलाई खबरदारी गर्ने जनशक्ति समिप भएको मन पर्दैन । यस्ता कुराहरु उठ्दा असम्भव जस्तै मान्ने युवानेताहरु राज्यलाई प्रश्न गर्ने हिम्मत किन गर्दैनन् कि पखेटा लगाएर आकासमा चरा जस्तै उड्न सम्भव हुने, भगवान मानेर पुजिने चन्द्रमामा पाइला टेक्न सम्भव हुने, चीनले सिसाको पुल बनाउन सम्भव हुने, दुबैले समुन्द्रमाथी बस्ति बसाउन सम्भव हुने कतारले पुरै कृतिम बगैँचा र पहाड बनाउन सम्भव हुने, इजरायलले पाकिस्तानबाट माटो लगेर बगरमा टमाटर पÞmलाउन सम्भव हुने, अस्ट्रेलियाले दुधबाटै अर्थतन्त्रलाई उचाईमा लैजान सम्भव हुने, अमेरिकाले २०० बर्ष लगाएर गरेको बिकास चीनले ३० बर्षमै गरेर संसारलाई अचम्मित तुल्याउन सम्भव हुने अनि जल, जमिन, जंगल, जडिबुटी, खनिज र जनशक्ति भएको मुलुकले आफ्ना जवानलाई खाडीमा नबेची राज्य चलाउन किन सम्भव नहुने  ?

   अध्ययनको बहानामा यूरोप र अमेरिका हराउने युवाहरु, पी.आरको लोभमा साइप्रस र पोल्याण्डजाने युवाहरुको मनस्थिति कहिले पढ्ने राज्यले ? एसईई गरेका युवायुवतीले देशमा भविस्य नदेखेरै आइएलटिएस तयारी गर्न थालेको कसरी हेर्दैछ राज्यले ?  डबल डिग्री गरेको युवाले कोरियन र हिबु्र पढिरहेको छ, राज्यले कहिले पढ्ने तिनीहरुको निरासाको तह ?

     अस्तव्यस्तता र अनिश्चित भविस्यमात्र उपहार दिएको नजिरलाई चिर्दै राज्यले युवाहरुलाई योग्यता, क्षमता, रूचि र दक्षताअनुसारका तालिम, रोजगार र कामको व्यवस्था गरी तिनको मनोबल बढाएमा देशविकासको लागि उपर्युक्त लगानी हुन सक्छ । युवा उत्साहित भएर मात्र सिर्जनाका नवद्वारहरू खोल्न सक्छन्, मुलुकको अस्तित्वमा सङ्कट आउँदा धक फुकाएर बोल्न सक्छन् र राष्ट्रियताका लागि जुनसुकै चुनौती पनि मोल्न सक्छन् अनि विपन्नता, गरिबी र पछौटेपनका विरूद्ध सजिलैसँग धावा बोल्न सक्छन् तब मात्र बुद्ध र सगरमाथा मुस्कुराउँछन् ।

   पूर्ण बेरोजगार र शैक्षिक बेरोजगार युवाहरुलाई समेत नदेख्ने इतिहासका सरकारहरु माथि गुनासा र आक्रोशका खातहरु छन् । वर्तमान सरकारसंग अलिकति आशा पनि । आशा छ, गहिरो संकल्प र दुरगामी सपना देखेको प्रगतिशील सरकारले युवालाई शक्तिको रुपमा आत्माबाटै लिएर देशलाई समृद्ध र समुन्नत बनाउन पाइला चलाउने छ । साँच्चै सरकार देश बनाउने संकल्पसहित युवामाझ आउने हो भने राष्ट्रवादी युवाहरु बिना पारिश्रमिक काम गर्न तयार हुनेछन् । अन्यथा रोजगारीको मुद्दाले नै देशमा अर्को क्रान्ति नजन्माउला भन्न सकिन्न ।

प्रकासित मिति

Loading...

 

yummyfood