annapurna add

xaupadi systemयदि छाउले हिन्दु धर्म, संस्कृतिमा आघात पुर्याउँथ्यो भने त्यो अहिले होइन, उहिले पतन भइसक्थ्यो होला । जान्ने मान्छेले मासिक धर्म आरम्भ हुनुलाई फूल फुलेको वा शुभलक्षण आरम्भका रूपमा पनि लिन्छन् ।

अज्ञानताले तिनलाई मात्र होइन, नाबालिकलाई समेत घरबाट टाढा मृत्युको मुखमा धकेल्छन्, महिनावारी हुँदा पाँच÷सात दिन र सुत्केरी हुँदा ११-१२ दिन । सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउगोठ भत्काउने अभियान अन्तिम चरणमा पुगेको छ ।

यस अभियानमा लागेका तीनै तहका सरकारदेखि विभिन्न तहका सङ्घ-संस्था र व्यक्तिहरू बधाइका पात्र हुनुहुन्छ । यस प्रथाविरुद्ध लामो समयदेखि विभिन्न संघ संस्था र व्यक्तिले आवाज उठाउँदै आएका छन् ।

भत्काउने काम पनि भएको नै हो तर यस तहमा पुगेको थिएन । अभियानका रूपमा पुर्याउने कार्य पनि तिनै दिदीबहिनीबाट भएको हो । जसले छाउगोठमा मृत्युवरण गरेका थिए ।

ती सहिदका रूपमा सम्मान पाउने पात्र हुन् । तिनको सहादतले सिंहदरबारमात्र हल्लिएन, मानवीय संवेदना भएका विश्वका कुनाकाप्चाबाट एक स्वर उठ्यो– निर्णायक लडाइँ लड्नुपर्छ भनेर ।

कलमकार पनि छाउपडी प्रथाका लागि बदनाम भएको प्रदेशकै हो । २०६८ असोजमा आफ्नै नेतृत्वमा देवकी, झुमा र छाउपडी कुरीतिहरूको सम्बन्धमा अध्ययन अनुगमन गर्न संसदीय उपसमिति गठन गरियो ।

अध्ययन र अनुगमन गरी संसद्को महिला बालबालिका र समाज कल्याण समितिबाट प्रतिवेदन पारित भए पनि २०६९ सालमा संविधानसभाको विघटनले संसद्बाट पारित हुन सकेको थिएन ।

अध्ययन र लामो समयको अप्रत्यक्ष रूपमै भए पनि प्रभावलाई मध्यनजर गरी केही घटना र प्रसङ्गहरूले छाउपडीको विभेद देवताले होइन, मान्छेले सिर्जना गरेको हो भन्ने निष्कर्षमा पुगेर कलम चलाउन बाध्य भए ।

भगवती वा धमेनी आफैँ महिला हुन् । आफैँ छुई हुन्छिन् अर्थात् दुवैमा मासिक रक्तस्राव हुन्छ । त्यतिखेर देवताले कुनै ठूलो आपत्ति प्रकट गरेको हुँदैन । धामी कामेर भन्नुहुन्छ, “छुया र जुठा कि बार कोस बाटो छोड्छु ।” तर, कहिलेकाहीँ धामी र देवताका कारिन्दा श्रीमतीसँग सुतेकै अवस्थामा राति श्रीमतीलाई मासिक धर्म भइदिन्छ ।

बिहान वा निद्रा खुलेपछि मात्र अलग हुन्छिन् । त्यतिखेरसम्म धामी बिचराको के हुन्छ होला ? तर, केही हुँदैन । बरु त्यसका लागि चित्त बुझाउन के भनिन्छ भने ‘सुनी सुतकदेखि ग्रहण’ यसबाट प्रस्ट के हुन्छ भने यो छुवाछूत हामी मान्छेले गर्दा सिर्जना भएको रहेछ, देवताबाट होइन । फेरि धामीधमेनीहरूमा प्रेमसम्बन्धको बेला जुठोपना हुँदैन भन्नु झुटो बोल्नुबाहेक केही हुँदैन । या भन्नुप¥यो प्रेमको बेलाको जुठो, जुठो होइन ।

कहिलेकाहीँ महिला भान्सामा खाना पकाइरहेको अवस्थामा पर सरेको (पुरानै भाषा प्रयोग गर्दा) महसुस गर्नुहुन्छ, अनि डाडु पन्यु त्यहीँ छोडी बाहिर गोप्य ठाउँ गइहेरेपछि मात्र छुट्टिनुहुन्छ ।

अनि बाहिरबाट अरूलाई खाना हेर भनिन्छ । के उक्त परिवारका मान्छे, त्यो छुई सकिएको दालभात, रोटीतरकारी फालिदिन्छन् र ? मैले बुझेअनुसार उक्त घरमा धामी पण्डा भए पनि फाल्दैनन् । कुचकुच खान्छन्, देवताले त्यो त छुइयो भन्दैन र फाल्न पनि लगाउँदैन ।

कहिलेकाहीँ गाई–भैँसी दुहुँदा उक्त घटना घटिदिन्छ । उक्त दुहेको दूध परिवारजनले फाल्दैनन् । घरमा धामीहरू भने उसले न खाला परिवारजन खान्छन् । कुनै महिलालाई मात्र गाई–भैंसी दुही एकहाते भएको हुन्छ, अरूलाई दूध दुहुन दिँदैन । त्यतिखेर चोखो भाँडो भनेर सुख्खा भाँडो उक्त महिलालाई दिइन्छ ।

दूध परिवारभित्रका चोका भनिने धामी पण्डा भण्डारबाहेक लसपस गरी सबै खान्छन्, जब कि ८० प्रतिशतभन्दा बढी दूधमा पानी हुन्छ । छुयो मानिदैन । मूर्खता के छ भने त्यसै दूधलाई दुहुने महिलाले खान पाउनुहुन्न ।

वर्षा भएको समय घरबाहिर सुत्केरी वा मासिक धर्मवाली हिँडेको बाटो धर्मको जामा पहिरिएकाहरू पनि हिँड्ने गर्दछन् । सुत्केरी भएको समय घरनजिक केही ढुङ्गा राख्ने टुनामुना गरे पनि । तिनै जिल्लाहरूका धामी पण्डितहरू गाडीमा नेपाललगायत भारतका विभिन्न तीर्थस्थल जान्छन् ।

आफूसँग बसेकी नचिनेकी महिला चोखी हो वा बिटुलो हो केही थाहा हुँदैन । भात न खाए पनि होटलमा चिया पकाउने महिलालाई तिमी चोखी होउ वा होइनौँ भनेर सोधिँदैन । चिया भने लत लागेको चोखो हौ भन्ने व्यक्तिले पनि मजाले पिउँछ ।
हाम्रा तीर्थका नदीहरूमा माथिबाट तल समुद्रमा पुगुन्जेलसम्मका किनारका बस्तीहरूका महिला महिनावारी होस् वा सुत्केरी होऊन् नुहाउने र लुगाफाटो धोएको हुन्छ ।

तीनै नदीहरूमा पवित्र जल भनेर स्नान गरी सूर्यलाई अर्घ चढाइन्छ । जल पात्रमा बोकी फेरि त्यसै किसिमको भीडभाड भएको गाडीमा बसेर गाउँमा पुगेपछि छुयोचोखो सोधी आफ्नो कुल देवतालाई जल चढाएर चोखो पारेको र आफूले पुण्य कमाएको गर्व गरिन्छ । हाम्रो देवताले कहिल्यै पनि त्यो सबै जाति, धर्म, लिङ्गले अपवित्र गरेको पानीले मलाई अभिशेख नगर भन्दैन फेरि, देवतालाई दोष किन ?

वृत्तासुरको हत्या इन्द्रले गर्ने त्यसको दोष महिलाको मासिक धर्मसित जोड्ने तत्कालीन पुरुष प्रधान समाजले महिलालाई विभिन्न किसिमले आरोपित गरी दासी बनाउने षड्यन्त्रअन्तर्गत मासिक धर्मका चार दिन यसरी विभाजित गराइएको छ– पहिलो दिन राक्षसनी, दोस्रो दिन बह्मघातनी, तेस्रो दिन चण्डालनी र चौथो दिन बल्ल शुद्ध । त्यो पनि सबै जातीय समुदायमा होइन केही केहीमा मात्र ।

वर्षभरि महिनावारी भई अपवित्र भएको पाप पखाल्न भनी ऋषिपञ्चमीमा व्रत उपवास गरी पण्डितबाट पूजापाठ गराई पापमोचन हुने प्रथाले वर्षभरि आफू अशुद्ध नै वा भनौँ पापी नै रहेको भान भइरहने । त्यसैगरी मनुमहाराज लेख्नुहुन्छ– नारी, वैश्य र शुद्र यिनी पापयोनी हुन् ।

जब कि आमालाई नै अपवित्र र पापयोनी भन्ने हिन्दु धर्मका रक्षकहरूको जन्म पनि त्यही मासिक धर्मको अनिवार्यता र सुत्केरीको माध्यमबाटै भएको हुन्छ । चित्त बुझाउन भनिदियो– जन्मना जायेत शुद्र, कर्मर्णा दिज उच्चते, परिवर्तनका लागि सबै कुरा सम्झाइ–बुझाइले मात्र नपुग्ने अवस्थामा कहिलेकाहीँ बल प्रयोगको पनि अपरिहार्यता हुँदा छाउपडी गोठ भत्काउने काम सकारात्मक हुँदै गएको छ ।

तर, पुनःनिर्माण गर्नु, रूप फेर्नुको पछाडिका कारणहरू धर्म संस्कृतिको त्रास नै हो । ठूलो र लामो सङ्घर्षपछि बनेको संविधान र ऐन कानुन मान्छेमाथि समस्या आइपर्दामात्र हेरिन्छ । जब कि संस्कृतमा लेखिएका विभेदकारी पुराण, स्मृति र अन्य धार्मिक भनिएका ग्रन्थहरूको ठूलो तामझामसाथ महिलालाई नै कलश बोकाई यज्ञ स्थापना गरी नाचगानसाथ महिलाले के गर्ने के नगर्ने, के धर्म के अधर्मका पाठ घोकाइन्छन्, प्रशिक्षित गराइन्छ ।

धार्मिक नाम दिइएका ग्रन्थहरूको जसमा अधार्मिक, अमानवीय कपोलकल्पित वा आजको युगमा समय सान्दर्भिक नरहेका कथा, उपदेशहरू झिकी सर्वहितकारी प्रसङ्ग, कथा र उपदेशहरूमात्र राखी प्रवचन गर्दा फरक नपर्ला ।

भारतमा मनुस्मृतिपटक–पटक पोलिसकेको छ । तर, त्यसका आधारमा आफ्नो खेती गर्नेहरूले नयाँ–नयाँ संस्करण निकालेकै छन् । धर्म भनेको असल कुरा हो भने त्यसभित्र कमसल कुराले फोहोर किन थुपार्नुपर्यो ?

सरसफाइ सबै प्राणीका लागि अनिवार्य सर्त हो । शौच गरेपछि पुरुषले पनि स्वच्छ सफा नभई, खानेकुरालाई र धार्मिक कार्य गर्न आफूलाई नै अपवित्र महसुस गर्छ । त्यसका लागि कसैले उसलाई तिमी सफा होऊ भन्नैपर्दैन, बच्चाहरूलाई बाहेक । मासिक धर्मको समय नियमित रूपमा रक्तस्रावले महिलाको तल्लो अङ्गका वस्त्र स्वाभाविक रूपले फोहोर हुन्छन् । समय–समयमा सफा गर्नु अनिवार्य हो ।

तर, हिजोको दिन नियमित रूपमा लुगा फेर्ने कुरा त परै जाओस्, वर्षमा दुईजोर लुगा हाल्न पनि सबैलाई सहज हुँदैनथ्यो । सबै ठाउँमा नियमित नुहाइ–धुवाइ गर्न पानीको सुविधा थिएन । तीन दिनसम्म शरीरमा फोहोर बोकेर हिँड्नुपर्ने वा आफ्ना ठूलाबडाहरूबाट टाढा लुक्नुपर्ने अवस्था थियो ।

अब अहिलेको नयाँ चेतना नयाँ सुविधा र आर्थिक जीवनमा पनि क्रमिक सुधार आइरहेकाले महिला वर्गले पनि आफूमा समयानुकूल परिवर्तन ल्याउनु अनिवार्य छ ।

परिवारजनले पनि सकारात्मक रूपमा रूपान्तरित हुनु आवश्यक छ । कुनै परिवारमा पुरुष वर्गले विभेद नगर्न खोज्दा पनि महिलाले आफैँ ढिपी गरेको देखिन्छ । विगतको धार्मिक सन्त्रासकै कारण होला । त्यसैै किसिमको लामो स्कुलिङको परिणाम हुन सक्छ रूपान्तरिक नहुनु खोज्नु ।

आर्य खसहरूको बाहुल्य भएको क्षेत्रमा देवकी, वादी र छाउपडी प्रथाले महिलामाथिको अन्यायको दोष हाम्रो धर्म र संस्कृतिले सिर्जना गरेको चेतनामाथि नै जान्छ ।

तसर्थ अब हाम्रा धर्म, संस्कार संस्कृतिलई नयाँ ढङ्गले परिभाषित गर्नु अनिवार्य छ । तबमात्र हाम्रा विधि विधान र न्याय कानुनले पूर्णता पाउनेछन् ।

अकालमै मृत्युको मुखमा पुग्ने हाम्रो नारीको र किशोरी संरक्षित हुन्छन् । सित्तैमा देवीदेवताहरूले पनि आरोप खेप्नुपर्ने छैन । साथै देश–विदेशका अगाडि हामी कुन युगमा बाँचिरहेका छौँ भन्ने कुराबाट शिर
झुकाउनुपर्ने छैन ।

लेखक पुरनसिंह दयाल संविधानसभाका सदस्य हुन् ।गाेरखापत्र ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...