annapurna add

korona sochनोबल कोरोनाले यतिखेर विश्व जनमत तातेको छ । एक सयभन्दा बढी देशमा यसको लक्षण देखिएको कुरा विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । सबै देशलाई यो सङ्गठनले सावधानी अपनाउन सूचित गरेको छ ।

उसको सूचना अनुसार विभिन्न देशहरुले आफ्नै तरिकाले पूर्व तयारी पनि गरिरहेका छन् । यसका निम्ति हरेक देशका तयारी आ–आफ्ना होलान् वा हुन्छन् । सबैको एउटै खालको हुने कुरा पनि भएन । आर्थिक हैसियत र प्राविधिक क्षमताका आधारमा त्यसो हुने गर्छ । वास्तविकता पनि त्यही हो ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पनि कोरोना प्रभावित देशको सूचीमा राखेको छ । सजगता अपनाउन र भैपरि आउने समस्याबाट जोगिनका लागि पूर्व तयारी गर्न आग्रह पनि गरिसकेको छ । उसको निर्देश अनुसार नेपालले काम गरिरहेकोेमा हामीे आशावादी हुनै पर्छ । अमेरिका, युरोप, अस्ट्रेलिया वा क्यानाडाको स्तरमा त नहोला तर आफ्नै स्तरमा भए पनि नेपालले तयारी पक्कै गरिरहेको होला भन्नेमा कुनै द्विविधा छैन ।

‘बुढी मरी भन्ने पिर होइन तर काल पल्केला भन्ने पीर’ यो उखान नेपाली समाजमा अत्यधिक प्रचलनमा छ । हो, कोरोनाले यतिखेर संसारलाई दुःख दिइरहेको छ । त्यसबाट नेपाल अछुतो रहने कुरै भएन । अहिलेसम्म औषधि–भ्याक्सिन पत्ता नलागेको यस रोगले संसारलाई कति दुःख दिने हो थाहा छैन ।

चीनसँग सिमाना नजोडिएका संसारका विभिन्न देशहरुमा समेत धेरै संक्रमित देखिएको मात्र होइन, मृत्युवरण गर्नेहरुको सङ्ख्या समेत अधिक देखिएको परिप्रेक्ष्यमा सिमाना जोडिएको र आवातजावत समेत भैरहने हाम्रो देशमा यो प्रवेश नगर्ला भन्न सकिन्न । जे होस् अहिलेसम्म यस रोगबाट कोही नेपालीले पनि ज्यान गुमाउनु परेको छैन । यो एउटा आजसम्मको सुखद पक्ष हो ।

अहिलेसम्म कसैले ज्यान गुमाएका छैनन् वा सघन रुपमा संक्रमित देखिएको छैन भन्दैमा हामी चुप लागेर बस्ने अवस्था भने निश्चय पनि छैन । हामी चनाखो रहनै पर्छ । सजगता अपनाउनै पर्छ । यस्तो संक्रमण रोकथामका निम्ति विभिन्न कामहरु नियमित रुपमा गरिनु आवश्यक छ ।

अझ बढी सचेत, सजग र उत्साही बन्न जरुरी छ । आफू सजग भएर मात्र पुग्दैन घर, परिवार र समाजलाई समेत सचेत बनाउन भरमग्दुर प्रयत्न गर्नु नितान्त आवश्यक छ । यसबाट बच्नका निम्ति एक्लो होइन सामूहिक प्रयासको आवश्यकता छ र त्यो नै हामी सबैको सुरक्षा कवच पनि हो ।

यतिखेर सामाजिक सञ्जालमा कोरोना सम्बन्धी अनेक सूचना वा जानकारी प्रशस्तै भेटिन्छन् । एक, दुई, तीन वा चारमात्र होइन, त्यस्ता सङ्ख्याको गणना दुई अङ्कमा पनि गर्न नसकिने अवस्था आइसकेको छ तर अधिकांश सूचनामा स्रोत भेटिदैनन् । कसले भनेको हो, उसको अधिकारिकता के हो, हैसियत र क्षमता कति हो, केही जानकारी पाउन सकिंदैन ।

उसलाई जित्दै ऊ अनि उसलाई जित्दै ऊ क्रमशः आइरहेछन् । के, किन र कसरी भन्नेतिर कोही पनि लागिरहेका छैनन् । सबैजना पहिलो बन्ने, सूचक हुने, चिनिने र चिनाउने अभियानमा बिना परिचयका, आधारका र तर्कका कोरोना सम्बन्धी सूचना वा जानकारी धमाधम सेयर गरिरहेका छन् । विश्वसनियता खोज्नु त कता हो कता केवल अर्काको लहलहैमा लागेर आधिकारिकता नखोजी प्रस्तुत भइरहेका छन् । निश्चित पनि यस्ता सूचनाले डरको मात्रा बढाउनेभन्दा बढी केही पनि गर्न सकिरहेका छैनन् ।

देशभित्र सरकार छ । स्वास्थ्य मन्त्रालय छ । सम्बन्धित विषयका विशेषज्ञहरु छन् । तर उनीहरुको आवाजलाई जितेर सामाजिक सञ्जालमा त्यस्ता सूचना आइरहेका छन् । यो पक्कै पनि राम्रो कुरा होइन । यस्तो सूचना आधिकारिक व्यक्ति र आधिकारिक निकायबाट आउनुपर्छ त्यसले मात्र सबैको भलो गर्छ । तर हाम्रोमा जुन रुपमा आउन पर्ने हो त्यसरी आइरहेको छैन ।

अथवा जेजस्तो किसिमले सुनिन पर्ने हो त्यो अनुसार भैरहेको छैन । फेसबुकका वालहरु कोरोना सम्बन्धी विविध जानकारीले भरिएका छन् । ती आवश्यक हुन् कि होइनन् यतातिर विज्ञहरुको ध्यान जान सकिरहेको छैन । यसले के पुष्टि गर्छ भने हामी हल्लाको ज्यादा पछि लाग्छौँ । सत्य खोज्नेतिर जान चाहदैनौँ ।

वर्तमानमा कोरोनाका सम्बन्धमा फेसबुकका वालमा देखिएका आधिकारिता विनाका सूचना वा जानकारीले जनमानसलाई त्रस्त बनाएको छ । अस्तिभन्दा हिजो र हिजोभन्दा आज बजार भाउ आकासिइरहेको छ । बजारमा उपभोग्य वस्तुहरु सर्वसुलभ रुपमा पाउन छाडिएको छ । यो सबै हल्लाकै कारण हुन् । मानिस उपभोग्य वस्तु तथा ग्यास अनि पेट्रोलियम पदार्थको भण्डारणमा लागेको आशङ्का त आयल निगमको सूचनाले पनि पुष्टि गरिसकेको छ ।

कोरोनाका बारेमा सचेत गराउँदै आत्मविश्वस, संयम, दृढता र सकारात्मक सोचका समाचार तथा सूचना सम्प्रेषण आजका आवश्यकता हुन् । तर हाम्रा पाइला त्यतातिर गइरहेका छैनन् । डर, सन्त्रास र भयका सूचना सम्पे्रषित भइरहेका छन् ।

कसले सक्ने, को पहिला हुने, को देखिने, कसकोमा धेरै लाइक र कमेन्ट आउने ? हाम्रा मानसपटल यस्ता धारणाले भरिएका छन् । मेरो वा हाम्रो कामले को, कसलाई, के कसरी प्रभाव पार्छ भन्नेतिर संभवतः सोचिरहेका छैनौँ । त्यसैले जथाभावी बिना प्रमाण र आधारका सूचना सम्प्रेषण गरिरहेछौँ । समाज र सामाजिक सद्भावमा यसले फाइदाभन्दा बढी बेफाइदा गरिरहेको छ ।

सूचना पढ्दा, सुन्दा र हेर्दा लाग्छ हामी आविष्कारक हौँ । धमाधम आविष्कार गरिरहेछौँ । अर्काको सूचनामा लाइक, कमेन्ट गर्नुलाई गर्व ठानिरहे छौँ । यसो गर्दा महान् भइन्छ भन्ने मनोविज्ञानले काम गरेको अनुमान गर्न सकिन्छ । पहिलो बन्ने र अगाडि पुग्ने सोचले मस्तिष्कमा वास गरेको कारण यसो भएको हो तर यसले आममानिसलाई लाभको सट्टा हानी गरिरहेछ ।

मनहरुमा आवश्यकताभन्दा बढी डर एकत्रित भएका कारण आवश्यकीय वस्तुहरुको संकलन गरिरहेछौँ । यसले समाजमा नकारात्मक सन्देश प्रवाह गरेको छ । यसका साथै नजानेरै हामी नकारात्मकतातिर बढी लागिरहेछांै भन्ने पुष्टि हुन्छ ।

कोरोनाबाट सचेत बन्दै आ–आफ्नो कर्ममा लाग्नु हामी सबैको आजको आवश्यकता हो । भय, डर, सन्त्रास र अफवाहले अगाडि हैन पछाडिको बाटोतिर लैजान्छ । कोरोनाबाट बच्नका निम्ति विभिन्न देशले गरेको काम र हाम्रो देशको गतिविधि अनि सरकारका तयारीबारे आमजनतालाई अवगत गराउनु सरकार, पत्रकार जगत, प्रबुद्ध वर्ग र सचेत नागरिक सबैको कर्तव्य हो तर बजारमा देखिने नकारात्मक हल्लाले हाम्रो मनोविज्ञान नकारात्मक बाटोतिर ढल्किरहेको त होइन भन्ने प्रश्न स्वभाविक रुपमा उब्जन्छ ।

तसर्थ परिस्थिति जटिल नबनोस् भन्ने सोच त राम्रो हो तर हामी परिस्थिति महाजटिल बनिसके जस्तो गरिरहेका छौँ । यो बाटो त्यागौं र सकारात्मक सोचका साथ जानेको कुरा मात्र प्रचार प्रसार गरौँ । नजानेको बाटोतिर पाइला नचालौं । देश र समाजलाई सही बाटोमा हिड्न सहयोग गरौँ । यो हामी सबैको कर्तव्य पनि हो । अनि यसैमा सबैको कल्याण पनि छ ।

नवराज रिजाल । गाेरखापत्र ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...