orocrypt ico cover news kantipath

हिजोआज बजारमा भएको सुनको मूल्य सुनेर अधिकांश उपभोक्ता भन्ने गर्छन्, ‘सकिन्न है अब सुन किन्न’। सुनभित्रका राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा बौद्धिक वर्ग र अर्थशास्त्रीहरूका लागि पनि अध्ययन र विश्लेषणका विषय बन्ने गरेको छ। सुनमा के जादु छ जसले गर्दा सुनको मूल्य हरेक वर्ष अरू वस्तुको दाँजोमा तीव्र रूपमा बढिरहेको हुन्छ। उपयोगिताको दृष्टिले सुन खान मिल्दैन। बास्ना आउँदैन। गहना लगाउँदा एलर्जी हुने, खटिरा आउनेजस्ता सम्भावना हुन्छन्। संसारले मानिदिएका आधारमा महत्त्वपूर्ण मानेर राख्दा पनि चोर डाँकाबाट ज्यानकै जोखिम हुने, कान र अंग काटेर अंगभंग बनाइदिने डर हुन्छ। त्यति हुँदा पनि सुनको मूल्य बढिरहेकै हुन्छ, किन ?

सुनको मूल्य उपयोगितासँग जोडिने होइन। यसको उपयोगिता र महत्त्व मानिदिएकाले नै मूल्य बढ्ने गरेको हो। सामान्यतः डलरको मूल्यमा गिरावट आउनेबित्तिकै विश्व बजारमा सुनको मूल्य बढ्न थाल्छ र डलर बलियो हुनेबित्तिकै सुनको मूल्यमा गिरावट आँउछ। राज्यप्रति र केन्द्रीय बैंकप्रति जनविश्वास बढेको अवस्थामा डलर र सेयरको मूल्य बढ्ने गर्छ भने राज्य काममा भन्दा भ्रष्टाचारमा, आर्थिक विचलनमा फसेको बेलामा सुनको मूल्य बढ्ने गर्छ। हुन त वस्तुको मूल्य उपयोगिताका आधारमा निर्धारण हुने अर्थशास्त्रको नियम हो। तर सुनको सम्बन्धमा उपयोगिता भनेको फगत मानिदिएको र सञ्चय गर्दा नघट्ने÷नगल्ने हुनु हो। डलर सञ्चय गर्दा मूल्यस्फीतिको डर हुन्छ। तर सुन सञ्चय गर्दा नघट्ने, माटोमा गाडे पनि नकुहिने भएकाले त्यो डर हुँदैन।

सुनको मूल्य घटबढका आधार/कारण

पृथ्वीमा पाइने धातुहरूको सूचीमा सुन ७३ औं स्थानमा पर्ने बताइन्छ। सुनलाई पानी वा माटोले गलाउन सक्तैन। विशेष किसिमका रसायनमा बाहेक सुन अरू धातुसँग घुलन हुन पनि सक्तैन। सजाउन र सञ्चय गर्न विश्वभर नै सुनले ख्याति पाएको छ। एक देशको मुद्रा अर्को देशको कारोबारमा प्रयोग हुँदैन, तर सुन जुनसुकै मुद्रा वा विनिमय दर भएको देशमा पनि विनिमयको माध्यम हुँदै आएको छ। इतिहास केलाउने हो भने दोस्रो विश्वयुद्धसम्म पनि स्वर्णमुद्राको प्रयोग गर्ने देशले आफ्नो मुद्रालाई बलियो बनाउने आधार सुनलाई नै बनाएको पाइन्छ।

नेपालमा त पञ्च धातुभित्र पर्ने भएकाले सुनको धार्मिक महत्त्व पनि छ। सुनपानी छर्केर चोखो बनाउने चलन अद्यापि व्यापक नै छ। कुलिन, नवधनाढ्य र हुनेखानेहरूको सामाजिक प्रतिष्ठाको वस्तु पनि सुन नै हुने गरेकाले यसको आफ्नै किसिमको महत्त्व छ। यो अर्थमा सुनको मूल्य बढ्नु नौलो होइन।

सुन तेल र डलर

मानवीय आवश्यकता पूरा गर्ने वस्तु संसारमा अनन्त छन् तापनि सुन तेल र डलर बहुसंख्यक मान्छेले चाहने वस्तु हुन्। त्यसैले सुन डलर र तेल व्यापार गर्दा एकअर्काको मूल्यमा आउने वृद्धि र ह्रासलाई लिएर पूर्वनिर्णय गर्न सकिँदैन। पूर्वअनुमान मात्र हुने गरेको छ। यी वस्तुहरूको मूल्य पूर्वनिर्धारण गर्न सकिने भएमा सम्पत्ति सञ्चयले भयानक रूप लिएर धनी–गरिबको मात्रा र स्तर अझ बढ्ने थियो। त्यति भएर पनि भण्डारणका हिसाबले सुन पहिलो नम्बरमा आउँछ। डलरको सञ्चय सुनको भन्दा पछि मात्र हुने गरेको छ। तेल खपत बढ्दै गए पनि लामो समय भण्डारण गर्न नमिल्ने हँुदा विनिमय र सञ्चितीको हिसाबले तेस्रो स्थानमा पर्छ।

हाम्रोजस्तो विकासोन्मुख अर्थतन्त्रमा काम गरेरै क्षमता विकास गर्नुपर्छ। सुन र डलरको अवैध कारोबारको माध्यम बनेर हुँदैन।

डलर र सुनको प्रयोग, भण्डारण र मूल्य अवस्था विशेषले पनि फरक पार्छ। अशान्ति, युद्ध, अर्थतन्त्रमा गिरावट भएको बेला डलरभन्दा सुनको महत्त्व बढी मानिने हुँदा सुनको मूल्य पनि बढ्ने गरेको तथ्यांक छ। अमेरिकाले इराकमा आक्रमण गरेपछि विश्वको तेल बजारमा कच्चा तेलको मूल्य एक्कासि बढेको थियो। त्यो एउटा घटनाले मात्र पनि प्रतिब्यारेल ४५ डलर भएको तेल एकैपटक ८० डलरसम्म पुगेको थियो। यद्यपि मूल्य बढ्ने क्रम रोकिएन प्रतिब्यारेल तेलको मूल्य १३० सम्म पुग्यो। यद्यपि तेलको मूल्य अहिले ८० डलरकै हाराहारीमा छ। ‘अमेरिकाले हाच्छ्यँु गर्दा विश्व बजारमा निमोनिया फैलिन्छ’ भन्ने लोकोक्ति तेल र सुनमा पनि लागू हुन्छ।

अमेरिका–इरानबीचको वाक्युद्ध, नाकाबन्दी र व्यापार सीमितताले डलर, सुन र तेलको मूल्यमा अस्थिरताको आशंका रामै्रसँग हुन थालेको छ। अमेरिका र चीन, अमेरिका र मेक्सिको, अमेरिका र भेनेजुएलाबीचको राजनीतिक आर्थिक तीक्तता पनि सुन तेल र डलरको मूल्यलाई अस्थिर बनाउने कारक भएका छन्। डलर र सुनको कारणले प्रतिकूल बनाएको अर्थतन्त्रलाई तुलनात्मक रूपमा खस्कन नदिन र अरू देशको नजरमा कमजोर हुनबाट बचाउन अमेरिकाले पनि डलर र सुनको सञ्चितीलाई सन्तुलनमा ल्याउन निकै मेहनत गर्न लागेका समाचार बाहिर आएका छन्। औद्योगीकरण र सवारी साधनको वृद्धिले तेलको खपत त्यसै पनि बढिरहेकै छ। माग बढाइरहेको छ। त्यसैले मूल्य पनि बढिरहेकै छ।

शक्ति र राजनीतिको हतियार बनाएर डलर र सुनको मूल्य प्रभाव पार्ने औजार बनाइनाले सुनको मूल्य विश्लेषण पूर्वानुमान गर्न नसकिने गरेर जटिल बन्न थालेको छ विश्व अर्थतन्त्रको अग्रणी मानिएका जी– ७ देखि जी– २० सम्मका देशको व्यापारिक गतिविधि, अन्तर्राष्टिय व्यापार संगठनको प्रभाव र चीन, सिंगापुर, मलेसिया, ब्राजिलजस्ता विश्व–विकासमा प्रभाव पार्न थालिसकेका देशको बाह्य अर्थतन्त्रले पनि सुन र डलरको मूल्यमा असर पुर्‍याउने गरेको छ। अनुत्पादक ढंगले सम्पत्ति सुरक्षणको पाटोबाट हेर्दा पनि बैंक वा घरमा सुन राख्दा गन्ध र ध्वनि नआउने र नगल्ने भएकाले तत्काल ब्याज नकमाए पनि सम्पत्ति जोगिने निश्चित छ।

यस कारणले युद्ध र अशान्तिको बेलामा कमाउनेभन्दा बचाउने चुनौतीमा सुन जत्तिको भरपर्दो वस्तु डलर हुन सक्तैन। त्यसैले सुनको मूल्य बढ्नु स्वाभाविक देखिन्छ। सुनको उत्पादन जटिल र खर्चिलो हुन्छ। खानीबाट निकालिने सुनको प्रशोधन अर्को समस्याको वस्तु हो। पंक्तिकार स्वयंले फिलिपिन्समा देखेको सुनको उत्खनन, जापानमा हुने प्रशोधन र परीक्षणको खर्च हिसाब गर्दा पनि सुनको उत्पादन लागत बढी हुनु नौलो होइन। त्यसमाथि खानीमा काम गर्दाको जोखिम, बिमा र महँगा आधुनिक यन्त्र उपकरणको प्रयोगका कारणले पनि सुनको मूल्य बढ्नु आश्चर्यको विषय हुन सक्तैन।

सुन र जमिनलाई तन्काउन मिल्दैन। जनसंख्या बढेको अनुपातमा फैलाउन नसकिने हुँदा माग बढ्दा मूल्य बढाउनेभन्दा अर्को उपाय पनि छैन। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको वस्तु नेपालमा थोरै मोेलमा बेच्न सम्भव हुँदैन। नेपालको अर्थतन्त्र र नेपाली जनताको आर्थिक हैसियत अपवादका व्यक्तिलाई छोडेर बलियो छैन। त्यसमाथि सम्पत्तिको वितरण प्रणाली न्यायपूर्ण नभएको हुँदा रातारात धन कमाएर नवसामन्त बन्नेहरूले नियमित अर्थतन्त्रको गतिलाई अर्कोतिर भारिदिने गरेका प्रमाण प्रशस्त छन्। नेपालबाहिर लगानी गर्ने, उद्योग–व्यापार गर्ने सीप र जानकारी नभएका नवधनाढ्का लागि सम्पत्ति खर्च गर्ने ठाउँ नै जग्गा सेयर खरिद र सुन सञ्चिती हो। हिजोआज जग्गा र सेयरमा लगानी गर्दा शंका र हल्ला बढी हुने गरेकाले पनि सुनतिरै आकर्षण बढेको स्पष्ट छ।

 समाधान सरकारको नीतिमा

सूचना प्रविधि, प्रदर्शन–प्रभाव र टेलिभिजन, मोबाइलले देशभित्रको बजारलाई नियन्त्रण, नियमन र व्यवस्थित गर्न चाहेर पनि पूरै सकिँदैन। यो अवस्थामा आन्तरिक राजकीय शक्ति प्रयोग गरेर सार्वजनिक सूचनाको माध्यमबाट जनतालाई ठीक–बेठीक, हानि–फाइदाजस्ता सार्वजनिक सूचना प्रवाह गर्न सकिन्छ र गर्नुपर्छ। सुनको सञ्चिती अर्थशास्त्रीय दृष्टिले अनुत्पादक हो। हाम्रोजस्तो विकासोन्मुख अर्थतन्त्रमा काम गरेरै क्षमता विकास गर्नुपर्छ।

सुन र डलरको अवैध कारोबारको माध्यम बनेर हुँदैन। नेपाली बजार सुनको र सुन खपत गर्नेहरूको होइन भन्ने थाहा हुँदाहुँदै पनि सुनको अवाञ्छित कारोबारप्रति आँखा चिम्लिने हो भने अझै आर्थिक विसंगति बढ्ने सम्भावना मौलाउने छ। नवधनाढ्य र ओभरनाइट सम्पत्ति थुपार्नेहरूले अर्थतन्त्रलाई थप जर्जर बनाउने छन्।अन्नपूर्ण पाेस्टमा डा. बद्री पोख्रेल लेखेका छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...