janakpurराजा जनकको भव्य महल । आज यो विशाल र सुन्दर महल मात्र नभई जनकपुर नगरी दुलहीझैँ सजाइएको छ । महिला आकर्षक परिधानमा यत्रतत्र झुमिरहेकी छिन् । राजा जनकको खुशीको ठेकाना छैन । कतिखेर घरमा गएर पत्नी सुनयनासँग दुई–चार कुरा गरिहाल्छन् । कहिले मूल ढोकामा आएर हर्षित हुँदै मुख्य द्वारतर्फ हेर्छन् । आँखा चञ्चल छ, कसैको आउने पर्खाइ व्यग्र छ । 

महलको विशेष पण्डालमा शहनाई बादकहरू सुमधुर धुनद्वारा पूरा परिवेशलाई मोहक बनाइरहेका छन् । आमन्त्रित विशिष्ट पाहुना राजा जनकको अभिवादन गर्दै यथास्थानमा बसिरहेका छन् । सबैको नजरमा एउटा उल्लास छ, उत्साह छ, केही भव्य घटित हुने अपेक्षा र खुशी छ । 

महिला आफ्नी प्यारी सखी सीताका बेहुला रामको स्वरूप स्मरण गराउँदै हँसीमजाक गर्दैछिन् । त्यसरी नै अन्य तीन बहिनीलाई पनि आफ्नो बेहुला राजाको आगमनको सुखद पर्खाइ छ । खुशी र उल्लासको माहोल छ । आज मङ्सिर शुक्ल पञ्चमीको दिन । शुभमुहूर्तमा रामसीता विवाह बन्धनमा बाँधिनेछन् । फूलबारीमा जहिलेदेखि आँखामा उनको छवि बस्यो, सीताजी स्वयंलाई सम्हालन सकेकी छैनन् । धनुषयज्ञको कठोर क्षण, अन्य राजामहाराजाको धनुष खण्डित गर्ने प्रयास । कोहि अन्यले यो काम गथ्र्यो भने ! सीताजीको जिउ अहिले पनि सिरिङ्ग हुन्छ । तर अन्तःस्थलमा बसेका रामको चित्रलाई को तोड्न सक्थ्यो र ? विधिको यो खेल अन्ततः आफ्नो गन्तव्यमा आएर समाप्त भइहाल्यो । अर्थात् रामले धनुष तोडिदिए । सीतालाई वरमाला लगाउने हकदार भइहाले । 

आजको यस पावन तिथिमा अयोध्या नरेश राजा दशरथ आफ्नो छोरा रामसँग जन्तीसाथ जनकपुर आइरहेका छन् ! सबैजना एक ठाउँमा भेट्नेछन् । चारै दाजुभाइ दुलहाका रूपमा विवाह विधिमा बाँधिनेछन् ।  लिनुस्, मुख्य द्वारमा कानेखुशी सुरु भइहाल्यो । द्वारपाल दगुर्दैै राजा जनकलाई सूचना दिन्छ– ‘जन्ती आउँदैछन् ।’ राजा जनक रानी सुनयनालाई जानकारी दिँदै जन्तीको स्वागत गर्न मुख्य ढोकातर्फ बढ्छन् ।  महिला त्यसमा पनि कहाँं पछाडि हुने । एक ठाउँ जम्मा भएर विविध व्यवहारको सबै सामग्री जोडेर दुलहा रामको परीक्षण गर्न हिँडे । बस, माहौल सुललित कण्ठकोे मधुर स्वरले सराबोर हुन थाल्यो ।

“कओने नगरियासं एलै बरियतिया हे रसप्रीति माती ।
कओने नगरिया भेलै शोर हे रस प्रीति माती ।।
अबध नगरियासं एलै बरियातिया हे सस प्रीति माती ।
मिथिला नगरिया भेलै शोर हे रस प्रीति माती ।।
परिछय चललनि सखिया सहोलिया हे रस प्रीति माती ।
रोशनी सं भइ गेलै इजोर हे रस प्रीति माती ।।”
वैदेही विवाह संकीर्तनः स्नेहलतो

यसरी जन्तीको स्वागत गर्दै ढोकामा आएका दुलहाको परीक्षण गर्ने चलन छ । मिथिलामा प्रचलित विवाह पद्धतिअनुसार रामसीताको विवाह सम्पन्न हुन्छ । जसरी हुँदैआएको छ– राजा जनक छोरी सीताजीलाई भावुक हुँदै रामजीका साथ बिदा गर्नुहुन्छ । बस ! मिथिलावासी यसपछिको कथा स्मरण गर्न चाहँदैनन् । जानकी मन्दिरको महन्थ महामण्डलेश्वर राम तपेश्वर दास वैष्णव अति नै आवेशमा भन्छन्– ‘धेरै नै कष्टले मायाप्रेमले सीताजीको लालनपालन गरिएको थियो । एउटा विश्वास र आशाका साथ अयोध्या पठाइयो । तर त्यसपछि के भयो ? के उनीसँग अयोध्यावासीले न्याय गर्न सके ?’ सीता वनगमन प्रसङ्गलाई पचाउन सक्दैनन् मिथिलावासी !

महन्थ दासजीको यो मर्मले भरिएको अभिव्यक्तिमा एक मिथिलावासीको उच्छ्वास छ । त्यसले गर्दा नै मङ्सिर महिनामा मिथिलामा छोरीको विवाह गर्ने चलन थिएन । अहिले पनि मानिस त्यसलाई मानिरहेका छन् । तर यसमा कुनै बन्देज छैन । सांस्कृतिक विचलनमा कसको अधिकार छ । उपयोगितावादी संस्कृति र हाम्रो समाज !

जनकपुरमा जगज्जननी जानकीको जन्म हुनु र पुरुषोत्तम श्रीरामको धनुष तोड्नु उनका साथ विवाह बन्धनमा बाँधिनु एउटा विधिविधान थियो । हाम्रो धर्मग्रन्थले यही भन्छ तर मिथिलावासी सीताको आफ्नो घरदेखि आफ्नो हृदयबाट कहिल्यै जान दिएनन् । विभिन्नरूपमा उनको स्मरण गरिन्छ । यसले पनि जनकपुरधाममा प्रत्येक वर्ष मार्गशुक्ल पञ्चमीको भव्य विवाहपञ्चमी महोत्सवको आयोजन गरेर हजारौँ वर्ष पुरानो त्यस क्षणलाई जीवित गरेर श्रद्धा व्यक्त गर्दछन् । 

केही दशक पहिले विवाहपञ्चमी महोत्सव पन्ध्रदेखि एक महिनासम्म भव्य मेला आयोजना गरेर मनाइने गरिन्थ्यो । सर्कस, थिएटर, जादूखेल, मौतका कुँवाजस्ता खेल आउँथे । भारतको पन्जाब लुधियानाको गर्म कपडाको पसल, जडीबुटीको प्रामाणिक क्याम्प, खाद्यसामग्री मसलाको बजार, भाँडा–वर्तनको ठूलो पसल । अन्य धेरै सामान विक्री हुन्थ्यो । तिरहुतिया गाछीमा रमझम हुन्थ्यो र टुरिङ टाकिजमा फिल्म हेर्न गाउँबाट मानिस आउँथे । पङ्क्तिलेखकले पनि आफ्नो उमेरको पहिलो फिल्म यसै टुरिङ् टाकिजमा हेरेका थिए । 

पहाडि़या गाछी– (वर्तमान नगरपालिकाको नजिक) पहाडदेखि आएका महिला पति रोज्थे, विवाह हुन्थ्यो । भटमास, सुन्तला त्यहाँ पाइन्थ्यो । जडीबुटी ल्याइन्थ्यो । बारहबिघामा घोडाको दौड हुन्थ्यो–इनामी । धेरै रमाइलो हुन्थ्यो । पूजा फूलका लागि रामसीता बगैँचामा जानु, एकअर्कालाई हेर्नु, मोहित हुनु, नगरदर्शन प्रकरण, धनुषयज्ञ, धनुषको खण्डन, राम–परशुराम संवाद, रामसीता विवाह, रामकलेवा, बिदाइ– सबै अत्यन्त विधिवत् हुन्छ । मटकोरको सुन्दर विधि अत्यन्त दत्तचितले सम्पन्न हुन्छ । यी सम्पूर्ण विधि पाँच दिनदेखि चल्दै आएको छ । मार्ग शुक्ल पञ्चमीका दिन जानकी मन्दिरका महन्थकोे नेतृत्वमा भव्य सरियातीको लश्कर राम मन्दिर महन्थको नेतृत्वमा निस्केको जन्तीको स्वागत गर्न र प्रसिद्ध रङ्गभूमि मैदानमा मालाफेर अर्थात् स्वयंवर विधि सम्पन्न गर्न निस्कन्छन् । सबै नगरका मानिस सडकमा साथै हुन्छन् । अथवा आफ्नो कौसीामा उभिएर अलौकिक दृश्य आँखामा समेट्दै जयजयकार गरिरहेका हुन्छन् । श्री सीताराम की जय ! नारा लगाउँछन् ।

बाह्रबिघामा स्वयम्बरपछि नगर परिक्रमा हुन्छ । फेरि मन्दिरको प्राङ्गणमा विशेषरूपले बनाइएको वेदीमा निर्धारित समयमा विधिपूर्वक रामसीताको विवाह सम्पन्न गरिन्छ । हजारौँ दर्शनार्थी, जो नेपाल–भारतका विभिन्न ठाउँबाट हेर्न आएका हुन्छन् । यस रसम्भावन प्रसङ्ग देखेर मन्त्रमुग्ध भइहाल्छन् । उनका अगाडि त्रेतायुगीन विवाहोत्सवको सुमधुर क्षण अनायासै प्रकट हुनपुग्छ ।

“गरदनि में लपटल चादर हे आगू–आगू सीया माइ
करथि मंडप परिक्रमा हे दुलहा चारु भाइ
बसहा जकां सब घुमथिन हे नहि चलै प्रभुताइ
गाबथि मंगल सोहागिन हे चहुँ दिसि आनन्द छाइ...।”

मङ्गलगानका साथ दुलहादुलहीको मण्डपको परिक्रमा गर्ने परम्परागत विधितिर इङ्गित गर्दै महिला आनन्दविभोर हुँदै गाउँछिन् । यहाँ प्रभु पनि सामान्य हुन पुग्छन् । ‘सियावर रामचन्द्र की जय, जनक सुता सिया सुकुमारी की जय’ । पूरा पण्डाल जय–जयकारले गुञ्जिन थाल्छ । जानकी मन्दिरको प्राङ्गणमा बनेको मड़बामा यो अद्भुत दृश्य हेर्न आएका दर्शनार्थीको भीडलाई सुरक्षाकर्मी सम्हाल्न सकिरहेका छैनन् । चारैतर्फ तँछाडमछाड मच्चिएको छ । मात्र एउटा झलक मडबामा घुम्दै गरेको रामसीताको पवित्र जोडीलाई हेर्न पाउँ ।

यो प्रत्येक वर्ष हुन्छ । यसपटक पनि मङ्सिर १० गतेदेखि २६ गतेसम्म यो कार्यक्रम सम्पन्न हुन्छ । २०७६ मङ्सिर १५ गते शुक्ल पञ्चमीका दिन भव्य विवाहोत्सव जनकपुरधाममा मनाइँदैछ । अयोध्याबाट प्रत्येक पाँच वर्षमा आउने श्रीरामको जन्ती आउँदैछ । भव्य रथमा सजिएका राम, लक्ष्मण, भरत, शत्रुघनका स्वरूप श्रद्धालुको आकर्षणका केन्द्रबिन्दु बनेको छ । के तपाईं यो अपूर्व महोत्सवमा सम्मिलित हुन चाहनुहुन्न !

लेखक  रामभरोस कापडि ‘भ्रमर’ संस्कृतिविद् हुन् । गाेरखापत्र ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...