annapurna add

सामान जति अभाव भयो जनता उति चलाख हुन्छन्, त्यसैले त जनता सपार्ने तपाईंको जिम्मेवारी पनि हामीले आफ्नै टाउकामा ल्याएका छौं

kalobajari pM letter

सम्माननीय प्रधानमन्त्रीज्यू,

नमस्कार एवं सुस्त स्वास्थ्यलाभको कामना।

मन त शीघ्र स्वास्थ्यलाभकै कामना गर्नु थियो। तर, अलि डर लाग्यो। तपाईं छिटै सक्रिय हुनुभयो भने हामीले निस्क्रिय हुनुपर्ने हो कि भन्ने चिन्ता लाग्यो। तपाईं ओछ्यानमा हुनुहुन्छ, बजारमा हाम्रो एकलौटी फस्टाएको छ। तपाईं बजारमा निस्कनुभयो भने हामी ओछ्यानमा पुग्नुपर्ने हुन सक्छ। त्यसैले कोरोनाको त्रास रहुन्जेल तपाईंले आराम गरेकै जाती भन्ने हाम्रो अन्तर्मनको सुझाव छ। जुनसुकै संक्रमणबाट जोगिनुपर्ने अवस्था छ, हुलमुलमा कोरोना सल्किन सक्छ। बरु ढोका थुनेरै बस्नुहोस्। तपाईं–हामी सबैको हित यसमै छ।

जसरी कोरोना संक्रमण व्याप्त हुन उपयुक्त वातावरण चाहिन्छ, हाम्रो पेसा फस्टाउन पनि उचित वातावरणै चाहिँदो रहेछ। हामीलाई अहिले साँच्चै राम्रो वातावरण मिलेको छ। त्यही भएर त तीव्र संक्रमण गर्दै लगेका छौं। पहिलो गाँसमा ग्यास लुकाइसक्यौं। तपाईंका मन्त्रीले पहिलाभन्दा थप गरेर पठाएको भनेको सुनिरहनुभएकै होला। सत्य त्यही हो। ढुक्कले बस्नुहोस्। मन्त्रीका कुरा सुन्नुहोस्। अरूका प्यारप्यार सुनेर बिरामी मान्छे टाउको किन दुखाउनुहुन्छ ? जनताले त यो पनि पाइएन, ऊ पनि पाइएन भनिहाल्छन्। साह्रै असन्तोकी प्राणी हो जनता भनेको। तिनको चित्त बुझाउन तपाईंको कुर्सीमा जस्तै माइकालाल पुगे पनि सक्दैन।

मन्त्रीले धन्न तरकारीदेखि दाल–चामलको मूल्य बढिरहेको, खाद्य वस्तु बजारबाटै गायब भएको जस्ता खबर भनेकै छैनन्। साह्रै ज्ञानी छन् तपाईंका टिमका मान्छे। बजारको यथार्थ बुझेर उनीहरू कडा भई ननिस्किऊन् भन्ने हाम्रो कामना छ। त्यो पूरा भइरहेकै छ। भइरहने छ भन्नेमा ढुक्क छौं।

कथंकदाचित हामीमाथि धरपकड भयो भने वा ऐन–कानुन लगाएर धपाइयो भने सर्वनासै हुन्छ, प्रधानमन्त्रीज्यू। हरेक बिहान पशुपति गएर हामी त्यही कामना गर्छौं, ‘निस्फिक्री चल्न पाऊँ, प्रभु।’ महादेवका कानमा हाम्रो स्तुति पुगेकै छ अहिलेसम्म। प्रधानमन्त्रीज्यू, हामीलाई साँच्चै मन पर्ने ठाउँ भान्सा हो। त्यसैले पहिलो चरणमा ग्यास खायौं। अब नुन–तेल धमाधम उठाउँदैछौं। धेरैतिर संकट बनाइसक्यौं। दुई–चार दिनमा नुन पाउन पक्कै हम्मे पर्नेछ। ढुक्क हुनुहोस्– हामी तपाईंका मतदातालाई अलिनो खान बाध्य पार्न चाहन्नौं। मात्र दोब्बर बढी तिर्नुपर्ने हुन सक्छ। यसो ‘सेटिङ–उटिङ’ मिलायो भने सजिलै पाउन पक्कै सक्लान्। त्यसैका लागि न हो– यत्रो दुःख गरी–गरी हामीले लुकाएको। त्यो थोडे हामीले खान लुकाएको हो र ? जाने जनतामै हो। अनिकालमा बीउ जोगाउनु भनेको यही हो, प्रधानमन्त्रीज्यू।

अँ, पेट्रोल पम्पमा गाडीको लाइन देख्नुभएकै होला। हैट, तपाईं त आराममा पो हुनुहुन्छ। कहाँबाट देख्नु ? र, नदेखेकै राम्रो। पेट्रोलकै अभाव हुनुपर्ने स्थिति छ होला त देशमा ? छन त थिएन। तर, हामीले बनायौं। कारण उही हो– हाम्रो तागत।

कस्तो तागत ? सोध्नुहोला। हाम्रो अनुसन्धानले भन्छ– पेट्रोल–डिजेल हाल्न जाने मान्छे साह्रै व्यस्त हुन्छन्। तिनलाई पम्पसम्म पुग्न फुर्सद मिल्दैन। त्यही भएर केही दिनपछिदेखि हामी पानीका बोतलमा चोक–चोक र गल्लीमै इन्धन उपलब्ध गराउने छौं। त्यसकै पूर्वाधार निर्माणमा अहिले खटिएका छौं। त्यही भएर पेट्रोल पम्पमा भीडभाड बढेको हो। यसलाई अन्यथा नठान्नु होला। अभाव सिर्जना गर्न होइन, सुविधा बढाउन यो सबै भइरहेको छ। यस्तो सेवा दिन सरकारले सक्दैन, हामीले नगरे कसले गर्ने ?

नत्र कुनचाहिँ प्रधानमन्त्रीले सक्यो हामीलाई थला बसाउन ? कालोबजार निमिट्यान्न पार्न कसले सक्यो ? आमा कसम, हामीलाई अलि बढी डर तपाईंसँगै थियो। तर, जब कोरोना आयो, हामी जुर्मुरायौं, तपाईं पनि अस्पताल छिर्नुभयो। क्या मज्जा आयो।
हाम्रो अर्को सर्वेक्षणले भन्छ– खासमा निम्न वर्गीय नेपाली जनताको बानी बिग्रिँदै गएको छ। फुर्सद छ तर ती सौखिन भए। सजिलै पाउने भएपछि जहिले पायो तहिले जे पायो त्यही किनिहाल्छन्। यस्तै अवस्था रहे बाउ–आमासमेत किन्न अघि सर्लान्। त्यही भएर हरेक सामानलाई खोज्न गाह्रो पर्ने, पाउन साह्रो पर्ने र किन्न गतिलै भाउ चुकाउनुपर्ने बनाउन चाहेका हौं। तपाईंको साथ पायौं भने यसलाई हामी निकै कालसम्म तन्काइदिने छौं। बिन्ती छ– जनतालाई दुःख गर्नबाट वञ्चित नगरिदिनुहोस्। सामानको जति अभाव भयो, जनता उति चलाख हुन्छन्। जनता सपार्ने तपाईंको जिम्मेवारी पनि हामीले आफ्नै टाउकामा ल्याएका छौं। सहर्ष स्वागत गर्नुस् यसलाई।

हामी चाहन्छौं– कोरोना नेपाल छिरोस्। सर्वत्र हाहाकार होस्। नत्र हल्ला पिटाएर भए पनि हाहाकार बनाउन हामीले जान्या छ। अभावै अभावको कृत्रिम वातावरण बनाएरै किन नहोस्, हामी कम्तीमा दोब्बरमा सामान बेच्न चाहन्छौं। त्यस दिनको व्यग्र प्रतीक्षामा छौं।

नाकाबन्दीपछि हामीलाई भाग्यले जुराइदिएको अवसर हो यो। कृपया, यसमा भिलेन बनेर नछिर्नुहोला। फेरि हामी पनि भिलेनै बनेर निस्किनुपर्ने अवस्था नआओस्। हामी जे गर्न पनि सक्छौं। तर, त्यो क्षमता आवश्यक परेमा मात्र देखाउँछौं। अहिले त सरकारका कतिपय मन्त्री र माथिदेखि तलसम्मका कर्मचारी सबैले हामीलाई साथ दिएकै छन्। ‘प्रधानमन्त्रीज्यू त हामीले जे भन्यो त्यही मान्नुहुन्छ’ भनेर टारेकै छन्। थाहा छैन, मान्नुहुन्छ कि हुन्न। मान्नुभए ठीकै छ, नत्र जानेको छ।

के जानेको छ ? भनेर सोध्नुहोला। त्यो त पहिला कथाले मागोस्, अनि देखाउँछौं। मात्र यतिचाहिँ भनिरहन्छौं– हामीसँग सरकार ढाल्नेदेखि फाल्नेसम्मको तागत छ। नपत्याए इतिहास खोतल्नुहोस्, छर्लङै देख्नुहुनेछ। आफ्नो बखान आफैं के गरिरहनु ?

कोरोनाले मान्छेको शरीरको तागत खान्छ। मान्छे झन् तागतिलो हुँदै गयो भने भाइरस भित्रभित्रै मर्छ। देखै पर्दैन। त्यसलाई मात्र ढाल्छ, जससँग प्रतिरोधात्मक क्षमता कम हुन्छ। अति कम भएकालाई त मारि नै दिन्छ।

हामी कालोबजारिया पनि त्यस्तै हौं। शक्तिशाली, तागतिला र पहुँचवालासँग हामी डराउँछौं। तिनको सेवा–सत्कार गर्छौं। मध्यमवर्गलाई तिरीखिरी खेलाउँछौं। गरिब, विपन्न र अहिले खायो भरे के खाउँको अवस्थामा रहेकाहरूलाई भने भुतुक्कै पार्छौं। त्यसो गर्न पाउँदा हामीलाई गर्वानुभूति हुन्छ। त्यो ‘पौरख’ को सूची राखेर अर्को विपत्तिमा फेरि अझ सक्रिय हुन्छौं। खासमा हामीलाई ठूला र उच्च–मध्यम वर्ग चाहिँदै चाहिँदैन। बहुसंख्यक तल्लो वर्गलाई ङ्याक्न पायौं भने हामी मोटाइहाल्छौं।

नेपाली बृहत् शब्दकोशले ‘कालोबजार’ लाई यसरी अथ्र्याएको रहेछ, ‘कुनै मालसामानको कृत्रिम अभाव खडा गरी अत्यधिक नाफा लिएर बिक्री गर्ने काम वा स्थिति। त्यस्तो मालसामान खरिद–बिक्री गर्ने ठाउँ, चोरबजार। र, कालोबजारियाको अर्थ लेखेको रहेछ, ‘कालोबजार गर्ने, तस्कर व्यापारी, चोरबजारिया।’

हामीलाई अथ्र्याउँदै चोरबजारिया, तस्कर व्यापारी भनिएको छ। हाम्रो पहिचानै त्यही हो। हाम्रो विशेषतै त्यही हो। कसरी हामी चोखा व्यापारी हुन सक्छौं त ? चोखा भयौं भने राष्ट्रभरका कसैले हाम्रो नामै उच्चारण गर्दैनन्। आफ्नो अस्तित्व मारेर कसरी पहिचान फेरौं हामी ?

त्यसैले प्रधामन्त्रीज्यू,

हामीलाई हाम्रै कर्ममा रमाउन दिनुहोस्। कृपया, सेना, प्रहरी वा कुनै कर्मचारी लगाएर बल प्रयोग नगराउनुहोस्। ठूलालाई ठूलै तागत लगाउन हामीले पनि जानेका छौं। जताबाट छिर्के लगाए पनि, जतिसुकै च्याँखे थापे पनि वा खोरमा पार्न चाहे पनि सक्नुहुने छैन।

नत्र कुनचाहिँ प्रधानमन्त्रीले सक्यो हामीलाई थला बसाउन ? कालोबजार निमिट्यान्न पार्न कसले सक्यो ? आमा कसम, हामीलाई अलि बढी डर तपाईंसँगै थियो। तर, जब कोरोना आयो, हामी जुर्मुरायौं, तपाईं पनि अस्पताल छिर्नुभयो। क्या मज्जा आयो। अहिले आराम गरिरहनुभएको छ। हाम्रो सक्रियताको खबर लगिदिने कोही नहुन सक्छ। कसैले लगिगए पनि केही लछारपाटो लाउने छैन।

प्रधानमन्त्रीज्यू, टुप्पामा आएर मलाईसमेत धम्क्याए भन्नुहोला। धम्क्याउन खोजेकै हो। सक्नुहुन्छ हामीलाई ठेगान लाउन ? सक्नुहुन्छ भने हेरौं, देखाउनुहोस्।

जवाफको प्रतीक्षामा छौं। र, त्यसको समेत जवाफ बोकेर बसेका छौं। धन्यवाद। तपाईंका अशुभचिन्तक,

तमाम कालोबजारिया ( अन्नपूर्ण पोष्ट )

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...