प्रिय देशभक्त साहित्यकार एवम् कलाकार मित्रहरू !

maila lama Issue

कला र साहित्यको क्षेत्रमा काम गर्नेहरू छिटो सत्य देख्छन् र अरूले भन्दा चाँडो यथार्थ बोल्छन् अनि दुनियाँलाई झकझकाउँछन्; यो साहित्यकार, कलाकारहरूको विशेषता हो । शायद सुगौली सन्धिपश्चात् बारबार दुखेको र अपमानित भएको नेपाल इतिहासको यस घडीमा गहिरो पीडामा परेको छ । छिमेकी नाउँको मिचाहा साँढे ३७२ वर्ग किलोमिटर नेपाली जमिन दिनदहाडै आफ्नो नयाँ नक्सामा समावेश गरेर नेपाल र नेपालीको हुर्मत लिइरहेको छ ।

हुन त नेहरु डक्ट्रिनदेखि श्यामशरण डक्ट्रिनसम्म र सिक्किमपछि तराई खाने इन्द्रिरा गान्धीको घातक योजना प्रकाशमा नआएको हैन । यी सबै पीडा र खेदजनक हर्कत पचाउँदै आएको नेपाल अब औपचारिक रूपमा कसैको पाउमुनि दबिन तयार छ या नालापानीको महान् विरासत बोक्न तयार छ; त्यो हामीले भोग्न बाँकी छ र के हुन्छ भन्ने निर्णय हाम्रो हातमा छ । आशा र विश्वास गरौँ, विश्वविजेताको सपना बोकेका अङग्रेजलाई यो हिमाली देशले साहस, वीरता, जनएकता र खुँडा खुकुरीको बलमा नाकाम बनाएको थियो ।

आज ३७२ वर्ग किलोमिटर भू–भागबाट एसियाका थुप्रै साना देशहरू (आसाम, गोहा, सिक्किम, कास्मिर आदि) को अस्तित्व मेटाउने एसियाको साम्राज्यवादी भारतलाई कालीपारि लघार्न सक्छौँ कि सक्दैनौँ ? मातृभूमिले भन्छिन्, सक्नुपर्दछ, सक्छौँ पनि, यसको विकल्प छैन । यहाँ लडाइँको कुरा छैन, स्वाभिमानको कुरा छ । बम बारुदको सवाल छैन, मातृभूमिको कुरा छ । त्यसो त मृत्युसँग नडराउनेलाई पराजित गर्ने अस्त्र आजसम्म संसारमा कोहीसँग छैन । जब हामी धर्ती आमाका लागि सबै कुरा व्यहोर्न तयार हुन्छौँ, हामीले हार्नुपर्ने कुनै कारण छैन अर्थात् कालीवारिको नेपालमा भारतीय हैकम कायम रहन दिनुपर्ने कुनै तथ्य छैन ।

यो सङ्गीन घडीमा, म हरेक दिन पत्रपत्रिकामा समाचारहरू पढिरहेको छु देशभक्त नेपालीको प्रतिरोधको । हरेक टीभीमा हेरिरहेको छु युवा आत्मविश्वास र आक्रोशको अनि सुनिरहेछु विश्लेषणहरू राष्ट्रवादको । सामाजिक विकृतिविरुद्ध तरबारभन्दा धारिलो र र धनुषकोणभन्दा तिखो प्रहार बोल्ने देशका साहित्यकार किन चुप छन् ? हजारौँ लाखौँलाई मञ्चबाट रुवाउन सक्ने, उद्वेलित बनाउन सक्ने सिद्धहस्त कलाकारहरू कहाँ छन् ? के उनीहरूको छाती दुखेको छैन ? नेपाली आमाको आँसुको पीडाले छोएको छैन ? प्रत्येक जनआन्दोलनमा अग्रणी मोर्चामा खटिने कविहरूका कलम भुत्ते भए ? के देशभक्तिको आन्दोलन चाहिएको छैन ? जरुर चाहिएको छ । यसैले म आशा गर्छु, हाम्रा देशका साहित्यकार, कलाकार एउटा साझा मञ्चमा सडकमा हुनेछन्; नेपालको भूमि छाड्न र भारत आफ्नै भूमि फर्किजान आह्वान् गनेछन् ।

कला–साहित्यको त अन्तर्राष्ट्रिय भाषा हुन्छ । यसैले यस मामलामा हामी भारतीय साहित्यकार तथा कलाकारलाई पनि अपिल गर्न किन सक्दैनौँ ? अन्तर्राष्ट्रिय कला– जगत्लाई नेपाल र नेपालीसँग ऐक्यवद्धताको लागि अपिल गर्न किन सक्तैनौँ ? अवश्य पनि हामीले यो अपिल गर्नुपर्दछ । हामीसँग उपलब्ध तथ्यहरूले भन्छ, भारतले दाबी गर्ने कुनै ठाउँ छैन । यो मामलामा गज्जबको राष्ट्रिय एकता पैदा भएको छ, जुन बिरलै बन्ने गर्छ । आशा गरौँ, निकट भविष्यमा सशक्त र प्रभावकारी कार्यक्रम, रािष्ट्रयताको आन्दोलन नेपालका साहित्यकार एवम् कलाकारहरूका तर्फबाट सशक्त रूपमा अघि बढ्नेछ ।

माइला लामा
नख्खु कारागार, ललितपुर
कात्तिक २५

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...