माथवरसिंह बस्नेत- कुनै समय थियो, चीनलाई अफिमको नसामा लठ्ठिएर झुम्नेहरूको देश भन्ने गरिन्थ्यो । खासगरी युरोपेलीहरू त्यसो भन्थे । जापानीहरू पनि त्यस्तै मान्थे । चीन त्यसरी लठ्ठिएको मौका छोपेर युरोपेलीहरूले चीनका अनेक टापु खरिद मात्र गरेनन्, त्यसका माध्यमबाट मुख्य भूमिमा प्रवेश गर्ने र उनीहरूसँगै अफिम खरिद गरेर फेरि उनीहरूलाई नै अचाक्लि महँगोमा बेचेर कुस्त सम्पत्ति कमाउने व्यापार चलाउने गरेका थिए । अफिमको व्यापार फैलिन थालेपछि चीनको एउटा पुस्ता नै कुलतमा लागेर निकम्मा हुन पुग्यो । विदेशीहरूले चारैतिरबाट घेरेर चीनको मुख्य भूमिसम्म घुसपैठ बढाएर परिस्थितिलाई थप भयावह तुल्याएपछि अफिमको व्यापारविरुद्ध त्यो देशमा खुलेआम आन्दोलन चर्किन थाल्यो । विदेशी व्यापारीहरू अत्याधुनिक हातहतियार प्रयोग गर्थे, चिनियाँ युवकहरू निहत्था थिए । उनीहरू शारीरिक व्यायाम गरेका, बक्सिङ, कम्फुलगायत बिना हात हतियार लड्ने चिनियाँ कला सिकेका युवकहरूले विदेशीको मुकाविला सशक्त ढंगले गरे । चीनको सम्राट्का तर्फबाट पनि विद्रोहीहरूप्रति समर्थन र सहानुभूतिमा कुनै कञ्जुसी गरिएको थिएन, तैपनि राज्यले समेत मुकाबिला गर्न नसक्ने आधुनिक हतियारको सामना, मुक्केबाजहरूले गर्न सकेनन् । अन्ततोगत्वा विदेशीहरू त्यो विद्रोह दबाउन सफल भए । चिनियाँ विद्रोह विफल भयो । अफिम बेच्ने व्यापारीहरूका विरुद्धको त्यस्तो विद्रोहलाई इतिहासले ‘बक्सर विद्रोहको’ नामले याद गर्ने गरेको छ ।Mathabar kantipath

बक्सर विद्रोह हुनु अगाडि बेलायत र चीनका बीचमा १८३९ देखि १८४२ सम्म घमासानको युद्ध भएको थियो । त्यस बेलासम्म क्यानटनमा मात्र सीमित बेलायतले हङकङका साथै चीनका प्रमुख सहरमा व्यापारको सहुलियत र सुविधा प्राप्त गरेको थियो । त्यस्तै सुविधा अन्य युरोपेली देशले समेत प्राप्त गर्न सफलता पाए । त्यसमाथि जापान र चीनको १८८४ देखि १८८५ सम्म चलेको युद्धमा जापानको हातबाट चीन हारेपछि उसको सार्वभौमसत्ता संकुचित हुन पुगेको थियो । युरोपेली शक्ति र जापानले घुँडा टेकाएर आफ्ना सर्तहरू लाद्न थालेपछि नै हो, बक्सर विद्रोह भएको । त्यो विद्रोहले राजतन्त्रको अन्त्यको प्रारम्भ पनि गरेको थियो ।

चिनियाँ साम्राज्यको इतिहासमा अफिमयुद्ध र बक्सर विद्रोह, राष्ट्रिय स्वाभिमानका लागि भएका गौरवपूर्ण घटना मानिन्छन् । त्यसमा साम्राज्य पतनको कारणलाई पनि जोडेर हेर्नेहरू पनि धेरै छन् तर कम्युनिस्टहरू चाहिँ अफिम युद्ध प्रकरणलाई कलंक मान्छन् । त्यही कारण को कि उनीहरू धर्मलाई पनि अफिम मान्छन् । जसरी अफिमको सेवनले मानिसमा नसा उत्पन्न गरेर लठ्ठ तुल्याउँछ, त्यसैगरि धर्मले पनि मानिसलाई अकर्मण्य तुल्याउँछ भन्ने उनीहरूको ठम्याइँ थियो ।

अफिमले चीनमा विदेशी हस्तक्षेप निम्त्याएको र विभाजनजस्तो विपत्ति पनि निम्त्याएकाले कम्युनिस्टहरू अफिमलाई भयानक आपत्तिजनक पदार्थ मान्थे । कम्युनिस्ट क्रान्तिताका उनीहरू बौद्धधर्म अहिंसक भएको र हत्या र काटमारको विरोध गर्ने भएकाले त्यसलाई अफिमभन्दा पनि खतरनाक मान्थे । त्यही कारण कम्युनिस्टहरूको क्रान्तिकारी सरकार कायम भएपछिको तीन दशकसम्म चीनका मन्दिर, मस्जिद, चर्च तथा बौद्ध गुम्बाहरू प्रतिबन्धित भए । सुरुमा त मन्दिर तथा गुम्बाहरू तोडफोड गर्ने र भत्काउने काम पनि भएका थिए । केही बौद्धगुरुहरूलाई सार्वजनिक रूपमै अपमानित पनि गरियो । तर ‘साइलेन्ट मेजोरिटी’ त्यस्ता क्रियाकलापको खिलाफमा छ भन्ने पीएलए अर्थात् जनमुक्ति सेनाका गुप्तचरहरूले सरकारसमक्ष प्रतिवेदन बुझाएपछि तोडफोड र मारपिट रोकिएको थियो । माउत्सेतुङको निधनपछि कम्युनिस्ट पार्टीको नेतृत्व तहमा तङसियाओ पिङ पुनस्र्थापित भएपछि आर्थिक क्षेत्रमा बजारमुखी अर्थतन्त्र र सामाजिक तथा सांस्कृतिक दिशामा बौद्ध बिहार र गुम्बाहरू क्रमशः खुला गर्ने नीति कम्युनिस्ट पार्टीले लिन थालेको हो । तैपनि सन् १९९६ सम्म चीनको मुख्य भूमिबाट तिब्बत आउनेहरू पर्यटकहरू ल्हासाको पोटाला दरबार हेर्न त जान्थे तर दरबारभित्रको बुद्ध कक्षमा अहोरात्र प्रज्वलित हुने हवनकुण्डमा घिउ भने चढाउँदैनथे । बौद्ध धर्मालम्वीहरूका निन्ति अनिवार्य मानिएको त्यस्तो पूजा अर्चना विधि कम्युनिस्टहरूका निम्ति मान्य थिएन । अर्को शब्दमा भन्नुपर्दा पुँजीवादी अर्थव्यवस्थाको खुला तथा बजारमुखी अर्थ व्यवस्था अपनाएर चीनको आर्थिक उद्धार गरे पनि बौद्ध धर्मप्रति उनीहरूको आस्था र विश्वास पुनस्र्थापित भइसकेको थिएन, किनभने धर्म भनेको अफिम हो, अफिम खानु हुन्न भन्ने उनीहरूको मान्यता अटल थियो । त्यो उनीहरूको धर्मका प्रतिको उपेक्षा र तिरस्कार मात्र थिएन, घृणा पनि थियो ।

चीनले अब तिनै नास्तिकहरूलाई बौद्ध धर्मालम्बी तुल्याएर धार्मिक पर्यटकका रूपमा नेपाल पठाउने भएको छ– नेपालीको गरिबी र पिछडापन हटाउने कार्यमा सहयोगका लागि दान, दक्षिणा चढाउन । त्यस्तो प्रतिबद्धता अरू कसैले होइन, सी चिनफिङ विचारधाराका उन्नायक तथा चीनका राष्ट्रपति सी चिनफिङ स्वयंले व्यक्त गरेका हुन्– काठमाडौं भ्रमणका अवसरमा । हिजोसम्म धर्मलाई अफिम मान्ने चिनियाँ कम्युनिस्ट पार्टीका मुखिया आफैंले बौद्ध तीर्थयात्रीलाई लुम्बिनी पठाउने कटिबद्धता व्यक्त गरेको घटनाले के पनि पुस्टि भयो भने अब कम्युनिस्ट विचारमा समाज परिवर्तन गर्ने शक्ति र सामथ्र्य शेष बचेको छैन, त्यसैले कम्युनिस्ट पनि आध्यात्मको शरणमा पर्न । त्यसैगरी बाध्य छन्, जसरी आर्थिक विकासका लागि कम्युनिस्ट मोडेलले काम नदिएपछि बजारमुखी अर्थव्यवस्थाको पुँजीवादी मोडेल अपनाउन बाध्य भएका थिए ।

चीनमा आजभन्दा ७० वर्ष अगाडि कम्युनिस्ट पार्टीको एक दलीय अधिनायकवाद कायम भएको थियो, त्यही वर्ष नेपालको कम्युनिस्ट पार्टीको जन्म भएको हो । यो अवधिका अनेक उतारचढावमा चीनको कम्युनिस्ट पार्टी भ¥याङमा सीमित हुन पुगेको छ भने नेपालका कम्युनिस्टको पनि त्यही हाल छ । संसदीय व्यवस्थालाई खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने बगरेको पसल भन्दाभन्दै उनीहरू आफैं त्यही पसलका मालिक बन्न पुगिसकेका छन् । जसरी चीनमा कम्युनिस्ट पार्टी भनेको सत्तामा पुग्ने भ¥याङबाहेक माक्र्सवाद, माओवाद, स्टालिनवाद, आदि केही पनि बाँकी छैन, क्यापिटलिस्ट रोडर हुँदै सबै पुँजीवादमा परिणत भइसकेको छ, त्यसैगरी नेपालका कम्युनिस्टको पनि साइनबोर्ड त कम्युनिस्ट पार्टीकै छ, अरू सबै प्रतिक्रियावादी व्यवस्थाको भरिया बनिसकेका छन् । चीनको सरकार, पाकिस्तानमा जस्तै सेनामाथि अर्थात् पीएलएमा निर्भर छ, कम्युनिस्ट पार्टीमा टिकेको छैन । नेपालका कम्युनिस्ट भारतले बोकाएको लोकतन्त्र र चीनका माओको नामको दक्ष प्रजापतिको टाउको बनेका छन् । माक्र्सवाद र माओ विचारधाराले उनीहरूको उद्धार गर्ने सम्भावना नदेखेपछि सी चिनपिङ आफैं बुद्धम् शरणम् गच्छामी भन्न थालेका छन् । नेपालमा उनले गरेको भाषण, चीनमा बुद्धधर्म फर्केको सूचना मात्र होइन, नेपालका कम्युनिस्टलाई पनि त्यही अफिम खाने आदत बसाल्न दिएको सन्देश मानिएको छ । त्यो अफिम नेपाल पठाउन उनले सुरुङमार्ग बनाइदिने प्रतिज्ञा पनि गरेका छन् । Source : Deshantar

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...