pam oil news kantipathनेपालको महत्वपूर्ण निर्यात उद्योगमा ग्रहण लागेको छ । पामको तेल र यसैसँग सम्बन्धित पामोलिन भारत निर्यातमा अवरोध भएपछि ग्रहण लागेको हो । केही दिन अघिमात्र भारतले आयात नीति संशोधन गर्यो । खासगरी मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतीय नागरिकता विधेयकलगायतको आन्तरिक विषयमा टिप्पणीपछि यो नीति संशोधन गरेको विश्लेषण गरिएको छ । महाथिरले विभेदको कुरा उठाउनुभएको थियो र त्यो भारतलाई मन नपरेको हुन सक्छ ।

तर, औपचारिक रूपमा भारतले यो कुरा खण्डन गरेको छ । भारतले व्यापार नीतिमा गरेको परिवर्तन कुनै मुलुकप्रतिभन्दा पनि वस्तुप्रति केन्द्रित भएको स्पष्ट गरेको छ । यसले पाम तेल निर्यातले निरन्तरता पाउने कुरामा केही आशा गर्ने ठाउँ पनि दिएको छ । कूटनीतिक सुझबुझ र वार्ताबाट यो समस्या समाधान हुन पनि सक्छ ।

नेपालले भारत निर्यात गरिरहेको पाम तेल र पामोलिन देशमै उत्पादन भएको वस्तु भने होइन । कच्चा तेल आयात गरेर प्रशोधन गरी भारत निर्यात गर्ने गरेको थियो । खासगरी मलेसिया र इन्डोनेसियाको जङ्गलमा पाइने वानस्पातिक कच्चा पदार्थबाट उत्पादन हुने यो तेल छ÷सात दशक अघि मात्र मानव स्वास्थ्यका लागि उपयोगी भन्ने पत्ता लागेको थियो । कच्चा तेल नेपाल ल्याएर यसलाई प्रशोधन गरी भारत निर्यात गरिँदा नेपालको निर्यात अर्थतन्त्रमा राहत मिलेको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले पाम तेलमा ३० प्रतिशत मूल्य जोडेर भारत निर्यात गर्ने बताउने गर्नुभएको थियो । उहाँको भनाइमा यो उद्योगले नेपालभित्र मूल्यवृद्धि (भ्यालु एड) र रोजगारी सिर्जना गरेको थियो । कच्चा पदार्थ बाहिरबाट ल्याई निर्यात गर्दा देशलाई फाइदा हुने नै भयो । तर, कतिपय अर्थशास्त्री भने पाम तेलमा १५ प्रतिशतमात्र मूल्य जोडिएको विश्लेषण गर्छन् । पाम तेल दिगो निर्यातयोग्य वस्तु नभई काम चलाउन मात्र भएको उनीहरूको मत छ ।

नेपालभित्र विराटनगर र वीरगन्जमा गरी एक दर्जनभन्दा बढी पाम तेलका उद्योग सञ्चालन भएका थिए । एकीन तथ्याङ्क नभए पनि उद्योगीहरूको प्रारम्भिक जानकारीअनुसार यो उद्योगमा २५ अर्ब रुपियाँ लगानी भएको छ । झन्डै ११ हजारजनाले रोजगारी प्राप्त गरेका छन् । निर्यात प्रवद्र्धन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले नौ अर्ब ९४ करोड रुपियाँको कच्चा तेल आयात गरेको छ । यसै अवधिमा भारत तर्फको निर्यात भने ११ अर्ब ५० करोड रुपियाँ रहेको छ । यो गत वर्ष दिनभर गरेको निर्यातभन्दा धेरै बढी हो । पहिलो पाँच महिनाको निर्यातअनुरूप नै भारततर्फ पाम तेल निर्यात भएको भए यो एउटै वस्तुले नेपालको निर्यातको एक चौथाइभन्दा बढी अंश लिन सक्ने थियो ।

भारतले पाम तेलमा बन्देज लगाएपछि यताका दिनमा नेपालबाट हुने यसको निर्यात ठप्प छ । गएको बुधबार भारतको वाणिज्य विभागले एक्जिम कोडसहितको पाम तेल आयातमा बन्देज लगाउने नीति अख्तियार गरेको थियो । यो नीतिपछि भारतीय भन्सारका अधिकारीहरूले माथिको स्वीकृत र कागजपत्रपछि मात्र भनेर नेपाली पाम तेल उत्पादन भारत जान दिएका छैनन् । नेपाली अधिकारीहरूले भारतीय वाणिज्य उच्चअधिकारीसँग सम्पर्क गरिरहे पनि अन्योल नै देखिएको छ । ठोस प्रतिफल आउन केही दिन लाग्ने देखिएको छ । प्रतिबन्धभन्दा बन्देज सङ्केत गरेकाले पनि आशा गर्ने ठाउँ छ ।

भारतले पाम तेल आयातमा बन्देज लगाए पनि यो मलेसियाका लागि मात्र लागू हुने दाबीसहितका समाचार भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरेका छन् । दुई देशबीच पछिल्लो समय देखापरेको राजनीतिक समस्याका कारण भारतले यस्तो प्रतिबन्ध लगाएको सञ्चारमाध्यमको दाबी छ । नेपालको उल्लेख छैन । यद्यपि, संशोधित नीतिमा भने यसबारे उल्लेख छैन । नेपालले इन्डोनेसियाबाट पनि पाम आयात गर्ने भएकाले त्यहाँबाट कच्चा पदार्थ ल्याएर निर्यात गर्न मिल्ने वा नमिल्ने भन्ने विषय यसमा खुलेको छैन ।

भारतले नीतिमा संशोधन गर्नासाथ नेपालबाट हुने यसको निर्यात रोकेको छ । यसले धेरै शङ्का उब्जाएको छ । पाम तेल उद्योगमा लगानी गरेका उद्यमीहरू बढी नै चिन्तित भएका छन् । स्वाभाविक पनि हो । कम्तीमा २५ अर्ब रुपियाँको लगानी बालुवामा पानी बन्न जान्छ । त्यसो त कपियय भारतीय समाचार माध्यमले आसलाग्दा समाचार पनि सार्वजनिक गरेका छन् । भारतीय भन्सार नीति मलेसियाप्रति मात्र केन्द्रित भएको हो भने त्यहाँ के–कसरी नेपाल जोडिन पुग्यो भन्ने गुत्थी खुल्न सकेको छैन । नेपाल–भारतका अधिकारीसामुन्ने चाँडै वार्ता गरी टुङ्गोमा पुग्नुपर्ने समय आएको छ ।

नेपालको निर्यातका हिसाबले पाम तेल पक्कै पनि चानचुने वस्तु भने होइन । देशको निर्यातमा सबैभन्दा बढी अंश लिइरहेको वस्तु हो यो । यही वस्तुको निर्यातमा समस्या आएपछि निर्यात वृद्धि हुनेक्रममा अवरोध आउन सक्नेछ । दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) कोे प्रावधानले यो उत्पादन निर्यातमा नेपाललाई सजिलो भएको थियो । साफ्टा प्रावधानले नेपालाई करमा सहुलियत सुविधा दिएको थियो । साफ्टा प्रावधानले तेस्रो देशबाट कच्चा पदार्थ आयात गरेर नेपालमा प्रशोधन गरी भारत निर्यात गर्न सक्ने अवस्था थियो । यसो गर्दा नेपालले भन्सार भार न्यून थियो । भारतीय उपभोक्ताले सामान्य बिक्री कर (जीएसटी) तिर्ने गर्थे । पाम तेलको भन्सार शुल्क कम तिरे पुग्ने सुविधा नेपाली उद्योगीलाई थियो । औद्योगिक क्षेत्र यो उद्योगले चहलपहल बढाएको थियो ।

भारतले आफ्ना देशका कृषक र उद्यमीको संरक्षण गर्न पाम कच्चा पदार्थको भन्सार दर उच्च राखेको छ । पाम तेल अन्य देशबाट आयात गर्दा भन्सार शुल्क ४० प्रतिशत तोकिएको छ । भारतको यो कर नीति र नेपालले पाएको साफ्टा सुविधाले निर्यातमा सहुलियत प्राप्त भएको थियो । नेपालमा पाम तेल प्रशोधन उद्योग फस्टाउनु यही मूल कारण हो ।

यो तेल पुराना आविष्कार पनि होइन । अमेरिकाले यो तेल खानयोग्य भने सन् १९६० को दशकमा पत्ता लगाएको थियो । यो वनस्पति तेल खाद्य प्रशोधन तथा औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुन्छ, स्वास्थवद्र्धक मानिन्छ । भारत यो तेल प्रयोग गर्न अग्रणी मुलुक भए पनि आयातमै निर्भर छ । साबुन, स्याम्पु, टुथपेस्ट र कतिपय औद्योगिक खाद्य उत्पादनमा यसको प्रयोग हुन्छ । खानेकुरामा पनि यसको प्रयोग हुने गर्छ । मलेसिया र इन्डोनेसिया सबैभन्दा धेरै कच्चा पाम तेल उत्पादकमा पर्छन् ।

यतिबेला नेपाली उद्यमीलाई ठूलो मार परेको छ । नेपाली उद्यमीहरू ठूलोमात्रामा कच्चा पाम तेल आयात गरिरहेका छन् । कतिपय भण्डारमा छन् भने कतिपय आउने प्रक्रियामा छन् त कतिपय व्यापारिक ‘अर्डर’ को प्रक्रियामा छन् । तीव्र निर्यात फस्टाइरहेको यो पाम तेलका कच्चा पदार्थ आयात गर्नु सामान्य नै हो । निर्यातमा वृद्धि भइरहेको वस्तुमा अचानक आएको यो अवरोधले व्यापार घाटा न्यूनीकरण गर्ने लक्ष्यमा पनि अवरोध हुन सक्नेछ ।

पाम तेलको अहिले आएको सङ्कटको समाधानमा सरोकार निकाय संवेदनशील हुनैपर्छ । दुई दशकअघि नेपाल–भारत व्यापार सन्धिले केही वस्तु भारत निर्यात गर्न सहजीकरण गरेको थियो तर तामाको तार, एक्रेलिक यान आदि वस्तुको निर्यात समान रूपमा दिगो हुन सकेनन् । कुनै बेला तेस्रो मुलुकमा राम्रो निर्यात भएका ऊनी गलैँचा, तयारी पोसाक, पस्मिना पनि दिगो हुन सकेनन् । निर्यातयोग्य वस्तुका लागि करमा खेलेर तत्काल मुनाफा आर्जन गर्ने उद्यमीको प्रवृत्ति पनि छ । तयारी पोसाक र ऊनी गलैँचामा चाँडै धन आर्जन गर्ने प्रवृत्तिले गुणस्तरमा ह्रास आई समस्या भयो । निर्यात हुन सकेन । देशभित्रैको कच्चा पदार्थ र रोजगारी बढ्न सक्ने निर्यातयोग्य वस्तुको खोजी पनि जरुरी भएको छ । तर, अहिलेलाई पाम तेलको भारत निर्यातमा आएको अवरोध खुलाउनु पहिलो कार्यसूची नै हो ।


लेखक जुनारबाबु बस्नेत गोरखापत्रका कार्यकारी सम्पादक हुन् । गाेरखापत्र ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...