annapurna add

prithvinarayan shah newsनेपाल एकीकरण भएकाले यो देश स्वाधीन बन्न सकेको हो । अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरले अन चाइना नामको आफ्नो पुस्तकमा अङ्ग्रेजलाई सिन्धुलीगढीमा नरोकेको भए उनीहरूको मनोबल बढ्ने थियो र तिनीहरू चीन पुग्ने थिए भनेका छन् । यसको मतलव त्यस्तो अवस्थामा नेपालको अस्तित्व त रहने नै थिएन । यही कुरालाई बेलैमा गम्भीर रूपमा महसुस गरेर विगतमा मात्र होइन, भावी दिनमा पनि पृथ्वीनारायण शाहले देशको ‘सन्धिसर्पन् हेरि गडि तुल्याई राख्न र रस्ता रस्तामा भाँजा हालि राख्न’ निर्देशन गरेको दिव्योपदेशमा उल्लेख गरिएको देखिन्छ । 

शाहले हिन्दुस्थाना अर्थात् भारतलाई कब्जामा लिइरहेको इस्ट इण्डिया कम्पनी सरकार कुनै न कुनै दिन नेपालमाथि आइलाग्नेछ भनेका हुन् । भारतीय शासक र सत्ता अहिले पनि नेपालप्रति उही परानो ब्रिटिस उपनिवेशकालीन विरासत हुबहु आत्मसात् गरिरहेको हुँदा शाहले अहिले पनि नेपाली शासकलाई हरदम चनाखो रहन सुझाव दिएका छन् । शाहलाई हिन्दुवादी भनेर आरोप लगाउने अतिवादीहरूले दिव्योपदेशमा व्यक्त आफ्ना जात, धर्म, संस्कृति अनुसारको विशेषको कर्म गर्ने विशेष व्यवस्था गरुँला भन्नुकोे मनसाय बुझ्नु जरुरी हुन्छ । शाहले आफूले रुचाएका विराज बखेती काजी बनाएनन् बरु उनले दुनियाँले वा आम जनताले रुचाएका तथा ज्यादा बुद्धि भएका कालु पाण्डेलाई काजी नियुक्ति गर्नु लोकतान्त्रिक होइन ? 

त्यसैगरी शाहले दक्षिणी बादशाह वा छिमेकसित घाहा अर्थात् मैत्री त राख्नु तर त्यो महाचतुर छ, एक दिन त्यो नेपालमाथि आउन्या छ भनेका थिए । अहिले सदनमा प्रस्तुत हुन लागिरहेको नागरिकतासम्बन्धी खुकुलो विधेयक पारित भयो भने सन् २०३० सम्ममा दुई नम्बर प्रदेश भारतमा गाभ्ने देशी र विदेशी षड्यन्त्र भइरहेको प्रा.डा. युवराज सङ्ग्रौलाले डाँफे टेलिभिजनको एक अन्तर्वार्तामा बताउनुभएको थियो । यस्तो दूरदर्शिता नेपाली नेतामा कति होला ? 

तीनै शहर नेपालको नेवारहरूको नाच झिकाई हेर्या पनि हुन्छ । इनमा ता दियाको पनि आफ्नै देसमा रहंछ. यस्व भया आफ्नु देस गमन रहन्छ ।’ उनले विदेशी महाजनहरू हाम्रा मुलुकमा आए भने देशलाई कङ्गाल पारी छाड्छन् भनेर स्वदेशी उद्यमी र उद्यम व्यवसायलाई राज्यले पूर्णतः प्रोत्साहन र संरक्षण गर्नुपर्छ भनेर के गल्ती गरे ? शाहले स्वदेशी उत्पादन र कला, साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्ने कुरामा जोड दिएका थिए । त्यसैले उनले विदेशका कपरा (कपडा) लगाउने कुरालाई निरुत्साही गरे, स्वदेशी कपडा उत्पादनको सीप र सिपालुको संरक्षण गर्दा देश समृद्ध हुने कुरा सुझाए के बिगारे ? 

पृथ्वीनारायण शाहले ‘आफ्ना देशको जिनिस् जरिबुटि विदेश पैठारी गरेर’ आर्थिक समृद्धि हासिल गर्ने कुरा दिव्योपदेशमा दिए  । शाह राजा राम शाह र राजा जयस्थिति मल्ल जस्ता पुर्खाहरूका योगदानबाट प्रेरित भई नेपाल एकीकरण अभियानमा समर्पित भएर लागेको देखिन्छ । शाह आफैँले ईश्वरले दिए भने आफूलाई पनि बाह्र हजारको थिति बाँंधि जाउला भन्ने अभिलाषा रहेको उल्लेख गरेका छन् । शाहले नेपाललाई ‘छोटा बडा चारै जात छत्तीसै वर्णको देश’ मानेका छन् । 

शाहमा भ्रष्टाचारविरोधी उच्च चेतना थियो भन्ने कुरा घुस दिने र घुस खाने दुवैलाई प्राणदण्ड दिए पनि हुन्छ भनेका आधारमा स्पष्ट हुन्छ । शाहले पूर्व पश्चिमको बाटो बन्द गरी नेपालको आफ्नै बाटो बनाउने योजना रहेको बताएर यसको बहुआयामिक दूरदर्शी अर्थ जाहेर गरेका छन् । अदालतमा ठकुरीलाई डिट्ठा, मगरलाई विचारी र कचहरीपिच्छे एकएक पण्डित राखी न्याय निसाफ गर्नू भनेर योग्यता अनुसार समावेशी नियुक्तिमा जोड दिएको देखिन्छ । शाहले अदालत वा न्याय क्षेत्रको पैसा दरबारभित्र नहाल्नू पनि भने । 

पृथ्वीनारायण शाहले भूउपयोग सम्बन्धी उचित नीति निर्देशन दिव्योपदेशमा गरेका छन् । त्यसैले उनले खानी भएका ठाउँमा गाउँ भए त्यस गाउँलाई अन्य स्थानमा सार्नु र खानी चलाउनू भने । उनले खेतखलियान र बारी बन्न लायक जग्गामा घर नबनाउनु बरु त्यहाँबाट घरबार अन्तै सारी उब्जाउ भूमिलाई संरक्षण संवद्र्धन गरी मुलुकलाई खाद्यान्नका दृष्टिले धनी बनाउन विशेष ध्यान दिनुपर्ने उपदेशमा उल्लेख गरेका छन् । यी सबै उनका मात्र नभएर उनी आफैँले अपनाएको जीवन व्यवहार हो भन्ने लाग्छ । काठमाडौँको चन्द्रागिरि शिखरबाट काठमाडौँ उपत्यका पहिलोपल्ट देखेर शाह लोभिनुका पछाडि उपत्यकाको उब्जाउ तथा हराभरापूर्ण भूमि नै थियो  । 

प्रसिद्ध इतिहासकार इमानसिंह चेम्जोङले आफ्नो किराँतकालीन विजयपुरको संक्षिप्त इतिहास कृतिमा राजा पृथ्वीनारायण शाहले सैन्यबलले मात्र देश विजय गरेको नभई कूटनीतिक ज्ञान प्रयोग गरी पूर्व किराँत देश विजय गरेको बताउनुभएको छ । पृथ्वीनारायण शाहभन्दा ८५ वर्षपछि ३९-४० राज्य रजौटाहरूमा विभाजित जर्मनीलाई एकीकरण गर्ने बिस्मार्क, तीनवटा विशाल राज्यमा विभाजित इटालीलाई मेजिनी, काबुर र गैरीवाल्डीले आआफ्ना समयमा एकीकृत गरे । चिनियाँ सम्राट् शी ह्व हाङले सातवटा विशाल भूभागमा विभाजित राज्य रजौटाहरूलाई एकीकृत चीनलाई एकताबद्ध गरे । आपसमा विभाजित राज्य रजौटाका कारण जनजीवन अस्तव्यस्त भएका अवस्थामा सुख, शान्ति र समुन्नतिका निम्ति भएका एकीकरण अभियानलाई सबै देशका नागरिकले गौरवसाथ स्मरण गर्दछन् । 

चीनको एकीकरण गर्ने तत्कालीन सम्राट् शिह ह्वाङलाई तत्तत् देशका सारा जनताले उच्च आदरसाथ स्मरण गर्छन् । यस्ता विश्वप्रसिद्ध राष्ट्रिय उच्च चेतनाका गौरवशाली उदाहरण हुँदाहुँदै पनि हामी किन बहकिएर आफ्नै गौरवशाली ऐतिहासिक धरोहरप्रति धारेहात लगाइरहेका छौँ ? यसबाट राष्ट्रवादी उच्च चेतनाको वृद्धि हुन सक्तैन । जब संस्कृति सकिन्छ, त्यहाँ राष्ट्र पनि रहँदैन । आयातित संस्कृतिको भरिया भएर नेपाली राष्ट्रवादी चेतनाको उत्थान पनि हुन सक्तैन । तसर्थ नेपाल एकीकरणका अभियन्ता, दूरदर्शी, साहसी नायक तथा बहुआयामिक व्यक्तित्व पृथ्वीनारायण शाह र यस महाअभियानका समस्त योद्धा सहयोद्धा नेपाली वीर वीराङ्गनाको योगदानलाई बर्सेनि स्मरण गर्न थालियो । यसको अगुवाइ डा. मोदनाथ प्रश्रितजस्ता व्यक्तित्वले एक्लो बृहस्पतिजस्तो गरिरहनुभयो । यसकै प्रभावमा अहिले नेपाल एकीकरण तथा पृथ्वीनारायण शाहको महत्ता उजागर हुन सकेको हो । 

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहलाई अतिवादी र अन्धवादी आँखाले मात्र हेर्नु ठूलो भूल हुन्छ । शाहले सरदर राजा महाराजा र नेताभन्दा पनि महानतम काम गरेका हुन् । इटहरीमा २०६९ सालदेखि नेपाल एकीकरण अभियान निरन्तर जारी रहेको छ । यो कार्यक्रम कुनै पनि खाले राजनीतिक आग्रहभन्दा माथि रहेको छ । र, अझ राजा आऊ, देश बचाउसित यसको कुनै साइनो र सम्बन्ध रहेको छैन । कुनै पनि राष्ट्र एकीकरण र विखण्डीकरणको चक्र पार गरेर अगाडि बढेका छन् ।

नेपाल पनि लिच्छविकालदेखि एकीकरण र विखण्डनको क्रमबाट अगाडि बढेको पाइन्छ । राष्ट्रिय विखण्डनले भौतिक तथा अभौतिक तिक्त, विरक्त र विभक्त स्थिति ल्याएको इतिहासबाट अवगत हुन्छ । नितान्त व्यक्तिगत र वंशगत तथा समुदायगत शक्ति, स्वार्थ र सम्पत्तिका लागि भए गरेका राष्ट्रिय विखण्डन देश जनताको हितमा नभएको इतिहासले बताएको छ । यस्तै इतिहास ब्यहोरेका नेपालमा आजभन्दा साढे दुई सय वर्षअघि पृथ्वीनारायण शाहका वैचारिक तथा भावनात्मक नेतृत्वमा समस्त नेपाली वीर वीराङ्गनाको त्याग र समर्पणबाट नेपाल राष्ट्रको एकीकरणको ऐतिहासिक महìवपूर्ण महाअभियान सुरु भयो । यस महान् तथा गौरवपूर्ण अभियानमा आवश्यकता अनुसार नेपाली जनताले बलिदानीपूर्ण सङ्घर्ष गर्नुपर्यो । 

शाह एकातिर पुर्खाका जनहितका महìवपूर्ण कार्यबाट प्रभावित र उत्प्रेरित बनेका थिए भने अर्कातिर भावी पुस्ताका लागि अझ महत्वपूर्ण योगदान दिने अदम्य इच्छा उनमा पलाएको देखिन्छ । यसरी ऐतिहासिक परम्पराबाट प्रभावित बनेका शाहले विभाजन र विखण्डनका कारण अत्यन्त पीडित-प्रताडित बनेका जनताको भावनालाई साकार र सार्थक रूप दिनका लागि अगाडि बढे र उनले नेपाल एकीकरण अभियानमा अडिग भएर नेतृत्वदायी भूमिका सफलताका साथ निर्वाह गरे । शाहको नेतृत्वमा भौगोलिक एकीकरण हुँदा नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफल हामी सार्वभौम, स्वाधीन, स्वतन्त्र र अखण्डित राष्ट्र र राष्ट्रवासीका रूपमा विश्वसामु परिचित हुन पाएका छौँ । नेपाली वीरवीराङ्गनाका अभूतपूर्व त्याग बलिदानका कारण भौगोलिक एकीकरण भयो । यसलाई भावनात्मक एकीकरणका लागि स्रष्टाहरूले पनि आफूले सकेको योगदान दिए । 

नेपाालमा विगत कालखण्डहरूमा भए गरेका विभिन्न महìवपूर्ण राजनीतिक तथा सांस्कृतिक आन्दोलनबाट एकीकरणलाई समग्रतामा परिणत गर्ने प्रयत्न नभएको पनि होइन तर त्यसलाई हामीमा रहेका अदूरदर्शी चिन्तनका कारण सफलताको चरणमा पुर्याउन सकिएन । इतिहासका मूल्यवान् पक्षलाई आधार बनाएर त्यसका जगमा एकीकरणको सर्वाङ्गीण पक्षमा लाग्नुपर्ने आजको अपरिहार्य आवश्यकता हो । यसका लागि आफ्नो आधारभूमिमा उच्च मनोबलका साथ उभिनु जरुरी छ । आफैँ उभिएको जग खोस्रिएर कुनै पनि मानिसले आफूले टेक्ने भुइँ पाउन सक्तैन । 

इतिहासको सालाखाला वा सोलोडोलो सकारात्मक र नकारात्मक टिप्पणी वस्तुनिष्ठ हुनसक्तैन । इतिहासलाई भत्काएर इतिहास निर्माण हुँदैन । तर वर्तमानमा अग्रगामिताका नाममा अहिले समग्र नेपालीको हितका लागि इतिहासले निर्माण गरेका दूरगामी, दूरदर्शी तथा दीर्घकालीन महìवका विषयको अन्तर्वस्तुलाई बोध गर्ने कुरामा हामीहरूमध्येमा नै अलमल, बहकाउ र बरालापन देखिएको छ । यो नेपालीका लागि अत्यन्त लज्जाजनक कुरा हो । स्वर्णिम इतिहासले निर्माण गरेका धरोहरलाई स्थापित गर्दै त्यसमाथि सगर्व उभिएर मात्र हाम्रो उचाइ बढ्नसक्छ । बहकाउमा परेर वा अतिवादी मान्यतामा हेलिएर राष्ट्रिय उत्थान किमार्थ हुनेछैन ।

लेखक प्रा.डा.बद्रीविशाल पोखरेल अवकाशप्राप्त प्राध्यापक हुन् । गाेरखापत्र ।

प्रकासित मिति

 
 
Loading...