tealaya add

Ravi Lamichhane kantipath
२०७४ को माघ महिनाको चिसो साँझमा म महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बाहिर निस्केर घर फर्किन नेपाल यातायात कुरिरहेको थिएँ। छेउको फार्मेसीमा दुई महिला औषधिको विषयलाई लिएर पसलेसँग चर्काचर्की गर्दै थिए।

‘यो औषधि हामीलाई नचाहिने भयो, पैसा फिर्ता दिनुपर्छ’, ती महिलाको तर्क थियो।

पसले मानिरहेका थिएनन्। ‘पैसा फिर्ता दिन मिल्दैन, अर्कौ कुनै औषधि लैजानोस्’, उनी भन्दै थिए।

‘पैसा फिर्ता नदिने भए अहिले रवि लामिछानेलाई फोन गरिदिन्छौं’, दुवै महिलाले एकै श्वरमा पसलेलाई चेतावनी दिए।

वादविवाद सकिएकै थिएन। मेरो नेपाल यातायात आइहाल्यो। म गाडी चढेर कपनतिर लागेँ।

पत्रकारिताको विद्यार्थी भएका कारण केही वर्षयता मैले पटक–पटक रवि लामिछानेबारे प्रश्न सामना गरेको छु। मेरा धेरै साथीहरु उनको पत्रकारिता शैलीप्रति प्रश्न गर्छन्। त्यतिबेला मैले यही माथिको प्रसंग सुनाउने गरेको छु। भन्ने गरेको छु, ‘रविले उठाएका मुद्दा आम सर्वसाधारणसँग जोडिएका विषय हुन्। तिनलाई उनले आवाज दिएका हुन्।’

प्रहरी प्रशासन, अदालत र सरकारमाथिको विश्वास उठिसकेका बेला न्यायका लागि पत्रकार सम्झिने अवस्था पत्रकारितामाथिको भरोसा पनि हो। रवि या अरु कोही सञ्चारकर्मीले आमनागरिकको विश्वास जित्नु प्रकारान्तरले पत्रकारितालाई माथि पुर्‍याउनु नै हो। यद्यपि रविको पत्रकारिताको शैलीप्रति मेरो केही बिमति थिए र छन्।

सामाजिक मुद्दाको सिधा उठान :
RAVI KANTIPATHNEWS
रवि लामिछाने र उनको टिमले वैदेशिक रोजगार विभागमा ठगिएका, म्यानपावरले लुटेका, विदेशमा बिचल्ली परेका, भ्रष्टाचारको पासोमा बेरिएका पिँधका मान्छेका मुद्दा समातेर टेलिभिजन कार्यक्रम बनाए । मूलधारका राष्ट्रिय दैनिकका पहिलो पृष्ठमा स्थान नपाउने, भित्री पृष्ठका कुनामा थन्किने, टेलिभिजन क्यामराले हत्तपत्त नदेख्ने र धेरैले ‘समाचार होइन’ भनेका सामाजिक मुद्दा उनको टोलीले उठाएको हो।

टेलिभिजन पत्रकारितामा भिडियोको मूल्य हुन्छ। जो भिडियोमा देखिन्छ ऊ गुण र दोषको भागिदार बन्छ। यसर्थमा कार्यक्रम प्रस्तोता रवि लामिछाने छोटो समयमै लोकप्रिय बने। यद्यपि उनको टोलीमा पर्दा पछाडि बसेर काम गर्न अरु थुप्रै छन्। केही समयअघि आत्महत्या गर्ने शालिकराम पुडासैनी रवि भाषामा ‘छातीमा लात्ती खाइ खाइ पनि प्रश्न सोध्न नडराउने’ कर्मठ पत्रकार हुन्। पत्रकार पुडासैनीले रविको कार्यक्रमका लागि घुस दिनेलाई रंगेहात समातेका, वीर अस्पताल र कालिमाटीमा प्रहरीको कुटाइ खाएर रिपोर्टिङ गरेका भिडियो फुटेज अहिले पनि युट्युबमा भेटिन्छन्। ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको सफलता शालिकरामहरुको त्यो संघर्षको संयुक्त परिणाम हो। साँच्चै भन्ने हो भने रवि लामिछानेको यो उचाई शालिकरामजस्ता रिपोर्टरहरुको कठोर संघर्षको पृष्ठभूमिमा ठडिएको एउटा कागजी घरजस्तो मात्रै हो।

साउन २० मा आत्महत्या गरेका पुडासैनीको मोबाइलमा २ भिडियो भेटिएका छन्। भिडियो प्रमाणिकता प्रहरीको डिजिटल ल्याबबाट पुष्टि भएसँगै रविसहित ३ जनालाई पक्राउ परेका हुन्। आत्महत्या ‘दुरुत्साहन’मा भिडियो अकाट्य प्रमाण हो होइनरु रवि दोषी हुन् होइनन् त्यो अदालतले भन्ने नै छ। त्यो बाहेक भिडियोले नेपाली पत्रकारिता क्षेत्रका थुप्रै विषय जर्बजस्ती उजागर गरिदिएको छ। 

जीवित शालिकरामहरूबारे

salikram pudasaini kantipath
एउटा रिपोर्टर कसरी बाँचेको हुन्छरु भिडियोले भन्छः दिनरात भोकतिर्खा माया मारेर रिपोर्टिङमा खटिने शालिकरामाथि रवि लामिछाने, दीपक बोहोरा र युवराज कँडेलले कार्यकक्षमै अमानवीय व्यवहार, मानसिक र भावनात्माक हिंसा साथै चरम आर्थिक शोषण गर्थे। बैंकको ऋणले थिचिएका शालिकरामको तलब मात्र १८ हजार थियो। त्यो पैसाले परिवार चलाउनु पर्ने, घरभाडा तिर्नुपर्ने र अफिसले दिएको थोत्रो मोटरसाइकलमा तेल हाल्नुपर्ने बोझ उनीमाथि थियो। पत्रकार पुडासैनीको भिडियो बयानले टेलिभिजनको चम्किलो पर्दाभित्रको यो अँध्यारो यथार्थलाई एकै पटक जबर्जस्त बाहिर ल्याइदिएको छ। 

यतिबेला बहस हुनुपर्ने विषय यो हो :

दिनरात काम गर्दा पनि रिपोर्टर सरकारले तोकेको न्यूनतम पारिश्रमिक नपाउने तर त्यसका सञ्चालकले अभ्यास गर्ने विलाशी जीवनशैलीले अनगिन्ती प्रश्न उब्जिएका छन्। मासिक १५ लाख रुपैयाँ अमेरिका पठाउने रवि जो घर, गाडीसहित उच्च जीवनशैलीयापन गर्छन्, त्यो सम्पत्तिको स्रोत के होरु बहस हुनुपर्ने यो अर्को सवाल हो। भिडियोले मृत शालिकराम मात्रै होइन जीवित शालिकरामहरुको समेत डरलाग्दो चित्र सार्वजनिक गरिदिएको छ। बिडम्बना यो प्रकरणमा बहस त्यतापट्टि भइरहेकै छैन, अन्यत्रै बहकिएको छ।

बैंकको ऋण र तलबको तालमेल नमिलेर आँसु पिउन विवश एवं कार्यकक्षमा भौतिक र मानसिक हिंसा सामना गरेका शालिकरामले जीवित छँदा त न्याय पाएनन्। मृत्युपछि पनि उनलाई न्यायबाट बञ्चित गर्न प्रयास भइरहेका छन्। रविको पक्षमा चितवनमा उर्लिएको भिडलाई तथ्य, तर्क र कानुनसँग कुनै सरोकार देखिँदैन। र त्यो भिडलाई दुःखको महासागर पार गर्न नसकेर आत्महत्या गर्न विवश शालिकराम र उनको परिवारको न्यायिक अपेक्षाप्रति कुनै मतलब पनि छैन।

मृत शालिकरामको क्यारिकेचर गरेर, उनलाई तथानाम गरेर रवि समर्थकहरुले भिडियो बनाइरहेका छन्। पीडितको घाउमा नुनचुक छर्ने यो काम कानुनको गम्भीर उपहास पनि हो। अहिले शालिकरामलाई व्यंग्य गरेका भिडियो सामाजिक सन्जालमा भाइरल छन्। आज रवि हिरासतमा जीवित छन्, शालिकरामको त जीवन नै उठिसक्यो। एउटै कार्यक्रमका सहकर्मी रवि घर, कारसहित विलाशी जीवनयापनको उपभोग गर्ने अर्कोपट्टि रिपोर्टर न्यूनतम पारिश्रमिक नपाएर छपट्पटिँदै मृत्युको मुखमा पुग्नुपर्ने यस्तो किनरु बहस यसमा हुनुपर्ने हो।

‘रवि आउ देश बचाऊ भन्ने भिड’ हरेक दिन नयाँ नयाँ अनुमानको खेती गर्छ। नेपाल बन्दको बक्तब्य जारी गर्छ तर आत्महत्या गर्न विवश पत्रकारको न्यायका लागि एक शब्द बोल्दैन। घटनाको निष्पक्ष अनुसन्धानबारे चुइँक्क गर्दैन। यसले भिडको अन्धवेग सामु शालिकरामको न्याय ओझेलमा पर्ने खतरा अझ बढाएको छ। निष्पक्ष न्याय निरुपणलाई प्रभावित पार्न खोजिएको छ। भिड तथ्य, तर्क, कानुनी शासन र तटस्थ न्यायिक प्रक्रियाको सर्वथा विपक्षमा छ।

न्याय बिथोल्न जम्मा भएको भिडलाई कटाक्ष गर्दै लेखक ज्वालामुखीले फेसबुक भित्तोमा लेख्छन्, ‘भिड नै सत्य हुन्थ्यो भने हालसम्म सूर्यले पृथ्वीलाई घुमिरहेको हुने थियो। किन कि पृथ्वीले सूर्यको परिक्रमा गर्छ भन्ने सिद्धान्तका प्रतिपादकलाई मृत्युदण्ड दिन माग गर्नेको भिड अहिले चितवनमा निस्किएभन्दा धेरै ठूलो थियो। त्यसैले आत्महत्या गरिसकेको एउटा निर्दोष रिपोर्टरलाई भिडले अन्याय गरिरहन पाउँदैन।’

रवि लामिछानेको सम्पत्तिको स्रोत के हो ?
ravi vs pudasaini
मृत्यु अघि शालिकरामले ‘सिधाकुरा जनतासँग’को टीमलाई केही गम्भीर आरोप लगाएका छन्। छलफल र बहस हुनुपर्ने विषय यो पनि हो। शालिकरामले भनेका छन्, ‘रवि र उनको टीमले व्यक्तिगत रिसइबी टिभीमा ल्याएर पोख्थे। रिस उठेकालाइ सिध्याउँथे। शक्ति र पहुँचका भरमा निर्दोषलाई दोषी बनाइन्थ्यो।’ यसको वास्ताविकता के हो ? रविले शालिकरामको मृत्युकै दिन आफ्नो कार्यक्रममा कन्चनपुरका पत्रकार खेम भण्डारीसँग अन्तरर्वार्ता गरेका थिए। त्यो कार्यक्रममा पूर्व सहमतीविपरित उनले निर्मला प्रकरणमा निलम्बित डिएसपी अंगुर जिसीलाई प्रवेश गराएर भण्डारीसँग भिडाउने काम गरे। यो उदाहरणाले उनको कार्यशैली उजागर गर्दछ। यो बाहेक उनले पत्रकारिताका लक्ष्मणरेखा धज्जी उडाएका कैयन उदाहरण छन्।

शालिकरामले लगाएको अर्को आरोप झन् डरलाग्दो छ। ‘ठूल्ठूला सिमेन्ट फ्याक्ट्री, बालुवा तस्कर र ब्यापारीसँग रविले करोडौं असुल्थे। त्यसका केही प्रमाण सुरक्षित छन्’, डेथ डिक्लिरेसनको रुपमा शालिकरामले भनेका छन्, ‘वेलकम एड्भर्टाइजिङमार्फत् रविले त्यस्तो अवैध रकम बुझ्ने गरेका छन्।’ शालिकरामजस्ता रिपोर्टरलाई दौडाउने र त्यसैको बलमा आर्जित जनविश्वासलाई दुरुपयोग गरेर तस्कर र माफिया गिरोहसँग पैसा असुल्ने धन्दा रविले चलाएका हुन् कि होइनन्रु बहस यसमा गर्न जरुरी छ। भनिन्छ डेथ डिक्लिरेसनमा मान्छेले झुटो बोल्दैन। त्यसैले यो छानबिन हुनैपर्ने अर्को गम्भीर विषय हो।

पूर्व सहकर्मीले नै विषय सार्वजनिक गरिसकेको अवस्थामा आफ्नो इमान पुष्टि गर्न रविलाई यो ठूलो अवसर पनि हो। खास मुद्दाहरुमा प्रवेश नगरी बहसलाई बहकाउने र सार्वजनिक रुपमा उठेका सवाललाई छल्दै जाने हो भने त्यसले निम्त्याउने अन्ततः दुर्घटना नै हो। यो दुर्घटनाको सिकार रवि एक्लै हुने छैनन्। पत्रकारिता गरिरहेका र पत्रकारितामा भविष्य देखेका हजारौंले बारम्बार कठघरामा उभिनुपर्नेछ। त्यसैले रवि भिडको आवेग होइन कानुनी बाटो हिँड्नैपर्छ। सार्वजनिक रुपमा उठेका प्रश्नहरुको सामना सार्वजनिक रुपमै गर्ने साहस देखाउनैपर्छ।

निःसन्देह चितवनमा भेला भएका मान्छे नेपाली आम सञ्चारका निर्दोष उपभोक्ता नै हुन्। उनीहरुको समस्या एउटै होः रवि लामिछानेबाट कुनै कमजोरी हुन सक्दैन, उनी भगावन् हुन्। उनीहरुले रविलाई गुण र दोषसहितको मानवका रुपमा देख्न नसक्नु समस्याको जड हो। यो समस्याको कारण महानायकहरुको खोजी गर्ने नेपाली समाजको सामाजिक संरचनाभित्र लुकेको छ। भिडको सन्देश के पनि हो भने लोकतान्त्रिक शासन व्यक्तिको अलौकिक पुरुषार्थमा होइन बलिया कानुनी राज्यअंगहरुका भरमा चल्नुपर्छ भन्ने चेत जनतामा आउन अझै बाँकी छ। न्यायिक प्रक्रियाबाट आफूलाई निर्दोष सावित हुने अवसर संविधानले प्रत्येक नागरिकलाई दिएको छ। रवि लामिछानेसहित तीनै जनाले त्यो पाउनुपर्छ। भिडको अन्धवेगसँगै न्याय निरुपण प्रभावित हुनु हुँदैन। तथ्य, प्रमाण, तर्क र तटस्थ कानुनी प्रक्रिया न्याय निरूपणको आधार बनाइनु पर्छ। नेपालखवर डटकममा मनोज खतिवडा लेख्छन् ।

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर