TU kantipathवि.सं. २०१६ मा स्थापना गरिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपालको सबभन्दा जेठो विश्वविद्यालय हो । उच्चशिक्षाको उन्नयनमा यस विश्वविद्यालयले खेलेको भूमिका महìवपूर्ण छ । संस्थागत विकासका क्रममा त्रिविले धेरै आरोह–अवरोह पार गरिसकेको छ । वि.सं. २०२८ मा राष्ट्रिय शिक्षा पद्धतिको प्रारम्भपश्चात् निजीक्षेत्रमा सञ्चालित सम्पूर्ण कलेज त्रिविको छाताभित्र समावेश गरिए । कसैले यस निर्णयलाई केन्द्रीकरणको संज्ञा दिए भने कसैले यसमार्फत उच्चशिक्षाको प्रवद्र्धन हुने राय प्रकट गरे । यही शिक्षानीतिको फलस्वरूप देशमा प्राविधिक शिक्षाको आधार तय गर्न सहयोग पुग्यो ।

वर्तमान समयमा त्रिविको प्राज्ञिक कार्यान्वयन (१) प्राविधिक अध्ययन संस्थान (२) सङ्काय र (३) अनुसन्धान केन्द्रद्वारा सञ्चालन गरिएको पाइन्छ । प्राविधिक अध्ययन संस्थान अन्तर्गत (क) विज्ञान तथा प्रविधि (ख) इञ्जिनियरिङ (ग) चिकित्साशास्त्र (घ) वनविज्ञान र (ङ) कृषि तथा पशुविज्ञान विषयहरू पढाइन्छन् । 

त्यसैगरी सङ्कायअन्तर्गत (क) मानविकी तथा सामाजिक शास्त्र (ख) शिक्षाशास्त्र (ग) व्यवस्थापन र (घ) कानुन विषय समावेश गरिएका छन् । शिक्षण कार्यक्रमलाई टेवा पुगोस् भन्ने हेतुले (क) आर्थिक विकास तथा प्रशासन (ख) नेपाल र एसियाली (ग) व्यावहारिक विज्ञान तथा प्रविधि र (घ) शिक्षा विकास अनुसन्धान केन्द्र सञ्चालनमा छन् । त्रिवि जेठो विश्वविद्यालय भएको र यसमा आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पस देशभरि छरिएर रहेकाले उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याको करिब ८० प्रतिशत यसैसित आबद्ध छन् । यसो हुनुमा त्रिविसित विद्यमान भौतिक पूर्वाधार, पुराना र अनुभवी शिक्षक, शैक्षिक विविधता, न्यून शुल्क आदि विशेषताले भूमिका निर्वाह गरेको पाइन्छ । यस विश्वविद्यालयले करिब डेढ सय अन्तर्राष्ट्रिय विश्वविद्यालयसित सम्बन्धन स्थापित गरेकाले यसले सञ्चालन गर्दै आएको शैक्षिक एवं अनुसन्धान कार्यमा टेवा पुग्ने देखिन्छ ।

त्रिभुवन विश्वविद्यालयमा करिब १५ हजार शिक्षक एवं कर्मचारी सेवारत छन् । प्राज्ञिक र प्रशासनिक कर्मचारीको प्रतिशत लगभग आधाआधी छ । विद्यार्थी सङ्ख्याको दृष्टिकोणबाट हेर्दा विभिन्न कार्यक्रमअन्तर्गत प्रतिवर्ष एक लाख विद्यार्थीले भर्ना लिएको पाइन्छ । यो सङ्ख्याका साथै त्रिविले सम्बन्धन दिएका करिब एक हजारभन्दा बढी क्याम्पसमा अध्ययनरत करिब तीन लाख विद्यार्थीको समेत शैक्षिक व्यवस्थापन गर्दै आइरहेको छ । यो कार्य आफैँमा चुनौतीपूर्ण छ । पछिल्लो समयमा त्रिविले नर्सिङ विषयमा बाहेक प्रमाणपत्र तहको पठनपाठन गरिरहेको छैन । सरकारी निर्णयअनुरूप यो कार्यक्रम उच्च माध्यमिक विद्यालयलाई दिइएको हो, जहाँ दश जोड दुईसम्मको अध्यापन गराइन्छ । 

त्रिविको विगतको इतिहास मिश्रित पाइन्छ । स्थापनाकालदेखि राष्ट्रिय शिक्षा योजना प्रारम्भ गर्दासम्म यसले उच्चशिक्षाको जग निर्माणमा महìवपूर्ण भूमिका निर्वाह ग¥यो । वि.सं. २०२८ देखि २०४६ को अवधिमा देशभित्र छरिएर रहेका निजी कलेजलाई आफ्नो मातहतमा ल्याई उच्चशिक्षाको विस्तार गर्ने कार्य गर्यो । वि.सं. २०४६ को जनआन्दोलनपछिका करिब १५ वर्ष यसले विभिन्न जिल्लामा आङ्गिक र सम्बन्धन क्याम्पसको विस्तार गर्दै लग्यो । यही अवधिमा देशमा अन्य विश्वविद्यालय पनि स्थापित भए । तर दुर्भाग्य नै भन्नुपर्दछ– जनआन्दोलन २०६२-६३ पश्चात् यसले आफूले विगतमा आर्जन गरेको साखलाई निरन्तरता दिन सकेन । त्रिविभित्र अदृश्य किसिमले राजनीतिक गतिविधि झाङ्गिदै गयो । 

नेपाल सरकारले केही समय पूर्व गठन गरेको सर्च कमिटीको सुझावअनुसार प्रा.डा. धर्मकान्त बाँस्कोटालाई त्रिविको उपकुलपति नियुक्त गरेको छ । आफ्नो पदबहालीसँगै उहाँले सबै राजनीतिक दलसँग सहमति लिएर विश्वविद्यालयलाई राजनीतिबाट मुक्त राख्ने प्रतिबद्धता व्यतm गर्नुभएको छ । साथै उहाँले “पारदर्शिता, निष्पक्षता, सामूहिकता, उत्तरदायित्व, सूचना प्रविधिको प्रयोग र गुणस्तरीय रोजगारीमूलक शिक्षामा मेरो जोड रहनेछ” भनी प्रतिबद्धता जाहेर गर्नुभएको छ । अपेक्षा राखौँ उहाँको कार्यकाल न्यून आलोच्य हुनेछ । 

त्रिविभित्र समस्याको विशाल पहाड छ । ती समस्या पाण्डोराको बाकसलाई माथ दिने खालका छन् । कार्य सम्पादनका सन्दर्भमा देखापरेका ती समस्यालाई सल्टाउँदै अगाडि बढ्नुको विकल्प देखिन्न । यस सन्दर्भमा नयाँ नेतृत्वले देहायका विषयमा विशेष ध्यान पुर्याउनु जरुरी देखिन्छ :

शैक्षिक पात्रोको किटान 

त्रिविमा उच्चशिक्षाको अध्यापन कार्य कहिले प्रारम्भ हुन्छ र कहिले टुङ्गिन्छ भन्नेबारे अन्योल पाइन्छ । समयमा शैक्षिक पात्रोको अनुसरण नगरिएकाले पनि कतिपय विद्यार्थी छिमेकी मुलुकमा गई पठनपाठन गरिरहेका छन् । कक्षा कति दिन सञ्चालन हुनुपर्ने हो, सो अनुरूप भयो भएन, भएन भने किन भएन भन्नेबारे खासै चासो राखेको पाइँदैन । सेमेष्टर प्रणाली लागू गरेपछि पनि कक्षामा विद्यार्थीको उपस्थिति अनिवार्य गरिएको छैन । तर परीक्षाको फारम भर्दा सबै विद्यार्थीले नियमअनुसार कक्षामा उपस्थित भएको देखाइन्छ । कक्षा कोठामा विद्यार्थीको हाजिरी लिने विषयमा समेत शिक्षक विभाजित देखिन्छन् । 

पठनपाठनको कार्य पूरा गरी तोकिएका समयमा परीक्षा सञ्चालन गरिनुपर्दछ । यस कार्यमा पनि त्रिवि चुकेको पाइन्छ । परीक्षा सञ्चालन गरेपछि परिणाम कहिले सार्वजनिक गर्ने भन्नेबारे पनि कुनै समय किटान गरिएको छैन । परीक्षाको परिणाम सार्वजनिक गर्न कहिलेकाहीँ वर्षाैंसम्म लगाइन्छ । अतः आउँदा वर्षमा शैक्षिक पात्रो निर्माण गरी पठनपाठन र परीक्षा सञ्चालन गरिनुपर्दछ । 

सङ्गठनात्मक सुधार 

त्रिविमा हाल विभिन्न प्राविधिक अध्ययन संस्थान, सङ्काय र अनुसन्धान केन्द्र सञ्चालनमा छन् । त्यसैगरी देशभरि छरिएर रहेका आङ्गिक क्याम्पस छन् । यसका साथै केन्द्रीय कार्यालयमा विभिन्न महाशाखा छन् । देशमा सङ्घीयता लागू गरिएको छ । विगतमा त्रिविले सञ्चालन गर्दै आएका विभिन्न आङ्गिक क्याम्पसलाई आफैँ सञ्चालन गर्ने वा प्रदेशमा खोलिएका विश्वविद्यालयलाई सुम्पने भन्नेबारे पनि निर्णय लिनु जरुरी छ । प्रदेशअनुरूप विश्वविद्यालय स्थापना गर्ने हो भने त्यहाँभित्र रहेका सबै क्याम्पस तत्तत् विश्वविद्यालयमा गाभिनुपर्दछ । विगतमा पनि यस विषयले निकास नपाउँदा नयाँ खोलिएका विश्वविद्यालयले स्वस्फूर्त ढङ्गले कार्य गर्न नसकेको विषय भुल्नुहुँदैन । 

यसैगरी केन्द्रमा रहेका चार अनुसन्धान केन्द्रको अवस्था पनि ज्यादै दयनीय छ । अतः ती अनुसन्धान केन्द्रहरू विषयसित मिल्ने गरी एक अर्कामा विलय गरिनु अथवा खारेज गरिनु उपयुक्त देखिन्छ । सङ्गठन जति चुस्त रहन सक्यो त्यो त्यति नै प्रभावकारी हुन्छ । 

शिक्षक/कर्मचारी

त्रिविमा शिक्षक र कर्मचारीको सङ्ख्या लगभग बराबर छ । राष्ट्रिय शिक्षा पद्धतिको प्रारम्भसँगै कर्मचारीको सङ्ख्या यसरी बढाइएको हो । पछिल्लो समयमा त्रिविबाट प्रमाणपत्र तहको कार्यक्रम विस्थापित गरे पनि शिक्षकको सङ्ख्या कम गरिएको छैन । अझ स्नातकोत्तर तहका कतिपय विषय उपत्यकाभित्रका विभिन्न क्याम्पसमा समेत सञ्चालन गरिएकाले केन्द्रीय क्याम्पसमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून हुँदै गइरहेको छ । एकातर्फ प्रमाणपत्र तहको कार्यक्रम सञ्चालन नगरिनु र अर्कातर्फ शिक्षक सङ्ख्या यथावत् रहनु वा बढाइनुले त्रिविलाई अनावश्यक आर्थिक भार थपिरहेछ । त्यसैगरी प्रशासन सञ्चालनका लागि अत्यधिक दरबन्दी सिर्जना गरिएका छन् । यी सबै विषयको सूक्ष्म अध्ययन गरी आदर्श शिक्षक÷कर्मचारी सङ्ख्या तय गर्नेबारे समेत निर्णय लिनु आवश्यक छ । 

भौतिक व्यवस्थापन 

त्रिविको भौतिक सम्पत्तिको रेकर्ड पाइँदैन । कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस वरिपरि कति जग्गा अतिक्रमण गरियो भन्ने लेखाजोखा नै छैन । अतः आफ्नो भौतिक सम्पत्तिको लगत तयार गर्ने कार्य पनि समयमै गरिनुपर्दछ । खलियानबाट धान उठाउनेदेखि सबै चलअचल सम्पत्तिको तथ्याङ्क तयार नपार्ने हो भने भोलि यसले थप समस्या सिर्जना गर्नेछ । 
भागबण्डाको अन्त्य

त्रिविमा विगत १२-१५ वर्षदेखि चयन गरिएका शिक्षक, पदाधिकारीको पृष्ठभूमि केही अपवादलाई छाडी तिनीहरूको राजनीतिक आस्थासित जोडिएको छ भन्दा अत्युक्ति नहोला । विश्वविद्यालय प्राज्ञिक थलो हो । अतः खासगरी शिक्षक-अनुसन्धानकर्ताको चयनमा राजनीतिक भागबण्डा नगरी योग्यतालाई उच्च स्थान दिनेबारे सर्वदलीय सहमति जुटाउनु आवश्यक छ । प्रारम्भिक चरणमा नवनियुक्त उपकुलपति र उहाँको टिमले उपरोक्त बुँदाबाट कार्य प्रारम्भ गरे त्रिविले आफ्नो साख जोगाउन सक्नेछ । यस कार्यमा सबै शिक्षक, प्रशासक र अभिभावकको समेत सहयोग अपेक्षित छ ।

गाेरखापत्र/ लेखक प्रा.डा. भीमदेव भट्ट  त्रिवि केन्द्रीय क्याम्पसका पूर्व प्रमुख हुन् । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...