annapurna add

womanवेद र पुराण जस्ता हिन्दु धर्मशास्त्रमा महिलाको सौन्दर्य, वीरता, विद्वत्ताका बारेमा प्रशस्त बयान गरिएको पाइन्छ । नारी वर्गले समाजमा घटित हुने विभिन्न गतिविधिमा कुशल नेतृत्व प्रदान गरेको इतिहासले देखाउँछ । हिन्दुका धार्मिक ग्रन्थहरूमा उद्धृत महिला शक्तिको उदाहरण लिनपर्दा देवी दुर्गा प्रमुख हुन् । दुर्गाको शक्तिको तुलना ब्रह्मासँग पनि गरिन्छ । यिनलाई आदिशक्ति, प्रधान प्रकृति, गुणवती माया, बुद्धित्वकी जननी तथा कुनै किसिमकी विकार नभएकी देवी भनिन्छ । उनले समाजमा रहेको शान्ति, समृद्धि तथा धर्ममा आघात गर्ने राक्षसी शक्तिको विनाश गर्दछिन् भनिएको छ ।

त्यस्तै अर्की देवी सरस्वती विद्याकी देवी अर्थात् दिव्य ज्ञानले सिञ्चित मानिस र हाँसजस्तै दूधको दूध पानीको पानी छुट्याउन सक्ने विवेकी देवी भनिन्छ । यिनी विद्या, ज्ञानविज्ञान, कला, साहित्य र सङ्गीतकी देवी हुन् पनि भनिएको छ । ब्रह्मा, विष्णु र महेशले पनि सरस्वतीबाटै शिक्षा प्राप्त गरेका हुनाले जगत्जननी संरक्षिकाको रूपमा पनि चर्चित छन् । हिन्दु धर्मावलम्बीले पुज्ने गरेकी अर्की देवी लक्ष्मीलाई धन, समृद्धि र सुन्दरताकी देवी मानिएको छ । यिनमा चौँसट्ठी कला थियो भनेर हाम्रो धर्मशास्त्रले वर्णन गर्दछ । सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता, र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्दको उपयोग हुने गर्दछ ।

अयोध्याका राजा रामकी पत्नी सीता जनकपुरका आदर्श राजा जनककी छोरी र दशरथकी बुहारी थिइन् । आदर्श नारीका रूपमा चर्चित सीताले रावणको नजरबन्दमा रहेबापत अग्निपरीक्षा दिनुप¥यो । त्यतिले नपुगी जङ्गलको निर्वासन र अन्त्यमा धर्तीभित्र पसेर उनले आफ्नो देहत्याग नै गर्नुपर्यो । हिन्दु महिलाले प्रत्येक वर्ष एक महिनासम्म स्वस्थानीको व्रत बसी पूजा आराधना गरी स्वस्थानी माताको कथा सुन्छन् सुनाउँछन् । त्यो कथाको मुख्य आशय भनेको नारी जाति सधैँ त्यागी, चरित्रवान, आपूmलाई गौण ठानेर अरूको सेवामा लीन रहने हुनुपर्दछ भन्ने नै हो । वैवाहिक सम्बन्धलाई निर्वाह गर्न हरेक नारी पात्रले बडो कठोर तपस्या गर्नुपरेको हुन्छ । सामना नगर्नेलाई शारीरिक, मानसिक प्रताडनाका साथै घोर पापको डर देखाइएको हुन्छ । आज पनि नेपाली हिन्दु समाजका विवाहित महिलाले सधैँ त्याग, स्याहारसुसार, विवाह र त्यससँग जोडिएर आउने प्रत्येक नातालाई निर्वाह गर्न कठोरभन्दा कठोर परिस्थितिको सामना गर्नुपर्ने, आफ्नो व्यक्तिगत जीवनको परवाह गर्नु नहुने, भक्तिभावयुक्त, आदर्शयुक्त महिलाको अपेक्षा गरेको छ । त्यही मनोविज्ञानलाई बलियो बनाउने सामाजिक र धार्मिक नियमहरू प्रतिपादन गरेको छ ।

पुरुषको हकमा वैवाहिक सम्बन्ध निर्वाह गर्ने माध्यम हो । पुरुषले वंश परम्परालाई र स्वयंं आपूmलाई केन्द्रमा राखेर कर्म गर्नुपर्ने मनोविज्ञान तयार पारेको छ । धार्मिक कथामा उल्लेख गरिएका सबै कुरा सत्य मान्नु हिन्दु नारीहरू आफ्नो धर्म ठान्छन् । स्वस्थानी कथाकी एक मुख्य पात्र सतीदेवीलाई आदिशक्ति दुर्गादेवी मानिन्छ र आराधना गरिन्छ । विष्णुले आफूले बिहे गर्ने भनेर मागेकी उनै सतीदेवीलाई छल गरेर महादेवसँग विवाह गराइदिन्छन् । सतीदेवीको यही विवाह प्रसङ्गलाई कथामा अतिरञ्जित तरिकाले बुनिएको छ । सतीदेवीमार्फत यस व्रतकथामा रोगी र वृद्धसँग बिहेपश्चात् रित्तो झुपडीमा लगातार चार दिनसम्म आफू निदाउने र निद्राबाट उठेपछि तथानामको गाली गर्दा पनि हँसिलो मुहार लगाएर मुस्कुराउनुपर्ने विडम्बना पक्कै पनि टिठलाग्दो छ । आफ्नो कोसँग विवाह भयो, विवाहपश्चात् कहाँ जाने हो भन्ने कुराको समेत थाहा नभई बिलखबन्दमा पर्ने अवस्था सतीदेवीको छ स्वस्थानी व्रतकथामा । त्यतिले मात्र नपुगेर हामी महिलाले पाइलापाइलामा कडाभन्दा कडा परीक्षाको सामना गर्नुपर्ने सबै परीक्षामा सफल हुनैपर्ने सन्देश दिइएको पाइन्छ हाम्रा धार्मिक पुस्तकहरूमा । नारीलाई न्यूनतम मानवीय संवेदनाको पनि आवश्यकता रहेको देखिँदैन यस्ता कथाहरूमा । बाल्यकालबाट नै नारीलाई पूर्वजन्मको त्रास देखाइएको हुन्छ ।

स्वस्थानी कथाकै एक अर्को प्रसङ्गमा सात वर्षकी अबोध बालिका गोमालाई सत्तरी वर्षको बूढो शिव शर्मासँग विवाह गरिदिएको छ । एक अबोध बालिकालाई अनमेल विवाह गराइदिएर भाग्यलाई दोष लगाई शिव शर्माप्रति पतिभक्तिका साथ रहेको देखाइएको छ । समग्रमा सन्तान भनेको नै छोरा हो, छोरी होइन भन्ने कुरालाई जोड दिँदै छोरी नै जन्मिए पनि या पूर्व जुनीको कुनै श्रापको भागिदार बनाउन वा कुनै निहित उद्देश्यका लागि जन्माइन्छ । धार्मिक कथाका अधिकांश छोरीहरू आमाको कोखबाट जन्माइएको छैन । उदाहरणका लागि स्वस्थानीकी गोमा गोबरबाट, रामायणकी सीता जमिनबाट, महाभारतकी द्रौपदी आगोबाट उत्पत्ति भएका हुन्छन् । तर सबैजसो कथामा चरम यातना, चरम अपमान, चरम आदर्शका कुरा, सधैँ महिलाले नै सहनुपर्ने कुरा देखाइएको छ ।

कर्म, भाग्य र धर्मको आडमा पुरुषहरूले नारीहरूमाथि शासन गर्छन् । कथाहरूमा जति ठूलो अन्याय अत्याचार गर्दा पनि पुरुष पात्रलाई पाप नलाग्ने, सानो घटनाले पनि ठूलो सजायको भागिदार महिला मात्र हुनुपर्ने छ । मानसिक तथा शारीरिक यातनाको चरम रूप देखाइन्छ । विष्णुले वृन्दालाई छल गरेर सतित्व लुट्छन् तर पनि यसको सजाय विष्णुले भोग्न नपर्ने, वृन्दाले भोग्नुपरेको छ । एकातिर स्वस्थानी देवीलाई आदिशक्ति भनिएको छ । ती देवी पनि महिला नै हुन् तर सतीदेवी, गोमा, वृन्दा, चन्द्रावती, सतीनागिनीले खेपेको चरम दुःख र यातनालाई खुशीसाथ स्वीकार्नुपर्ने, नस्वीकारे अर्काे जुनीमा भए पनि भोग्नुपर्ने, पाप पखाल्न व्रत लिनुपर्ने पाठ पढाइएको छ । उदाहरणका लागि स्त्री जातिले आफ्ना पुरुषलाई रिस गरे अर्को जुनीमा टेढी हुन्छे, पुरुषको वचन नमाने पक्षाघाती हुन्छे, पुरुषसित मुखलागे लाटी हुन्छे, पुरुषदेखि लुकाई खाए कुकुर्नी हुन्छे, पुरुषसँग द्रोह गरे गोही हुन्छे’ भनेर लेखिएको स्वस्थानी व्रतकथा आज पनि हाम्रा हिन्दु नारीले एक महिनासम्म पढ्छन् । आज पनि यिनै कथा हामी नारीका ज्ञान र बुद्धिका स्रोत बनेका छन् ।

यी कथा हेर्दा सामान्य लाग्ने तर अत्यन्त त्रासपूर्ण रूपमा कमलो नारी मनलाई कमजोर पार्ने खालका हुन्छन् । उदाहरणका लागि प्रसादको रूपमा पकाएको आठ रोटी छोरा भए छोरालाई दिनु छोरा नभए मीत छोरालाई दिनु, मीत छोरा पनि नभए गङ्गामा बगाइदिने उपदेशले मीत छोरालाई सन्तानका रूपमा मानिएको छ तर आफ्नै छोरीलाई सन्तानको रूपमा मानिएको छैन ।

महिलालाई पौराणिक कालमा विभिन्न आलङ्कारिक शब्दहरू प्रयोग गरेर फुक्र्याई पुरुषहरूले सधैँ साधनका रूपमा उपयोग गरिएको पाइन्छ भने आजको एक्काइसौँ शताब्दीमा पनि महिलालाई पुरुषप्रधान समाजले ज्यूँकात्यँु पीडा दिएको छ । घरमा आएका पाहुनालाई सेवा सत्कार गर्ने, खेतीपाती गर्ने, घर परिवारलाई खाना पकाउने, लुगा धुने, घरमा कोही बिरामी भए उसको हेरविचार गर्ने, बच्चाको समग्र रेखदेख गर्नेे, घर सफा गर्ने, बजारबाट किनमेल गरी ल्याउने, घरमा पशुवस्तु भए रेखदेख गर्ने आदि सम्पूर्ण काम, प्रत्येक महिलाले भ्याईनभ्याई गरिरहेका हुन्छन् ।

हाम्रो समाजमा कामको परिभाषा वैज्ञानिक वा प्रायोगिकभन्दा बढी आर्थिक छ । अहिले विश्व अर्थव्यवस्था पुँजीवादी व्यवस्था भएकाले यहाँ हरेक वस्तुको आर्थिक मूल्याङ्कन हुन्छ । तर यस्तो मोलमोलाइको युगमा पनि लैङ्गिक दासत्वको एउटा यस्तो परम्परा जीवित छ जहाँ आज पनि आधा धर्ती ओगट्ने महिला बिना कुनै पारिश्रमिक, बिना कुनै मूल्याङ्कन आया, माली, धोबी आदिको भूमिका निर्वाह गरिरहेका छन् ।

लैङ्गिक विभेदको उदाहरण दिनुपर्दा विश्वलाई नै लैङ्गिक समानता, प्रजातन्त्र आदिको पाठ पढाउने अमेरिकाको न्युयोर्क सहरको एउटा कपडा मिलमा सन् १८५७ मा महिलाले पुरुष सरहको काम गरेमा पुरुषसरहको नै ज्याला पाउनुपर्दछ भन्दै विश्वमा पहिलोपटक महिला सङ्गठित भएर आन्दोलन गरेको इतिहास छ । यसैको निरन्तरतामा सोही मिलमा सन् १८६० को मार्च ८ मा पहिलो महिला सम्मेलन भयो । सन् १८९७ मार्च ८ कै दिन अमेरिकाको सिकागोमा १० घण्टाभन्दा बढी कामको विरोधमा जुलुस, आमसभा र हडताल भएको थियो । अहिले अमेरिकामा काम गर्ने एउटी महिलाले सोही पदको पुरुषभन्दा ३० प्रतिशत कम अर्थात ७० प्रतिशत मात्र पारिश्रमिक पाउँछन् किनकि महिलाले घरायसी वा उनीहरूको शारीरिक कारणले पुरुषभन्दा कम काम गर्दछिन् । त्यसै भएर उनीहरूलाई कम तलब दिइनुपर्दछ भन्ने पुँजीवादी मान्यता छ ।

हाम्रो संविधानमा लैङ्गिक भेदभाव गरिनेछैन भनेर स्पष्ट लेखिए पनि व्यवहारमा लागू भएको देखिँदैन । आमाको नामबाट नागरिकता दिने नियम धेरै पहिले बनेको हो तर सो पनि व्यवहारमा लागू भएको छैन । अहिले आएर पैतृक सम्पत्तिमा समान अधिकार भनिएको छ यसको व्यावहारिकता हेर्नै बाँकी छ । यस्ता हजारौं उदाहरण छन् जसबाट प्रमाणित हुन्छ कि विश्वका विकसित, अविकसित वा सबैखाले देश, धर्म, परिवेश आदिमा नारी जातिको व्यथा एउटै छ, कथा मात्र अनेक हुन सक्छन् । तसर्थ समाजलाई सभ्य, सुखी र सुसंस्कृत बनाउनका लागि नारी पनि पुरुष जत्तिकै सबल र सक्षम छन् महिला र पुरुषमा कतै केही भेदभाव छैन भन्ने भनाइ र गराइलाई व्यावहारिक रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।

-लेखक डा.राधिका बुढ्थापा महिलासम्बन्धी क्षेत्रमा सक्रिय हुन् । गोरखापत्र 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर