tealaya add

happy fathers

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् ।

वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानीक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो ।

आज औंशी अर्थात चन्द्रबिनाको चूक झै अँध्यारो रात, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । हिन्दूधर्मको दैनिकी र संस्कारहरु अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननि हुन् । आधूनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि अहिले सनातन संस्कार र व्यबहारीक पक्षलाई घनीभूत आत्मसाथ गर्न थालेका छन् ।

kusएउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।

अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन ।

कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुवाको हात समातेर तोती बोली बोल्दै लरवरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौं र त्यसरी ताते ताते गरेर हिंड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको बलियो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं होला ! जे होस आमा बुवानै यस जगतका देख्न सकिने भगवानहरु हुन । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौँ ।

"यी छोराछोरी बढ्लान, कमाई गर्लान, दूधभात देलान मलाई" भनेर हरेक आमाबावुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन, सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान, माया गरेर राख्लान भन्ने आशा हुन्छ । एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुवा-आमा बन्ने अभ्यासमैं बित्छ, कर्तब्यको यो जीवन स्वरुपमा बुवा-आमाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लूगामै पनि दिशापिशाब गरिदिन्छ र ति सबै फोहोरहरुलाई सफा गर्दै बुवा-आमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदम्मै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।

कुशै औंशीका दिन पिताको भौतिक उपस्थिती हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्दछन भने भौतिक रूपमा अस्त भइसकेका पिताहरुलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहाक्षेत्र लगाएयका पवित्र तिर्थस्थल पुगेर स्थान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्दछन् ।

हरेक धर्ममा आ-आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौं, हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ, ति सपना र सम्भावनाका प्रदायक, जीवनश्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृती ।

बढ्दो आधुनिकतासंगै बुवा आमाहरुलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को फर्को मान्ने चलनहरु बढेर गइरहेको छ तर बुवालाई हेलागर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन, हामी पनि एकदिन वूवा या आमा हुन्छौं तसर्थ हामीले जे गर्छाैं त्यहीनै आफ्ना भावी सन्ततीबाट पछि प्राप्त गर्दछौं, आउँदा पुस्ताहरुमा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पुरा गर्नुपर्ने महत्व र आवश्यक्ता झन बढ्दैगएको छ ।

बुवाको माया गर्न धर्मले पक्कै बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन, हिउँको कठ्यांग्रीदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा हुरि बतासमा हुनुहुन्छ, मरुभुमीको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरुसँग पैंठेजोरी खेल्दैहुनुहुन्छ, जन्म दिने बुवालाई एकफेर खुशीसाथ स्मरण गरौं, वहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाई जानकारी दिउँ र एकफेर वाल्यकालका यादहरु सम्झेर मुस्काऔं न, हुँदैन र र?

सामाजिकिकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुवाआमा बन्न सकौं, सबैलाई शुभेच्छा ।

मोतीराम जन्मजयन्ती

moti

कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कती मर्न लागे कती डर्न लागे

कुशे औंसी त नेपाली जीनशैलीमा धेरैनै महत्व बोकेको चाड हो । एकार्फ कुश भित्राउने चटारो भनें बुवाको मुख हेर्ने चटारे अर्कोतर्फ रहन्छ । यसै चटारोका बिचमा आजको दिन नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्ट को जन्मजयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौं ।

कुमाउगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशै औंसीका दिन काठमाडौको भोसिको टोलमा उनको जन्म भएको थियो ।

दरबार हाइस्कूलमा गनिएका राणा खान्दानकाबिच शिक्षा लिने अवसर प्राप्त थोरै नेपालीमध्ये मोतिराम ६ बर्षकै कलिलो उमेरमा स-परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्यन गरेको पाइन्छ जसको फलस्वरूप् केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशलतालाई मलजल गर्न र यसको विकासकालागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतूलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवी भानुभक्तसंगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । साहित्यिक अग्रतामात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छः

अचल झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपूको मन थर्कोस् थरथर गरी छण घरीमा
यवन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपालको मुलुक बचि कञ्चन रहि गयो।

आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केहि फुटकर कविताहरु सुनेको मोतीरामले त्यस्पश्चात भानुभत्तका कृतीहरुलाई जनमानसमा उजागरगर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए शायद आज भानुभक्तका सबै कृतीहरु हामीमाझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।

नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारतजीवनुलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भिडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतीहरु मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानकासाथ गरिरहन्छन् । मित्र देवशमशेर जंग बहादुर राणाको अनुरोधमा शारदाुको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीरशमशेरको दरवारमा मञ्चन समेत गरीएको थियो । त्यसपश्चात कहिंकतै शारदाुलाई मञ्चन गरिएको बारे त्यति चर्चा पाइदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरुकालागि हाम्रो पात्रोमाः

कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

नेपाली भाषामा गजलको प्रारम्भ यीनै महान मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामिप्यता पाइन्छ । श्रृंगाररसले भरिएका उनका गजलहरू अत्यन्तै लोभलाग्दा छन्ः

यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।

यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।

वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कैपनि उनका श्रृंगाररसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ ।

विश्व बेपत्ता विरुद्धको दिवस

bt

रसाएका आँखा अनि हातमा आफन्तका तस्बिर, एउटा हाँसेको तस्बिरको रोएको कथा लिएर यूद्ध आन्दोलनमा हराएका आफन्तहरुको अवस्था बुझ्ने लालसामा रहेका व्यक्तिहरु हरेक देश अनि सरकारको दैलोमा उभिएका छन् ।यूद्ध अनि आन्दोलनको चर्को मुल्य चुकाउनुपर्ने हुन्छ अनि बेपत्ता नागरीकको फेरिहीस्तले यिनै मूल्यहरु चुकाउने क्रममा बनेका पुराना घाउहरुको आलो पीडालाई दर्शाउँदछन् । हरेक बर्षको अगस्त ३० तारिखमा विश्वभर संयूक्त राष्ट्रसंघ र एमएनएसटी इन्टरनेशनलले आफ्नो सक्रिय भूमिका जनाउँदै बेपत्ता व्यक्तिहरुको सम्झनामा दिवस मनाउँदछन् ।विश्वले रक्ताम्य ईतिहास बोकेको छ, अहिले ठूलाठूला पूल पूलेसाहरु भएर मेट्रो रेल कुद्ने शहरहरुको सडकमा, खोलामा रगत मिसिएर पानी बगेका छन् । यूरोप, अमेरिका, अष्ट्रेलिया, एसिया सबैतिर कुनै न कुनै समयमा, केही न केही कारणले यूद्ध अनि बिध्वंश मच्चाएकै थियो ।यूद्ध, आन्दोलनमा मानवहरुलाई हतियार अनि औजारको रुपमा प्रयोग गरिन्छ जसले गर्दा यूद्धमा मानवहरुको दर्दका कथाहरु अनि बेपत्ता हुने चरणवद्ध घट्नाहरू एकमाथी अर्को कथागरी उनिदैजान्छ । सैयौं वर्षपछि भेटिने सामूहिक चिहानले हराएका केहि हज्जाराैंको अस्थिपञ्जरहरु भेटाउँदछ भने लाखाैंको अनिश्चित अवस्थाको आशामा केही पुस्ताहरु आँशुका धारासहित आजीवन खोजीमा भौंतारीएका हुन्छन् । यूद्धले आफूसँगै धेरैलाई गाडेको, जलाएको अनि निमिट्यान्न पारेको इतिहास छ र तिनै सूचीमा उल्लेखित नामहरुलाई सम्झना अनि सम्मान गर्दै अधिकारकर्मीहरु आज विश्वभर बेपत्ता व्यक्तिहरु बिरुद्धको दिवस मनाउने गर्दछन् ।

यस दिवसको मुख्य ध्येय भनेको हराएका मान्छेहरुको जानकारी संकलन मात्र गर्ने नभईकन आउँदा दिनहरुमा व्यक्तिहरु यूद्धअपराध या आन्दोलनको क्रममा नहराउन भन्ने जागरण र व्यवस्थाको प्रवर्धन गर्नु पनि हो । नेपालमा पनि त दशक लामो द्वन्दमा धेरैजना बेपत्ता भएका तथा पारिएकाहरूको सूची छ, सके साँस नत्र लास भएपनि हाम्रा आफन्तको देउ भन्दै धेरैजना न्यायको दैलोमा भिजेका आँखासहित बस्नु भएको छ ।

आखिर कहिले पुग्छ त न्याय ती दैलौहरुसम्म ? यो एउटा अनुत्तरित प्रश्न नै छ ।

नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारी आफ्नो हराएको पुत्रको न्यायकालागि अनशन बसि नै रहे, न्यायले बेवास्ता निरन्तर गरीनैरह्यो।

यूद्धको खाटाहरु निको पार्न यूद्धअपराधमा हराएका मान्छेहरुको खोजी र न्यायको बितरण अत्यन्त महत्वपूर्ण हुन्छ । आफ्नो अनशनको ३३औं दिन मृत्यूवरण गरेका हराएका पूत्रका न्यायलयको दैलोमा विश्वासकासाथ उभिएका बूवा नन्दप्रसादलाई नेपालले न्याय दिन नसक्नु पनि आधूनिक यूगको सतीको सराप त साबित हुने हैन ? या यो एउटा अर्को यूद्ध अपराध त होइन ?

अनि कति छन् त नन्दप्रसाद जस्ता बूवा अनि हराएका छोराछोरीहरु ? अनि समबन्धीत निकायको यो मौनता हो या कठिन समयमा वेपत्ता हुने कार्यलाई बढावा दिने सक्रियता ?

आजको दिन शायद नेपालमा फेरि आँट जुटाएर प्रश्न सोधिनेछ । आफन्तको मृत्यू अत्यन्त पीडादायी हुन्छ र त्यो भन्दा पीडादायी हुन्छ उनिहरु यसै हराएर जानु र उनिहरुको हालत र खोजखबर थाहा नहुनु, यही कुरालाई मध्यनजर गर्दै संयूक्त राष्ट्रसंघले सन् २०११ बाट यस दिवसको शुरुवात गरेको हो ।

विश्वभरि यूद्ध, अपराध, आन्दोलन अनि प्राकृतिक बिपत्तिका कारणले लाखौं मान्छेहरु हराएका छन् । आजको दिनले सबैलाई न्याय दिओस् । राज्य कम्तिमा बेपत्ता तथा बेपत्ताका परिवारप्रति जिम्मेवार अभिभावकत्व निभाउन सकोस् । स्मरण रहोस् मान्छेको जीवन जस्तो मूल्यवान कुरा यस धर्तीमा अरु केही पनि छैन्, हराउने क्रम बन्द होस् ।
---
हाम्रो पात्रोकोस सहयाेगमा 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...