annapurna add

BK AASHA

सांसद आशा विकको अत्यासलाग्दो संघर्ष : हरेक मोडको ठक्करले सिकायो राजनीति बिहानैदेखि निरन्तर वर्षा भइरहेको थियो। रोकिने पनि छाँट थिएन। वानेश्वर पुग्दा हल्का भिजियो पनि। यो गर्मीमा चिसो चिसो अनुभूति। संसद भवन नजिकैको एक रेष्टुरेन्टमा कफी पिउँदै गर्दा उनले सुनाइन- ‘मसँगै बसेर चिया खाने मानिसहरुसँग मेरा परिवारका सदस्यहरुको सँगै चिया पिउने हिम्मत समेत छैन। मसँग यहाँ बसेर चिया पिउनेहरु भने जिल्लामा मेरा परिवारसँगै चिया पिउन हिच्किन्छन्।’

उनका कुराले नेपाली समाजको कुरितालाई कोतरिरहेको झै लाग्यो।

‘बझाङका महिलाहरु एकातिर छाउ, अर्कातिर जातीय विभेदमा छन्,' केही सम्झिँदै भनिन्, 'अनि वर्गीय विभेद पनि। तेहोरोमा चपेटामा।’

यो झरीमा कफीसँगै देशको दृश्यलाई शब्दमा प्रकट गरिरहेकी अरु कोही होइनन्, आशा विक।

aasha bk

                                                                                      नाम : आशा विक
                                                                                      पद : सांसद
                                                                                        घर : बझाङ

बझाङबाट समानुपातिक सांसद रहेकी आशा विकका कुरा सुन्दा विभेदको जरो जनस्तरसम्म कसरी गढेको छ प्रस्ट हुन्छ। जातीय विभेद र महिलाका मुद्दामा लामो समयदेखि वकालत गर्दै आएकी विकले यसपटकको भेटमा आफ्नै जीवनका केही पाटाहरु सेयर गरिन्।

‘मध्यम वर्गीय परिवारमा जन्मिएँ। दुई छाक खानका लागि त संघर्ष गर्नु परेन, जति जातीय विभेदसँग गर्नुपर्‍यो,’ उनको बोलीमा एक किसिमको आत्मविश्वास सुनिन्छ।

जातीय विभेद भए पनि मानिसले त्यसलाई विभेदका रुपमा बुझ्न थालेको धेरै भएको छैन। पुस्तैदेखि स्वीकार्दै आएकाले विभेदलाई विभेद देख्न लामो समय कुर्न पर्‍यो।

जातीय विभेदले उनको मन चाहिँ कहिले कुँडियो त?

‘विद्यालयमा विभिन्न कार्यक्रम हुन्थ्यो। सरस्वती पुजा हुन्थ्यो। हामी छुट्टै बस्नुपर्ने। हामीले पूजा पनि गर्न नपाउने। प्रसाद पनि छुट्टै खानुपर्ने,’ चेतनाका लागि शिक्षालयमा पुग्दाका क्षणहरु उनको स्मृतिमा सल्बलाए, ‘साथीहरुसँग खेल्दा खाजा छोइयो भने आफैँले खानुर्थ्यो।'

यस्तैयस्तै घटनाले उनको बाल मस्तिष्कमा गहिरो प्रभाव पार्‍यो। त्यतिबेलैदेखि उनलाई लाग्न थाल्यो - मानिस मानिसबीच विभेद हुनु कसरी राम्रो? प्रश्नले विद्रोहको संकेत गर्छ। उनलाई पनि लागू भयो त्यही कुरा।

रुपन्देहीमा जन्मिएकी आशाले एसएलसी दिँदैगर्दा नै विभेदको प्रतिवाद गरिन्। चेतनशील बनाउने गुरुहरु नै जब उनीसँगै बसेर खाजा खान अन्कनाए, उनलाई चोट पर्‍यो। एसएलसी दिन गुल्मी पुगेकी आशाले त्यहाँ झनै चर्को जातीय विभेदको अनुभव गरिन्।

‘टेस्ट परीक्षा दिएपछि विदाइ कार्यक्रम थियो। कार्यक्रम सकिएपछि खाजा खाने बेलामा मलाई पढाउनुभएको शिक्षक पनि सँगै हुनुहुन्थ्यो,' आशाले भनिन्, 'उहाँले सँगै बसेर खाजा खान आनकानी गर्नुभयो। एक जना शिक्षकले त मलाई नै अर्को बेन्चमा बस्न आग्रह गर्नुभयो।'

त्यतिखेर उनलाई नमीठो गरी चित्त दुख्यो। अनि फेरि उनको मनमा प्रश्न उठ्यो - विद्यालयमा पठाउने शिक्षकले त सँगै बसेर खाजा खान असहज माने भने कस्तो समाजको कल्पना गर्ने?

त्यसपछि उनलाई शिक्षकसँग मात्र होइन, सहपाठी साथीहरुसँग पनि चित्त दुख्यो। एसएलसीको तयारी कक्षा चले पनि विद्यालय गइनन्।

उनले त्यतिखेरको घटना सुनाइरहेकी छिन् जतिखेर माओवादी सशस्त्र द्वन्द्व चर्किएको छ। राज्यले माओवादीलाई आतंकवादी ठहर्‍याएको छ र लगाएको छ - संकटकाल। उनले बजार झरेर एसएलसीको तयारी तीब्र परिन्। विद्यालय नै नगएर विभेदविरुद्ध विद्रोह थियो त्यो।

-----------------------------------------------------

विभेदको कथा यही टुंगिने होइन। वर्षौदेखि जरा गाडेर बसेको कुसंस्कार यति सजिलै हट्थ्यो पनि किन? त्यसैले जातीय विभेदको छायाँले जीवभर खेदिरह्यो उनलाई।

विद्यालयस्तरबाटै जातीय विभेद उन्मूलको नारा लगाउँदै हिँडेकी विक आज सांसद हुँदासम्म हाल उस्तै छ, विभेद व्यापक नै।

‘नेता भनेपछि कोठा पाउन गाह्रो छ। नेता बसेपछि धेरै मान्छे आउछन् भन्ने बुझाई। नेता भनेपछि घरबेटीले 'सरी' भन्छन्,’ उनले सुनाइन्।

'पोलिटिकल्ली एक्स्पोज्ड' भएसँगै धेरैतिर नेताप्रतिको धारणा समान हुने गर्छ - दुरी कामय राख्नु, सकेसम्म ऋण नदिनु। राजनीतिमा एकतिर आशा र अर्कोतिर त्रास सधैं जोडिएकै हुन्छ।

यस्तोखाले पीडा आशाको मात्र होइन, सबै नेतामा लागू हुँदै आएको छ।

तर, आशासामु थप पीडा पार्ने कुरा त अरु नै छन्।

‘दलित भनेपछि कोठा पाउन झनै गाह्रो। ढाँटेर बस्ने कुरा भएन,' उनले भनिन्, 'आफ्नो परिचय त दिनैपर्‍यो। सिधै दलितलाई दिन्न चाहिँ भन्दैनन्। दलित भन्ने थाहा पाएपछि घर सल्लाह गर्नुपर्छ भन्छन्।'

यही थियो कारण काठमाडौंमा कोठा पाउन आशाले ४ महिना लगातार मेहनत गर्नुपर्‍यो।

उनलाई काठमाडौंमा पाँचतले घर बनाएर बसेकाहरुको मानसिकता र चेतना देख्दा आश्चर्य लाग्छ।

प्रश्नको फुर्को जोड्दै सुनाइन्, ‘गाउँका मान्छे चेतनशील भएनन् भनेर किन चित्त दुखाउने?'

-----------------------------------------------

जीवनमा सबैखाले कुरा विरहकामात्र हुन्नन्। त्यही विरहभित्रै पनि रोचक क्षणहरु लुकेका हुन्छन्। आशाको जीवनमा ती लागू नहुने कुरै भएन।

गुल्मीमा इलका वन कार्यालयमा 'अन्डर जब ट्रेनिङ' गर्दै थिइन्। उनलाई बझाङबाट एक्कासी प्रेम प्रस्ताव पो आयो त।

उनी चकित।

बझाङबाट प्रेम प्रस्ताव कसरी आयो? प्रश्न स्वभाविक थियो।

एसएलसीपछि सामुदायिक विकास कार्यकताको तालीम लिँदा उनको एकजना बझाङका साथीसँग भेट भएको थियो।

ती साथीले आफूसँगै काम गर्ने दाइलाई आशाका बारे सुनाएछन्। साथीकै कुराको भरमा उनले आशालाई प्रेमपत्र पठाएछन्।

सँगै पढेका साथीले उनको बारेमा सबै कुरा बताएपछि आशा पनि कन्भिन्सड भइछिन्।

‘मैँले पनि 'रिप्लाई' दिएँ। फोनमा केही पटक कुरा भयो। दुरसंचारमा लाइन लागेर कष्टका साथ फोन गर्नुहुन्थ्यो,' उनले आफ्नो सम्बन्धबारे सुनाइन्, 'त्यतिबेला फोन गर्न त्यति सहज थिएन। त्यसपछि उहाँ मलाई भेट्न दाङमा नै आउनुभयो।'

त्यसको चार पाँच महिनापछि बिहे चाहिँ मागी नै भयो, २०६१ सालमा।

........................................................................

बिहेपछि उनी बझाङ गइन्। बिहेपछिको पहिलो महिनावारी उनका लागि फेरि कष्टको विषय बनेर आयो। एकाएक छाउगोठको बास। माइत हुँदा कहिल्यै छाउगोठ बसेको अनुभव थिएन।

‘छाउगोठमा बस्नुपर्ने भयो। भोक निक्कै लागेको थियो। आखाँबाट आँशु थामिएनन्,' उनले सुनाइन्, 'रुदैँ भात खाएँ - त्यो आँसुका ढिका र भात।'

त्यो क्षण अझै भूल्न सकेकी छैनन् उनले।

भर्खरै घर गएकी नयाँ बुहारी भएकाले छाउँ गोठ बस्दिन भनेर विद्रोह गर्न कसरी सक्नु? उनको त्यो अवस्था देखेर श्रीमानले सदरमुकाम हिँड्न अनुरोध गरे। तर, उनले अस्वीकार गरिन्।

महिनावारीसँग उनका धेरै किस्सा छन् जसले महिलाहरुको अवस्था कति निरीह छ भन्ने व्याख्या गर्छ।

उनी चैनपुरमा एउटा कोठामा बस्थिन्। त्यहाँ उनले पाँच वर्षसम्म महिनावारी नभएको बताइरहिन्।

'महिनावारी भएपछि पानी छुन नपाउने। ट्वाइलेट प्रयोग गर्न नपाइने,' झुटो बोल्नुको कारण सुनाइन्, 'त्यसैले महिनावारी नभएको भन्दै पाँच वर्ष बिताएँ त्यो कोठामा।’

छाउ गोठबाट छुटकार पाउन उनले ९ वर्षको संघर्ष गर्नुपर्‍यो। त्यो छुटकाराले उनीमात्र लाभान्वित भइनन्, परिवारका अरु सदस्यहरु पनि त्यसबाट मुक्त भए।

'अहिले नन्द, देउरनीहरुले छाउगोठ बस्नु परेको छैन। महिनावारी हुँदा घरकै एउटा कोठामा बस्न पाउँछन्। यो सफलता पाउन ९ वर्ष लाग्यो,’ यसो भनिरहँदा उनको अनुहार उज्यालो देखियो।

उनको गृह जिल्लामा छाउप्रथा कायमै छ। त्यसो हुनुमा पुरुषलाई सम्झाउने काम नभएर हो भन्ने उनको बुझाइ छ।

‘हामीले छाउ बस्नु हुँदैन भनेर महिला र किशोरीलाई तालिम दियौँ। तर, पुरुषलाई सचेत गराउनेतर्फ ध्यान दिएनौं। पीडितलाई मात्र सम्झाइयो,' उनको अनुभवले दिएको एउटा महत्वपूर्ण ज्ञान सेयर गरिन्।

------------------------------------------------------------------

उनको बुझाइमा आफूसँगको समस्याको प्रतिवाद गर्नु नै राजनीति हो। अनि यस्तो राजनीतिक यात्रा कहिलेदेखि त?

‘छोरी भएर जन्मिएँ, संघर्ष गर्नुपर्‍यो। त्यहीँ राजनीति भयो। जातीय विभेद, भोगेँ। त्यसको प्रतिवाद गर्नुपर्‍यो। त्यहिँ राजनीति गर्नुपर्‍यो,' हरेक क्षण र मोडले उनलाई राजनीतिमा डोहोर्‍याइरह्यो।

२०६१ सालमा औपचारिक रुपमा तत्कालीन नेकपा एमालेको सदस्य भएर राजनीतिमा जुटिन् उनी। विभिन्न कमिटीमा रहेर महिलाको पक्षमा काम गरिरहिन्।

महिलाहरुमा राजनीतिक चेतना फैलाउन उनको सक्रियता रह्यो। महिला सशक्तिकरणको पाटो सधैं जोडियो। उनको मेहनतको कदर गर्दै पार्टीले आशालाई दलित, महिला, पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद बनायो।

‘संसद बन्छु भन्ने सोचेको थिइन। एक्कासी पाएको पद जस्तो लाग्छ,' उनले भनिन्।

आशालाई कुनै काम नयाँ ढंगबाट काम गर्नुपर्छ भन्ने लाग्छ। पहिलो पटक संसद भवन छिर्दा उनले बझाङको पोशाक लगाएकी थिइन।

संसदको सुरुवाती अनुभव भने सहज थिएन।

‘सुरुमा केही अलमल। नियम कानुन बुझ्नै गाह्रो। बिस्तारै बानी पर्दै गयो,' राजनीतिको पछिल्लो चरणको अनुभवबारे सुनाइन्, 'स्कुलका कार्यक्रममा बोल्न डर लाग्दैनथ्यो। तर, संसदमा बोल्न अलिक असहज भयो।’

विभेदसँगै संघर्ष गरिरहेकी उनी समानुपातिक सांसद हुँदा पनि फराकिलो भेद देख्छिन्।

‘समानुपातिक सांसदलाई विभेद गरिन्छ। कहिलेकाहीँ आत्मग्लानी पनि हुन्छ,' उनको आत्मस्वीकारोक्ति बाहिरियो।

मन्त्रालयमा योजना माग्न जाँदा विभेद हुने अनुभव गरेकी छिन्। आफ्नो ठाउँका लागि बजेट पाउन गाह्रो छ उनीहरुलाई।

'हामी हैसियतको लडाइ गर्दै आएको र्छौँ। जनताको विश्वास जित्न बजेट नपर्दा असजिलो भएको छ,' निराश स्वरमा उनले सुनाइन्, 'जसले गर्दा हाम्रो भन्दा स्थानीय तहका प्रतिनिधिको महत्व धेरै छ।’

नेताप्रति समाजका अरु अंगहरुले पनि नकारात्मक धारणा बनाउने गरेको भोगेकी छिन्। कुराको बिट मार्दै गर्दा उनले सुनाइन् -

‘नेताहरुले कामै नगरेको होइनन्। एक पटक हस्पिटलमा श्रीमानको उपचारका लागि जाँदा डक्टरले सोधे - नेताहरु जस्तो बसेर खानुहुन्छ हो? मेरो श्रीमानको पेट अलिक ठूलै छ। तर, उहाँ नेता होइन।' 

लेखक : कुञ्जरमणि भट्टराई/ पहिलाे पाेष्ट

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर