1478958692 banner ad format

 
 

तेह्रथुम । तमोर नदीको किनारमा बस्दै आएका तेह्रथुम र पाँचथरका माझी समुदायको पुख्र्यौली पेसा सङ्कटमा परेको छ । नदीमा पैदल यात्रीका लागि झोलुङ्गे पुल र सवारीसाधन आवागमनका लागि पक्की पुल निर्माण भएपछि उनीहरूको डुङ्गा चलाउने व्यवसाय ठप्प छ । 

Majhi community

खोलामा माछासमेत पर्याप्त पाइँदैन । माछा मारेर पनि जीविकोपार्जन नहुने भएपछि माझी जीविकोपार्जनका लागि वैकल्पिक बाटो अपनाउन थालेका छन् । यतिबेला मुलुकमा स्थानीय निर्वाचनको रौनक छ । तर माझीलाई त्यसले छोएको छैन । माझीले कतै पनि उम्मेदवारी पनि पाएका छैनन् । 

आफूहरुलाई चुनावले नछोएको छातेढुङ्गाका शिवनारायण माझीले बताए । पुख्र्यौली पेसा मासिएपछि माझीलाई यतिबेला चुनावको भन्दा पनि बिहान–बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता रहेको उनले बताए। 

माछा मार्ने, डुङ्गा चलाउने, डुङ्गा बनाउने, भारी बोक्ने आदि काम गर्दै आएका माझी पुख्र्यौली रुपमा गर्दै आएका ती पेसा मासिँदै जाँदा जीविकोपार्जनमै समस्या हुन थालेको बताउँछन् । पुख्र्यौली पेसा मासिएपछि माझीको दैनिकी असजिलो रुपमा बितिरहेको छ । तमोर नदीको किनारमा रहेका तेह्रथुम र पाँचथरका माझीटार, ढोडेनी, पिनासी, लिम्बुनी पुलघाट, लुम्बुघाट, स्याबरुम्बा, नक्कलेघाटलगायत ठाउँमा बसोबास गर्दै आएका माझी विस्थापित हुन थालेका छन् । 

उनीहरु खेतीपाती र अन्य रोजगारीका लागि बसाइँ सर्न थालेका छन् । यहाँका माझी खोलामा माछा मार्ने, डुङ्गा चलाएर बाटो हिँड्ने मानिसलाई वारिपारि तार्ने, भारी वारिपारि तारिदिने आदि काम गर्दै गुजारा चलाउने गर्थे । 

तमोर नदीको माझीटार घाटमा मोटर चल्ने पुल बनेपछि सडकबाट मानिस आवत जावत र सामान ढुवानी हुन थालेको छ । खोलामा विद्युतीय करेन्ट तथा विषादीको प्रयोग गरी अरूले पनि माछा मार्दा नदीमा माछा नै पाउन छाडेको छ । अहिले कार्यरत सयौँको सङ्ख्यामा रहेका माझी बेरोजगार बनेपछि अन्य पेसा अपनाउन थालेका छन् । बाढी र पहिरोले पनि माछा मारिदिएकाले माछा पाउन छाडेको स्थानीयवासी बताउँछन् । 

पुख्र्यौली पेसा मासिएपछि माझी पनि खेतीपाती, मजदुरी गर्न र परदेशतिर जान थालेका छन् । तमोर किनारमा तेह्रथुम र पाँचथरमा मात्रै गरी कुल करिब ३०० घरधुरी माझी बसोबास गर्दै आएका छन् । धेरैजसो माझी अहिले खेतीपातीमा लागेका छन् । जग्गा नभएका पनि नदी किनारबाट माथिल्लो क्षेत्रमा जग्गा भाडामा लिएर, अधियाँ, कुँदियाँ तथा बन्धकी लिएर खेती गर्न थालेका छन् । पुख्र्यौली पेसा मासिएपछि माझीलाई गुजारा चलाउन अन्य पेसा अपनाउनु परेको छ । 

पुख्र्यौली पेसा मासिएपछि माझीको रोजीरोटी नै खोसिएको छातेढुङ्गाका माझीले बताए । “अहिले खोलामा माछा कम मात्रै पाउँछ, हामीले दिनभरि खोलामै बिताउँदा पनि एक केजी माछा पनि पाउन छाड्यौँ, कमाई पनि ठप्प छ”, उनले भने । 

माछा मार्ने काम ठप्प भएपछि माझी युवा जाल, थकौली र बल्छी थन्क्याएर रोजगारीका लागि देश परदेश जान थालेका छन् । काम गर्नसक्ने युवाले घर छाडेपछि गाउँमा भने केटाकेटी र बूढाबूढी मात्र रहेको पाँचथरको स्याबरुम्बास्थित लुमुघाटकी दिलकुमारी माझीले बताए । “तमोर किनारको बास छ, खेती गरौँ जग्गा जमिन छैन”, दिलकुमारी भन्नुहुन्छ, “दुई छाक टार्ने माछा पनि बाढीले बगाएपछि माझीको बिचल्ली भयो, जसोतसो जिउनै प¥यो, त्यसैले केटाठिटा सबै कमाउन घरबाहिर गएका छन् ।” 

तमोरमा डुङ्गा चलाई गुजारा गर्ने माझीका लागि नक्कले, सिम्रा, पिनासी, माझीटार र लुमुसहित अधिकांश घाटमा पुल बनेपछि चिन्ता थपिएको माझीटारका जसबहादुर माझीले बताउनुभयो । नाउ चल्ने घाटमा पुल, नदी किनारासम्मै मोटरबाटो पनि पुग्न थालेपछि गढतिरमा माछा मार्न जो–कोही पुग्ने गरेका छन् । यसले पनि माझीको पुख्र्यौली पेसा जोखिममा पारेको छ । “आफ्नै खेतीपाती गर्ने जग्गा जमिन छैन”, जसबहादुरले भन्नुभयो, “पुल बनेपछि नाउ थन्क्यायौँ, नदीमा माछा पनि पाउँदैन, अब के गरिखाने हो ? समस्या छ ।” 

यहाँका माझीमध्ये अधिकांशको व्यवसाय माछा मारेर बिक्री गर्नु नै थियो । उनीहरुले मारेका माछामध्ये केही ग्राहक घर–घरमा गएर खरिद गर्थे भने केही माझीले नजिकका बजारमा बिक्री गर्न लाने गरेका थिए । परम्परागत रुपमा नाउ तार्ने र माछा मार्ने पेसा अङ्गाल्ने माझीका दुईवटै पेसा विस्थापित हुँदै गएपछि माझीको अवस्था भने दयनीय बनेको छ । लोप हुने अवस्थामा पुगेका माझीलाई पनि राज्यले उचित शिक्षादीक्षा र समान अवसर दिएर न्याय गर्नुपर्ने स्थानीय जयकुमार माझीले बताए । 

माझीलाई सरकारले अल्पसङ्ख्यकको सूचीमा राखेको छ । अल्पसङ्ख्यक गाउँपालिका वा नगरपालिकाको गाउँ वा नगरसभाको निर्वाचनपछि बन्ने गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा गाउँ वा नगर सभाबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ । 

माझीका दुःखसुख जसले बुझ्छ उसैलाई भोट दिने माझीको तयारी छ । धेरैले पार्टीभन्दा पनि माझीका लागि योगदान गर्ने, गाउँमा विकास ल्याइदिने नेतालाई मतदान गर्ने कुरा गरेका जयबहादुरले बताए ।

प्रकासित मिति

Loading...

 

yummyfood