annapurna add

mardi trekहातले समाउन सकिएला झैँ लाग्ने गरी आँखै अगाडि ठडिएका हिमशृङ्खला । हिउँले छपक्कै छोपेका सेता पहाड, हरिया वनजङ्गल, सुन्दर डाँडाकाँडा र बस्तीहरु हेर्नुको छुट्टै आनन्द । यस्तो अवसर मर्दी हिमाल पदयात्रा गर्नेलाई मात्र प्राप्त हुन्छ ।

एउटै यात्राबाट कुमारी माछापुच्छेसहित मर्दी, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुलीलगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर मिल्ने भएकाले यस पदयात्रामार्गमा बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

विभिन्न सङ्घसंस्था तथा समूहमा मिलेर पदयात्रा गर्नेको सङ्ख्यासमेत अहिले यहाँ उत्तिकै छ । दुई महिनाअघि यहीँ सम्पन्न भएको अल्ट्रा म्याराथनको विश्वकपले समेत यसलाई अन्तरराष्ट्रिय क्षेत्रमा चिनाएको छ । सडक यातायातको अहिलेसम्म पहुँच पुग्न नसकेकाले समेत आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

हालसम्म आरोहण खुला नभएको कुमारी माछापुच्छेसँगैको मर्र्दी हिमालको आधार शिविरसम्म पुग्न सकिने भएकाले यसलाई मर्दी हिमाल पदयात्रा मार्गका रुपमा विकास गरिएको छ । पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छे गाउँपालिकाको घलेल हुँदै कालीमाटी तथा सिदिङसम्म जिपयात्रामार्फत पुग्न सकिन्छ । त्यहाँबाट जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छेकै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना, अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु प्वाइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ । भ्यू प्वाइन्टबाट लस्करै ठडिएका आधा दर्जनभन्दा बढी हिमालसहित पोखरा उपत्यकालगायत क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ । अधिकांश पर्यटक मर्दी हिमाल बेसक्याम्प पुगेर घलेल, क्यानोनिङ हुँदै चिया गाउँका रुपमा परिचित ल्वाङ हुँदै पोखरा फर्कने गर्दछन् ।

पाँच–छ वर्षअघि यस मार्ग गुमनाम जस्तै थियो । पर्यटक देख्नसमेत मुस्किल पर्ने गरेकामा दुई–तीन वर्षयता आएर मुख्य याममा व्यवसायीलाई पर्यटक राख्न भ्याइ नभ्याई हुने गर्दछ भने अन्य समयमा समेत पर्यटकको आउजाउ बाक्लो छ । त्यसमा विदेशीसँगै नेपालीको सङ्ख्या पनि उत्तिकै छ । पर्यटक बढेसँगै पहिल्यै बुकिङ गरेर आउनेले बाहेक अन्यले मुख्य याममा पर्याप्त पूर्वाधार अभावमा दुःखसमेत पाउने गरेका छन् । पदयात्रामार्गको माछापुच्छे गाउँपालिका–८ कालीमाटीमा पाँच वर्षअघिदेखि मर्दी हिमाल इको भिलेज सञ्चालन गर्दै पदयात्रा व्यवस्थापन समितिमा आबद्ध शिवप्रसाद भण्डारी दुई वर्षयता मुख्य याममा पर्यटकको भीड थामिनसक्ने हुने बताउँछन् ।

पदयात्रामार्गका अन्य स्थानमा समेत नयाँ नयाँ होटल तथा रेष्टुराँ थपिनेक्रममा रहेकाले पर्यटकलाई सहज हुने विश्वास लिइएको छ । छोटो दूरीको पदयात्रा भएकाले समेत किशोरदेखि वृद्धवृद्धासम्मलाई यसले आकर्षित गरेको छ । छोटो अवधिमा नै पूरा गर्न सकिने भएकाले व्यस्त दैनिकी भएकालाई समेत यसले लोभ्याउने गरेको छ । कतिपय पर्यटक जिपमा कालीमाटीसम्म पुगेर हिमशृङ्खलाको दृश्यावलोकन गरी त्यहीँबाट फर्कने गर्दछन् ।

चक्रीय अन्नपूर्ण, घान्द्रुक, घोरेपानीलगायत चर्चित पदयात्रा मार्गमा अहिले सडक पुगेर पदयात्रीलाई असुविधा पुगिरहेको अवस्थामा मर्दी हिमाललाई टे«किङ रुटकै रुपमा विकास गरिनुपर्ने माग पर्यटन व्यवसायीको छ । सन् २०१२ बाट औपचारिक रूपमा शुरू भएको मर्दी हिमालको आधार शिविरसम्मको पदयात्रा पछिल्ला वर्षमा छोटो पदयात्रा गर्न खोज्नेमाझ निकै चर्चित बनेको छ।

पोखराबाट यात्रामा निस्किएको दोस्रो रात बास बस्न पुगिने 'हाई क्याम्प' (३५५०मिटर) बाट मौसम खुलेको दिन माछापुच्छ्रे छ्याङ्ग देखिन्छ। माछापु्च्छ्रेमुनि मर्दी हिमाल देख्न पाइन्छ। पर्यटकीय नगरी पोखराबाट यात्रा गरेको दुई दिनमै पुगिने मर्दी पदमार्ग छोटो दूरीको यात्रा गर्न खोज्नेहरूका लागि सही छनोट हुनसक्छ।

यो पदयात्रामा जानका लागि कास्कीको काँडे अथवा धम्पुससम्म गाडीमा गएर त्यहाँबाट पीतम देउराली भन्ने ठाउँ हुँदै जान सकिन्छ। चैत वैशाखमा लालीगुराँसले ढपक्कै हुने यो भेगमा विभिन्न नौ रङ्गका गुराँस फुल्ने स्थानीय होटल व्यवसायीहरू बताउँछन्। पदयात्राको लगभग आधा बाटो काटेपछि आउने बादलडाँडाबाट अन्नपूर्ण, माछापुच्छ्रे, गङ्गापूर्ण, हिमचुलीलगायत १४ वटा विभिन्न हिमाल पनि देखिन्छन्।

पदयात्रा शुरू गरिने ठाउँदेखि नै यो मार्गमा वसन्त ऋतुमा गुराँसलगायत विभिन्न थरीका फूलहरू फूलेको देख्न पाइन्छ। ढकमक्क फुलेका फूलको सौन्दर्य र चराचुरूङ्गीको कलरवले वातारण अति मोदक हुन्छ। यात्रा शुरू गर्दा खासगरी यो समयमा पहिला गुलाबी गुराँस देखिए पनि उकालो चढ्दै जाँदा गाढा रङ्गको लालीगुराँस पाइन्छ।

अन्नपूर्ण पदयात्राका अन्य धेरैजसो मार्गमा मोटरबाटोको सुविधा पुगिसकेकाले गाडी बाटोले नछोएको यो क्षेत्र हेर्न चाहने स्वदेशी तथा विदेशी पदयात्रीहरू यो यात्रामा निस्कन रुचाउँछन्। ४५,०० मिटरमा रहेको मर्दी आधार शिविरमा पुग्न यो मौसममा कठिन हुने हुँदा अनुभवी यात्रुबाहेक अरूलाई ४२,०० मिटरमा रहेको भ्यूपोइन्ट अथवा हाईपोइन्ट (३५५० मिटर) सम्मको यात्रा उपयुक्त हुन्छ।

साँघुरो र भिरालो बाटो हुँदै मर्दी आधार शिविरसम्म पुग्न बाटो निकै अप्ठेरो र गाह्रो भए पनि त्यहाँ पुगेपछि आँखैअगाडि ठोक्किन आइपुग्ने हिमालहरूले भने थकाइ मेटाइदिन्छन्। यात्रामा निस्किएको तेस्रो बिहान नै हिमालनजिकै पुग्न चाहने यात्रुका लागि यो पदयात्रा एउटा 'सचेत छनोट' हुनसक्छ।

यात्राको पहिलो रात धेरै जसोले बास बस्नका लागि लो क्याम्प (२९७० मिटर) रोज्छन्। लो क्याम्पबाट सबैभन्दा ठूलो माछापुच्छ्रे छ्याङ्ग देखिन्छ। यहाँबाट हाई क्याम्पसम्म बाटोमा भेटिने सबै होटलहरूमा सस्तोमा बास बस्न पाइन्छ। स्वदेशी र विदेशी दुवैका लागि हुने 'मेन्यू' भने त्यसको अनुपातमा महँगो लाग्छ। कास्कीको धम्पुस वा काँडे हुँदै यो यात्रा गर्नेहरूका लागि फर्कँदा भने कास्कीको अन्तिम गाउँका रूपमा चिनिने सिदिङबाट पदयात्रा टुङ्ग्याउँदा छोटो र सहज हुन्छ। सिदिङबाट दुई घन्टामा जीपले पोखरा पुर्‍याइदिन्छ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...