1478958692 banner ad format

 
 

काठमाडौँ - कुनै समय छोरीको विवाह आठ–दस वर्षको उमेरमै भैसक्थ्यो । यातायात, सञ्चार एवं कामको प्रकृतिका कारण चाहेको समयमा माइतीको अनुहार देख्न पाइँदैनथ्यो ।

Nepali Lifestyle teej

बुहारी भैसकेपछि कामको सबै बोझ आफ्नै टाउकोमा उठाउनुपर्ने भएकाले पनि धेरैका लागि माइतीसम्मको यात्रा सहज थिएन । त्यसैले तीज वर्षायामको खेतीपाती सकिएपछि फुर्सदमा माइतीले चेलीलाई बोलाएर मीठो–मसिनो ख्वाउने बहाना हुन्थ्यो । त्यतिबेला तीजमा आफूहरूले वर्षभरि भोगेका दु:ख–पीडा गीतका माध्यमबाट साटासाट गर्ने चलन थियो । 

अहिले समय परिवर्तन भएको छ । तीज भन्नेबित्तिकै माइत जाने, मीठो खाने र सुखदु:खका भाका गाउने कुरा झन्डै एकादेशको कथा हुने अवस्थामा छन् । अहिले तीज गीतको लयमा मात्र परिवर्तन आएको छैन, त्यसका आर्थिक, सामाजिक पाटाहरूमा समेत व्यापक बदलाव आएको छ ।

समाजशास्त्री सुधीर ढकाल तीजमा देखिएको परिवर्तनलाई समय, बजार र महिलाहरूमा देखिएको आत्मनिर्भरतासँग जोडेर हेर्छन् । ‘कुनै पनि चाडपर्व समयसापेक्ष परिमार्जन हुँदै जान्छ अन्यथा त्यसले आफ्नो महत्व समेत गुमाउँछ,’ ढकाल भन्छन्, ‘अहिलेको तीजमा बजारले एकदमै प्रभाव पारेको छ ।

Nepali Lifestyle teej

अहिले यो बजार प्रवद्र्धन गरी नाफा कमाउने अवसर समेत बनेको छ ।’ समाजशास्त्री ढकालका अनुसार अहिले सहरबजारका महिलाहरूको वृत्त फराकिलो भएको छ । ‘एउटै अफिसमा काम गर्नेहरू फरक ढंगले तीज मनाउन थालेका छन्,’ उनी थप्छन् । समाजशास्त्री ढकाल पहिलेको गाउँको तीजलाई मेकानिकल र बदलिएको सहरको तीजलाई अग्र्यानिक तीजका रूपमा अथ्र्याउँछन् । 

आज तीजका गीतमा डिस्कोदेखि गाईजात्रासम्मका कुरा समेटिन थालेका छन् । ‘तीजको रहर आयो बरिलै...’ को ठाउँ ‘कट्टुमा बुट्टा....’ जस्ता गीतले लिन थालेका छन् । युट्युबमा कमेन्टसमेत डिसेबल गरिएको उक्त गीतमा छनोट गरिएका शब्दहरूले नै दर्साउँछ कि तीज कति भड्किलो बन्दै गएको छ । आधुनिकता र सहरी जीवनशैलीको प्रभाव यतिमा मात्र सीमित छैन दरको मेनुमा केएफसीको चिकेनदेखि पिज्जाहटको पिज्जासम्म समावेश हुन थालेको छ । आधुनिक संगीत र खानपिनसँगै जोडिन आइपुग्छन् नृत्य, सौन्दर्य प्रसाधन, गरगहना अनि लत्ताकपडा । अझ पछिल्ला वर्षहरूमा पार्टी कल्चर र गेटदुगेदरका नयाँ–नयाँ शैलीले बजार पिटेका छन् । तीजमा खानपिन, लत्ताकपडा, गरगहना, पार्टी, गेट टुगेदर सबै आधुनिक अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम सावित हुन थालेका छन् । 

Nepali Lifestyle teej1

तीजको सांगीतिक बजार यति ठूलो भैसकेको छ कि त्यसको हिसाब अब करोडमा गर्नुपर्ने भएको छ । यस पटकको तीजको पूर्वसन्ध्यामा ३ सयभन्दा बढी तीज गीतका म्युजिक भिडियो सार्वजनिक भए । एउटा म्युजिक भिडियोको अनुमानित सरदर १ लाख रुपैयाँ लागत राखेर हिसाब निकाल्दा पनि झन्डै ३ करोड रुपैयाँ तीजका म्युजिक भिडियो निर्माणमा मात्र खर्च भएको पाइन्छ ।

अझ प्रियंका कार्की, केकी अधिकारी, नीता ढुंगाना, वर्षा राउतजस्ता कलाकारलाई अभिनय गराउने हो भने लागत रकम थप वृद्धि हुन्छ । ‘यस पटकको तीजमा १ देखि साढे ३ लाखसम्मका म्युजिक भिडियो निर्माण भएका छन्,’ चल्तीका एक म्युजिक भिडियो निर्देशक भन्छन् । 

गरगहनाको बजारमा तीजको प्रभाव स्पष्टै पर्ने गरेको छ । नेपालमा कुनै समय सुन किन्न भोट पुग्नुपर्छ भन्ने भनाइ प्रचलित थियो तर, अहिले दैनिक ३० किलो सुनको कारोबार नेपालमै भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य तीजले गरगहनाको व्यापारमा २० प्रतिशतभन्दा बढीले वृद्धि गर्ने बताए ।

shahi binita

शाक्यका अनुसार अन्य समयमा दैनिक २५ किलो सुनको व्यापार हुने नेपाली बजारमा अहिले झन्डै ३० किलोभन्दा बढीको कारोबार भैरहेको छ । ‘अस्ति–अस्ती दैनिक २५ किलोसम्म कारोबार हुन्थ्यो, अहिले ३० प्लस हुन थालेको छ,’ शाक्य भन्छन्, ‘यसमा स्पष्ट रूपमा तीजको प्रभाव देखिन्छ ।’ शाक्यले यस पटकको तीजमा सर्वाधिक महँगो ३ लाखसम्मको गहना बेचेका छन् ।

नेपाल जेम्स एन्ड ज्वेलरी एसोसियसनका सदस्य प्रसुन जलान तिहार र विवाहपछि सबैभन्दा बढी गहना बिक्री हुने मौसम तीज नै भएको दाबी गर्छन्् । ‘तीजमा १० हजारदेखि १० लाखसम्म गहना बिक्री भएका छन्,’ जलान भन्छन् । उनका अनुसार तीजमा नेकलेस र चुरा बढी बिक्री हुन्छन् । 

तीजमा गरगहनासँगै लत्ताकपडाको खरिद–बिक्री पनि राम्रै हुन्छ । यतिबेला सहर–बजारतिर सुन्दर देखिने झकिझकाउ पोसाकमा पार्टी एटेन्ड गर्ने होड चल्छ । तीज आएपछि लेहङ्गा, साडी, कुर्ताजस्ता पहिरनमा दिल खोलेर पैसा खर्चिनेहरूको पनि कमी हुँदैन । आधुनिक युवतीहरू तीजको विशेष मानिने रातो साडी, ब्लाउजमा मात्र सीमित छैनन् ।

उनीहरू हल्का र खुलेका पोसाक बढी रुचाउँछन् । ‘विशेष गरी रातो र हरियो साडी, लेहङ्गा, कुर्ता सुरुवात बढी रुचाइएको पोसाक भएका छन्,’ पुल्चोक थ्रीका फेसन डिजाइनर आस्तिक शेरचन भन्छन्, ‘अरू बेलाभन्दा तीजमा यस्ता पोसाकको माग बढी हुन्छ ।’ आस्तिकले आफैंले डिजाइन गरेर ५ हजारदेखि २ लाख रुपैयाँसम्मका सारी, लेहङ्गा तथा कुर्ता बिक्री गर्ने कुरा बताए । मेसिनले बुट्टा कुँदिएका पोसाक भने हातले बुट्टा कुँदिएका पोसाकभन्दा सस्तो पर्ने उनले बताए । महँगा पोसाकमा हातैले सबै बुट्टा कुँदिएको हुन्छ, जसको मूल्य १ लाख रुपैयाँभन्दा बढी पर्न सक्छ । 

दर खाने समारोह तीजमा रौनक थप्ने अर्को पक्ष हो । विभिन्न समूह तथा कर्पोरेट हाउसहरूले टिकट बिक्री गरेर पार्टी प्यालेस एवं बेंक्वेटहरूमा यस्ता पार्टी गर्छन् । त्यस्ता पार्टीका टिकट ५ सयदेखि ५ हजारसम्ममा बिक्री गरिन्छ । तीज पार्टीहरूमा मासुसहितको खानाका साथै वाइन र मदिरासम्म समावेश गरिएको हुन्छ ।

यस्ता पार्टी थप महँगिनुको कारण त्यहाँ आयोजना हुने संगीत एवं नृत्य आदि हुन् । पार्टीमा डिजे र गायक/गायिका तथा कलाकारहरूलाई निम्त्याएर संगीत एवं नृत्यमार्फत भरपूर मनोरञ्जन गर्ने हो भने शुल्क थप बढ्दै जान्छ । व्यवसायिक समूहहरूले समेत अहिले आफ्ना कर्मचारी तथा ग्राहक महिलाहरूका लागि तीजको उपहार एवं दरको प्रबन्ध गर्न थालेका छन् । बैंक, 
सुन चाँदी पसललगायतका कर्पोरेटहरू हाउसहरू यस मामिलामा अघि देखिन्छन् । 

तीजका अवसरमा आयोजना हुने इभेन्टहरू पनि उत्तिकै मौलाउँदै गएका छन् । यस्ता इभेन्ट सञ्चालन गर्ने आयोजकहरूले तीजलाई नै लक्षित गरी साना–ठूला गरी ३ सयभन्दा बढी इभेन्ट गर्ने जानकारहरूको दाबी छ, जुन इभेन्टमा प्रतिव्यक्ति १ हजारदेखि ३ हजारसम्म शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क इभेन्टमा प्रदान गरिने सेवालाई मध्यनजर गरी थपघट हुनसक्छ । यस्ता इभेन्टमा भेटघाट तथा सामान्य खानपान, ककटेल पार्टीसहित खानपान वा सांगीतिक कार्यक्रमसहित खानपानको व्यवस्था गरिएको हुन्छ । कतिपय इभेन्ट कुनै विशेष उद्देश्यले अर्थ संकलनका लागि समेत सञ्चालन गरिने इभेन्ट म्यानेजर नरहरिप्रेमी बताउँछन् । प्रेमीका अनुसार एउटा इभेन्टमा ५० जनादेखि १५ सय जनासम्मको जमघट हुने गरेको छ । सरदरमा यसलाई हिसाब गर्ने हो भने तीजको एक सातामा १५ करोड बराबरको कारोबार इभेन्टमा मात्र भैरहेको पाइन्छ । 

तीजकै अवसरमा यस पटक मिस एन्ड मिसेज तीज, तीज क्विन, मिसेज तीज क्विन, तीज ट्यान्लेन्ट हन्ट आदि शीर्षकमा १० वटा भन्दा बढी सौन्दर्य प्रतियोगिता सञ्चालन गरिँदै छन् । हरेक वर्ष तीजका अवसरमा हुने यस्ता एउटा प्रतियोगितामा ३ लाखदेखि ५ लाखसम्म खर्च हुन्छ । अझ पुरस्कारको राशि तथा त्यसको आकार आदि पक्ष हेरेर उक्त रकममा वृद्धि हुनसक्छ । यसबाहेक महिलाहरूका संघसंस्था एवं विभिन्न जातीय तथा क्षेत्रीय संस्थाहरूले समेत दर खाने कार्यक्रमको आयोजना गर्छन् । यस क्रममा विभिन्न पार्टीका महिला तथा भ्रातृ संगठनहरूले समेत दर खाने कार्यक्रको आयोजना गरिरहेका हुन्छन् । 

भूकम्पयता भने तीजको तडक–भडकमा केही कमी आएको पाइन्छ । अहिले महिलाहरूले पटलक शैलीमा तीज मनाउन थालेका छन्, जसमा सबैले घरबाट कुनै न कुनै परिकार पकाएर ल्याउँछन् अनि एउटा घरमा भेला हुन्छन् र त्यहीँ रमाइलो गर्छन् । यसअघि दिनैपिच्छे जसो प्रत्येकका घरमा भेला हुने र हरेकले दर ख्वाउनैपर्ने चलन पनि क्रमश: फेरिँदै गएको छ ।

यसमा सानो समूह भेला हुने भएकाले तडकभडक कम हुन्छ । पूर्व नेपाल सुन्दरी उषा खड्गीलाई एक दर्जनभन्दा बढी दरका निमन्त्रणा आएका छन् । ‘म अहिलेसम्म ६/७ वटा दरमा सहभागी भैसके,’ उनले साप्ताहिकसँग भनिन्, ‘अझै यत्तिकै निमन्त्रणामा पुग्न बाँकी छ ।’ 

 एकथरी भने रेस्टुराँ बुक गरेर तीज मनाउँछन् । स–साना झुन्डमा मनले खाएकाहरूलाई लिएर तीज मनाउन रेस्टुराँ पुग्नेहरू त्यहीँ खानपिन एवं नाचगान गर्छन् । अहिले महिनाभर दर खाने, ठूला–ठूला पार्टीहरूको आयोजना गर्ने क्रम भने अघिल्ला वर्षहरूको तुलनामा घटेको पाइन्छ । यसपटक तीजको दरका लागि छोटो समय हुनुलाई पनि यसको कारण मानिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष शाक्य भूकम्पभन्दा अघि रहेको तीजको बुमिङ मार्केटमा पछिल्ला वर्षहरूमा भने केही सुस्तता छाएको कुरामा सहमत छन् । ‘भूकम्पभन्दा अगाडि तीजको जबरजस्त मार्केट थियो,’ शाक्य भन्छन्, ‘भूकम्पयता केही सुस्ताएको छ, तर गत वर्षको तुलनामा यो वर्ष बजारमा तीजको चहलपहल केही बढेको देखिन्छ ।’  -साप्ताहिकबाट 

प्रकासित मिति

Loading...

 

yummyfood