बाग्लुङ । घरमाथिबाट खसेको पहिरोमा परी निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

Baglung landslide Three killed

६८ वर्षीय मणिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीया नन्दकली, बुहारी २२ वर्षीया विन्दु र १८ वर्षीया छोरी गीताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चारैजनाको शव घरभित्र पुरिएको अवस्थामा भेटिएको प्रहरी प्रमुख चन्द्रकुवेर खापुङले जानकारी दिए ।

नन्दकली र विन्दुको शव शुक्रबार बिहान फेला परेपनि मणिमान र गीताको शव भने अपराह्नमात्र पहिरोबाट निकालिएको थियो ।

यस्तै, पहिरोले घर पुरिँदा ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको मृत्यु भएको छ । उनकी श्रीमती र छोरी सकुशल रहेको तथा छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पहिरोमा परी बेपत्ता निसीखोला गाउँपालिका–१ हुल्दीकी ७५ वर्षीया खगिसरा सिँजालीको पनि शव फेलापरेको छ । यससँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

बुर्तिवाङ इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले बेपत्ता सिँजालीको बिहानैदेखि खोजी गरिरहेको थियो ।

भीषण वर्षापछि बिहीबार राति ठाउँठाउँमा गएको पहिरोले धनजनको क्षति पुर्‍याएको हो ।

‘जिल्लाको पश्चिम भेगको थुप्रै ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ’–प्रहरी उपरीक्षक खापुङले भने–‘घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ ।’

कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दासमेत उद्धारमा खटिएको जनाइएको छ ।

गत वर्ष जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको थियो । घटनास्थलमा उद्धार र राहतलाई प्रभावकारी बनाउन इप्रका बुर्तिबाङबाट प्रहरी खटाइएको जनाइएको छ ।

अन्य सामाजिक संघ–संस्था पनि राहतका लागि जाने तयारीमा छन् । निसीखोला–१ का हुल्दी, सल्लाबोट, देउरालीटोल, गाउँखर्क, नुन्थलालगायत ठाउँमा गरी १५० भन्दा बढी घरधुरी पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ ।

उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । जमिन चिरा परेको हुँदा पानी पर्नासाथ पहिरो खस्ने डरले घर छाडेर स्थानीय बासिन्दा सुरक्षित ठाउँतिर गइरहेको इप्रका बुर्तिबाङका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माले जानकारी दिए । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...