काठमाडौँ - आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि परेका मनोनयनमाथि आज जाँचबुझ भई उम्मेदवारको नामावली प्रकाशनको कार्य भइरहेको छ । 

Election Commission

निर्वाचनका लागि यही कात्तिक ५ मा भएको मनोनयन दर्ताको सूची सोही दिन प्रकाशन भइसकेको छ भने ६ गते उम्मेदवारको विरोधको उजुरीका लागि समय निर्धारण गरिएको थियो । 

यो चरणमा प्रत्यक्षतर्फ ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभामा निर्वाचन हुँदैछ । उम्मेदवारी फिर्ताका लागि कात्तिक ८ गतेका लागि तोकिएको छ । फिर्तापछि सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । 

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । लोकतान्त्रिक र वाम गठनबन्धन दुवैबाट पार्टीको निर्णयविपरीत बागी उम्मेदवारी परेकाले फिर्ता गराउन ती गठबन्धनले प्रयास जारी राखेका छन् । 

प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन सोही प्रदेशभित्रको गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्नेछ । समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा उम्मेदवार हुन र त्यस्तो व्यक्तिले मनोनयन गर्न नपाइने कानूनी व्यवस्था छ । एक व्यक्तिले एक पटकमा कुनै एक निर्वाचन क्षेत्रका लागि मात्र उम्मेदवारी दिन सक्नेछ । एकभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएमा त्यस्ता उम्मेदवारको सबै क्षेत्रको उम्मेदवारी बदर हुनेछ । 

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारीमा परेका उजुरीउपर आज छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । 

मंसिर २१ गते दोस्रो चरणमा तराई–मधेश र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति यही कात्तिक १६ गतेका लागि तय गरिएको छ । 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...