annapurna add

Corona virus special coverage banner 1 879x391कोरोना भाइरसको संक्रमण विश्वमा जुन गतिमा फैलिएको छ, यो गति हेर्दा तत्कालै यसबाट छुटकारा पाउने अवस्था देखिएको छैन । एकातर्फ ज्यान गुमाउनेको संख्या बढिरहेको छ भने अर्कोतर्फ यसको औषधि समेत पत्ता लागिसकेको छैन ।

यस्तै, अहिलेसम्म त कोरोना भाइरसका वास्तविक बिरामी संख्यालाई लिएरसमेत प्रश्न उठिरहेको छ । यो सबैका बीच लान्सेन्ट इन्फेक्सन डिजिजमा प्रकाशित एक रिपोर्टले कोरोना भाइरस झनै भयावह बन्ने सङ्केत गरेको छ । जर्मनको ग्योटिङ्गन विश्वविद्यालयका शोधकर्ता क्रिस्टियन बोमर र सेबास्टियन फोलमरले यो अनुसन्धान गरेका हुन् । यो अनुसन्धान रिपोर्टलाई आधार मानेर विश्वका केही पत्रिकाहरूले प्रमुखताका साथ समाचार छापेका छन् । अनुसन्धानमा संलग्न सेबास्टियन फोलमर विकास अर्थशास्त्रका प्राध्यापक हुन् ।

जर्मनीका यी शोधकर्ताका अनुुसार कोरोना भाइरसका बिरामीको जुन तथ्याङ्क बाहिर आएको छ, यसबाट विश्वका देशहरूमा औसतमा ६ प्रतिशत मात्र पत्ता लागेको छ । उनीहरूका अनुसार कोरोना भाइरस संक्रमितको संख्या केही गुणा ज्यादा हुन सक्छ अर्थात् लाखौँ नभएर करोडौँ हुन सक्छ । यो अनुसन्धान पेपर तयार पार्नका लागि शोधकर्ताले कोरोना भाइरस संक्रमणको सुरुवातदेखि अहिलेसम्म भएको मृत्युको तथ्याङ्क जुटाएर विश्लेषण गरेका छन् । यही तथ्याङ्क यो अनुसन्धान रिपोर्टको आधारसमेत बनेको छ, जसमा आधारिक रूपमा संसारमा दर्ता भएका संक्रमणको संख्यालाई यहाँ समीक्षा गरिएको छ ।

यो रिपोर्टको नतिजाका रूपमा प्राध्यापक फोलमरले केही सुझाव पनि दिएका छन् । उनले सरकार र नीति निर्माताले संक्रमितको संख्याका आधारमा योजना बनाउँदा धेरै ध्यान पुर्‍याउनुपर्नेछ । शोधमा सही तथ्याङ्क पत्ता लगाउनका लागि कोरोना संक्रमितको सम्पर्कमा आएका सबै मानिसमा पनि परीक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

यस्तो नगर्ने र भाइरस कुनै व्यक्तिको शरीरमा लामो समयसम्म रह्यो भने त्यसले संसारलाई नयाँ संकटमा लैजान सक्ने पनि उनीहरूको चिन्ता छ । उनीहरूले कोरोना भाइरस संक्रमणको परीक्षणका लागि संसारभरमा प्रयोग भएका सबै परीक्षण किट समान गुणस्तरका नभएका पनि उल्लेख गरेका छन् ।

यस्तै, कोरोना संक्रमित भएकाहरूले आफू संक्रमित भएको ठीक समयमा परीक्षण गर्न पनि पाएका छैनन् । त्यसै कारण संसारभरमा कोरोना भाइरसका जति संक्रमित रहेका छन्, त्यसको सही तथ्याङ्क बाहिर आउन नसकेको उनीहरूको बुझाइ छ । संसारभरमा कोरोना संक्रमण र बाहिर देखिएको तथ्याङ्कबीच ठूलो अन्तर रहेको उनीहरूको दाबी छ । बोमर फोलमरको अनुमानअनुसार ३१ मार्च २०२० सम्ममा वास्तममा जर्मनीमा मात्र ४ लाख ६० हजार मानिस संक्रमित थिए ।

यसै हिसाबले शोधकर्ताहरूले अमेरिकामा संक्रमितको संख्या ३१ मार्चसम्म करोडको हाराहारीमा हुन सक्ने उल्लेख गरेका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबारसम्म विश्वभरमा १६ लाखभन्दा बढी संक्रमित भएका छन् । जर्मनीका अनुसन्धानकर्ता र जोन हप्किन्स विश्वविद्यालयको तथ्याङ्कबीच भने ठूलो अन्तर देखिएको छ । जर्मनीका शोधकर्ताले यो रिपोर्ट तयार पार्दा १० लाखभन्दा केही बढी मात्र संक्रमित थिए ।

सोही समयमा उनीहरूले करोडौँमा कोरोना संक्रमण भएको हुन सक्ने उल्लेख गरेका हुन् । उनीहरूले आफ्नो अनुसन्धानमा अपर्याप्त सुविधा र ढिला गरी भएको परीक्षणका कारण जर्मनीमा भन्दा अन्य युरोपेली देशमा बढी मात्रामा मानिसले ज्यान गुमाएको उनीहरूको दाबी छ ।

शोधमा जर्मनीमा कोरोना भाइरसका अनुमानित संक्रमितको १५.६ प्रतिशत आधिकारिक रूपमा दर्ता भएको उल्लेख गरिएको छ । इटालीमा यो संख्या ३.५ प्रतिशत र स्पेनमा १.७ प्रतिशत तथा अमेरिकामा १.६ प्रतिशत, बेलायतमा १.२ प्रतिशत मात्र आधिकारिक रूपमा दर्ता भएको उनीहरूको दाबी छ ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...