धरान - धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन्। तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ। धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन्।

Dangu Dharan

डेङ्गु ‘भाइरस’ फैलाउने मच्छर खेदाउन उपमहानगरले अल्फा साइफर मेथ्रिन छर्ने काम गरेको थियो। तर स्थलगतरूपमै डेङ्गुको सङ्क्रमित खोज्ने, भाइरस सर्नुको कारणसँगै नियन्त्रणको उपाय, जनचेतना फैलाउने तथा थप अनुसन्धान आवश्यक भएकाले स्थलगतरूपमै अध्ययन शुरु गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक डा गौरीशङ्कर साहले जानकारी दिए।

डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको छ। प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एसोसिएट प्रोफेसर डा विजयकुमार खनाल संयोजक, सहसंयोजक धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबाबु यादव, प्रतिष्ठानका डा प्रज्वल प्याकुरेल, डा सोनाइ चौधरी, डा लोकबहादुर श्रेष्ठ, डा जितेन्द्र ठाकुर, डा रोशन क्षेत्री, जितेन्द्र यादव, प्रतिष्ठानको सामान्य प्रशासन विभागका  अधिकृत महेश्वर राई र स्वयंसेविकालगायतको टिमले धरानमा फैलिएको डेङ्गुबारे अध्ययन गरिरहेको छ। 

धरान–१५ बाझगरा क्षेत्रमा सबैभन्दा बढी ४१ मा र धरान १३, ९, ८ वडामा बढी बिरामी देखिएका छन्। विपी प्रतिष्ठानको आवास क्षेत्रमा पनि दुई जनामा डेङ्गु सङ्क्रमण देखिएको ¥यापिड रेस्पोन्स टिमका सदस्य महेश्वर राईले जानकारी दिए।

डेङ्गु भाइरस संक्रमणका लक्षण तथा चिह्नहरु 

डेङ्गु भाइरस संक्रमणपश्चात् कतिपयमा कुनै लक्षण तथा चिह्नहरु नै नदेखिने हुन सक्दछ। लक्षण तथा चिह्न देखिएकामा पनि कसैलाई साधारण ज्वरो मात्र आउने गर्दछ भने कसैलाई रगत नजम्ने जटिलता हुन्छ। कसैको चाहि यस्तो स्थितिमा पुगेर मृत्युसमेत हुने गर्दछ। विश्व स्वास्थ्य संगठनले डेङ्गु संक्रमणलाई विभिन्न तरिकाले विभाजन गरेको छ। साधारण प्रकारको डेङ्गु ज्वरोमा अत्याधिक १०३–४ डिग्री सेन्टिग्रेडसम्म ज्वरो आउने, टाउको दुख्ने, आाखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, छालामा रगत जमेका राता खटिराहरु देखिने गर्दछन्। कसै–कसैमा थप जटिलताहरु उत्पन्न हुन सक्दछन्। जसमा विस्तारै रगतमा रहेका प्लेटलेट्सको संख्या घट्दै जान्छ। प्लेटलेट्स रगत जमाउने महत्वपूर्ण तत्व हो।

अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट आँफै रगत बग्न थाल्दछ जस्तो: नाक, गिजा आदि।पिसाबमा रगत देखिने, रगत बान्ता गर्ने, कालो दिशा हुने ,पिसाबको मात्रा कम हुनु, श्वास फेर्न गाह्रो हुने हुन्छन्। डेङ्गु संक्रमणमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा पहिलो तीन दिन अत्याधिक ज्वरो आउछ।त्यसपछिका चौथो र ५ औ दिन अति नै संवेदनशील दिनहरु हुन्। क्रमश: रक्तचाप घट्ने, शरीरमा रगतको कमी हुने, शरीरका महत्वपूर्ण अंगले काम गर्न छोडेर मानिसको मृत्यु हुन जान्छ, जसमा बिरामीका अंगहरुले काम नगरी मानिसको मृत्यु पनि हुन सक्दछ तर यसपछिका छैठौं देखि दशौं दिन भित्रमा पुन: साधारण जीवन प्रक्रियातर्फ फर्किन थाल्दछ।

डेङ्गुबाट बँच्ने उपायहरु

दिउसो टोक्ने लामखुट्टे एडिज हो। तसर्थ, यसको संक्रमणबाट बच्नु एकदम महत्वपूर्ण छ। थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु जस्तो: गाडीका काम नलाग्ने टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन। गमलाहरुमा रहेका पानीलाई हप्ताको २ पटक परिवर्तन गर्नुपर्दछ। पानीका ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ।

दिउँसो पनि पूरा बाहुला भएका शरीर पूरै ढाक्ने कपडाहरु प्रयोग गर्नुपर्दछ। लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि दल्न सकिन्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलभित्र सुत्नुपर्दछ। उच्च जोखिममा रहेका साना बालबच्चा र दीर्घरोगीले त जुनसुकै बेला झुलको प्रयोग गर्नुपर्दछ। घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ। घरवरिपरि सफा–सुग्घर राख्नु, पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्दछ। डेङ्गुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्दछ।

डेङ्गु बढ्न सक्ने कारणहरु

हिजोआज बढेको अव्यवस्थित शहरीकरण र अव्यवस्थित औद्योगिकीकरण एक मुख्य कारण हो। नेपालमा शहरी इलाकामा पानीको अभाव हुनु तथा फोहोरमैला व्यवस्थापनमा देखिएका कमजोरीहरुले डेङ्गु संक्रमण बढाउदै लैजान सक्ने देखिन्छ। लामखुट्टेले झन्डै ३ किमि क्षेत्रसम्म ओहोरदोहोर गर्न सक्दछ । तसर्थ, डेङ्गु बढ्ने कारणमा मानिसको अत्याधिक भ्रमण र व्यापारको लागि टाढा जाने प्रवृत्ति पनि कारक तत्व नै हुन्। हिजोआज प्लाष्टिकका सामग्रीहरु, टायरको अधिक प्रयोग र प्रयोगपछि त्यसै छोड्ने प्रवृत्तिले गर्दा डेङ्गु संक्रमण बढाएको पाइन्छ। डेङ्गु प्रायश: पानी पर्ने अत्याधिक गर्मी महिनाहरुमा बढी मात्रामा देखिन्छ। हिजोआज बढेको खडेरी तथा ग्रिन हाउस इफेक्टका कारण पृथ्वीको बढ्दो तापक्रमले भविष्यमा डेङ्गु महामारी निम्तिने खतरा छ। सन् २०८५ सम्ममा यही क्रममा बढ्दो जनसंख्या र वातावरणीय तापक्रम वृद्धि हुादै गएमा संसारका करिब ५० प्रतिशत जनसंख्या डेङ्गु संक्रमणको उच्च जोखिममा रहने अनुमान छ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...