1478958692 banner ad format

 
 

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री नियुक्त भएका छन् । योसहित उनी १२औँ पटक मन्त्रिपरिषद्मा पुगेका छन् । लोकतान्त्रिक फोरमलाई गच्छदारसहित ३ मन्त्रालय दिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सरकारमा सहभागी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।  

Democratic Forum Nepal vijaya kumar

 

१५ पुस ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सञ्चार राज्यमन्त्री बनेर सत्ता–यात्रा सुरु गरेका गच्छदार २६ वर्षमा १२ औं पटक मन्त्री बनेका हुन । गच्छदार ४ मंसिर ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा सुनसरी–३ बाट मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वा्चित भएका थिए ।  

सात पटक भौतिक योजना मन्त्री  

दर्जन पटक मन्त्रीको कुर्सीमा बसेका गच्छदारले मन्त्री बन्ने निश्चित भएपछि सर्वप्रथम रोज्ने निर्माण तथा यातायात मन्त्रालय हो । उनले अहिलेसम्म ६ पटक यो मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । तर, तथ्याङ्क हेर्दा मन्त्रालयको नाम भने पटक–पटक फेरिएको छ । उनी पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारमा ०५२ मा मन्त्री बन्दा निर्माण तथा यातायात मन्त्रालय रोजे । त्यसपछि सूर्यबहादुर थापा नेतृत्वको सरकारमा पनि उनलाई त्यही मन्त्रालय दिइयो । थापा नेतृत्वको सरकार ढलेपछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पनि गच्छदारले सो मन्त्रालय छाडेनन् ।  

त्यसपछि मुलुकमा गणतन्त्र स्थापना भएपछि मन्त्रालयको नाम फेरेर भौतिक योजना तथा निर्माण मन्त्रालय बनाइयो । ०६५ मा प्रचण्ड नेतृत्वको सरकारमा सहभागि भएका गच्छदारले त्यही मन्त्रालय रोजे । प्रचण्डले राजिनामा दिएपछि बनेको माधवकुमार नेपाल नेतृत्वको सरकारमा पनि उनी त्यही मन्त्रालयमा मन्त्रीको कुर्सीमा आसिन भए । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा पनि गच्छदारले सोही मन्त्रालय रोजेका थिए ।   यो मन्त्रालय बाहेक गच्छदार एक पटक सञ्चार राज्यमन्त्री, एक पटक पर्यटन तथा नागरिक उड्डयन मन्त्री, दुई पटक जलस्रोत मन्त्री, एक पटक गृहमन्त्री र अहिले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।  

चौथो पटक उपप्रधानमन्त्री  

सोमबार उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हालेसंगै गच्छदार ४ पटक उपप्रधानमन्त्री बनेका छन् । गच्छदार माधवकुमार नेपाल नेतृत्वमा ०६६ मा गठित सरकारमा पहिलो पटक उपप्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी डा. बाबुराम भट्टराई र केपी शर्मा ओली प्रधानमन्त्री बनेको वेला उपप्रधानमन्त्री बने ।  

गणतन्त्र पछि पाँचपटक  

गच्छदार १५ जेठ २०६५ मा नेपालमा गणतन्त्र घोषणा भएपछि निर्माण भएका ७ मध्ये ५ सरकारमा सहभागि भए । ०६४ मा भएको संविधानसभा निर्वाचनबाट गठित संविधानसभाको बैठकले १५ जेठ ०६५ मा नेपाललाई गणतन्त्रान्त्रिक मुलुक घोषणा गरेको थियो । त्यसपछि प्रचण्डको नेतृत्वमा दुई पटक, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, सुशील कोइराला र केपी शर्मा ओलीको नेतृत्वमा गरी ७ सरकार बने । ति मध्ये गच्छदार खनाल र कोइराला नेतृत्वको सरकारमा मात्र सहभागी भएनन ।  

चार पार्टीबाट मन्त्री  

गच्छदार अहिलेसम्म चार पार्टीका नामबाट मन्त्री बनेका छन् । उनी २०५९ सालसम्म नेपाली कांग्रेसका नेताका रुपमा मन्त्री बने । २०६५ मा तत्कालिन एमाओवादी अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मधेसी जनअधिकार फोरमका तर्फबाट मन्त्री बने । २१ वैशाख ०६६ मा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि ११ जेठ ०६६ मा एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री बने ।

नेपाललाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा फोरमभित्र विवाद भयो । त्यही विवादका कारण गच्छदारले पार्टी फोडेर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरी नेपाल नेतृत्वको सरकारमा उपप्रधान तथा भौतिक योजना र निर्माण मन्त्री बने । त्यही पार्टीबाट डा. भट्टराई र ओली नेतृत्वमा पनि मन्त्री बने । अहिले नेपाल लोकतान्त्रिक फोरमको नामबाट मन्त्री बनेका छन् ।  

लोकतान्त्रिक फोरमलाई तीन मन्त्रालय  

प्रचण्ड नेतृत्वको सरकारमा लोकतान्त्रिक फोरमले तीन मन्त्रालय पाएको छ । सो पार्टीका महामन्त्री मिनराज थारुका अनुसार गच्छदारले संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय, जितेन्द्रनारायण देवले सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र डा. गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरु सबैले पद तथा गोपनियताको सपथ लिएर सोमबार नै मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् ।

देव लोकतान्त्रिक फोरमका केन्द्रिय सदस्य हुन भने दहित बरिष्ठ नेता हुन । दहितले केहि समय अघि मात्रै गच्छदार नेतृत्वको पार्टीसंग आफु अध्यक्ष रहेको थरुहट तराई पार्टी नेपाल एकिकरण गरेका थिए । उनलाई पहिलो वरियताको उपप्रधानमन्त्री दिइएको सो पार्टीका महामन्त्री रामजनम चौधरीले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । 

प्रकासित मिति

Loading...

 

yummyfood