annapurna add

 bamdev gautam 840

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहालर माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो ।

विगतमा कम्युनिस्ट पार्टीहरू फुट्दा एकले अर्कालाई लगाउने गरेजस्तै ‘देशी–विदेशी षड्यन्त्र’ को आरोप यस पटक पनि लागिसकेको छ । प्रधानमन्त्री ओलीले यसअघि सार्वजनिक रूपमै आफूलाई हटाउन भारतीय चलखेल भएको र त्यस्तो चलखेल गर्ने आफ्नै पार्टीका नेताहरूसमेत रहेको सार्वजनिक रूपमा भनिसकेका छन् । त्यही पृष्ठभूमिमा नेताहरूबीच चुलिएको तिक्तता विभाजनको दिशातर्फ उन्मुख छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँगको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी र आफूलाई हटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै यो काममा आफ्नै पार्टीका नेताहरू संलग्न रहेको संकेत गरिसकेका छन् । जुनसुकै स्टेप सामना गर्न आफू तयार रहेको जनाउँदै उनले मन्त्रीहरूलाई अबको आफ्नो बाटो पनि स्पष्ट पार्न सुझाएका छन् ।नेकपा विभाजनसम्मको आशंका भइरहेका वेला प्रधानमन्त्री केपी ओलीनिकट नेताहरूले शुक्रबार मध्यरातसम्म करिब सात घन्टा उपाध्यक्ष वामदेव गौतमसँग उनकै निवास भैँसेपाटीमा छलफल गरेका छन् ।

‘डिनर’सहितको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । शुक्रबार बिहान महासचिव विष्णु पौडेलले उपाध्यक्ष गौतमलाई शीतलनिवास लगेर राष्ट्रपतिसँग संवाद गराएका थिए ।

नेता गौतमले यसबारे शनिबार बिहान नेकपा अध्यक्ष प्रचण्डनिवासमा सचिवालयका अन्य पाँच सदस्यलाई जानकारी दिएका छन् । गौतमले आफ्नो निवासमा भएको छलफलबारे प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, मावधकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई भनेका छन्, ‘मलाई भावी अध्यक्ष बन्ने अफर आयो । बहुदलीय जनवादको नेतृत्व गर्ने भनियो । तर, मैले धेरैपटक धोका पाएँ, अब त्यस्तो गल्ती गर्दिनँ भनेर पठाएँ ।’

शुक्रबार साँझ साढे ६ बजेदेखि राति साढे १ बजेसम्मको छलफलमा शुक्रबार प्रचण्डनिवास खुमलटारमा भएको सचिवालयका ६ नेताहरूको छलफलबारे जानकारी लिँदै पोखरेलसहितका नेताहरूले गौतमलाई ओलीको पक्षमा मनाउने कोसिस गरेका थिए । गौतमले सचिवालयका नेताहरूलाई बताएअनुसार ओली समूहका नेताले महाधिवेशनपछि पार्टीको र संसदीय दलको नेतृत्व गर्ने गरी अगाडि बढ्न प्रस्ताव गरेका थिए ।

यसबाहेक ओली समूहका नेताहरूले प्रचण्ड–नेपाल समूहले पार्टी फुटाउन लागेको भन्दै उनीहरूले सकभर पार्टी एकता जोगाउने पक्षमा र यदि विभाजनकै दुर्घटना निम्तिएमा पूर्वएमालेधारको ‘सिनियर’ नेताको हैसियतमा ओलीलाई साथ दिन आग्रह गरेको स्रोतले बतायो । जवाफमा गौतमले दुवैतर्फबाट पार्टी फुटाउने गृहकार्य भएको भन्दै आफूलाई निरन्तर धोका दिएका ओलीको पक्षमा पनि नलाग्ने र प्रचण्ड–नेपाल समूहको नेतृत्वको पार्टीमा नलागी बरु एक्लै भए पनि ‘स्वतन्त्र वामनेता’को हैसियतमा बस्ने जवाफ फर्काएका थिए, गौतमले भने सधैभरि भकुण्डो बन्न नसकिने जवाफ दिएका छन् ।

नेकपाभित्रको शक्तिसंघर्ष झन् उत्तेजक अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी ओलीले राजनीतिक मात्र होइन, संवैधानिक शक्ति प्रयोग गर्ने स्पष्ट सन्देश दिएका छन् । ओलीको सन्देशले मिलनको सम्भावना कमजोर भएको अर्को पक्षको टिप्पणी छ ।

राष्ट्रपति विद्या भण्डारीलाई भेटेलगत्तै प्रधानमन्त्री ओलीले साँझ ७ देखि सवा ८ बजेसम्म मन्त्री र राज्यमन्त्रीलाई बालुवाटार बोलाएर छलफल गरेका थिए । ओलीले आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने षड्यन्त्र भएको भन्दै ‘बाई वर्ड एन्ड बाई स्टेप्स’ (वचन र कर्म)बाट त्यसको सामना गर्ने सन्देश दिएका छन् ।

संसदीय दलमा बहुमत भएको भए ओलीलाई सबैभन्दा सजिलो हुने थियो । किनकि प्रधानमन्त्रीको निर्वाचन पार्टीका कमिटीले होइन, संसदीय दलको बहुमतले गर्ने हो । तर, त्यहाँ पनि बहुमत नभएकाले उनी संसदीय दलतर्फ लागेका छैनन् । पार्टी विभाजन गर्न आवश्यक ४० प्रतिशत भने उनीसँग भएको वा नभएकोमा दुवैतर्फका आ–आफ्ना दाबी छन् । अहिलेको कानुनअनुसार नयाँ दल बनाउन पार्टी केन्द्रीय कमिटी र संसदीय दल दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको समर्थन हुनुपर्ने उल्लेख छ । उनले दुईमध्ये एकमा मात्रै ४० प्रतिशतले पुग्ने अध्यादेश यसअघि पनि ल्याएका थिए ।

मन्त्रीहरूमार्फत प्रधानमन्त्रीले कडा सन्देश दिएका छन्, ‘मेराविरुद्ध षड्यन्त्र भएको छ, म र राष्ट्रपतिका विरुद्ध भएका षड्यन्त्रहरूलाई मैले बाई वर्ड एन्ड बाई स्टेप्स (वचन र कर्म)बाट सामना गर्नुपर्ने हुन पनि सक्छ ।’ शब्दबाट ओलीले आफूविरुद्धका सबै आरोपको सामना गरिरहेका छन् । तर, अहिलेको परिवेशको सामना गर्न उनले लिने संवैधानिक कदम सीमित छन् । स्थायी कमिटीको निर्णय मान्दिनँ भन्दा उनले संसदीय दल वा संसद्को सामना गर्नुपर्ने हो । तर, त्यहाँ उनी अल्पमतमा छन् ।

दुई वर्षअघि राजनीतिक स्थिरता र समृद्धिको नारा लगाउँदै जनमतको बलमा शासन सत्तामा पुगेको नेकपा आफैंले निर्धारण गरेको कार्यभारलाई लत्याउँदै यतिबेर नेताहरूको अविश्वास र कार्यशैलीगत कमजोरीको दोसाँधमा आइपुगेको हो । शनिबार साँझसम्मको नेकपा नेताहरूको पोजिसन एकले अर्कालाई नस्विकार्ने खालको छ । दाहाल–नेपाल समूह कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई दुईमध्ये एउटा पदबाट हटाउन चाहन्छ । ओलीलाई अहिले पनि ठेगान लगाउन सकिएन भने ज्यादती अझै आफूहरूले खेपिरहनुपर्ने सोचाइ उक्त समूहको छ ।

त्यसैले दाहाल–नेपाल समूह कुनै पनि हालतमा आफ्नो पोजिसन नबदल्ने अडानमा छ । यो अडानलाई ओलीले आफूविरुद्धको षड्यन्त्रका रूपमा लिएका छन् । उनले बेलाबेखत राष्ट्रपतिका विषयमा समेत असन्तुष्ट नेताहरूले दिइरहेका अभिव्यक्तिलाई लिएर उनलाई समेत हटाउने षड्यन्त्रका रूपमा बुझेका छन् । ओलीलाई यतिबेला यो सबै काममा भारतीयहरूको हात छ भन्ने ‘भ्रम’ परेको छ । नेपालको नक्सा जारी गरेपछि चिढिएको भारतले सत्ताबाट हटाउन षड्यन्त्र गरेको र त्यसको गोटी दाहाल र नेपाल बनिरहेको ओलीको बुझाइले अहिले नेकपालाई फुटको संघारमा पुर्‍याएको हो । आफ्नो संवैधानिक हैसियत नै भुलेर ओलीलाई साथ दिँदै आएकी भण्डारीले नेकपाभित्र पछिल्लो समय देखिएको किचलोमा पनि उनैलाई काँध थापेकी छिन्।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...