1478958692 banner ad format

 
 

काठमाडौँ - सरकारले सोमबारबाट नयाँ प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गरेको छ । यातायात व्यवस्था विभागले सवारी साधनमा विद्युतीय (इम्बोस्ड) नम्बर प्लेट राख्न सुरु गरेको हो । 

इम्बोस्ड प्रविधिको नम्बर प्लेटको प्रयोग नेपालमै पहिलो पटक हुन थालेको हो । विभागमा भएको उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेट राख्ने कामको शुभारम्भ गरेका हुन् । 

पहिलो चरणमा सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरिएको हो । अमेरिका र बंगलादेशको संयुक्त डेकाटुर टाइगर आइटी कम्पनीलाई ठेक्का दिएर काम थालिएको विभागले जनाएको छ । मिनभवनमा रहेको विभागको कार्यालयबाट मेसिन र उपकरण जोडेर इम्बोस्ड प्लेट छाप्ने काम गरिएको छ । पाँच वर्षमा २५ लाख सवारी साधनमा विद्युतीय नम्बर प्लेट राख्ने विभागको योजना छ । 

इम्बोस्ड नम्बर प्लेट चम्किलो हुने भएकाले टाढैबाट देखिन्छ, यो नम्बर प्लेट भएका सवारी साधन कहाँ के गर्दैछन् भन्ने पहिचान गर्न काठमाडौं उपत्यकाका पाँच नाका र उपत्यका बाहिर पाँच ठाउँमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ केन्द्र स्थापना गरिनेछ ।

काठमाडौं उपत्यकाका थानकोट, फर्पिङ, जगाती, जोरपाटी र नागार्जुन तथा काठमाडौं बाहिर मुख्य सडकमा ५ वटा केन्द्र राखिनेछ । केन्द्रबाट समेत इम्बोस्ड नम्बर प्लेट भएका सवारी साधन कहाँ के गर्दै छन् भन्ने जानकारी लिन सकिन्छ । विद्युतीय नम्बर प्लेट राखेको सवारी साधन दुर्घटना भएमा छिटो पहिचान गरी उद्धार गर्न सकिन्छ । 

अहिलेको नम्बर प्लेट बदलेर इम्बोस्ड प्लेट राख्न छुट्टै दस्तुर तिर्नुपर्ने छ । ठूला चारपांग्रे सवारी साधन लागि तीन हजार ६ सय रुपैयाँ, मझौला चारपांग्रे सवारीका लागि तीन हजार दुई सय रुपैयाँ, ट्याम्पो, रिक्सा लगायत तीनपांग्रे सवारी साधनका लागि दुई हजार ९ सय रुपैयाँ र मोटरसाइकल लगायतका लागि दुई हजार पाँच सय रुपैयाँ  दस्तुर तोकिएको छ । इम्बोस्ड नम्बर प्लेटको आयु १० वर्षको हुनेछ । 

अहिले भैरहेका २३ प्रकारका नम्बर प्लेटलाई ५ प्रकारमा सीमित गर्ने व्यवस्था मिलाएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिनुभयो । इम्बोस्ड नम्बर प्लेट राष्ट्रपति, सरकारी, कुटनीतिक, व्यावसायिक र निजी गरी पाँच प्रकारका हुनेछन् ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राखेपछि सवारी साधन चोरी हुने, कर छली र अपराधका काममा प्रयोग हुने घटना रोकिने विभागका प्रवक्ता पाण्डेले बताए  । इम्बोस्ड प्लेटमा विशेष प्रकारको चिप्सको प्रयोग गरिएकाले स्क्यानिङ गरेर कर तिरे नतिरेको थाहा हुनेछ । 

प्रकासित मिति

Loading...

 

yummyfood