annapurna add

aabc kantipathकोरोना भाइरसका कारण अहिले संसार आतंकित छ। यसले मानिसको रहनसहनमा नै परिवर्तन ल्याइदिएको छ। संसारको अर्थव्यवस्थामा मन्दी छाएको छ। विश्वमा हुने हरेक महत्वपूर्ण घटनामा अगुवाइ गर्ने अमेरिका यसपटक पछाडि परेको छ भने चीनले यसपटक आफूलाइ अब्बल सावित गर्दै अमेरिका तथा युरोपलाई समेत गुन लगाउन भ्याएको छ।

विश्वमा यस्ता महामारी बेला बेला देखिने गरेको छ। यसले विश्व अर्थ व्यवस्था तथा नेतृत्वदायी भूमिकामा पनि परिवर्तन ल्याउने गरेको पाइन्छ।

प्रस्तुत छ- संसारका विभिन्न ५ महामारी जसले एकप्रकारले भन्नुपर्दा संसारको इतिहास नै बदलिदिएको थियो।

१. ब्ल्याक डेथ र पश्चिमी युरोपको उदय
ब्ल्याक डेथ याने कि प्लेगको महामारीका कारण चौधौ शताब्दीमा युरोपको झण्डै एकतिहाइ जनसंख्या स्वाहा भयो। दशौं लाख मानिसको मृत्यु भएको यस महामारीलाई पश्चिमी युरोपका धेरै देशले एउटा अवसरका रुपमा लिए र आफूलाई समृद्धशाली राष्ट्रको रुपमा उभ्याए। धेरै मानिसको मृत्यु भएका कारण कृषिमा काम गर्ने जनशक्तिको अभाव भयो। जमिन्दारी खत्तम भयो। जमिन्दारको कैदबाट कामदार स्वतन्त्र भए। मजदुरको माग बढी भयो। मोलमोलाइ गर्ने क्षमता बढ्यो। मजदुरी गर्ने प्रचलनको शुरुवात भयो। मानविय जनशक्तिको अभाव भएपछि मेशिन तथा औद्योगिकीकरणको शुरुवात भयो। फलस्वरुप पश्चिम युरोपका धेरै देशले आफूलाई शक्तिशाली राष्ट्रको रुपमा उभ्याए।

प्लेग संक्रमणको यो दौरपछि लामो समुद्री यात्राको शुरुवात भएको मानिन्छ। यसअघि यस्तो यात्रा जोखिमपूर्ण र महंगो ठानिन्थ्यो। तर, प्लेगको महामारीले लाखौं मृत्यु आफ्नै आँखाअगाडि देखेकाहरुको लागि अब मृत्यु सामान्य रह्यो। अब उनीहरु नयाँ ठाउँ गएर नयाँ खोजमा उत्प्रेरित हुन थाले। जसले गर्दा अर्थव्यवस्था मजबुत भयो र यहिंबाट साम्राज्यवाद र उपनिवेशवादको शुरुवात भएको मानिन्छ।

समुद्री यात्राको शुरुवातपछि जहाँ-जहाँ उनीहरुले आफ्नो उपनिवेश बनाए त्यहीँको कमाइबाट आर्थिक अवस्था पनि सुदृढ बनाए। नयाँ प्रविधिमा लगानी गरे। नयाँ प्रविधि र मजबुत आर्थिक स्थितिका कारण उनीहरुले आफूलाइ वैभवशाली राष्ट्रको रुपमा उभ्याए। एक प्रकारले भन्नुपर्दा प्लेगले युरोपलाई चुनौती, अवसर र एक प्रकारको नयाँ उर्जा नै प्रदान गर्‍यो भन्दा अत्युक्ति नहोला।

२. बिफर र जलवायु परिवर्तन
पन्ध्रौँ शताब्दीको अन्तमा उपनिवेशवाद विस्तारका क्रममा युरोपियनहरु अमेरिका पुगे। उनीहरु अमेरिका पुगेसँगै धेरै बिमारी पनि सँगै लिएर गए। युनिभर्सिटी अफ लन्डनका वैज्ञानिकहरुको एक अध्ययनका अनुसार त्यसबेला अमेरिकी महाद्विपमा रहेको करीब ६ करोडको जनसंख्या एक शताब्दीमा घटेर साठी लाखमा सीमित हुनपुग्यो। जसको एउटा प्रमुख कारण थियो बिफर। बिफरसँगै, हैजा, मलेरिया र प्लेग पनि यसका अन्यकारण हुन्।

जनसंख्यामा कमीका कारण एउटा ठूलो हिस्सा स्वतः चरण र जंगलमा परिणत भयो। एक अनुमानका अनुसार करीब ५ लाख ६० हजार वर्ग किमि क्षेत्र जंगलमा परिणत भएको थियो। जंगलको वृद्धिसँगै कार्वनडाइअक्साइडमा कमी भई तापक्रममा समेत कमी आएको थियो। यसका कारण संसारको धेरै भागको तापक्रममा कमी आएको अन्टार्टिकामा पाइएको हिउँको नमूनाको अध्ययनबाट पत्ता लागेको थियो।

वैज्ञानिकका अनुसार अमेरिकामा वृद्धि भएको हरियालीसँगै तापक्रममा कमी, धेरै संख्यामा ज्वालमुखीको विस्फोट तथा सूर्यको गतिविधिमा आएको कमीका कारण संसारको तापक्रममा नै कमी हुनपुग्यो। जसलाइ ‘लिटल आइस एज’का रुपले पनि चिनिन्छ। युरोपियनले साम्राज्यवादको विस्तारमा जुन वातावरणीय विनाश गरेका थिए त्यसको फलस्वरुप हुन पुगेको जलवायु परिवर्तनका कारण युरोपले खाद्यान्न अभाव तथा खडेरीको सामना गर्नुपरेको थियो।

३. जण्डिस र अमेरिकाको उदय
फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले हैटीलाई आफ्नो उपनिवेश बनाउनका लागि युद्धमा ठूलो संख्यामा सैनिक पठाए। युद्धको मैदानमा त ती सैनिकले बहादुरी देखाए तर हैटीमा फैलिएको जण्डिसका अगाडि भने उनीहरुको केही चलेन। आप्रवासीका रुपमा गएका उनीहरुले रैथानेले जस्तो जण्डिसको सामना गर्न सकेनन्। एक अनुमानका अनुसार करिब पचास हजार सैनिक, अन्य अधिकारी तथा डाक्टरले जण्डिसका कारण ज्यान गुमाउन पुगे। युद्धका लागि त्यसबेला हैटी गएका फ्रान्सेली सैनिक मध्ये केवल तीन हजार मात्र जिउँदो फर्केका थिए।

जण्डिससँगको यो हार पछि उत्तरी अमेरिकामा विस्तार गर्न खोजेको आफ्नो उपनिवेशलाई फ्रान्सले स्थगित मात्र गरेन, त्यसको दुई वर्ष पछि २१ लाख वर्ग किमि क्यारेबियन भू–भाग अमेरिकी सरकारलाइ बिक्री गर्‍यो। जसलाई लुसियाना पर्चेजको नामले चिनिन्छ। यसपछि अमेरिकाको भौगोलिक सीमा झण्डै दोब्बर भएको थियो। यसले अमेरिकालाई विश्व महाशक्तिको रुपमा उदाउन ठूलो मद्दत गरेको थियो।

४. राइन्डरपेस्ट र अफ्रिकी उपनिवेश
सन् १८८४/८५ मा जर्मनीको राजधानी बर्लिनमा युरोपियन देशको एउटा सम्मेलन भएको थियो। यसमा १४ राष्ट्र सहभागी भएका थिए। विशेषगरी बेलायत, जर्मन, बेल्जियम, पोर्चुगल र इटालीले त्यसबखत अफ्रिकाका कुन कुन देशमा कस्ले उपनिवेश कायम गर्ने भन्ने सहमति भएको थियो।

सन् १८७० को दशकमा अफ्रिकाको करीब १० प्रतिशत भू–भागमा युरोपियन राष्ट्रको उपनिवेश कायम थियो। तर, तीन दशक पछि भने अफ्रिकाको ९० प्रतिशत भू–भाग युरोपको कब्जामा परिसकेको थियो। यसको प्रमुख कारण भनेको १८८८ मा भएको राइन्डरपेष्ट नामक महामारी थियो। यो महामारीले मानिसलाई केही असर नगरे पनि अफ्रिकाका ९० प्रतिशत जनावर सखाप भएको थियो। यसले गर्दा कृषिमा आधारित अफ्रिकी जनताको कृषिको मुख्य हतियार गाई, गोरु सखाप बनायो र भोकमरीको स्थिति पैदा भयो। यो विषम परिस्थितिको फाइदा उठाउँदै करिब ९० प्रतिशत अफ्रिकालाई युरोपले उपनिवेश बनायो।

संयुक्त राष्ट्रसंघको हिस्ट्री अफ अफ्रिकामा अफ्रिकाको उपनिवेशवादको बारेमा, अफ्रिकामा साम्राज्यवादले त्यसबखत शिर उठायो जब अफ्रिकीहरु ठूलो आर्थिक संकटको सामना गरिरहेका थिए, भन्ने उल्लेख गरिएको छ।

५. प्लेग तथा मिंग वंशको पतन
चीनमा मिंग राजवंशले करीब तीन शताब्दीसम्म राज गरे। मिंग वंशले पूर्वी एशियाको ठूलो इलाकामा आफ्नो राजनैतिक तथा साँस्कृतिक प्रभाव समेत राम्रै छोडेका थिए। तर प्लेगका कारण मिंग वंशको पतन भयो।

सन् १६४१ मा उत्तरी चीनमा प्लेगका कारण झण्डै २० देखि ४० प्रतिशत जनसंख्या मृत्युको मुखमा पुगेका थिए। चीनमा उत्तरतिरबाट आएका आक्रमणकारीले यो रोग ल्याएको अनुमान गरिन्छ। यसका कारण शक्तिशाली मिंग राजवंशको अन्त्य भएको थियो ।

प्लेगसँगै संगठित रुपमा त्यहाँ मंचुरियन वंशको उदय भएको थियो। त्यसपछि उनीहरुले चीनमा लामो समय शासन गरे। मिंग वंशको पतन हुनुमा खडेरी तथा भ्रष्टाचार पनि अहं रहेको मानिन्छ। तर पनि प्लेग भने मिंग वंशको पतनको मुख्य कारण बताइन्छ।

निश्चय पनि महामारीलाई राम्रो मान्न सकिंदैन जसले हजारौं निर्दोषको अकारण ज्यान लिने गर्छ। तर, हरेक नकारात्मक कुराको पछाडि केही सकारात्मकता पनि लुकेको हुन्छ भनिन्छ। अहिले विश्वमा देखा परेको कोरोना भाइरसका कारण थुप्रैले ज्यान गुमाएका छन्। अर्थतन्त्रमा नकारात्मक असर परेको छ। तर, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भनेझैं यस पटकको कोरोना महामारीले वैश्विक नेतृत्व तथा अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तनको आशा गर्न सकिन्छ। हामीले अहिले गर्न सक्ने कामना भनेको यति नै हो। विभिन्न स्रोतबाट साभार !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...