1478958692 banner ad format

 
 

काठमाडौँ : मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो। विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए। श्रीमतीलाई पैसा पनि पठाउन थाले।

Foreign Employment Family Vacation

रश्मिका दिनहरु राम्रैसँग बित्दै गए। समय बित्दै जाँदा रश्मिको अर्को केटासँग निकटता बढ्दै गयो। श्रीमान् तीन वर्षपछि खाडीबाट नेपाल फर्किए। विमानस्थलमा रश्मिकोे प्रतीक्षामा बसिरहेका रमेशले थाहा पाए कि त्यही दिन रश्मि अर्कै केटासँग गइन्। रमेशले कमाएको पैसा अनि सम्बन्ध पनि त्यही दिनदेखि सकियो। रमेश एक्ला भए।

वैदेशिक रोजगारका क्रममा पुरुषकै कारण पनि धेरै घरबार उजाडिएका उदाहरण छन्। झापा धरमपुरका मनमाया (नाम परिवर्तन) लिम्बू घरमा आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारमा गइन्। दुई सन्तानकी आमा मनमायाको कमाइबाट परिवार राम्रै चल्दै थियो।

पैसा कमाएर उनले आफ्ना पति मोहनलाई विदेश पठाइन्। पाँच वर्षपछि श्रीमान् फर्के तर साथमा एक महिला थिए। मनमायाका श्रीमानले दिदी भनेर मनमायालाई चिनाए पनि ती महिलाले मोहन आफ्नी पति भएको जानकारी दिइन्। परिवारका लागि खाडीमा गरेको मनमायाको संघर्ष व्यर्थमा गयो।

वैदेशिक रोजगार मात्र परिवार विखण्डनको कारण होइन। अरु पनि धेरै कारण छन्। कामकाजी महिला आफ्नै कार्यालयमा असुरक्षित हुँदा पनि घरबार बिग्रिएको छ। भक्तपुरकी मीरा श्रेष्ठ (नाम परिवर्तन) काठमाडौँको एक प्रसिद्ध संस्थामा सरसफाइको काम गर्थिन्।

दुई सन्तानकी आमा मीरा एकदिन कार्यालय समय सकिएपछि हाकिमबाट बलात्कृत भइन्। गुहार मागे पनि कार्यालयमा सुन्ने कोही थिएन। केही दिनपछि कार्यालयमा हल्ला भयो। कार्यालयबाट हाकिम र मीरा दुवैलाई निकालियो। मीरालाई परिवार र माइती दुवैले तिरस्कार गरे। मीरा मानसिकरुपमा विक्षिप्त भइन्।

पछिल्लो समयमा सामाजिक सञ्जाल खास गरी फेसबुकका कारण पनि धेरैको परिवारमा संकट निम्तिएको छ। काठमाडौँको कपनमा बस्ने कमला गुरुङ (नाम परिवर्तन) को प्रेम गुरुङसँग विवाह भएको एकवर्ष मात्र भएको थियो। कुनै समस्या थिएन। गत महिना कमलाले फेसबुकमा आफ्नो पति अर्कै केटीसँग बसेको फोटो देखिन् तर, वास्ता गरिनन्। 
त्यसको एकहप्तामै प्रेमले प्रेमिकालाई लिएर विवाह गर्न पोखरा गएको खबर आयो।

माथि उल्लिखित सम्बन्धविच्छेदका घटना केही उदाहरण मात्र हुन्। सम्बन्धविच्छेदका कारणमा वैदेशिक रोजगार, अन्तरजातीय विवाह, घरेलु हिंसा, बालविवाह, कुटपिट, देखासिकी, पश्चिमाको प्रभाव, लिभिङ टुगेदर, व्यभिचार र सामाजिक सञ्जाल देखिएका छन्।

अदालती अभ्यासलाई हेर्दा अधिकांश सम्बन्धविच्छेदका मुद्दा घरेलु हिंसासँग जोेडिएर आएको देखिन्छ। पुरुष तथा परिवारद्वारा महिलामाथिको दुव्र्यवहार, शारीरिक हिंसा, मानसिक तनाव, आर्थिक समस्या, हेलाँ, व्यभिचार जस्ता समस्याले उग्र रूप लिएर सम्बन्धविच्छेदसम्म आइपुगेका थुप्रै मुद्दा अदालतमा दर्ता छन्।

सर्वोच्च अदालतको २०७२÷७३ को वार्षिक प्रतिवेदन अनुसार वर्षभर कूल १३ हजार ७४५ वटा सम्बन्ध विच्छेदका घटना भए। त्यसमध्ये सबैभन्दा बढी मुद्दा काठमाडौँ अदालतमा परेको देखिन्छ भने खोटाङ र अर्घाखाँची जिल्लामा यससम्बन्धी कुनै मुद्दा नै परेन। मनाङ, मुस्ताङ र सोलुखुम्बुमा अत्यन्तै नगण्य रुपमा मुद्दा परेका छन्। मनाङमा एक, मुस्ताङमा पाँच र सोलुखुम्बुमा सात उजुरी परेका छन्।

तथ्यांकअनुसार नेपालको खासगरी शहरी क्षेत्रमा बढी मात्रामा सम्बन्धविच्छेदका घटना भएको देखिएको छ। राजधानी काठमाडौँमा सबैभन्दा बढी दुई हजार ४५१, मोरङ ९०८, झापा ८३३, कास्की ६९७, चितवन ५७५ र सुनसरी ५०८ यस्ता घटना भए।

सम्बन्धविच्छेदका मुद्दा धेरैजसो जिल्लामा नै फछ्र्यौट हुने गर्छ। सो आवमा सर्वोच्च अदालतमा ५५ वटा मात्र मुद्दा परेको देखिन्छ।

समाजशास्त्री डा शोभा ढुङ्गानाका अनुसार पति–पत्नीबीचको कमजोर सम्बन्ध नै सम्बन्धविच्छेदको प्रमुख कारण हो। गाउँमा भन्दा शहरमा यो समस्या टड्कारो छ। सामान्य परिवारमा भन्दा सम्पन्न परिवारमा यो समस्या बढी देखिन्छ।

उनी भन्छिन्, विवाहपछि पति र पत्नीको मात्र सम्बन्ध गाँसिएको हुँदैन, बालबच्चासहित संस्कार, संस्कृति, मूल्यमान्यता, दृृष्टिकोण पनि जोडिएको हुन्छ। सम्बन्ध कमजोर हुनेबित्तिकै परिवारमा विखण्डन आउँछ।”

विवाहलाई एक पवित्र बन्धन र परिवार र समाज निर्माणको बलियो आधारमा रूपमा लिइनुपर्ने हो तर यो मान्यतामा र्‍हास आउँदैछ।

अधिवक्ता प्रवीण प्रधान सम्बन्धविच्छेदले पुरुष र महिलालाई भन्दा पनि बच्चाको विचल्ली हुने गरेको र बाबुआमा छुट्टिँदा धेरै बालबच्चामा मानसिक पीडा हुने गरेको बताउछन्।

उनका अनुसार सम्बन्धविच्छेद देखासिकी, आडम्बरीपना, विदेश मोह, पश्चिमा संस्कृतिको अनुसरण र बढी स्वतन्त्रता चाहनाले सम्बन्धविच्छेद बढ्दै गएको छ। यसलाई रोक्न जरुरी छ।

महिलाको हकअधिकारका लागि काम गर्ने सरकारी तथा गैरसरकारी निकायका साथै थुप्रै सङ्घसंस्था स्थापना भएका छन्। पहिले भन्दा हिजोआज महिलाका लागि सामाजिक, आर्थिक, कानूनीलगायतका कुरामा धेरै सजिलो भएको छ। स्वतन्त्रता र कानूनी सहायताले पनि सम्बन्धविच्छेदलाई प्रोत्साहन गरेको जस्तो देखिएको छ तर, महिला अधिकारकर्मी यसलाई मान्न तयार छैनन्।

महिला अधिकारकर्मी शर्मिला कार्कीका अनुसार महिला पनि सशक्त हुँदै गएकाले हिंसा सहेर बस्दैनन्। पतिप्रति बढी निर्भर हुन पनि चाहँदैनन्। पहिला महिला घर बाहिर आउन सक्दैनथे, पीडा सहेर बस्थे। अहिले पढेका छन्, आफ्नो खुट्टामा उभिएका छन्। त्यसैले दमन र शोषण सहँदैनन्।

श्रीमानका अंश पाउने भएका कारण पनि महिलाले सम्बन्धविच्छेदलाई बढावा दिएका छन् भन्ने टिप्पणी पनि सुनिन थालेको छ।

अधिकारकर्मी डा रेणू राजभण्डारी भन्छिन्, महिलाले समान अस्तित्व चाहेका छन्। सम्बन्धविच्छेद समाज विकासको लक्षण पनि हो। सम्बन्धविच्छेद हुँदैमा सबै सकिन्छ भन्ने होइन। सहेर बस्ने समयको अन्त्य हुँदैछ।’

समाजशास्त्री डा ढुंगानाका अनुसार सकारात्मक सोच नै समस्या समाधानको उपाय हो जसले परिवारलाई बाँधेर राख्छ। सकारात्मक सोच र विश्वास नै सम्बन्धको बलियो कडी हो। पारिवारिक मनमुटावको अन्तिम उपचार सम्बन्धविच्छेद होइन। 

प्रकासित मिति

Loading...

 

yummyfood