1478958692 banner ad format

 
 

गोरखा। पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी मनाएका छन् । 

Gorkha dashain

विद्यालय तथा गाउँमा सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाइएको हो । यहाँका खासगरी व्राम्हण, नेवार तथा अन्य जातिहरुले पनि २०६९ सालदेखि नियमित बर्षेनी दशैँ आउनुभन्दा करिब एक महिना पहिला नै दशैँको टीका लगाउँदै आएका छन् । 

विभिन्न कारणले तिथिहरु एक महिना अघि सरेको भन्दै पर्व सुधार गर्न भनी यहाँ अभियान चल्दै आएको छ । छोप्राकको सर्वोदय निमावि, जनज्योति निमावि, धर्मावती मावि, मण्डली मावि, भद्रशीला प्रावि, चित्रेपोखरी मावि, गाँखुको नाम्रुकदेवी निमावि, सदरमुकामको बालमन्दिर माविका विद्यार्थी, शिक्षक र अभिभावक सामूहिक रुपमा टीका, जमरा लगाएर हर्षोल्लासका साथ विजयादशमी मनाइएको सर्वोदय निमाविका प्रधानाध्यापक कालिकाप्रसाद पोखरेलले जानकारी दिए । 

सर्वोदयका संस्थापक प्रधानाध्यापक ऋषि पोखरेलले शिक्षक, विद्यार्थी र अभिभावकलाई टीका, जमरा लगाइदिए । शिक्षक भरतराज पोखरेलले दशैँ आउनु एक महिनाअघि नै दशैँ मनाउनुपर्नाका कारणबारे विद्यार्थीलाई जानकारी दिए । दशैँको टीका लगाएपछि शिक्षक, विद्यार्थी, अभिभावक तथा गाउँलेले सामूहिक रुपमा भोज खाएका छन् । कुखुराको मासु र चिउरा तथा मिठाई वितरण गरिएको थियो । 

प्रअ पोखरेलका अनुसार बिहीबार छोप्राकका अधिकांश विद्यालयमा पठनपाठन भएन । विजयादशमी मनाउने काम सकिएपछि विद्यार्थीलाई छुट्टी दिइएको थियो । यस्तै, छोप्राक मैदानको नेवार गुठीका ६५ घरधुरी, फौदरगाउँ, मरहट्टा गाउँ, उदिनढुङ्गा, गाँखु गाउँलगायत गाउँका बासिन्दाले पनि सामूहिक रुपमा टीका, जमरा लगाएर विजयादशमी मनाएको पोखरेलको भनाइ छ । 

उनीहरुले भदौ ६ गते घटस्थापना भन्दै सामूहिक रुपमा जमरा राखेका थिए । पर्व सुधार अभियानलाई छोप्राकका इञ्जिनियर हरिनारायण मल्लले सहयोग गर्दै आएका छन् । टीका, जमरा राख्नदेखि भोजभतेर गर्न अर्थ सहयोग आउने गरेको छ । 

हिन्दू धर्मावलम्बीले मान्ने दशैँ आउन ठीक एक महिना बाँकी छ । त्यो दशैँ पनि उनीहरुले मनाउँछन् । पर्व सुधार भएको दबाब दिन बर्षेनी टीका, जमरा लगाएरै दशैँ मनाउने चलन रहेको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood