annapurna add

काठमाडौं : गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ कोभन्दा २०१९ मा करिब १ हजार ५३२ घटना बढी भएका छन् ।

INSEC

इन्सेकले तयार पारेको अभिलेख अनुसार सन् २०१९ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ६ हजार ६४२ पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विनयराज गौतमले जानकारी दिए । उनका अनुसार गत वर्ष सन् २०१८ मा यस्ता घटनामा ५ हजार ११० पीडित भएका थिए ।

यस वर्ष मानवअधिकार उल्लंघनका घटनामा ६८ महिला र ८६२ पुरुष गरी जम्मा ९३० तथा ज्यादतीका घटनामा ५ हजार ५८ महिला र ६५४ जना पुरुष गरी जम्मा ५ हजार ७१२ पीडित भएका छन् । यस वर्ष प्रहरीको गोली लागी भोजपुरमा २, सप्तरीमा १, सर्लाहीमा २, रुपन्देहीमा १ र कपिलवस्तुमा एक गरी ७ जनाको मृत्यु भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ ।

यस वर्ष यातनाका घटनामा १३, गिरफ्तारीका घटनामा ७०२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ तथा कुटपिटका घटनामा २७९ पीडित भएका अभिलेखमा उल्लेख गरिएको छ । यसैगरी, यस वर्ष विस्थापनका घटनामा आठ र बेपत्ता पारिएको घटनामा २ जना पीडित भएको अभिलेख छ ।
सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३६४ पीडित भएको अभिलेख भयो ।

सो घटनामा गत वर्ष २ हजार ८३४ घटना भएका थिए । अभिलेख अनुसार बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९, घरेलु हिंसाका घटनामा दुई हजार ७९, कथित बोक्सीको आरोपमा ४२, बलात्कारका घटनामा ५३०, बलात्कार प्रयासका घटनामा १४३, यौन दुव्र्यवहारका घटनामा ६३ र बेचबिखन तथा ओसारपसार घटनामा ५१ महिला पीडित भएको जनाइएको छ ।
परिवारजनका सदस्यबाट १२९ महिलाको हत्या भयो । गत वर्ष यो संख्या १२० थियो । इन्सेकका अनुसार भने जति दाइजो नल्याएको आरोपमा १३ महिलाको हत्या भयो भने सोही कारणले ३०० महिला हिंसामा परेको उल्लेख छ । इन्सेकका अनुसार अझै पनि धेरै बालबालिका असुरक्षित छन् । बालश्रम, बालबालिका बेचबिखन तथा ओसारपसार, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चिती जस्ता बालअधिकार हननबाट बालबालिका पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ ।

यस वर्ष बाल अधिकार उल्लंघनका घटनामा १ हजार ४४७ बालबालिका पीडित भएका छन् । उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम छ । धेरै जसो बालविवाहका घटना प्रहरीसम्म आइपुग्दैन । विद्यालयमा दिइने शारीरिक दण्डका घटना अभिलेख भएकोमा सबै जसो घटना मिलापत्रमा टुङ्गिने गरेको उल्लेख गरिएको छ ।

इन्सेकले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने र त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पहल नभएको पाइएको उल्लेख गरेको छ । होत्तरीको जलेश्वर कारागारको कैदीबन्दी क्षमता १३५ रहेकोमा अहिले ५३२ कैदीबन्दी छन् । देशभरका कारागारको क्षमता ११ हजारको हाराहारीमा भए पनि २३ हजार भन्दा बढी कैदी बन्दी छन् ।

क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको संक्रमण जस्ता समस्या देखिएका इन्सेकले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर