annapurna add

भद्रपुर : झापाको दमक नगरपालिका– २ का सुमन विश्वकर्माले १४ चैत ०७५ मा छिमेकी कमल गाउँपालिकाकी राई थरकी एक किशोरीसँग प्रेमविवाह गरे । सुमनको उमेर १७ र किशोरीको उमेर १५ वर्षको थियो । फेसबुकमार्फत चिनजान भएका उनीहरूले दुई महिना प्रेम–सम्बन्धमा रहेपछि विवाह गरेका थिए । तर, बिहे गरेको सातौँ दिन प्रहरी घरमै आएर सुमन र ती किशोरीलाई पक्राउ गरेर लग्यो ।

‘पुलिसले हथकडी लगाएर लग्यो । किन लग्यो हामीले त थाहै पाएनौँ,’ सुमनका बुबा गोपालले भने, ‘पछि त तेरो छोराले बलात्कार गर्‍यो पो भन्छन् !’ विवाह नगरे आत्महत्या गर्ने प्रेमिकाको घुर्कीपछि सुमनले उनलाई भित्र्याएका थिए । तर, प्रेमको बदला उनले जेल सजाय पाए । जिल्ला अदालत झापाले सुमनविरुद्ध जबर्जस्ती करणी मुद्दामा नौ वर्ष जेल सजाय तोकेको छ । उनी अहिले बाल सुधारगृह विराटनगरमा छन् ।

छोरीले कथित तल्लो जातको युवकसँग बिहे गरेपछि उनको परिवारले इलाका प्रहरी कार्यालय दमकमा बलात्कार मुद्दा दर्ता गराएको थियो । प्रहरी र अदालतमा ती किशोरीले सहमतिमै विवाह गरेको बयान दिँदा पनि सुमनले धर पाएनन् । ‘जातकै कारण मेरो छोरोलाई फसाइयो । बिहे गरेर घरमा ल्याएकी बुहारीलाई बलात्कार गर्‍यो भनियो । त्यस्तोमा कसरी बलात्कारको मुद्दा लाग्यो,’ गोपालले भने, ‘बरु, बालविवाह गरेको भन्न मिल्छ, त्यही मुद्दा लगाएको भए ठीकै हो भन्न पनि हुन्थ्यो नि !’

अहिले वेलावेला छोरा भेट्न विराटनगर पुग्छन् गोपाल । ‘जति खर्च लाग्छ यहाँबाट निकाल्नु बुबा, बरु म कमाएर तिर्छु’ भन्दै सुमन रुन्छन् । छोराको रोदनले गोपाल पनि भक्कानिन्छन् । ‘मनमनै भन्छु– दलित भएर जन्मनु नै तेरो पाप रहेछ,’ गोपालले भने, ‘हामी निमुखाको त के नै पो लाग्दोरहेछ र !’ दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्ने गोपाल कानुनको भाषा बुझ्दैनन्, छोरो छुट्ने आसमा कानुन व्यवसायी जे भन्छन् त्यही गर्छन् । मुद्दा–मामिलामा अहिलेसम्म एक लाख सकिसके, तर छोरो छुटेन । ‘खै वकिलले छुट्छ भन्थ्यो । पैसा मात्र लग्यो, तर छोरा छुटेन, अहिले पनि के–के गर्दिन्छु भन्छन् । पैसै मात्र माग्छन्,’ गोपालले भने ।

कानुन व्यवसायीले मात्रै होइन, सुमनविरुद्ध किटानी जाहेरी दिएका किशोरीका बुबाले समेत मुद्दा मिलाइदिने भन्दै गोपालबाट ३५ हजार रुपैयाँ खाए । अदालत र प्रहरीमा कमजोर बयान दिएर मुद्दा कमजोर बनाइदिने उनको प्रतिबद्धता थियो । गोपालले कागज गरेरै रकम दिएका थिए, तर छोरो जेल जानबाट बचेन । पैसा दिँदा गरिएको कागजमा भने छोरी खोज्दा लागेको पैसा बुझेको उल्लेख छ । ‘म मुद्दा मिलाइदिहाल्छु नि भने । होला नि त भनेर ३५ हजार दिएँ । बेकार पैसा मात्र गयो,’ गोपालले भने । पैसा दिएको प्रमाण अहिले पनि गोपालको दराजमा छ ।

अन्तर्जातीय प्रेमलाई विवाहमा परिणत गर्दा सुमनजस्तै दर्जनौँ दलित युवा–युवतीले झुटा मुद्दामा सजाय भोगिरहेका छन्, अधिकांशलाई कथित उपल्लो जातको बोलवाला रहेको समाजले समेत तिरस्कार गर्ने गरेको छ ।

दलित महिला विवाह गर्ने गैरदलित पुरुष घरबाटै लखेटिन्छ । उसले समाजमा बस्ने अधिकार गुमाउँछ । दलित पुरुषले गैरदलित महिला विवाह गर्दा सधैँ कानुनी झमेला भोग्नुपर्छ । महिलाको परिवारले उनीहरूमाथि जबर्जस्ती करणी, अपहरण, मानव बेचबिखनलगायतका मुद्दा चलाइदिन्छन् । कानुनको डण्डाले उनीहरूको भविष्य नै बर्बाद बनाइदिन्छ । यस्तै झमेला भोग्ने अर्का किशोर हुन्– पाँचथरको फिदिम नगरपालिका– ५ का १६ वर्षीय गोपाल शंकर ९विक० ।

गोपाल र उनकै छिमेकी १६ वर्षीया सापकोटा थरकी किशोरीले ०७५ चैतमा अन्तर्जातीय प्रेमविवाह गरे । एउटै विद्यालयमा पढ्ने उनीहरूबीच कक्षा–८ देखि नै प्रेम–सम्बन्ध थियो । पूर्वयोजनाअनुसार नै उनीहरूले एसइई सकेर घरबाट भागेर विवाह गरेका थिए ।

कथित माथिल्लो जातको माइती पक्षबाट जोगिन उनीहरू इलाम आएर बसेका थिए । तर, यो कुरा धेरै दिन लुक्न सकेन । युवतीको परिवारका मान्छे उनीहरू बसेकै ठाउँमा आइपुगे । गोपाललाई प्रहरीको जिम्मा लगाएर उनीहरू छोरी लिएर फर्किए । तर, एक हप्तामै युवती फेरि भागेर इलाम आइन् । गोपाल र उनी पुरानो ठाउँ परिवर्तन गरेर सँगै बसे ।

फेरि पनि युवतीको परिवार उनीहरूको प्रेममा तगारो बनेर उभियो । छोरी खोज्दै दोस्रोपटक आएका परिवारका सदस्य थप क्रूर बने । छोरीलाई लगेर मात्र गएनन्, गोपालविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा अपहरण, जबर्जस्ती करणी र मानव बेचबिखनको जाहेरी पनि दिए । प्रहरीले गोपाललाई पक्राउ गरेर जिल्ला अदालतमा मुद्दा चलायो । मानव बेचबिखन र अपहरण प्रमाणित हुन सकेन । तर, जबर्जस्ती करणीमा उनलाई सात वर्ष जेल सजाय सुनाइयो । उनी पनि अहिले बाल सुधारगृह विराटनगरमा छन् ।

यो मुद्दालाई नजिकबाट हेरेका कानुन व्यवसायी तथा दलित अधिकारकर्मी देवेन्द्र विश्वकर्माले दलित भएकै कारण गोपालमाथि मुद्दा चलाइएको बताए । ‘यो जातीय विभेदको पराकाष्ठा हो, जात नमिलेको भनेर मात्रै मुद्दा चलाइएको हो । कथित पानी चल्ने जातबीचमा बालविवाह भएको छ भने यसरी मुद्दा लगाएको हामीले कहीँ सुनेका छौँ रु’ उनले भने, ‘यदि केटा कथित उपल्लो जातको भए यस्तो सजाय पाउँदैन थियो । कानुनतः १८ वर्षमुनिको किशोरीलाई सहमतिमै शारीरिक सम्बन्ध राख्नु पनि जबर्जस्ती करणी हो । तर, यो डण्डा दलितमाथि मात्रै प्रहार भयो, हुने गरेको छ ।’ मुद्दालाई पुनरावेदनको तयारी भइरहेको उनले बताए ।

‘गैरदलित–गैरदलित र दलित–दलितबीचमा पनि बालविवाह हुन्छ । त्यस्तो वेला कुनै मुद्दाको विषय बन्दैन । तर, जब दलित र गैरदलितबीच बालविवाह हुन्छ त्यो वेला मुद्दा बनाइन्छ,’ दलित अधिकारकर्मी नवराज शंकरले भने, ‘गरेको बालविवाह हुन्छ मुद्दा चलाइन्छ– बलात्कार, अपहरण तथा मानव बेचबिखनको । दलितहरू भनेको त पैतालामै राख्ने जात हो भन्ने पुरातन मनोविज्ञानको धङधङी कथित उपल्लो जातमा अझै हटेको छैन ।’

शासन व्यवस्था फेरिए पनि सामाजिक संरचना र मानिसको सोचमा परिवर्तन नआउँदा विभेद हट्न नसकेको शंकरको भनाइ छ । ‘थुप्रै राजनीतिक परिवर्तन भए र शासन व्यवस्था फेर्‍यौँ । तर, समाजमा रहेका विभेदकारी संरचना र सोच, व्यवहारमा परिवर्तन गर्ने बिन्दुमा हामी पुगेनौँ, हिजो विवाह भोजमा दुईवटा भान्सा लाग्थ्यो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । दलितले छुट्टै भान्सामा खाना खान्थे । आज एउटा भान्सा हुन्छ, तर दलितलाई भोजमा बोलाउनै छाडियो । यो विभेद नै हो । शैली मात्रै फेरिएको हो,’ उनले भने ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर