annapurna add

लमजुङ- लमजुङको बेँसीशहर नगरपालिका–३ मा अवस्थित लमजुङ कालिका मन्दिरमा महाकालीको मूर्ति स्थापना गरिएको छ । यस मन्दिरमा श्रदालु तथा भक्तजनले पूजा गर्ने क्रममा देखिनेखालको मूर्ति नभएको गुनासो गरेसँगै मन्दिरमा देखिने खालको ठूलो मूर्ति स्थापना गरिएको हो । घटस्थापनाको दिनमा काठमाडौँबाट मूर्ति ल्याएर स्थापना गर्नुअघि गर्नुपर्ने विधिवत प्रक्रिया पूरा गरेपछि शुभसाइत हेरेर बुधबार बिहान ११ बजेको समयमा विधिवतरूपमा पूजा आराधना गर्दै मूर्ति स्थापना गरिएको छ ।

मूर्ति स्थापना गर्नुअघि मूर्तिलाई शक्ति दिनका लागि विभिन्न प्रक्रिया पूरा गरेर स्थापना गरिएको मन्दिरका मूल पुरोहित माधवप्रसाद बरालले बताउनुभयो । उहाँका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा र लमजुङ समाज काठमाडौँको विशेष सहयोगमा मूर्ति ल्याइएको थियो ।

मूर्ति स्थापना कार्यक्रममा बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले यस्ता ऐतिहासिक तथा धार्मिकस्थलको संरक्षण, प्रवद्र्धन र व्यवस्थित गर्ने कार्यमा नगरपालिकाबाट सक्दो सहयोग हुँदै आएको र थप सहयोगका लागि प्रदेश तथा सङ्घीय सरकारसँग पहल गर्ने बताउनुभयो ।

सशस्त्र प्रहरीका पूर्वएआइजी रोहितचन्द्र थापाले ऐतिहासिक तथा धार्मिक स्थलहरुलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताउँदै यहाँको आवश्यकता अनुरुप योजना निर्माणका लागि सम्बन्धित निकायमा बजेट माग गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, बेँसीशहर नगरपालिका उपप्रमुख लक्ष्मी अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीलगायतको उपस्थिति थियो ।

मूर्ति स्थापनापश्चात् जिल्लावासी भक्तजन खुशी भएका छन् । यहाँ भक्तजनलाई स्थापना गरिएको महाकाली मूर्तिले पूजाआज गर्नका लागि सहज हुने भएको छ । लमजुङ दरबार परिसरमा कालिका मन्दिर छ । विसं १५५० मा छिमेकी जिल्ला कास्कीकोटका राजा कुलमण्डलका छोरा यश्ह्योबर्मा शाहलाई राजा बनाएदेखि यस मन्दिरमा पूजाआजा हुँदै आएको मन्दिरका मूल पुरोहित बरालको भनाइ छ ।

यश्ह्योब्रर्माको पालादेखि राजाको नाममा पूजाआजा हुँदै आएको भएपनि मुलुकमा गणतन्त्र स्थापनापछि राष्ट्रपति तथा जनताको नाममा पूजा हुँदै आएको पुजारीहरुको भनाइ छ ।

वर्षभरि नै पूजा हुने भए पनि विषेशगरी यस कालिका मन्दिरमा वर्षको दुईचोटी मुख्य पूजा हुने गर्दछ । वडादशैँको घटस्थापनादेखि दशमी अर्थात् दशैँमा १० दिन र चैतेदशैँको घटस्थापनादेखि अष्टमी अर्थात् आठ दिनसम्म पूजाआजा हुँदै आएको छ । यहाँ वर्षेनी दशैँमा भक्तजनको ठूलो भीड हुने गरे पनि यो वर्ष भने कोभिड–१९ का कारण घटस्थापनाबाट नित्यपूजा मात्र हुँदै आएको छ ।

त्यस्तै यस वर्ष सर्वसाधारणका लागि पूजाआजा बन्द गरिएको र सरकारी बलि मात्र हुने मन्दिरका मूल पुरोहित बरालले भन्नुभयो । उहाँका अनुसार यस वर्ष सरकारी पूजामात्र हुने र सरकारी बलि २६ बोका, छ राँगा, एक भेडा, एउटा सुँगुर दिने भएको छ । इतिहासमा उल्लेख भएअनुसार यस कालिका मन्दिरलाई शाहवंशीय राजाले आफ्ना कूलदेवताका रूपमा समेत पूजा गर्दै आएका थिए ।

यहाँ बाइसे सुसारे पुजारीहरु अर्थात् बाइस जातिका पुजारी यस मन्दिरमा रहेका छन् । यस कालिका तथा लमजुङ दरबार १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...