annapurna add

Prachanda Nepal Bhelaa Kathmandu 23

प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आक्रामक’ आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन्। पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले आक्रामक आन्दोलन गर्न निर्देशन दिएका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायहरुसँग सेटिङ मिलाएको दाबी गर्दै त्यसलाई भत्काउन सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘मैले अदालत र निर्वाचन आयोगलाई शंका गर्न चाहेको होइन, तर केपीका मान्छेहरुले सूर्य चिन्ह पनि हाम्रै हुन्छ। पार्टी पनि हाम्रै हुन्छ भन्नुले उनीहरुले सेटिङ मिलाइसकेको भनेर शंका गर्न किन नपाउनु?’ प्रचण्डले प्रतिगमनलाई परास्त गर्न सम्पूर्ण शक्ति लगाउन आग्रह गरे।

‘म तपाईंहरुको टाउको जोगाउन आफ्नो टाउको फुटाउन तयार छु,’ उनले भने, ‘नेपाललाई प्रतिगमनतिर लैजान कुनै पनि शक्तिले सक्दैन। हामी दिँदैनौँ।’

प्रचण्डले यस पटकको आन्दोलनमा आफू लाठी खान तयार रहेको बताएका छन्। संसद विघटनविरुद्ध माघ ९ गते काठमाडौँ उपत्यकामा विशाल प्रदर्शन गर्न विद्यार्थीहरुलाई निर्देशन दिँदै आफू उक्त आन्दोलनको अग्रपंक्तिमा उभिने प्रचण्डले बताए।

२०६२/६३ को आन्दोलनमा गिरिजाप्रसाद कोइराला र माधव नेपाल लगायतले जस्तै यसपटक आफूलाई लाठी खान मन लागेको उनको भनाइ छ। उनले भने, ‘मेरो टाउको चिलाएको हो कि के हो, यसपटक लाठी खान मन छ।’

वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई सत्तामा जाने भर्‍‍याङको रुपमा मात्रै प्रयोग गरेको बताएका छन्।

उनले भने, ‘नेकपालाई ओलीले माथि जाने भर्‍याङ मात्रै बनाए।’ आफूहरु ओलीको कामगर्ने प्रवृतिबाट पहिलेदेखि नै चिन्तिन भएको पनि खनालले बताए। पार्टीलाई नटेर्ने तानाशाही प्रवृति देखाएपछि पटक–पटक बैठकको माग गर्दा पनि ओलीले‍ नसुनेको उनको भनाइ छ।

केपी ओली प्रधानमन्त्री भएको दिनदेखि नै पार्टीमा गुटबन्दी गर्दै आएको र त्यो गुटबन्दी बढ्दै जाँदा संसद विघटन हुन पुगेको उनले बताए। कार्यक्रममा पार्टीका नेताहरु भिम रावल, सुरेन्द्र पाण्डे, हितमान शाक्यले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा संगठनका सहसंयोजक रञ्‍जित तामाङ्गले प्रतिगमन नसच्चिए अनेरास्ववियूले बालुवाटारमा क्याम्प खडा गर्ने बताए । उनले ओलीलाई आफुहरुको प्रतिकार गर्न तयार रहन चेतावनी पनि दिएका छन् ।

तामाङ्गले आफु नेतृत्वको अनेरास्ववियू सत्ताको महिमा गाउने मण्डले संगठन नभएको पनि बताएका छन् । साबिक अनेरास्ववियूका २०४ जना केन्द्रिय सदस्यले तामाङ्गलाई साथ् दिएका छन् भने ऐन महर नेतृत्वको अनेरास्ववियू छाडेर एक दर्जन केन्द्रिय सदस्य तामाङ्गको नेतृत्वमा आएका छन् ।

संगठनले तामाङ्गको नेतृत्वमा करिब ३४ हजार हाराहारीको केन्द्रिय संघर्ष समितिको घोषणा पनि गरेको छ । भेलाको संचालन नेता सुदेश पराजुलीले गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...