yasha kantipath2076

रुकुम पूर्व : हिमालका पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्चाको व्यापारमा सम्बन्धित क्षेत्रबाहेकलाई रोक लगाइएको छ । यार्चा सिजन व्यवस्थापन समिति मैकोटले चालु सिजनमा गाउँलेले मात्र पाटनमा कारोबार गर्ने निर्णय गरेको हो ।रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १ र २ को पाटनमा जमेको हिउँ र यार्चा सुरक्षार्थ पुगेकाले बनाएका टेन्ट ।

‘पाटनमा पुगेर यार्चा खरिद–बिक्री गर्न यसपटक स्थानीयलाई मात्र अनुमति दिने निर्णय भएको हो,’ समितिका अध्यक्ष अमरधन पुनमगरले भने, ‘स्थानीयलाई मात्र पाटनमा व्यापारको अवसर दिनुपर्ने मागअनुसार निर्णय भएको हो ।’ स्थानीयसँग मिलेर सम्बन्धित क्षेत्रबाहिरकाले समेत व्यापार गर्न पाउने गरी निर्णय गरिएको उनले बताए ।स्थानीयले समितिबाट रसिद लिएपछि उनीहरूसँगै मिलेर जुन ठाउँकाले पनि व्यापार गर्न मिल्ने गरी निर्णय भएको उनको भनाइ छ ।

समितिले यार्चा संकलक र व्यापारीका लागि शुल्क निर्धारण गरेको छ । दुले बेसक्याम्पमा जनप्रतिनिधिसहित आइतबार बसेको बैठकले सर्वसाधारणलाई प्रवेश शुल्कबापत १ हजार ५ सय र पाटनमै व्यापार गर्न चाहने स्थानीयका लागि १८ हजार राजस्व तोकेको छ ।


यसअघिका सिजनमा तीन प्रकारको राजस्व तोकिन्थ्यो । यार्चा संकलकमा पनि स्थानीय र बाहिरका व्यवसायीलाई फरक राजस्व लिइन्थ्यो । चालु सिजनमा स्थानीयलाई मात्र कारोबार गर्न दिइने भएकाले संकलक र व्यापारीका लागि मात्रै दुईखाले राजस्व तोकिएको छ ।


समितिले जेठ २४ गते यार्चा संकलनका लागि पाटन खुलाउने निर्णय गरेको छ । यसअघि जेठ १९ गते खुलाउने भनिए पनि हिउँ नपग्लिँदा सम्भव भएको थिएन । ‘२४ गतेदेखि पाटन खुलाउने निर्णय गरेको खबर गाउँ पुगेको छ,’ स्वास्थ्य चौकी मैकोटका इन्चार्ज समीर गिरीले भने, ‘हिउँले पाटन छाड्दै गएको निष्कर्षसहित २४ गतेदेखि नै कीरा टिप्ने गरी पाटन खुलाउने निर्णय गाउँलेलाई सुनाइएको छ ।’ हिउँका कारण यो वर्ष ढिलो सिजन सुरु हुन लागेको उनको भनाइ छ । अघिल्ला वर्षका सिजनमा ढिलोमा जेठ १५ भित्रै यार्चा टिप्न बुकी खुला भइसक्थ्यो ।


पुथाउत्तरगंगा गाउँपालिका १ र २ वडाको पुपाल, अरविजा, जंगला, पूर्वाङ, भित्रीवन, उङला, ङिम्कु, पानीढल, फूलबारीलगायत ठाउँमा यार्चा पाइन्छ । यसैगरी ३ नम्बर वडाको सुनदह, सांग्रेइ, चौंरीखर्कलगायत पाटनमा यार्चा पाइन्छ । यार्चा संकलनका लागि गाउँका अधिकांश सर्वसाधारण पाटन जाँदा विद्यालय तथा गाउँ सुनसान हुन्छन् । आम्दानीको मुख्य स्रोतका रूपमा रहेको यार्चा संकलन गरेर स्थानीयले आम्दानीको जोहो गर्छन् ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर